प्रहरीलाई गृहको जवाफ : नेपालीलाई दिएको भुटानी शरणार्थीको परिचयपत्र ‘नक्कली’

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा ५ जनालाई प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रहरीले आरोपीहरु विरुद्धको मुद्दा ‘संगठीत ठगी’मा रुपान्तरण गरेको छ । ‘संगठित ठगी’ मुद्दामा प्रहरीले आरोपीहरुलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।
नेपालीलाई भुटानी बनाएर अमेरिका लैजाने नाममा ठग्ने गिरोहमा मोरङ घर भएका केशव दुलाल, सागर राई, दाङका सन्देश शर्मा, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङ थुनामा छन् । आरोपीहरुले पीडितलाई बनाइदिएको ७ थान ‘शरणार्थी परिचयपत्र’ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको थियो ।
बरामद गरिएको परिचयपत्रको ‘आधिकारिकता’ बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले प्रहरीलाई त्यसबारे जवाफ दिएको छ । मन्त्रालयले ती परिचयपत्र ‘गृह मन्त्रालयबाट जारी नभएको’ जवाफ पठाएको छ ।
‘आरोपीहरुले पीडितलाई दिएको परिचयपत्र नक्कली रहेको गृह मन्त्रालयले जवाफबाट देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्,‘अब, आरोपीहरुविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा पनि अनुसन्धान गर्छौं ।’
बरामद ७ थान शरणार्थी परिचयपत्र नक्कली रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । शरणार्थी बनाएर ‘अमेरिका लैजान्छौं’ भनेर ठगेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँमा १७ वटा जाहेरी दर्ता भएको छ । पीडितको संख्या अहिलेसम्म १३९ पुगेको छ ।
पीडितको जाहेरीको आधारमा अहिलेसम्म २३ करोड ठगी गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए । उनले भने,‘अहिलेसम्म २३ करोड ठगी भएको अनुसन्धान निष्कर्ष छ, जाहेरी आउने क्रम जारी छ ।’
मुख्य आरोपीले भने–‘मन्त्रालय मिलाउने जिम्मा मेरो थियो’
भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दाका मुख्य योजनाकार सन्देश शर्माले मन्त्रालय मिलाउने जिम्मा आफ्नो रहेको बयान दिएका छन् ।
तत्कालीन गृहमन्त्री राम बहादुर थापा ‘बादल’का छोरा प्रतीक आफ्नो साथी भएको उल्लेख गर्दै शर्माले भनेका छन्,‘गृह मन्त्रालयमा कुरा गर्ने र सूचना ल्याउने जिम्मा मलाई दिएका थिए ।’
केशव दुलाल र सानु भण्डारीले गृहमा मिलाएबापत आफूलाई ‘मोटो रकम’ आउने आश्वासन दिएको शर्माले प्रहरीसँगको बयानमा बताएका छन् ।
प्रहरीले शर्मा र पीडित मध्येका गजेन्द्र बुढाथोकीको बिचमा भएको अडियो बरामद गरेको छ । बरामद गरिएका अडियोहरु प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आफ्नो र गजेन्द्रको बीचमा भएको अडियो कुराकानीबारे शर्माले जवाफ दिएका छैनन् । प्रतीक थापा र सन्देश बिचको कनेक्सनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा उद्योग र कम्पनी दर्ताको दर घट्दो
-
जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
-
मकवानपुरको सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते
-
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता
-
आमाको नामबाट नागरिकता लिन सकस, दशकदेखि धाउँदा पनि सुन्दैन सरकार
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना