आमा भेन्टिलेटरमा हुँदा मैले माफ मागेँ
बाथरुम जाँदा अकस्मात आमालाई श्वासप्रश्वासमा बाधा भएछ, बाबु भनेर कराउनुभयो । म पुग्नुभन्दा पहिला मेरी श्रीमती पुगिन्, तुरुन्तै उहाँलाई अस्पताल लग्यौँ । आईसीयू र भेन्टिलेटरमा राखियो । बाँच्ने आशा नदेखेपछि डाक्टरहरूले घरै लैजान भनेका थिए, तैपनि हामीले चार दिनसम्म आमालाई अस्पतालमै राख्यौँ ।
भेन्टिलेटरमा राखेका बेला मैले आमासँग केही कुरा गर्न चाहेको थिएँ तर उहाँ बोल्न नसक्ने अवस्थामा पुग्नुभएको थियो । त्यो पीडादायी क्षणमा आमाको मनमा के कुरा थिए होला, सोध्न पाएको भए ! आमा बोल्न नसके पनि मैले आमासँग माफी मागेँ । भेन्टिलेटरमा डाक्टरले भेट गर्न दिँदा मैले भनेको थिएँ– हामीबाट कुनै गल्ती भए, हामीले कुनै दुःख दिएको भए माफ गर्नुहोला आमा, तपाईं बोल्न सक्नुहुन्न । मेरा शब्द त सुन्नुभएको होला ।
संसारका हरेक प्राणीका लागि महत्त्वपूर्ण सहारा हुन् आमा । आमाविना कुनै प्राणीको कल्पनासम्म हुँदैन । संसारकै सबैभन्दा पूज्य देवी र सबैभन्दा महत्त्वपूर्ण तीर्थस्थल हुन् आमा ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ५ (साबिकको कृष्णगण्डकी गाविस)मा मेरी आमा (तारादेवी न्यौपाने)ले हामीलाई हुर्काउनुभयो । बुवा (रुक्माङ्गत न्यौपाने) पुरोहित हुनुहुन्थ्यो, बाहिरफेर हिँडिरहनुपथ्र्यो । आमाले एक्लै घर–व्यवहार र खेतीपाती सम्हालेर हामीलाई हुर्काउनुभयो । म जन्मेको दुई वर्ष नबित्दै मेरी ठूली बहिनीको जन्म भयो, हामीलाई कोक्रामा राखेर आमा घाँस–दाउरा र मेलापातका लागि जानुहुन्थ्यो ।
स्याङ्जाको कालीगण्डकी गाविसबाट करिब दुई कोस दूरीमा रहेको दीर्घा भन्ने ठाउँमा आमाको जन्म भएको थियो । हाम्रा मावलीको आर्थिक अवस्था राम्रै हो । तर त्यतिबेला अहिलेजस्तो शिक्षाको प्रचलन नभएको र छोरी पढाउन समाज उदार नभइसकेकाले मेरी आमाले अक्षर चिन्न पाउनुभएन । मेरो हजुरबुवा र बुवाहरू सबैले पण्डित, पुरोहितको काम गर्नुहुन्थ्यो । मेरो बुवाले बाबुबाजेबाटै संस्कृत शिक्षा लिनुभएको थियो । कालीगण्डकी गाउँ पञ्चायतमा स्कुल नखुल्दै हाम्रो घरमा गुरुकुल थियो ।
आमासँगै म कैयौँपटक रोएको छु । उहाँले निकै मेरो चिन्ता गर्नुहुन्थ्यो, मलाई सधैँ केटाकेटी ठान्नुहुन्थ्यो । म ठूलै हुँदासम्म पनि उहाँले मलाई तिम्रो ज्ञान अझै पलाएको छैन भनेर सम्झाउनुहुन्थ्यो ।
हाम्रो घरछेउमा बनाइएको टहरोमा वरपरका मानिसहरु अध्ययन गर्न आउँथे, ३५–४० जना विद्यार्थी खाने–पकाउने व्यवस्था आफैँ गरी गुरुकुलमै बस्थे । मेरो बुवाले ज्योतिष भएकाले धुलौटेपाटीमा ज्योतिष विद्या सिकाउनुहुन्थ्यो ।
घरमै र गाउँको स्कुलमा पढेपछि म भारतको गोरखपुरस्थित संस्कृत विश्वविद्यालयमा पढ्न गएँ । त्यहाँ संस्कृत र अंग्रेजीको पनि शास्त्रीसम्म अध्ययन गरेँ ।
अध्ययनका लागि भारत जाँदा आमा र घर छाड्नुपरेकाले म रोएको थिएँ । म भारतमा कक्षा ९ मा भर्ना हुने गरी गएको थिएँ । मेरो उमेर सानै भएकाले आमाले हिँड्ने बेला मलाई सम्झाउनुभएको थियो– चोर्ने–लुट्ने नगर्नू, आफूसँग भएको चिज बाँडेर खानू । सबैलाई बाँडेर खाँदा नै मेरी आमालाई सन्तुष्टि मिल्थ्यो ।
पूजाआजा गर्नु, तुलसीको मोठमा बत्ती बाल्नु, कुशासनमा बसेर एक–दुई घण्टा माला जप्नु आमाको दैनिकी थियो । शौचालय जाँदा उहाँले लगाउने लुगा बेग्लै थिए । अलिकति धार्मिक र आध्यात्मिक प्रवृत्तिको भएको भए पनि उहाँ अन्धविश्वासी हुनुहुन्नथ्यो । जीवनको उत्तराद्र्धमा उहाँले जातीय भेदभाव र छुवाछूत गर्नु हुँदैन भन्नुहुन्थ्यो ।
भारतबाट शास्त्री गरेर नेपाल आएपछि मैले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेँ । यसपछि पनि भारत गएर संस्कृतबाट आचार्य ‘हिन्दी र नेपाली गजलको विश्लेषणात्मक अध्ययन’ शीर्षकमा विद्यावारिधि गरेँ । अध्ययनका कारण आमासँग धेरै समय बिताउन नपाए पनि बिर्सनै नसकिने क्षणहरू धेरै छन् । मैले जीवनमा जे जेति गरेँ, यसमा मेरो बुवाको भन्दा आमाको योगदान बढी छ ।
२०२९ सालतिर, म कक्षा १० मा पढ्दै थिएँ, स्कुलमा मासिक शुल्क १० रुपैयाँ थियो । त्यतिबेलाको १० रुपैयाँ अहिलेको १० हजार बराबर हो । आमाले खाइनखाई मेरा लागि स्कुल फिसको जोहो गरिदिनुहुन्थ्यो ।
आमाले हामीलाई माया मात्र होइन, सम्मान पनि उत्तिकै गर्नुहुन्थ्यो । हामी छोराछोरीलाई उहाँले कहिल्यै तँ भन्नुभएन । कहिलेकाहीँ ठाकठुक पर्दा पनि हामीले तँ भनेको सुनेनौँ । आमासँग मैले कहिल्यै झगडा गर्नुपरेन । कहिलेकाहीँ केही अटेर गर्दा, भनेको नमान्दा, उहाँले सम्झाउनुहुन्थ्यो, त्यसलाई स्वाभाविक लिन्थ्यौँ । आमाको मनको कुरा मैले बुझिनँ कि, आमाको चित्त दुखाएँ कि भनेर मलाई बेला बेला पीडा हुन्थ्यो । पछिल्लो समय मैले आमालाई केही सुख दिने कोसिस गरेको थिएँ । तातोपानी र चिसोपानी भएको एट्याच बाथरुमसहितको कोठा उहाँका लागि व्यवस्था गरेका थियौँ । पोहोरको भदौमा, ८९ वर्षको उमेरमा उहाँले हामीलाई छाडेर जानुभयो ।
खेतीपाती, घरधन्दा, हामी छोराछोरीको स्याहारसुसार– सबै काम आमाले एक्लै कसरी भ्याउनुहुन्थ्यो ? आज सम्झँदा मनलाई नै सकस हुन्छ ।
आमासँगै म कैयौँपटक रोएको छु । उहाँले निकै मेरो चिन्ता गर्नुहुन्थ्यो, मलाई सधैँ केटाकेटी ठान्नुहुन्थ्यो । म ठूलै हुँदासम्म पनि उहाँले मलाई तिम्रो ज्ञान अझै पलाएको छैन भनेर सम्झाउनुहुन्थ्यो ।
आमासँग साटेका खुसीका पलहरू पनि धेरै छन् । कोरोना सुरु भएपछि म आमासँगै बसेँ । विश्वविद्यालयको प्राध्यापन पेसाबाट अवकाश पाएपछि त आमासँगै रहेँ । उहाँको स्वभाव आध्यात्मिक र भावनात्मक थियो, कसैको दुःख देख्नेबित्तिकै रोइहाल्ने । कहिलेकाहीँ म पुरस्कृत र सम्मानित हुँदा आमा अत्यन्त खुसी हुनुहुन्थ्यो र खुसीका आँसु झार्नुहुन्थ्यो । मैले पाएको सम्मानपत्र र दोसल्लालाई वल्टाइपल्टाइ हेर्नुहुन्थ्यो । बुहारी भित्र्याउँदा उहाँ अझ खुसी हुनुभएको थियो ।
मैले पढेर जागिर नखाँदासम्म गाउँमा आमालाई दुःखै थियो । बुवाले किनेको जग्गामा मुद्दा प-यो, यही मुद्दामामिलामा पनि बुवा घरबाहिर हिँडिरहनुपथ्र्यो । खेतीपाती, घरधन्दा, हामी छोराछोरीको स्याहारसुसार– सबै काम आमाले एक्लै कसरी भ्याउनुहुन्थ्यो ? आज सम्झँदा मनलाई नै सकस हुन्छ । म आठ वर्षको हुँदा, हाम्रो घरमा धेरै भैँसी थिए । गोठ, भकारो र दुहुने काम सबै आमाले गर्नुहुन्थ्यो । एकपटक एकैचोटि घरका दुईवटा लैना भैँसी मरे, आमा ज्यादै दुःखी हुनुभएको थियो ।
(गजलकार प्रा.डा. घनश्याम परिश्रमीसँग रातोपाटीकर्मी शिखर मोहनले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस (नामावलीसहित)
-
उपनिर्वाचनका लागि यस्तो छ तयारी, आयोगले मागेको जति बजेट निकासा भएन
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा अनुबन्ध
-
स्वर्णलक्ष्मी सहकारीको बैंक खाताहरू रित्तै, शून्यदेखि ४ रुपैयाँसम्म मौज्दात
-
स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध