पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्यो प्याराग्लाइडिङ
पोखरा । नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् ।
साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले स्वागत गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । उनले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटनमार्फत पर्यटन भित्र्याउन सकिने विश्वास व्यक्त गरे ।
पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको जनाउँदै राज्य र निजी क्षेत्रको सहकार्यबाट पर्यटन प्रवर्द्धनमा जोड दिन आवश्यक रहेका उनको भनाइ थियो । नार्कका अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको सराङकोटबाट मान्द्रेढुङ्गा सारिएको प्याराग्लाइडिङमा पहिलोपल्ट यति धेरै चिनियाँ पर्यटकबाट प्याराग्लाइडिङ हुनु निकै सकारात्मक सन्देश भएको बताए ।
उनले भने, “हामी निकै खुसी छौँ, सुस्ताइरहेको पर्यटन र प्याराग्लाइडिङ क्षेत्रमा यति धेरै विदेशी पाहुनाले प्याराग्लाइडिङ गर्नुभएको छ , यसले नयाँ ठाउँलाई प्रवर्द्धनमा पनि सघाउ पु¥याउने छ ।” उनले चीनको ‘आउटबाउण्ड’ गन्तव्यको सूचीमा नेपाल परेको चिनियाँ पर्यटकको आगमनले पर्यटन प्रवर्द्धनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नाका महासचिव खेमराज आचार्यले पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने बताए । उनले साहसिक खेलप्रेमीका लागि प्याराग्लाइडिङबाट सुन्दर दृश्यवलोकनका लागि मान्द्रेढुङ्गा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताए । उनका अनुसार चिनियाँ ९० जनासहित दुई सय ५० जनाले मान्द्रेढङगाबाट प्याराग्लाइडिङ गरेका थिए ।
पहिलो पटक नेपाल आएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको बताइन् । पहिलो पटक नेपाल आएको सुनाउँदै उनले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिइन् । उनले अन्य साथीलाई नेपाल घुम्नका लागि सुझाव दिने बताइन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा एक सय ८१ जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर नेपाल भ्रमणमा आएकी थिइन् ।
नाकाका पूर्वअध्यक्ष कृष्ण भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै माघ १ देखि मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान भए पनि पर्यटकको आगमन बढ्न नसकेको अवस्थामा चिनियाँ टोलीको उडानले उत्साह थपेको बताए ।
साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ ।
प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडान सुरु गरिएको हो । यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुन्छ ।
हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् ।
पोखराको प्याराग्लाइडिङमा रु एक अर्ब बराबरको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा
-
मानव तस्करी प्रकरणमा लिलाबल्लभलाई उन्मुक्ति
-
सिंहदरबारमा बीआरआईको बहस : कांग्रेसले फरक मत राख्दा कार्यान्वयनको पक्षमा बहुमत