शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

स्थानीय तहले थाले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम

बिहीबार, ०७ वैशाख २०८०, १४ : ३०
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । स्थानीय तहले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन सङ्कलन गर्न थालेका छन् । देशभरका ७५३ वटै पालिकाले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन सङ्कलनको काम पालिकास्तरबाटै गर्न थालेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १२ चैत २०७९ मा मन्त्रीस्तरीय निर्णय गरेर वैशाख १ गतेदेखि स्थानीय पालिकाबाटै आवेदन सङ्कलन गर्ने बताएको थियो । सोही आधारमा स्थानीय पालिकाहरूले आफ्नो पालिकाभित्र आवेदन सङ्कलनको काम थालेका हुन् ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन सरकारले स्थानीय तहबाट श्रम स्वीकृतिका लागि आवेदन दिने कार्य स्थानीय तहबाटै गर्ने निर्णय गरेको थियो ।

ललितपुर महानगरपालिकाले ३ वैशाखदेखि महानगरको रोजगार सेवा केन्द्र मार्फत आवेदन भर्ने काम थालेको छ । महानगरले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट थालिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

कतिपयले त्यसको तयारी गरिरहेका छन् भने कतिपयले सबै व्यवस्था मिलाएर काम थालिसकेका छन् ।

त्यसका लागि वैदेशिक रोजगार विभागले तालिम समेत दिएको थियो । सबै रोजगार सेवा केन्द्रलाई अनलाइन मार्फत तालिम दिइएको विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिए ।

श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको सबै काम अनलाइन मार्फत हुन्छ । त्यसका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मार्फत आवेदन दिनुपर्ने हुन्छ ।

निःशुल्क रूपमा भर्न सकिने अनलाइन मार्फत फारमका लागि श्रमिकहरू पैसा तिर्न बाध्य हुन्छन् । कोही आफूले फाराम भर्न नजानेर दलालकहाँ जान्छन् । भने कोही साइबरमा गएर पनि फाराम भर्ने गरेका छन् । त्यहाँ उनीहरूबाट पैसा लिने गरिन्छ । र वैदेशिक रोजगारीमा जाने श्रमिक सुरुवाती प्रक्रियाबाटै ठगिन थाल्छन् ।

त्यस्तो अवस्थाको अन्त्य गर्नका लागि विभागले पालिकास्तरमा रहेका रोजगार सेवा केन्द्रमार्फत नै अनलाइन फारम भर्ने व्यवस्था मिलाएको निर्देशक तथा सूचना अधिकारी भुसालले बताए ।

‘यो सबै काम अनलाइन मार्फत नै हुन्छ । त्यसरी फारम भर्दा कामदार नठगिउन् भनेर हामीले पालिकामा गएर भर्न सकिने व्यवस्था मिलाएका हौँ ।’ उनले भने ।

धेरै जसो पालिकाले आवश्यक व्यवस्था मिलाएर अनलाइन फारम भर्ने कार्य अगाडि बढाइसकेको उनको भनाई छ । कतिपयले कसरी भर्ने भन्ने विषयमा कन्फ्युजनमा रहेको उनीहरू आफ्नो सम्पर्कमा आइरहेको बताए ।

फारम भर्ना नजानेकाहरूलाई सिकाउने गरेको र त्यही आधारमा सेवा प्रदान गर्दै आएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन सरकारले यसअघि सातै प्रदेशबाट श्रम स्वीकृतिको कार्य अघि बढाएको थियो । अनलाइन मार्फत प्रदेशमा रहेका श्रम कार्यालयहरूबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको कार्य अघि बढाएको थियो ।

त्यसपछि सरकारले पालिकास्तरबाटै आवेदन भर्न सहयोग गर्न थालेको हो । यसको उद्देश्य श्रमिक विभिन्न बहानामा ठगिने कार्य अन्त्य गर्नु रहेको निर्देशक भुसालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप