काठमाडौँ । आज मिति २०८० साल वैशाख महिनाको ५ गते शुक्रबार । आज नयाँ वर्षको पहिलो दिन देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–
मन्त्रिपरिषद्को निर्णय
राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज भएको छ’ ती अधिकारीले भन,‘ठेक्का पाउने कम्पनीको इजाजत पनि खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।’
कारबाही फिर्ता
नेपाली कांग्रेसले बारा, चितवन र तनहुँका नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिद्वारा २०७४ र २०७९ सालका तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र पार्टीको हित विपरीत गतिविधिमा संलग्न रहेको भन्दै कारबाही गरिएकाहरूको कारबाही फुकुवा गरिएको हो ।
कोरोनाबाट २ जनाको मृत्यु
पछिल्लो दिनमा कोरोना सङ्क्रमित बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
लेखा समितिको सभापति
आम निर्वाचन सम्पन्न भएको ५ महिनापछि बल्ल राजनीतिक दलहरू संसदीय समिति गठनको गृहकार्यमा लागेका छन् । यस क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापति पाउने निश्चित जस्तै छ । विगतको अभ्यास अनुसार पनि प्रमुख प्रतिपक्ष दलले लेखा समितिको नेतृत्व गर्ने परम्परा रहेकाले यस पटक एमालेको भागमा लेखा समिति पर्ने निश्चित भएको सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूकै भनाइ छ ।
छानबिन समिति गठन
राजधानीको शान्तिबाटिकामा मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन भएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।
सेक्युरिटी प्रिन्टिङ घोटाला
सुरक्षण मुद्रण केन्द्रमा कामै नगरी रकम भुक्तानी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । वैशाख ३ गते अख्तियारले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा कामै नगरे पनि काम भएको भनी रकमको भुक्तानी गरिएको दाबी लिइएको छ ।
गृहमन्त्रीले देखेका ४ राष्ट्रिय कार्यभार
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार पत्रकारहरुसँग लामो छलफल गरेका छन् । गृह प्रशासन सुधार गर्नेबारे सुझाव लिन पत्रकारलाई मन्त्रालयमा बोलाएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले चारवटा राष्ट्रिय कार्यभारको व्याख्या गरे ।
उपेन्द्रको सपना भर्सेस सीके राउतको रणनीति
बारा क्षेत्र नम्बर–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा जसपा नेपाल र जनमत पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । १ लाख ५ हजार २९८ मतदाता रहेको सो क्षेत्रमा दुवै दलका लागि उपचिर्वाचन प्रतिष्ठाको लडाइँ बनेको छ ।
पहिलो प्रयासमै हिट कुशुम
र्जनौँ म्युजिक भिडियो अभिनय, सोही हाराहारी मिडिया अन्तर्वार्तामा छाउँदा पनि हिट नहुने थुप्रै व्यक्ति छन्, नेपाली कलाक्षेत्रमा । उनी भने एक म्युजिक भिडियोबाट रातारात चर्चित भएकी छन् ।
किन चलेन कार्गो रेल ?
रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन सकेको छैन । रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका–१ मा लगभग ६ बिगाहा जग्गाको मुआब्जा विवादका कारण केही स्थानको काम रोकिएको छ । बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसीपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ ।
प्रतिक्रिया