सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रकाश सपुतको गीतमा समाज बोल्छ

बिहीबार, ०७ वैशाख २०८०, १२ : ३१
बिहीबार, ०७ वैशाख २०८०

प्रकाश सपुतको नयाँ गीत सकम्बरी (फूलमाया) आइसकेपछि अहिले सामाजिक सञ्जाल पक्ष–विपक्षमा तातेको छ । कसैलाई गीत मन परेको छ, कसैलाई छैन । तर टिकटकमा भाइरल बनेको छ भने उक्त गीत मैले पाँच पटकभन्दा बढी हेरिसकेँ । 

गीत मन नपर्ने कतिपय दर्शकलाई प्रकाश सपुतको सकम्बरी गीत सुनेर रिस उठेको छ । उहाँहरू भन्नुहुन्छ, ‘उहाँहरूले गाउँबाट सहर छिर्नेहरू सबै देहव्यापार गरेर अघि बढ्ने हुँदैनन् । शब्द र कथाले तीतो अर्थात् नारी अस्मितामाथि नाङ्गो प्रहार गरेको देखिन्छ । छोरीहरू सधैँ झुत्री र गरिब देखिएर हिँड्नुपर्ने हो ? गाउँबाट सहर आएर कलाकारितामा सफलता हासिल गरेका तमाम महिला कलाकारलाई गाउँ फर्किँदा हेरिने दृष्टिकोणको जिम्मा अब कसले लिन्छ ? 

यस्तै कतिपय पुरुषलाई यो गीत सुनेर रिस उठेको छ । नारीप्रति उनीहरूको दृष्टिकोण सकारात्मक रहेछ । तपाईं फूलमायाको परिवेशमा हुर्कनुभयो, तपाईं सकम्बरीका तीता कथादेखि टाढा हुनुहुन्छ । गीतले भनेको  सबै कुरा शतप्रतिशत सत्य त हुँदैन । उक्त गीतको कथा तपाईंले नदेखेको सत्य पनि हुन सक्छ ।

सकम्बरीमा देखाइएको कथा र प्रयोग गरिएका शब्दले नारी अस्मितामाथि प्रहार गरेको भन्ने चाहिँ नबुझ्नु होला । यो सतही सोच हो । गीतमा नारीभन्दा पनि पुरुषको अस्मिताको मजाक गरिएको छ । गीतमा त नारीभन्दा पुरुषलाई नराम्रो देखाइएको छ । दुःखको कुरा के छ भने तपाईंले पुरुषको अस्मिता पनि हुन्छ भन्ने ख्याल नै गर्नु भएन ।

फूलमायाहरूलाई आग्रह

बुबाले चुरोट खाएको देखेर छोराले सिक्न सक्छ । यो हानिकारक चिज भएकाले खानु हुँदैन भनेर पनि सिक्छ । त्यसैले प्रिय फूलमायाहरू तिमीले पक्कै पनि उक्त गीतबाट सकम्बरी कहिल्यै बन्न नपरोस् भनेर प्रण गर्ने सिक्यौ होला । तिमीले बुझ्नुपर्ने कुरा के छ भने फूलकुमारी प्राकृतिक फूल हो । सकम्बरी भने प्लास्टिकको फूलजस्तै हो । सकम्बरीको नक्कली हाँसो हो, खुसी हैन । सकम्बरी बाध्यताले गरिएको खोक्रो कृत्रिम सुन्दरता हो, जो वास्तविकतामा निकै कुरूप छ । सकम्बरी मनको एउटा तुच्छ आकाङ्क्षा हो, यसलाई हेर । यो तिमी हैनौँ, तिम्रो बस् एक विचार हुन सक्छ । 

प्रिय फूलमायाहरू तिमीले बुलाकी कहाँबाट आयो भन्दा मेहनत गरेर कमाएँ भन्न सक्नुपर्छ । पाउजु, सुनको झुम्का, हातमा चुरा, रातो स्कुटर कहाँबाट आयो भन्दा कुनै उद्यम गरेर आर्जन गरेँ भन्न सक्नुपर्छ । तिम्रो गालामा बैँस कति टिक्छ भन्दा मेरो मस्तिष्कको ज्ञान र हातको सीप त रहिरहन्छ भन्न सक्नुपर्छ । तिम्रो बैँसको आयु कति छ भन्दा यस्तो प्रश्न गर्नेलाई तिम्रो पुरातन सोचको आयु कति छ भन्न सक्नुपर्छ । तिमीले धुवाँसरी मन वशमा राखिराख्नू, लगामबिनाको घोडाजस्तै बन्न नदिनू, जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सिक्नू, मनको धोकैले बाटो नबिराउनू ।

तिमीले केही किन्नका लागि आफूलाई बेच्न नपरोस् फूलमाया । तिमी यति सस्तो बन्न नपरोस् । तिमी फूल हौ, तिमीले चुँडिएर सकम्बरी बन्नु नपरोस् । तिमीलाई रातो स्कुटर कल्ले किन्दियो हैन तिमीले रातो स्कुटर कल्लाई किन्दियौ भनेर अरूले तिमलाई प्रश्न सोधून् । मोबाइल, टीभी, घडी तिमीलाई कल्ले किन्दियो हैन, तिमीले कल्लाई किन्दियौ भनेर प्रश्न सोधून् ।

पुरुषहरूलाई आग्रह

वास्तवमा फूलमाया निर्दाेष छ । यहाँ चरित्रहीन त खासमा हामी पुरुष हौँ, जसले फूलमालालाई यो दलदलमा पुर्याउँछौँ । सत्य युगका देवतादेखि देखि २१औँ शताब्दीका आधुनिक पुरुषसमेत नारी पात्र भोगका लागि हो भन्ने बुझ्छौँ । शक्ति, सम्मान, पद, पैसा सकम्बरीकै भोगका लागि खर्चिन सबैभन्दा बढी उत्सुक हुन्छौँ । हामी पुरुषहरूले पनि हाम्रा दिदीबहिनी फूलमाया भएको हेर्न छ भने कुनै पनि फूलमायालाई सकम्बरी हुन बाध्य पार्ने परिस्थिति निर्माण गर्नु हुँदैन । कुनै पनि फूलकुमारीको अभावको फाइदा कहिल्यै उठाउनु भएन । गीतको अन्तिम संवादमा युवती भन्छिन्, ‘कहाँ लेखेको छ र दाइ इज्जत छोरी मान्छेको मात्रै जान्छ भनेर ? तपाईं (पुरुष)हरूको चाहिँ इज्जत जाँदैन ?’ गीतले इज्जत गएका पुरुषहरूकै अनुहार त देखाएको छ । सकम्बरीको इज्जत गएको कहाँ छ र ? बरु परिबन्धमा परेर यौन बेच्न बाध्य हुनुलाई इज्जत बेचेको ठान्ने हाम्रो परिभाषा नै गलत हो कि । 

सरकारलाई आग्रह

फूलमायाहरू सकम्बरी बन्नुमा दोष सरकारको पनि हो । फूलमायालाई पेटको भोकले सहर पसाएको हो । रोजगार नपाउँदा फूलकुमारीले घाँटीमा डाम बसाउने काम गर्न बाध्य हुनुपर्यो । परिश्रम र मस्तिष्क बेचिने बजार नभेटिएपछि शरीर बेच्न पर्याे । देशमा बढिरहेको गरिबी र बेरोजगारीको कारण कोही खाडीमा पसिना बेचिरहेका छन् त कोही ठमेलका गल्लीहरूमा शरीर बेचिरहेका छन् । त्यसैले सबैभन्दा पहिला फूलकुमारीलाई सकम्बरी बन्न दिनु भएन । बनाउन खोज्नेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्याे । शरीर बेच्ने पसललाई अवैध मान्नुभन्दा पनि वैध नै मान्ने हो कि ? जो विकल्प हुँदाहुँदै रहरले सकम्बरी बनेका छन् । जसलाई व्यावसायिक नै बनाउने हो कि ? जोसँग जे छ त्यही बेच्न पनि त पाउनु पर्याे नि । जसले विभिन्न बलात्कारका घटनादेखि लिएर अन्य अपराध पनि कम गराउँछ । बनिसकेका सकम्बरीलाई अलिकति पनि आत्मसम्मान दिन्छ । अनि राजनीतिक पार्टीहरूले राजनीतिमा सकम्बरीहरूलाई हैन, फूलमायाहरूलाई स्वागत गर्ने हो कि ? अलि गहिराइमा पुगेर चिन्तन गर्नुपर्ने देखिन्छ ।

सपुतलाई धन्यवाद

तपाईंका गीतले गीत हैन समाज बोल्छ । कसैले नदेखेका कथा देख्छ । देखेर पनि वास्ता नगरिएको कथा गीत, सङ्गीतमार्फत् प्रस्तुत गरेर सिङ्गो समाजलाई तरङ्गित पार्छ । अँध्यारोमा रहेका कथालाई प्रकाश दिन्छ । प्रश्न गर्न सिकाउँछ । वैचारिक क्रान्ति गर्न बाध्य पार्छ । तपाईंले बनाएका कथा युट्युबमा मात्र हैन, मस्तिष्कमा पनि ट्रेन्डिङमा आउँछ । यसर्थ आगामी साङ्गीतिक यात्राको शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकराज आचार्य
लोकराज आचार्य
लेखकबाट थप