बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीमा कांग्रेसबाट सिफारिस मन्त्रीको शपथ किन रोकियो ?

कांग्रेस दलका नेता मुख्यमन्त्रीसँग आक्रोशित
बुधबार, ०६ वैशाख २०८०, १६ : ०७
बुधबार, ०६ वैशाख २०८०

सुर्खेत । कर्णालीमा मङ्गलवार नेपाली कांग्रेसले सिफारिस गरेका मन्त्रीको शपथ रोकिएको छ ।  बुधवार दिउँसो ३ बजे मन्त्रीको शपथ भनिए पनि अहिलेसम्म मन्त्रीको शपथ हुन सकिरहेको छैन । यद्यपि यो विषयमा कर्णालीमा न कांग्रेसले नै जवाफ दिइरहेको छ न त नेतृत्वमा रहेको माओवादीले नै । तर, स्रोतका अनुसार कांग्रेसभित्र मन्त्रीको विषयलाई लिएर केन्द्रबाट सिधै मुख्यमन्त्री शर्मालाई शपथ रोक्नका लागि ‘सिग्नल’ आएको बुझिएको छ ।

कांग्रेसबाट जाजरकोटका बेदराज सिंह, सुर्खेतका खड्गबहादुर पोखरेल र दैलेखका कृष्णकुमार बिसीको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर, यसअघि मुख्यमन्त्रीकै लाइनमा रहेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य राजीवविक्रम शाहले दाबी गरिरहेका थिए । मङ्गलवार कांग्रेसको कार्यसम्पादन समितिको निर्णयपछि दलका नेता जीवनबहादुर शाहीले अर्थमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसीलाई सिफारिस गरेका थिए ।

स्रोतका अनुसार पार्टीभित्र सिनियर नेता शाहलाई बेवास्ता गरी शाहीले सिंहलाई सिफारिस गरेका थिए । त्यो कुरा शाह पक्षले पार्टी केन्द्रलाई राखेपछि केन्द्रबाट नै दबाब आएकाले मुख्यमन्त्री शर्माले अहिलेसम्म शपथ कार्यक्रम अघि बढाएका छैनन् ।  कांग्रेसभित्रै पनि मन्त्रीका लागि सन्तुलन नमिलेको कुरा उठिरहेको छ । दलका नेता शाहीले राजीवलाई काउन्टर दिन बेदराज सिंहलाई अगाडि सारिएको भन्दै शाह पक्षले केन्द्रसँग गुहार मागेको थियो ।

प्रदेश प्रमुखको कार्यालयका सचिव भिमराज थानीले अहिलेसम्म शपथका लागि कुनै पत्र नआएको बताए ।  ‘पत्र आइसकेको छैन । केही सूचना पनि छैन । बिहान सचिवज्यूले बेलुका सम्म आउँछ भनेर भन्नुभएको थियो । तर, नेतृत्वबाट कुनै जानकारी आएको छैन । हामीकहाँ पत्र आएपछि मात्रै हामीले समय तोक्ने हो,’ उनले भने । 

स्रोतका अनुसार निर्णय उल्टिने सम्भावना पनि देखिएको छ । शाह देउवा पत्नी आरजु निकट भएकाले केन्द्रबाट नै दबाब आएको स्रोतको दाबी छ ।

कांग्रेसबाट नाम सिफारिस गरिएका मन्त्री भने आफूहरू तयारीमा रहेको तर, अहिलेसम्म कुनै जानकारी नआएको बताउँछन् । सरकारका प्रवक्ता कृष्णबहादुर जिसी आफूले यो विषयमा मुख्यमन्त्रीसँग बुझ्दै गरेको बताउँछन् ।

कांग्रेस नेता शाही आक्रोशित

शपथ कार्यक्रमलाई लिएर कांग्रेस नेता शाही आक्रोशित बनिरहेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने,‘ हामीले नाम दिएको  ४८ घण्टा हुन लागिसक्यो, मुख्यमन्त्रीले किन शपथ रोकेको ? दलका नेताले सिफारिस गरेपछि त शपथ ग्रहण गर्नु नि । उहाँ (मुख्यमन्त्री) ज्यू खुब लडाकु भन्थे किन निर्णय लिन सक्नुहुन्न । मेरो पार्टीको कुरा त मैले मिलाउने हो, पार्टीले कारबाही गरे पनि मलाई गर्ला नि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप