नेपाल नम्बर एक एमरच्योर गल्फर सुवास शीर्षस्थानमा
काठमाडौँ । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन नेपाल नम्बर एक गल्फर सुवास तामाङ २ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन्।
गोकर्ण गल्फ क्लबमा दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवासले आज ३-अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १०-अन्डर २ सय ६ सहित पहिलो दुई दिनका लिडर सञ्जय लामालाई २ स्ट्रोकले पछि पारे। सञ्जयले इभन-पार ७२ मा खेल सकाए। समग्रमा ८-अन्डर २ सय ८ को स्कोरमा उनी दोस्रो स्थानमा झरे। पहिलो दिनका एकल लिडर सञ्जयले दोस्रो दिन भने एमरच्योर सद्भावसँग शीर्षस्थान बाँडेका थिए। अन्तिम १८ होलको खेल बाँकी रहँदा यो पटक पनि एमेच्योर खेलाडीले प्रोफेसनल गल्फरलाई कडा चुनौती दिएका छन्।
४-अन्डर ६८ को उत्कृष्ट नतिजा सहित समग्रमा ६-अन्डर २ सय १० को स्कोरमा रवि खड्का तेस्रो स्थानमा उक्लिए। लयमा फर्किएका भुवन नगरकोटीले तेश्रो दिन पनि ४-अन्डर ६८ मा खेल सकाए। लगातार दुई दिन ४-अन्डर खेलेका उनी समग्रमा ५-अन्डर २ सय ११ को स्कोरमा चौथो स्थानमा उक्लिए।
दोस्रो दिन सानदार प्रदर्शन सहित सञ्जयसँग शीर्षस्थान बाँडेका एमरच्योर सद्भाव आचार्यले आज ४-ओभर ७६ को खराब प्रदर्शन गरे। समग्रमा ४-अन्डर २१२ सहित उनी पाँचौँ स्थानमा तल झरे।
समग्रमा २-अन्डर २ सय १४ स्कोर गर्दै छैटौँ स्थानमा रहने क्रममा नीरज तामाङले आज १-ओभर ७३ मा खेल सकाए। १-ओभर ७३ खेल्दै समग्रमा १-ओभर २ सय १७ को स्कोरमा कमल तामाङ सातौँ स्थानमा छन्। समग्रमा २-ओभर २ सय १८ सहित जयराम श्रेष्ठ र रमेश अधिकारीले संयुक्तरुपमा आठौँ स्थान बाँडे। जयरामले ३-अन्डर ६९ र रमेशले इभन-पार ७२ मा खेल सकाए। एमेच्योर टासी छिरिङ र प्रो भुबहादुर गुरुङ समग्रमा ३-ओभर २ सय १९ को स्कोरमा संयुक्तरुपमा दसौँ स्थानमा रहेका छन्। टासीले ४-अन्डर ६८ र भुबहादुरले २-ओभर ७४ को कार्ड बनाए।
लगातार तेस्रो दिन पनि अन्डर पारको स्कोर निकाल्ने क्रममा सुवासले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। दिनको सुरुवात बर्डीबाट गरे पनि दोस्रो र चौथौं होलमा एक-एक सट खेर फाले। यसपछि छैटौँ र सातौँ होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन २-अन्डर ३४ मा सकाउने क्रममा सुवासले १०औँ, १२औँ र १८औँ होलमा एक-एक सट बचाए र १६ औँ होलमा बोगी खेपे।
सञ्जयले खराब सुरुवात गरे। दोस्रो, चौथो र छैटौँ होलमा बोगीको सामना गर्दै फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाउन बाध्य भए। तर ब्याक नाइनमा सम्हालिदै ३-अन्डर ३३ को स्कोर निकाले। ११औँ, १२औ,१५औ र १७औँ होलमा बर्डीको सफलता प्राप्त गरे भने १८औँ होलमा एक सट खेर फाले।
रबिले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५-अन्डर ३१ को स्कोर गरे। पहिलो, दोस्रो, तेस्रो र छैटौँ होलमा बर्डी प्रहार गरे भने चौथो होलमा एक सट खेर फाले। र उनले तीन पारको आठौँ होलमा होल इन वानको सफलता प्राप्त गरे। ब्याक नाइन भने १-ओभर ३७ मा पुरा गरे। १३औँ र १४औँ होलमा बोगीको सामना गर्दा १५औँ होलमा एक सट बचाए।
७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ८ लाख नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।