द्वन्द्वको नियम
प्रकृतिमा द्वन्द्व छ, प्राकृतिक क्रियाकलापमा द्वन्द्व छ । यो उसको गुण पनि हो, दोष पनि हो, धर्म पनि हो, विकासको आधार पनि हो । यो विना प्रकृतिले मूर्तरूप पाउन सक्दैन, अघि बन्न सक्दैन तर त्यसलाई गहिरिएर हेर्नुभयो भने एउटा मीठो सङ्गति पाउनुहुन्छ, जसले द्वन्द्वभित्र पनि पारस्परिक मेलमिलाप छ, सद्भाव छ, सहकार्य कायम राखेको छ । यसैले गर्दा नै एकले अर्कोलाई उठाएको छ, सघाएको छ, चलाएको छ, बोलाएको छ, खेलाएको छ ।
उदाहरणका लागि अम्बा वा आँपको रुखलाई नै लिन सकिन्छ । मानिलिनुस् तपाईँको बगैँचामा अम्बाको रुख छ, सुन्तलाको बोट छ, नभए गमलामा भए पनि आँपको सानो बोट हुन सक्छ, नभए बारीमा मकैको बोट होला, खेतमा धानको बाला होला, त्यो पनि नभए करेसामा फर्सी र घिरौँलाको बोट त पक्कै हुनुपर्छ । नियालेर हेर्नुभयो त्यसैभित्र कडा द्वन्द्व पनि पाउनुहुन्छ । प्रतिस्पर्धा पनि पाउनुहुन्छ । मीठो मेलमिलाप, सद्भाव र सहकार्य पनि देख्न सक्नुहुन्छ ।
एक दानो आँपलाई फल्न उसले कति बढी सङ्घर्ष गर्नुपरेको हुन्छ, द्वन्द्व झेल्नुपरेको हुन्छ, त्यो पनि आफैँभित्र, आफ्नैसित, आफैँसित तपाईँलाई थाहा छ ? जीवन भनेकै सङ्घर्ष हो, सङ्घर्षकै अर्को नाम हो । यदि अघि बढ्ने हो भने, अघि बढ्न चाहने हो भने सङ्घर्ष गर्नैपर्छ तर त्यो द्वन्द्व, त्यो सङ्घर्ष आफैँसित, आफ्नाहरूसितै गर्नुपर्यो भने त्योभन्दा कडा र नमीठो अर्को केही हुँदैन, हुनसक्दैन तर उसले त्यो पनि झेल्नुपरेको हुन्छ, लड्नुपरेको हुन्छ, झेलिरहेको हुन्छ, लडिरहेको हुन्छ । तबमात्र उसले मूर्तरूप पाउँछ, साकार स्वरूपमा अवतरित हुन सक्छ ।
पहिले उसको अस्तित्व नै देखिएको थिएन । उसका परमाणुहरू बोटको जरातिर, फेदतिर, टुप्पोतिर, हागाँबिगातिर, पाततिर, शाखा–प्रशाखाका अन्तरकुन्तरतिर कतै छिपिबसेको थियो । सङ्घर्ष गर्दागर्दै, आपसको द्वन्द्व झेल्दाझेल्दै बल्ल सूक्ष्मस्वरूप धारण गर्न सफल भयो र बिस्तारै हाँगाबिगाँ, काप तथा पाततिर सर्दै गयो । यतिबेला पनि उसको सङ्घर्ष जारी नै रहेको हुन्छ, सम्भवतः अघिकोभन्दा पनि बढी । अन्ततः त्यही द्वन्द्वले, त्यही सङ्घर्षले उसलाई कोपिला हुँदै फूल र फलको रूपमा परिणत हुने अवसर दिन्छ, प्राप्त हुन्छ तर उसको सङ्घर्ष भने अहिले पनि सकिएको हुँदैन । ऊ आफैँ सङ्घर्षको नाम हो, सङ्घर्षबाटै आएको हो, सङ्घर्षले नै बनाएको हो, सङ्घर्ष उसको साथमै थियो । त्यसैले नै पकायो, अमिलोबाट मीठो बनायो, गुलियो बनायो । बोटका हाँगाबिगाँ, शाखाप्रशाखातिर छिपेर रहेको टर्रो स्वाद गुलियो बनेर सोरिएर आयो र फलमा केन्द्रित हुन पुग्यो यही होइन ?
समाज पनि त्यस्तै हो । समाजमा द्वन्द्व छ, हुन्छ, हुन्न भन्ने पनि होइन र हुनुहुँदैन भन्ने पनि होइन । त्यसैले आपसमा द्वन्द्व गर्नुस्, झगडा गर्नुस्, यति गर्नुस् कि धेरै नै गर्नुस् । नगर्नुस् भनेर पनि नगरी बस्न सक्नुहुन्न । प्रकृति आफैँ द्वन्द्वमा खेल्छ, खेल्न चाहन्छ, नाच्छ, नाच्न चाहन्छ, तपाईँको जीवन आफैँ द्वन्द्वको उपज हो, द्वन्द्वले नै बनाएको हो, द्वन्द्वले नै बचाएको हो भने द्वन्द्व विना बस्नुस् भन्न कहाँ मिल्छ र । भने पनि बस्न सक्नु हुन्न तर सङ्गति भने मिलेको हुनुपर्छ । प्रकृतिमा सङ्गति थियो, मीठो सङ्गति, जसले द्वन्द्वभित्र पनि सद्भाव र सहिष्णुताको काम गरिदिएको थियो । थाहा छैन पहिले बोटभित्र उसको स्वाद तीतो, टर्रो, अमिलो, पीरो कस्तो थियो । सायद पात वा बोक्राको स्वाद जस्तो हुन्छ त्यस्तै थियो । तिनले बिस्तारै आफ्नो स्थान उसलाई छाड्दै गए । मानौँ पहिले ऊ तीतो थियो । बिस्तारै अमिलोलाई छाडिदियो । केही पछि गएर उसले पनि आफ्नो स्थान गुलियोका लागि छाड्दै गयो । फलतः फल गुलियो र मीठो बन्न पुग्यो । तथापि उसको सङ्घर्ष भने अझै रोकिएन । सङ्घर्ष ग¥यो, गरी नै रह्यो । अन्तत आफैँ रुखबाट खसेर भावी सन्ततिलाई ठाउँ खाली गरिदियो ।
प्रकृतिका तमाम पक्षमा यही नियमले काम गरेको हुन्छ । उनीहरूभित्र सङ्घर्ष पनि छ, द्वन्द्व पनि छ, सद्भाव र सहकार्य पनि छ, जसलाई सघाउने काम तिनै प्राकृतिक गुणभित्रको सङ्गतिले गरेको हुन्छ । सङ्गतिमा ठूलो तागत हुन्छ । यही तागतले छरिएर रहेको ताल र सुरलाई एकत्रित पार्छ मूर्तरूप दिने गर्छ ।
मानिलिनुस् कसैले गीत गायो । गीत गाएको सुन्नुभयो । गीत मीठो थियो, स्वर पनि त्यस्तै । उसले गीत गायो, तपार्ईँले पनि सुन्नुभयो अरु कसैले पनि सुने । जो जतिले सुने सबैलाई मीठो लाग्यो, राम्रो लाग्यो । यद्यपि राम्रो नराम्रो आफैँमा केही होइन । यो भनेको बुझाइमा भरपर्ने कुरा हो । प्रायः सबैलाई हुन्छ यस्तै, हुन्छ यही तर त्यो व्यक्तिले गाएको गीत भने सबैलाई मन प¥यो । यस्तो किन भयो भने ती अमूक व्यक्तिले गाएका गीतमा बढी नै सङ्गति थियो, सुर र ताल मिलेको थियो । त्यसैले यस्तो चमत्कार भयो तर जुन गीतमा त्यस्तो भएको छैन त्यहाँको नतीजा भने अर्कै हुने गर्छ । यस्तो गीत कसैलाई पनि मन पर्दैन, कोही पनि सुन्न चाँहदैन । कसैले वाध्यतावश सुन्नुप¥यो भने कि नजिकै रहेको व्यक्तिसित गफगाफ गर्न सुरु गर्ला नभए ध्यान अन्तैतिर लगाउला ।
अब तपाईँ आफैँ भन्न सक्नुहुन्छ यहाँ दोष कसको ? गाउने मानिसको, सङ्गतिको, सुर वा तालको ? पक्कै पनि भन्नुहुनेछ सङ्गतिको, तालको, सुरको । जहाँ सङ्गति मिलेको छ, ताल र सुर पनि मिलेको हुन्छ, उसको नतीजा पनि त्यस्तै निस्कन्छ, जहाँ मिलेको छैन त्यहाँको अवस्था पनि त्यस्तै हुन्छ । सङ्गतिमा ताल हुन्छ, सुर हुन्छ, स्वर हुन्छ । अन्यथा बेसुरा बन्न पुग्छ । सङ्गति नमिल्दासम्म त्यही गीत नमीठो हुन्छ, सङ्गति मिल्नासाथ मीठो लाग्न थाल्छ । जबकि गीत त्यही थियो, गाउने मानिस पनि सायद त्यही थियो ।
त्यसैले सङ्गतिमा ध्यान दिनुपर्ने हुन्छ । सङ्गति मिल्दा त्यही द्वन्द्वको फल मीठो हुन्छ नमिल्दा त्यही द्वन्द्वको फल नमीठो हुन्छ । सङ्गति मिलेको द्वन्द्वले विकास गर्छ नमिलेको द्वन्द्वले विनाश गर्छ । यही नै द्वन्द्वको नियम हो अनि विशेषता पनि ।