एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै बढी
काठमाडौँ । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो ।
बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
वन तथा भू–संरक्षण विभागले दिएको जानकारी अनुसार एकैदिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।
नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार यही वैशाख १ गते २६ जिल्लाका एक सय १२, २ गते आठ जिल्लाका २८ , ३ गते १२ जिल्लाका ३२, ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका एक सय ८० स्थानमा डढेलो लागेको थियो ।
नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । पछिल्ला दिनमा दाङ, चितवन, अर्घाखाँची, प्यूठान, सुर्खेतमा बढी वन डढेलो लागेको उनले बताए । हाल देखिएको डढेलोमा छत्र डढेलो (ठूलो रुखको माथिसम्म हुने आगलागी) सिन्धुली र रामेछापमा मात्र देखिएको छ भने अन्य जिल्लामा देखिएको सतही डढेलो (जमिनमा झारपातमा हुने आगलागी) हो । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ ।
वन डढेलो घटना मानवीय गतिविधिका कारण बढी हुने गरेको छ । स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ ।
मानिसको जानाजानीबाट ६४ प्रतिशत डढेलो
विभागका उपमहानिर्देशक नवराज पुडासैनीले वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको जानकारी दिए । कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ ।
ठूलोस्तरमा लागेको डढेलो वर्षाको पानी नपरीकन नियन्त्रण हुने सम्भावना कम रहेको उनले बताए । विभागले वन डढेलोको नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । गर्मी मौसम र भौगोलिक विकटता डढेलो नियन्त्रणको मुख्य समस्या बनेको छ ।
हालसम्म डढेलो धेरै बढेपनि मानव बस्ती, मानवीय र वन्यजन्तु क्षति नभएको उपमहानिर्देशक पुडासैनीले बताए । उनले भने,“यस वर्ष समयमै अग्निरेखा निर्माण र सरसफाइ गरेका कारण डढेलो राजमार्गको आसपास देखिएको छैन ।”
वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि विभागले वन डढेलो सूचना कक्ष सञ्चालन गरेको छ । कक्षमा रहने टोली खटिई भौगोलिक सूचना प्रणालीमा आधारित वन डढेलो सूचना प्रणालीमार्फत सबै डिभिजन वन अधिकृत र वन कर्मचारीलाई चौबिसै घण्टा वन डढेलोको सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
सशस्त्र वन रक्षक तालिम केन्द्रमा रहेको जनशक्तिलाई चौबिस घण्टा सजग रही वन डढेलो नियन्त्रण र व्यवस्थापनमा परिचालन हुन निर्देशन दिइएको उपमहानिर्देशक पुडासिैनीले बताए ।
विभागले डिभिजन वन अधिकृतले बन डढेलो नियन्त्रणका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी वन डढेलो नियन्त्रणमा सहयोग लिनुहुन, तथा उपभोक्ता समूह तत्काल परिचालन गर्न र उपलब्ध औजार सामग्रीको अधिकतम परिचालन गर्ने व्यवस्था मिलाउन देशभर परिपत्र गरेको छ । साथै विभागले यसमा आवश्यक सहयोगका लागि रक्षा र गृह मन्त्रालयलाई पत्राचार गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई समेत आग्रह गरेको जनाएको छ ।
पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि हुँदै आएको देखिन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् २००८ देखि सन् २०२१ सम्म वन डढेलोका ३४ हजार सात सय २५ घटना घटेका छन् ।
विगत १४ वर्षसम्म सङ्कलन गरिएको डढेलोका घटनामध्ये सन् २०१६ मा सबैभन्दा बढी सात हजार सात सय ६७ र सन् २०१५ मा सबैभन्दा कम सात सय छ वटा घटना घटेको पाइएको छ ।
तथ्याङ्कअनुसार सन् २००५ देखि सन् २०२१ सम्म वन डढेलोको घटनामा परी एक सय १६ जनाले ज्यान गुमाएका थिए । मानिसहरुको जानाजानीबाट ६४ प्रतिशत, लापरबाही र दुर्घटनाबाट ३२ प्रतिशत र अज्ञात कारकबाट चार प्रतिशत वन डढेलो लाग्ने गरेको तथ्याङ्क छ ।
शुक्रबारदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत
पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा तापक्रम वृद्धि भएसँगै लु समेत चलेको छ ।
यो तापक्रम बढ्ने बेला भए पनि बिचबिचमा बादल थपिँदा तापक्रममा केही कमी हुने वा र उस्तै रहने अवस्था हुन्थ्यो तर अहिले त्यस्तो नहुँदा तापक्रम लगातार बढिरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । अर्कोतिर वर्षाका गतिविधि हुन नसकेका कारण र नयाँ मौसमी प्रणाली विकास नहुँदा मौसम स्थिर रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताए ।
आजदेखि सुदूरपश्चिमतिरबाट बाक्लो बादल देखिएकाले भोलिदेखि केही मौसममा त्यसको केहीअसर देखिने उनले अनुमान गरे । ठूलो वर्षा नभए पनि हल्का तथा क्षणिक वर्षा हुनसक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा
-
‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
-
फ्राइडे रिलिज : ‘तेल भिसा’ भर्सेज ‘अग्निदहन’
-
निता ढुंगानाले निर्माण गरेको फिल्मले अहिलेसम्म कति कमायो ?