मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

विद्यासुन्दरको प्रश्न– मैले छोडेको महानगरमा नयाँ के थपियो ? केही देख्नुभएको छ ?

केशव स्थापितले ‘जितिसकेँ, मेरो सामुन्ने नआउनू’ भनेपछि गइनँ !
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य गत स्थानीय निर्वाचनपछि गुमनामजस्तै छन् । दोहोर्‍याएर महानगरको नेतृत्व गर्ने चाहना गरेका शाक्यलाई एमालेले टिकट दिएन । एमालेले केशव स्थापितलाई टिकट दिए पनि स्वतन्त्र उम्मेदवार बालेन शाहसँग पराजित बने । त्यसबेलैदेखि एमाले नेतृत्वसँग असन्तुष्ट रहेका शाक्य अहिले गुमनामजस्तै छन् । स्थानीय तहको निर्वाचन यता काठमाडौं उपमहानगरका कामकारवाहीबारे प्रतिक्रियाका लागि रातोपाटीले पूर्वमेयर शाक्यसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

महानगरको मेयरमा दोहोरिन खोज्नुभएको थियो, तर पार्टीले टिकट दिएन । त्यसपछि तपाईं हराउनु भयो नि ?

चुनावमा उठेर मेयर भएको भए एउटा अवस्था हुन्थ्यो । पार्टीको सदस्यका रुपमा अहिले पनि क्रियाशील छु । पहिले पार्टीले मेयरको पनि जिम्मेवारी दिएको थियो । पार्टीको पनि इज्जत जोगिने गरी महानगरवासी र सिङ्गो देशको समस्यालाई सम्बोधन गरेर सफलता हासिल गरेँ ।

तपाईले राम्रो काम गरेको भए एमालेले दोहोर्‍याएर जित्थ्यो, राम्रो काम गर्न नसकेकाले हार्‍यो भन्ने एमालेकै कतिपय नेता–कार्यकर्ताको भनाइ छ नि ?

कसले के भन्छन् भन्ने आफ्नै कुरा होला तर परिणाम त्यस्तो थिएन । परिणाम भनेर कसलाई तुलना गर्ने ? मैले ६५ हजार मत ल्याउँदा उपमेयरले ६८ हजार मत ल्याउनुभयो । त्यो मेरो कारणले हो कि कसको कारणले हो ?

त्यसबेला सिङ्गो महानगरवासीको एउटा आकाङ्क्षा थियो । हिजो केही आधार नै नहुँदाखेरि पाँच वर्ष काम गरेको थिएँ । त्यो अवधिमा धेरै व्यवस्थापन गरेँ । पूर्वाधार तयार भइसकेको छ । एक पटक दोहोर्‍याएँ भने हिजो हामीले सुरु गरेका काम पूरा गर्न सकिन्छ भनेर महानगरवासी र सिङ्गो कार्यकर्ताहरुले नै तपाईं अगाडि आउनुपर्छ भनेका हुन् । तर त्यो बेला पार्टीले जे भन्छ, कार्यकर्ताले मानेर जानुपर्छ ।

एमालेले विद्यासुन्दरलाई दोहोर्‍याएर टिकट दिएको भए एमालेले प्रमुखम जित्थ्यो, एमालेले विद्यासुन्दरलाई अन्याय गर्‍यो भन्यो भने सही हुन्छ ?

त्यसबारे नेताहरूले, कार्यकर्ताले र मतदाताले आफ्नै किसिमले मूल्याङ्कन गरे होलान् । तर दुई कार्यकाल काम गर्न पाइयो भने राम्रो काम गर्न सकिन्छ ।

२०७२ को संविधान आएपछि नयाँ संरचनामा गयौँ । हिजो प्रदेश सरकार थिएन । पछि सङ्घ, प्रदेश र स्थानीय तहको व्यवस्था भयो । प्रदेश सरकारसँग पनि समन्वय गर्नुपर्ने भयो । नयाँ कानुनहरु पनि बनाउनुपर्ने, हिजो कर्मचारीहरुले चलाइरहेको व्यवस्था हो, उहाँहरुले जे सकेको गरिरहेकै हुनुहुन्छ । त्योभन्दा राम्रो कामको सुरुवात हामीले गरिसकेका थियौँ । त्यसलाई निरन्तरताका लागि थप एक कार्यकाल दिए हुन्छ भन्नेमा सम्पूर्ण नगरवासी, मतदाताले भन्नुभएको हो । तपाईलाई नदिएर दुर्भाग्य भयो भनेर अहिले पनि सुनाउनुहुन्छ । यो पाँच वर्षले अझ कति घाटा हुन्छ भन्नुहुन्छ ।

जस्तो माओवादी द्वन्द्वले व्यवस्था परिवर्तन त भयो तर देशचाहिँ २० वर्ष पछाडि पर्‍यो भन्नछन् नि । अहिले पनि त्यस्तै गरी फस्ने हो कि भन्ने डर महानगरवासीमा छ । हिजो दोहोर्‍याउन पाएको भए नेपाल कम्युनिस्ट पार्टी एमालेले सहजै जित्थ्यो ।

339793716_759973252341832_5817966144911152690_n

तपाईंको आत्मविश्वास चाहिँ कस्तो छ ? दोहोर्‍याएको भए जित्नु हुन्थ्यो ?

यसमा शङ्कै गर्नुपर्दैन, सुनिश्चित थियो ।

पार्टीले विद्यासुन्दरलाई अन्याय गर्‍यो ?

न्याय–अन्यायतिर नजाऔँ, पार्टीमा हजारौँ कार्यकर्ता छन् । हिजो मलाई टिकट दिँदा अरु कसैलाई अन्याय भयो होला । तर कार्यकर्ता र मतदाताको कुरा सुन्ने हो भने म भएको भए सजिलै जितिन्थ्यो भन्ने छ ।

तर अहिले पार्टीलाई गाली नगरी, पार्टी नछोडी टिकट पाइँदो रहेनछ, त्यसकारण एक पटक पार्टी छोड्नुपर्यो भन्ने मनस्थितिमा हुनुहुन्छ भन्ने छ नि ?

मैले त्यस्तो कहीँ पनि भनेको छैन, भन्दिनँ पनि । किनभने मेरो पहिचान नै यो पार्टीले बनाइदिएको छ । मलाई वडाध्यक्षमा पार्टीले नै अगाडि सारेको हो । मैले जितेँ, पार्टीले र जनताले पनि जिते । पार्टीले महानगरको जिम्मा दियो, मेयर पनि जितेँ । पार्टीले पनि जित्यो, सिङ्गो महानगरवासीलाई जिताउने काम पनि गरेँ । त्यहाँ विपक्षीले समेत हारेको महसुस नहुनेगरी जितेँ । सम्पूर्ण महानगरवासीले हाम्रो भोटको सदुपयोग भयो भन्ने किसिमले काम गरेँ । त्यसकारण मभन्दा उहाँहरु सन्तुष्ट देख्छु ।

त्यसो भए पार्टीका उम्मेदवारविरुद्ध किन हिँड्नुभएको त ?

उम्मेदवारविरुद्ध म कहीँ पनि हिँडेको छैन । २०७९ को संसदीय निर्वाचनमा पार्टी निर्वाचन निर्देशक समितिको निर्देशक भएर काम गरेँ । कृष्णगोपाल श्रेष्ठलाई जिताएर ल्याउने मै हो । नौवटा वडाको निर्वाचन निर्देशक समितिको संयोजक भएर चुनाव हाँक्ने मै हो ।

तर तपाईं निष्क्रिय हुनुहुन्थ्यो नि ?

कसैले गाली गर्‍यो भने गाली नै गर्नुपर्छ भन्ने होइन । गाली गर्नेलाई माया गर्न पनि सक्नुपर्छ । तर पार्टी छोड्छ भन्ने कुरामा यतिमात्र भन्छु, आज, भोलि र कहिल्यै पनि छोड्दिनँ ।

339790895_913301769923451_5498682129322273573_n

टिकट नपाएर निष्क्रिय भएको भन्नेहरुलाई तपाईंको जवाफ के छ ?

निष्क्रिय भएको छैन । हिजो पनि थिइनँ, आज पनि छैन ।

हराउन लाग्नुभयो भन्ने थियो नि ?

हैन, हराउन लागेको भन्ने होइन । हाम्रो उम्मेरदवारलाई अलि दम्भ भयो । सुरक्षित तरिकाले जित्यौँ भन्ने भयो । त्योबेला मैले नेताहरुलाई पनि भनेको थिएँ । त्यो बेला नेतारुले तयारी के छ भनेर मसँग पनि सोधेका थिए । ३२ वटै वडाका पुराना सदस्य, अध्यक्ष सबैसँग सोधेको थिएँ । त्यहाँका पार्टी पङ्क्तिहरुलाई, विपक्षीहरुलाई सोधेको थिएँ । उहाँहरुले तपाई उठ्नुपर्छ, उठ्नुभयो भने सहजै जित्नुहुन्छ भनेका थिए । क्यालकुलेसन गर्दा सहजै जित्छौँ भन्ने थियो । करिब ७५ हजार भोट ल्याउँछु भनेको थिएँ ।

केशव स्थापितलाई पनि पार्टीले सोधेको रहेछ, उहाँले एक लाख ४० हजार मत ल्याउँछु भन्नुभएछ । अनि कहाँ ७५ हजार कहाँ एक लाख ४० हजार मत । मेरोभन्दा उहाँको आँट बढी भयो । नेताहरुले पनि त्यसलाई विश्वास गर्नुभयो होला । ७५ हजार मत ल्याइयो भने जितिन्छ, त्यति ल्याउन सक्छु भन्ने लागेको थियो । तर नेतृत्वले जे निर्णय गर्‍यो, त्यो नेतृत्वका बारेमा बोलेको पनि छैन ।

केशव स्थापितलाई सहयोग पनि गर्नुभएन नि ?

हैन, उम्मेदवारले सँगै नआऊ भन्नुभयो त्यतिखेर । ‘मैले जितिसकेँ’ भनेर उम्मेदवार आफैँले नआऊ भन्नुभयो । टिकट नपाएका कारण तपाईंले असन्तोष व्यक्त गरिदिनुहोला, मेरो सामुन्ने नै नआउनू भनेपछि गइनँ । उहाँ नभएका ठाउँमा गएर धेरै साथीलाई जिताउने भूमिका त खेलेको छु नि । मैले टिकट नपाउँदा विरोध गरेर हिँडे भने त पार्टी अगाडि बढ्न त सक्दैन नि ।

२०५४ सालमा उहाँको ८४ हजार ६०० भोट आएको थियो । २५ वर्षपछि १ लाख ५० हजार भोट आउँछ भन्ने लागेछ । जितिहाल्छु, जस लिन किन आएको भन्ने उहाँलाई लागेछ । त्यो बेला हामी एक नम्बरमै थियौँ नि । मेयर, उपमेयर दुईवटै जित्ने अवस्थामा थियौँ । उहाँलाई हामीले विवादित कुरा नबोलिदिनुस् भनेका पनि थियौँ । तर उहाँले दम्भ देखाएर पनि बिगारेको हुन सक्छ ।

मनको अन्तरकुन्तरमा एमाले छाड्ने भन्ने लागेको छ कि छैन ?

पार्टीको सङ्गठित सदस्य भएर बसौँला, तर पार्टी छोड्दिनँ । जुन पार्टीले मलाई यो ठाउँसम्म ल्याएको छ । यही पार्टीले मलाई विद्यासुन्दर भनेर चिनायो । नभए मलाई एउटा वडातिरमात्र चिन्थे होला । त्यसैले पार्टीलाई छोड्ने र असहयोग गर्ने कुरा सम्भव नै छैन ।

पार्टीले खटाएको ठाउँमा सक्रिय भएर लाग्नुभएन भन्ने आरोप पनि छ नि ?

सम्पूर्ण केन्द्रीय नेताहरुलाई ग्रासरुट कार्यकर्तासँग जोड्ने अभियानका रुपमा कार्यक्रम थियो । त्यतिबेला काभ्रेको बनेपा र धुलिखेल मेरो जिम्मेवारी थियो । त्यहाँ सबै वडामा हामी गयौँ । यसले एउटा ऊर्जाचाहिँ थपेको छ । हिजो तीन वर्षसम्म चलायमान नभएको पार्टीलाई अहिले एमालेले एकैपटक चलायमान बनायो । सबै खुसी पनि छन् । यसलाई ‘मिसन ८४’ भनेर सञ्चालन गर्न कार्यकर्ताले भनेका छन् । अहिलेदेखि नै २०८४ सालको चुनाव जित्ने गरी जनताका समस्या बुझ्न भनेर कार्यकर्ताहरु लागेका छन् । यस कार्यक्रमबाट काभ्रेका जनता धेरै खुसी पनि छन् ।

अहिले मेयर बालेन्द्र शाहले तपाईंसँग भेटघाट, कुराकानी केही गर्नु भएको छ ?

अहिलेसम्म भेटघाट भएको छैन । नेपाल प्रहरीको वसन्तपुरमा भएको कार्यक्रममा भेट भएको हो, नत्र छैन ।

उहाँले गरेका कामको समीक्षा कसरी गर्नुभएको छ ?

हामीचाहिँ जनताका समस्यासँग भिजेर आएका हौँ । जनताका समस्या कहाँकहाँ छन् भन्ने थाहा छ । पार्टीको र महानगरको आफ्नै सञ्जाल पनि छ । त्यसमार्फत सबै समस्या एकीकृत गरेर हामी योजना बनाउँछौँ । हामीलाई अलिकति सजिलो पनि छ । तर उहाँ फरक तरिकाले आउनुभएको हो । त्यसैले उहाँको अनुभव र महानगरको काम फरक हो । काम गर भन्न सजिलो छ तर गर्न गाह्रो छ । उहाँलाई सिक्न केही समय लाग्छ । २०४९ सालदेखि सिकेकालाई त गाह्रो छ भने बाहिरबाट गएकालाई त्यहाँ गएर बुझ्न गाह्रै छ । त्यसैले एक वर्षसम्म उहाँको बारेमा प्रतिक्रिया नदिँदा राम्रो होला ।

कांगे्रस, माओवादी सबै खाओवादी भनेर गीत गाए, सबैले ताली बजाए, कर्मचारी सबै भ्रष्टाचारी भनेर गीत गाए । तर महानगर दिवसको दिन तिनै एमाले, कांग्रेस, माओवादीका जनप्रतिनिधिलाई पुरस्कृत गरे, त्यही कर्मचारीलाई पुरस्कृत गरे । जो भ्रष्ट छ, जो खाओवादी छन् सबैलाई सम्मानित गरे । त्यसैले उहाँको भनाइ र गराइमा फरक देखियो नि । त्यसैले बोल्न जस्तो सजिलो काम गर्न हुँदैन भन्ने बुझ्न उहाँलाई एक वर्ष लाग्ला । त्यसपछि उहाँले गरेका कामको प्रतिफल विस्तारै आउँछ ।

339797557_945398126647335_2686690695923031772_n

अहिले काठमाडौं महानगरका फुटपाथ पसलहरु जसरी हटेका छन् । पार्किङ व्यवस्थित गर्दै बागबजार, दरवारमार्ग क्षेत्र खुला बनाएको अवस्था छ । अण्डरग्राउण्ड पार्किङमा यति धेरै ब्रह्मलुट रहेछ, त्यो हटाएको छ । हराएका सार्वजनिक जग्गाहरु फिर्ता भएका छन् । हिजो विद्यासुन्दर शाक्यले यी काम किन गर्न नसकेको ?

नक्सापास गर्दा पार्किङको व्यवस्था गरिएको छ । बेसलेन राखेर पार्किङ हटाउनुलाई राम्रै रुपमा लिनुपर्छ, त्यसमा थप विवाद गर्नु परेन । राम्रो गर्नेलाई राम्रो भन्नै पर्छ । कामहरुको प्राथमिकता कसलाई दिने भन्ने हो । मैले छोडेको महानगरमा नयाँ के थपियो ? केही देख्नु भएको छ ? मैले मेयर भएर चलाउनुअघि कर्मचारीले चलाएका थिए । के त्यतिबेला चलेको थिएन ?

फुटपाथको सवालमा निश्चित समय बस्ने भनेको थिएँ । काठमाडौं भनेको सिङ्गो देशको गरिखाने क्षेत्र हो । सम्पूर्ण नेपालीको साझा केन्द्र पनि हो । ‘म यहाँ जन्मेको हुँ, तँ आउँन पाउँदैनस्’ भन्न मिल्दैन । त्यसैमा काठमाडौं संघीय राजधानीसमेत हो । अधिकार प्राप्त गरेपछि जिम्मेवारी समेत पूरा गर्नुपर्छ । फुटपाथ पसल राखेर अरुलाई अवरोध गर्ने होइन । सबैले युवाहरु विदेश गए भन्छन् । गाउँ बस्तीहरु खाली भए भन्छन् । देशमै गरिखान्छौं भन्नेलाई स्पेस दिनुपर्छ ।

मिटरब्याजीसँग पैसा लिएर विदेश गएका छन् । उता छोराछोरी विदेशबाट पैसा कमाएर आउन नसक्ने, मिटरब्याजीको पैसा तिर्न नसक्ने धेरै हालत देखेका छौं ।

यातायातको सवालमा समय निर्धारण गरेर चलाउने अवधारणा ल्याएको थिएँ । अरु बेला अवरोध नगरेर चलाउँ भनेको थिएँ । आफू हिँड्ने सडक आफैँ जिम्मेवार भई सफा राख्नुपर्छ भनेर नीति ल्याएका थियौं । सबै निर्मुल हुनेगरी नीति ल्याएको थिएन ।

फुटपाथ व्यापारीलाई जुन खालको व्यवहार गरिएको छ, त्यो गलत छ भन्ने खोजिएको हो ?

म गलत वा ठिक केही भन्दिनँ । मेरो कुरा सुन्नस्, आफै मूल्याङ्कन गर्नुहोस् । मैले फुटपाथमा भएका कतिपयलाई सोधेको थिएँ । त्यतिबेला कसैको मेरोभन्दा बढी जग्गा जमिन भएकोसमेत पाएको थिएँ । जग्गा भए पनि उत्पादन भएको तरकारी बजारमा लगेर बेच्न नसक्ने रहेछ । किसानी गरेर खान सकिने रहेछ । त्यो बेला राष्ट्रिय योजना आयोगका नेताहरुलाई भनेको थिएँ– तपाईले काठमाडौं आउन नपर्नेगरी, ती किसान आफ्नै खेतमा काम गरेर बस्न सक्नेगरी नीति ल्याउनुपर्छ । त्यो अवस्था भए मान्छेहरु न काठमाडौं आउँछन्, न विदेश जान्छन् ।

अहिले सबै युवाहरु विदेश गए भनेर कराउँछन् । अहिलेसम्म निकास कसैले दिन सकेको छ ? अहिले नयाँ र पुराना सबै पार्टीको एजेण्डा त्यही छन् । सबै युवा विदेश गए । गाउँबस्ती खाली भयो, खेतबारी जोत्ने मान्छे भएन । वृद्धावृद्ध मात्रै भए भन्छन् । यसमा सबैले निकास दिन सक्नुपर्छ ।

त्यो बेला मैले फुटपाथ एउटा निश्चित समय निर्धारण गरेर चलाउन दिने नीति ल्याएको थिएँ । किनभने मान्छे बेरोजगार नहोस्, विदेश जाने अवस्था नआओस् भन्नेमा सजग थिएँ । अरुलाई बाधा नपुग्नेगरी बिहान र बेलुका फुटपाथ राख्न दिने भनेको थिएँ । मैले निर्मुल पार्न खोजेको होइन, व्यवस्थापन गर्न खोजेको थिएँ । काठमाडौं भनेको धनाढ्यमात्रै बस्ने हो, गरिब बस्नै पाउँदैन भन्ने होइन । सबैको साझा क्षेत्र हो । 

सुकुमबासी हटाउने विषयमा के प्रक्रिया छ ?

सुकुमबासी हटाउने भन्ने होइन । अहिले जुन कुरा आइरहेको छ । अहिले सुकुमबासी आयोगसँग महानगरले जे सम्झौता गर्‍यो, त्यसमा महानगरवासी, मिडिया लगायत सबै भ्रमित छन् । उनीहरुले सही सूचना सम्प्रेषण गरेनन् । महानगरले के सम्झौता गरेको हो, त्यो सार्वजनिक गर्नुपर्‍यो । महानगरले गरेको सम्झौता महानगरवासीलाई जानकारी दिनुपर्छ कि पर्दैन ? महानगरवासीलाई उल्लु बनाउन खोजिएको छ । उसले गर्न दिएन, यसले गर्न दिएन भन्न मिल्छ ? महानगरले किन सम्झौता गरेको हो ? सम्झौता किन पालना नगरेको हो ? यो महानगरवासी र मिडियाकर्मीलाई थाहा छैन । महानगरले सुकुमबासी आयोगसँग सम्झौता गरेको छ । त्यो सम्झौता बमोजिम महानगरले केही गर्न पाउँदैन । महानगरले फर्म भर्ने हो । आयोगले कति वास्तविक सुकुमबासी हो होइन छुट्याउँछ । अव्यवस्थित बसोबास कति छन् ? सबै छानबिन गरेर साँच्चिकै भूमिहीन भएमा त्यस्ता परिवारलाई व्यवस्था गर्ने नीति छ ।

महानगरले सुकुमबासी आयोगसँग सम्झौता गरेको छ । मेयरलाई डोजर लिएर सुकुमबासी बस्ती भत्काउन सम्झौताले रोक्छ ?

यो सम्झौताले रोक्छ । मैले काम गर्न खोजेको अरुले असहयोग गरेको भनेर भ्रम छर्ने काम भएका छन् । महानगरले हामीलाई भ्रमित पारेको छ । महानगरले सुकुमबासीलाई हटाउनै खोजेको होइन । यदि हटाउने हो भने किन सम्झौता गरेको हो ? हटाउने नै हो भने सम्झौता मान्दिनँ भन्नुपर्‍यो । मसँग एउटा सम्झौता गर्ने अर्कोसँग फेरि अर्को गर्न मिल्छ ?

तपाईले सम्झौता गरेको हो कि बालेन्द्र शाहले गरेका हुन् ?

मैले गरिनँ । मैले सुकुमबासीलाई व्यवस्था गर्ने कुरा गरेको हो । सबैलाई जग्गा दिने कुरा आयो । मैले सबैलाई काठमाडौंमा जग्गा दिन सकिँदैन भन्दिएँ । भूमि नहुनेलाई भूमि दिनुपर्छ । खान नपाउनेलाई खान दिनुपर्छ । तर, सबैलाई जग्गा दिन काठमाडौंमा जग्गा छैन । राज्यले नीति बनाएर सुकुमबासीलाई उपयुक्त ठाउँमा व्यवस्था गर्नुपर्छ भनिदिएको थिएँ ।

bidhya sundar shakya

तर, काठमाडौंमै व्यवस्था गर्ने भनिएपछि मैले यसमा सहमत छैन भनेको थिएँ । त्यसपछि त्यो प्रक्रिया अघि नै बढ्न सकेको थिएन ।

काठमाडौंका मेयरले बालुवाटार, राष्ट्रपति कार्यालय, सिंहदरबार लगायतका क्षेत्रको फोहोर उठाउँदिन भन्दिए । फोहर उठेन, सरकार आफैँ उठाउन थालेको छ । एउटा मयेरले यसरी भन्न मिल्छ कि मिल्दैन ?

म मेयर हुँदा पनि समस्या थिए । अहिले समस्याको प्रकृति फरक छन् । म मेयर हुँदा अरुले मकहाँ फोहोर थुपारेर दुःख दिन्थे । अहिले महानगर आफैँले फोहोर थुपारेर अरुलाई गलाउने कोसिस गरिराखेको छ, त्यो गलत छ । जिम्मेवारी पाएपछि काम गर्नुपर्‍यो । मेयरको कुर्सीमा गएपछि समस्या समाधान गर्ने हो । सहरलाई सफा र सुव्यवस्थित गर्छु भनेर गएको व्यक्तिले फोहोर उठाउँदिन भन्न मिल्दैन । वडा अध्यक्ष, वडा सदस्य कसैले भन्न पाइँदैन । यो जे जस्तो भइराखेको छ, वार्ताद्वारा समाधान खोजिनुपर्छ । मेयरमात्रै होइन, कसैले भन्न पाउँदैन ।

यदि कसैले सिसडोलमा फोहोर फाल्न बन्द गर्‍यो भने मेयरको घरमा लगेर फोहर फाल्न पाइन्छ ? त्यो बेला पनि मिल्दैन । तपाईले महानगरको गेटमा लगेर फाल्छु भन्दा फाल्न पाउँनुहुन्छ ? पाइँदैन । यस्तो दिन भोलि नआउँला भन्न सकिँदैन । आउन सक्छ ।  मेयरको घरमा लगेर फोहोर थुपारे भने उहाँले कहाँ लगेर फाल्ने हो ? महानगरको गेटमा लगेर फाले भने के गर्ने हो ? यस्तो प्रवृत्तिले द्वन्द्वमात्रै निम्त्याउँछ । फोहोर रोक्ने काम गर्नु हुँदैन । फोहोर उठाउने जिम्मा महानगरको हो । महानगरले जिम्मेवारी बहन गर्नुपर्छ । जिम्मेवारीबाट कोही भाग्न पाइँदैन । कसैलाई गलाउन, कसैलाई झुकाउन फोहोरलाई हतियार बनाउनु हँदैन ।

महानगरका प्रमुखले गरेका सम्पूर्ण कार्यलाई हेर्दा सकारात्मक काम गर्नेतिर बढी केन्द्रित छन् कि नकारात्मकतिर ? यो सिङ्गो महानगर सफल÷असफल हुने कुरा छ ।  तपाईले के देखिरहनु भएको छ ?

मेरो कार्यकालमा जे जति काम सुरु भएका थिए । त्यही कामले निरन्तरता पाएका छन् । अपवादका एक÷दुई कामबाहेक सबै पुरानै कामले निरन्तरता पाएका छन् । अहिले भइरहेका ९९ प्रतिशत काम मैले सुरु गरेका  काम र नीतिलाई पछ्याइरहनु भएको छ । मैले रानीपोखरी ३६५ दिन खोल्छु भनेको थिएँ । त्यो बेला खोल्न दिइएन, अहिले खोलेपछि सबैले स्वागत गरे । दमकल ल्याउने कुरा मेरै कार्यकालमा सुरु भएको हो । ब्रोमर भर्खर आयो भनेर कतिपयले हल्ला गरे । ब्रोमर मेरै कार्यकालमा चलेका हुन् । महानगरमा १० एम्बुलेन्स, १५ शव बाहन चलाउने कामको थालनी हामीले नै गरेका हौं ।

हरेक वडामा सुविधा सम्पन्न स्वास्थ्य सुविधा हुनुपर्छ भनेका थियौं । सरकारी र सामुदायिक अस्पतालको स्तरवृद्धि गर्न लगाउने काम बढाएका थियौं । सरकारी स्कुलको स्तरवृद्धि गर्न लगानी वृद्धि गरेका थियौं । हामीले निजी स्कुल बन्द गर्नुपर्छ भनेका थिएनौं । हामीले प्रतिस्पर्धा गरेर तपाईका विद्यार्थी समुदायिक विद्यालयमा ल्याउँछौं भनेका थियौं । त्यसपछि हामीले निजीबाट धेरै विद्यार्थी सामुदायिक विद्यालयमा ल्याएका थियौं । तपाई लगायत मिडियाका साथीहरुलाई भन्न चाहन्छु, दुधको दुध पानीको पानी लेख्नुपर्छ । गलत सूचना दियो भने बिगार्ने काम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया