मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका दश शीर्ष समाचार

बिहीबार, ०७ वैशाख २०८०, २२ : ३२
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । आज मिति २०८० साल वैशाख महिनाको ७ गते । आज उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन । आजै देशका विभिन्न स्थानमा विभिन्न घटनाहरु पनि भए । दिनभरका घटनाक्रमका प्रमुख विषयलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. उपचुनाव प्रचारप्रसार सकियो

आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण प्रचारप्रसारका कार्यक्रम सकिएका छन् ।  साथै बिहीबार मध्यरातदेखि मौनअवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।

वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

२. गठबन्धन र एमालेको चुनावी कार्यक्रम

सत्ता गठबन्धनले चितवन २ र बारा २ मा चुनावी सभा गरेको छ । शीर्ष नेताको सहभागितामा गठबन्धनले चुनावी सभा गरेको हो । यस्तै बारामै एमालेले पनि अध्यक्ष केपी ओलीको सहभागितामा सभा गरेको छ ।

३. तातो हावाको खतरा

सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर  सुरक्षाका उपायहरू अपनाउन बिहीबार एक सूचनामार्फत अनुरोध गरेका  छ ।

४. दिवा खाजामा मनपरी

विश्व खाद्य कार्यक्रममार्फत वितरण गरिने दिवा खाजा कार्यक्रमको गुणस्तर नै परीक्षण नगरी पठाउने गरेको पाइएको छ । कर्णाली प्रदेशको जाजरकोट र सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङसमेत गरी ६ जिल्लामा वितरण गरिने खाद्यान्नको गुणस्तर नै परीक्षण नगरेको पाइएको हो ।

महालेखापरीक्षकको ६० औं प्रतिवेदनले गुणस्तर परीक्षण गरेरमात्र विद्यालयमा खाद्यान्न विवरण गर्ने व्यवस्था मिलाउन भनेको छ । विश्व खाद्य कार्यक्रमले ६ जिल्लाका २ हजार ४१५ विद्यालयमा खाद्य कार्यक्रम सञ्चालन गरिरहेको छ ।

५. आमाको मुख हेर्ने दिन

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ ।

शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

६. बैंकको नाम कति ?

२१ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकहरुले यस अवधिमा कुल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष सोही अवधिमा बैंकहरुले ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ बराबर नाफा कमाएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुले ११।६७ प्रतिशतले बढी नाफा कमाएका हुन् ।

७. उद्योग विभागको नयाँ व्यवस्था

१० करोडसम्मको विदेशी लगानीका उद्योग अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । उद्योग विभागले कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था जनाएको हो । 

८. कोकिन बरामद

प्रहरीले ठमेलबाट कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्या घर भएकी ३६ वर्षीया पिलिसिला वान्जा दिरितु छन् ।

९. गीत संगीतका कुरा

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो ।

१ं०. यो पनि

ललितपुरस्थित गोदावरीको जंगलमा भीषण आगलागी भएको छ । बिहीबार गोदावरी नगरपालिका ६ जुरेडाँडामा आगलागी भएको हो ।

बिहीबार दिउँसो जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बहराईज मजुवापुर गुलरियाका ४० वर्षीय पुरुषोत्तम राजकुमार र सोही ठाउँका ४० वर्षीय धर्मेन्द्र हरिजन चमार भन्ने धर्मेन्द्र गौतम रहेका छन् ।

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ विषहरा मिट क्याम्पसको छेउमै रहेको डेरामा निहारिका राजपुत अचेत अवस्थामा फेला परेकी छिन् । कुमारी आमाका रूपमा चिनिने उनी बिहीबार अचेत अवस्थामा फेला परेपछि प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल लगेको छ ।

नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने भएका छन् ।

नेपाल प्रहरीका १३ जना नायव महानिरीक्षकले फुली लगाएका छन् । प्रहरी वरिष्ठ उपरीक्षकबाट डिआईजीमा बढुवा भएकाहरुलाई बिहीबार आईजीपी वसन्त कुँवरले फुली लगाइदिएका हुन् ।

सरकारले राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुलरकलभर्ट निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले उक्त गाउँपालिकाकाका तत्कालीन अध्यक्ष राम बल्लभ साह, उपाध्यक्ष आशा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित २३ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो ।

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै ५८ हजार नौ सय ८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए । हालसम्म औपचारिक क्षेत्रका करिब चार लाख पाँच हजार उक्त कोषमा आबद्ध भएका छन् ।

स्थानीय तहले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन सङ्कलन गर्न थालेका छन् । देशभरका ७५३ वटै पालिकाले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन सङ्कलनको काम पालिकास्तरबाटै गर्न थालेका हुन् ।

 यो पनि

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप