मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
मध्यपश्चिम विश्वविद्यालय

यो सतीले सरापेको देश हो भन्दै जब उपकुलपति सिंह कड्किए

बुधबार, ०६ वैशाख २०८०, १५ : १७
बुधबार, ०६ वैशाख २०८०

सुर्खेत । ‘के अपमान गरेको हो कर्णालीका जनतालाई ? कर्णालीमा जनता लाटा छन् ? तथाकथित विद्धानहरु खबरदार ! जथाभावी पदहरु सिर्जना गर्दै विश्वविद्यालयालाई ध्वस्त बनाउने ?’..... सरकारको पैसा खत्तम गर्ने ? मान्छेका नाम भन्दिऊँ ? अहिले भनिनँ मैले, ती ५/६ जना गजेडीहरु बेलुका एक ठाउँमा बसेर कुरा गर्न सक्छन्, ती कुन होटेलमा बस्छन् भनेर सेक्युरेटीलाई भनेको छु ।’

यी शब्द मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहका हुन् । केही दिनअघि उनले कुनै एक जुम मिटिङमा भनेको कुरा सामाजिक सञ्जालमा चर्चामा छ । निकै आक्रोशपूर्ण तरिकाले उत्रिएका सिंहले आफ्नो पदीय मर्यादालाई समेत बेवास्ता गरेका छन् । यसो हुनुका पछाडि केही कारण रहेको बुझिएको छ ।

केही दिनअघि विश्वविद्यालयले कुनै एक पत्रिकामा सम्बन्धन सम्बन्धी आवेदन खुला गराएको थियो । जसका केही व्यक्तिले सिंहलाई दबाबमा पारिरहेको र विद्यार्थी संगठनलाई उचालेर विश्वविद्यालयमा तालाबन्दी गर्नेदेखि भनाइ तोडमोड गर्ने गतिविधि भइरहेको सिंहले बताए ।

यही विषयलाई लिएर बुधबार सिंहले जुमको माध्यमबाटै पत्रकार सम्मेलन गरे । सूचनामा ‘विश्वविद्यालयद्वारा आह्वान गरिएको सम्बन्धन र २५ जना पीएचडी तथा पोष्ट पीएचडी अनुसन्धानकर्ताको विज्ञापन सम्बन्धमा उपकुलपति सिंहको पत्रकार सम्मेलन र राष्ट्रिय आह्वान’ भनिएको थियो ।

उनले आफू एक पैसा पनि घुस नखाने र कसैलाई घुस नदिने बताए । उनको भनाइ अनुसार सम्बन्धनका विषयमा केही प्राइभेट विद्यालयका व्यक्ति, विश्वविद्यालयकै केही व्यक्ति र राजनीतिक दलका मान्छेहरुले भागबण्डाको तवरबाट सम्बन्धन दिन दबाब आएको देखिन्छ । साथै केहीले सम्बन्धन नदिन भन्दै विद्यार्थीलाई उचालेको आरोप उनको छ ।

उनले भने, ‘क्वालिटी मेन्टन गर्न सक्नेलाई हामी सम्बन्धन दिन्छौँ । म राष्ट्रवादी मान्छे हो, योग्य निजी क्याम्पस छन्, उनीहरुलाई सम्बन्धन दिनुपर्छ । यसो गर्दा विश्वविद्यालयको खातामा पैसा आउँछ अनि विश्वविद्यालय धनी बन्छ । यस्तो अवस्थामा किन सम्बन्धन नदिने ?’

सिंहले विश्वविद्यालयलाई उचाइँमा पु¥याउन खोज्दा आफूलाई दलाल र माफियाकरण गर्न खोजिएको भन्दै आक्रोशित बने । आफूले एक पैसा खाएको भए देखाउन उनले चुनौतीसमेत दिए ।

‘यो सतीले सरापेको देश हो, यस्तो देशमा मैले गरेको कुरा कुनै नेताले देख्दैन भने पनि मलाई केही फरक पर्दैन,’ सिंहले भने, ‘म सही काम गर्छु । शिक्षालाई व्यापारिकरण ग¥यो भन्नु जायज छैन ।’ उनले विश्वविद्यालयलाई कसैले धम्क्याएर अब नधम्किने बताउँदै विश्वविद्यालय कसैको पेवा नभएको जिकिर गरे ।

उनले भने, ‘भागबण्डा र घुस दिन सकिँदैन, सरी भन्छु । त्यो विषयमा वक्तव्य दिएर, तोडमोड गरेर थर्काउन कसैले पाइँदैन । मैले खानासमेत नखाएर विश्वविद्यालयको काममा लाग्दा तपाईहरुलाई अलिकति टिठ लाग्दैन ?’

मेराविरुद्ध ९४ वटा मुद्दा दर्ता छन्

उपकुलपति सिंहले आफूले राम्रो काम गर्दागर्दै पनि आफ्नाविरुद्ध ९४ वटा मुद्दा दर्ता गरिएको उल्लेख गरे । ती मुद्दा दिने मान्छे परिवर्तनका पक्षधर नभई कुनै न कुनै स्वार्थका आधारमा चलिरहेको उनको भनाइ थियो ।

विश्वविद्यालयलाई राजनीतिकरणका नाममा ध्वस्त बनाउन खोजे अब आफू चुप लागेर नबस्ने चेतावनी सिंहको छ । ‘म त्यस्तो भीसी होइन, जो भ्रष्टाचार गर्न आएको हुँ, म चुप लागेर बस्दिनँ अब, राजनीतिक संगठनहरुले विश्वविद्यालय ध्वस्त पारे,’ उनले थपे, ‘विश्वविद्यायभित्र जनवर्गीय संगठनमा म मान्दिनँ, चिन्दिनँ । क्लियर कट बनेर आउनुस्, गलत कुरामा नलाग्नुस् ।’

सिंहको भनाइ जस्ताको त्यस्तै

सम्बन्धनको विषयलाई लिएर भीसीसँग मिलेर भागबण्डा हुन्छ कि भनेर नसोच्दा हुन्छ । च्यालेञ्ज गर्छु, तातोपानी खाएर बसेको छु । विश्वविद्यालयलाई छोरो सम्झेर बसेको छु । तपाईहरुलाई टिठ लाग्दैन ? अब नाम लिन्छु कुनै दिन, दुई वर्षदेखि तलव खाएर एउटा कक्षा पनि नपढाउने शिक्षक छन्, तिनलाई अब कारबाही गर्ने कि नाइँ ? गत तीन वर्षमा ४ खर्ब रुपैयाँ विद्यार्थीको पैसा बाहिर गयो । गत १० महिनामा ११ अर्ब गयो । गोविन्द केसीजस्ता मान्छेले गर्दा धेरै मेडिकल कलेज बन्द भएका छन् । जसका कारण विद्यार्थी विदेश जान बाध्य छन् ।

राजनीतिक मेजर दललाई आग्रह गर्दछु, सम्बन्धन आवश्यक छ कि छैन ? मलाई टाइम चाहिन्छ । कसले कति भ्रष्टाचार गरेका छन् भन्दिऊँ ? मसँग त्यस्तो थुप्रै केसहरु छन् । त्यसैले मसँग ट्याइँ–ट्याइँ नगर्नुहोस् । विश्वविद्यालयमा तालाबन्दी गर्ने, तोडमोड गर्ने ? काम गर्दा जथाभावी लेख्ने ! त्यसो भएको खण्डमा अब साइबर क्राइममा मुद्दा हाल्छु ।

२१ औँ शदाब्दीको विश्वविद्यालय बनाउन लागिरहेका छौँ । तपाईहरु आउनुस्, पोजेटिभ कुरामा समर्थन छ । सम्बन्धनबाट घुस खान्छु भन्ने ? सम्बन्धन आवश्यक छ भने भन्नुस्, होइन भने नेपालको ऐन, नियम चेञ्ज गर्नुस् ! होइन भने विश्वविद्यालयमा अनावश्यक गतिविधि गर्ने ? अनावश्यक वक्तव्यबाजी गर्ने ? खोइ तपाईको मार्क्सवाद, लेलिनवाद, लाज लाग्दैन तपाईहरुलाई ? नाम भन्दिऊँ ? केही प्राइभेट मान्छेहरु मिलेर विद्यार्थीहरुलाई उक्साइरहेका छन् । आफूले प्राइभेट चलाउने, अनि प्राइभेट दिनुहुँदैन भनेर भन्न लाज लाग्दैन ? यो देशका भीसीको पीडा कसले सुन्ने ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप