रातोपाटी ब्रिफिङ : बालेनलाई सर्वोच्चको आदेश, बञ्चरेडाँडाबाट अल्टिमेटम
काठमाडौँ । आज मिति २०८० साल वैशाख महिनाको ८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।
१. बालेनलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश गरेको छ । मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।
जसअनुसार न्यायाधीश प्रकाशमानसिंह राउतले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका हुन् ।
यसैबीच नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बिहीवार ती दुई पालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पुरा नभए काठमाडौं उपत्यका लगायतका स्थानबाट ल्याइने फोहोर बञ्चरेडाँडामा फाल्न नदिने चेतावनी दिएका हुन् ।
सो क्षेत्रका प्रदेशसभा सदस्य रमेश कुमार महतले समेत स्थानीयको माग पुरा गर्न दबाब दिएका छन् । शुक्रबार उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेयर बालेन सिंहदरवारको फोहर नऊठाऊने भन्छन्, म नुवाकोटको फोहर बिसर्जन गर्ने स्थलको जनप्रतिनिधि, छिट्टै मेयर बालेन र मेरो भेट हुनेछ । व्यवस्थित रुपमा फोहर बिसर्जनको व्यवस्था नभए नुवाकोटवासीले राजधानीको फोहर ग्रहण गर्ने छैनन् । चेतना भया !’
२. सरकारले यात्री दर्ताको नगरेपछि...
‘मेक इन नेपाल’, ‘मेड इन नेपाल’ को अभिलाषा राख्दै आएको राज्यले सही नीति नबनाइदिँदा व्यवसायी पलायनको बाटोमा अघि बढेका छन् । नेपालमा नै केही गर्ने आकांक्षाका साथ उद्योग स्थापना गरेर विद्युतीय मोटरसाइकलको उत्पादन थालेका युवाहरु राज्यको गलत नीतिका कारण पलायनको बाटोमा अघि बढेका हुन् ।
पालको पहिलो विद्युतीय मोटरसाइकल ‘यात्री’ ले दर्ताको प्रमाणपत्र पाउन सकेन । जसको फलस्वरुप यात्रीका विकासकर्ता टिमनै नमिठो अनुभव बोकेर विदेश पलायन हुन लागेका हुन् ।
३. मौन अवधि
निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधिमा हुन सक्ने चलखेललाई नियन्त्रण गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गरिरहेको जनाएको छ । गएरातिदेखि आयोगले वैशाख १० मा हुने उपनिर्वाचनका लागि तीन जिल्लामा मौन अवधि सुरु गरेको हो ।
४. अब यी क्याम्पसमा नहुने भयो स्ववियु निर्वाचन
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने जनाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने जानकारी दिएका हुन् ।
५. ओली प्रचण्ड छलफल
सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच संसदीय समिति गठनमा भागबण्डा मिलाउन सकस पर्ने देखिएको छ । दुवै पक्षले गरेको आ–आफ्नो दावीबाट कोही पछि नहट्ने देखिएपछि समिति गठनमा विलम्ब हुनुका साथै सहमतिमा अघि बढ्न सकस पर्ने भएको हो । यसै विषयमा शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल पनि विनानिष्कर्ष सकिएको छ ।
६. चलायमान बन्दै अर्थतन्त्र
बाह्य पक्ष सुदृढ भए पनि आन्तरिक रुपमा समस्या देखा पर्न थालेपछि सरकार अर्थतन्त्र चलायमान बनाउन लागिपरेको छ । राजस्वमा आधारित देशको अर्थतन्त्रमाथि आयातमा लागेको प्रतिबन्ध र रोकिएको जग्गाको कित्ताकाटका कारण समस्या देखा पर्न थालेको थियो । यही समस्या समाधान गर्न सरकारले २०७८ को पुस महिनादेखि नै आयातमाथिको प्रतिबन्ध हटाइसकेको छ । जसको प्रभाव चैत महिनाको वैदेशिक व्यापारदेखि देखिन थालेको छ ।
७. निजी विद्यालयको दसैँ
नयाँ शैक्षिक सत्रको सुरुवातलाई निजी विद्यालयहरूले दसैँको रूपमा लिन्छन् । वर्षभरीको आम्दानी तथा मनग्य नाफा कमाउने सिजनको रूपमा लिने गरेका छन् । विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै उनीहरू अभिभावकहरूबाट जति सकिन्छ धेरै पैसा लुट्नतिर लाग्छन् । विभिन्न बाहना बनाएर उनीहरूले अभिभावकको ढाड सेक्ने काम गर्छन् ।
८. साताको सेयर
नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ । गतसाता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०।०७ अंकले गिरावट आएको छ । गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०।०७ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ । पछिल्लो सातामा भएको ५ कारोबार मध्ये १ कारोबारका दिन बजार बढेकोको थियो भने बाँकी ४ कारोबारमा भने बजार घटेको छ ।
९. नेपाल विजयी
एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रननले विजयी भएको छ । कीर्तिपुरस्थिति त्रिवि मैदानमा आएको भएको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार सित निकालेको हो ।
१०. यो पनि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउने बताएका छन् ।शुक्रवार दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा।बेदुराम भुसालले किसानको घरघर पुगेर दूध सङ्कलन गर्न दुग्ध विकास संस्थान (डीडीसी)लाई निर्देशन दिएका छन् ।
दूधको अभाव देखाउँदै डेरी उद्योगीले भारतबाट दूध आयातका लागि अनुमति माग्ने गरेको तर गाउँघरमा किसानको दूध बिक्री नभएको सम्बन्धी रातोपाटीले समाचार प्रकाशित गरेपछि मन्त्री भुसालले सो निर्देशन दिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएका बेला बाघले लगेको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह अर्को साता कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाने भएका छन् । उनी नेपालगन्जसम्म जहाज र त्यसपछि स्थलमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने कार्यक्रम छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो