बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीमा कांग्रेस संसदीय दलको बैठक : आठ मन्त्रालय कायम, आलोपालो हुनुपर्ने निष्कर्ष !

सोमबार, ०४ वैशाख २०८०, १७ : ४१
सोमबार, ०४ वैशाख २०८०

सुर्खेत । सरकारको विषयलाई लिएर सोमबार दिउँसो बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मन्त्रालय र सरकारको नेतृत्वको विषयमा रहेर बृहत् छलफल गरेको छ ।  कांग्रेस सरकारमा जाने निश्चित भएसँगै नेतृत्वसँगै मन्त्रालयमा समेत आलोपालो गर्ने कुरा बैठकमा चलेको थियो । 

दलका नेता जीवनबहादुर शाहीले आइतबार माओवादीसँग भएको छलफलका विषयमा बैठकमा ‘ब्रिफिङ’ गरेका थिए भने सांसदहरूले सरकारको विषयलाई लिएर आ–आफ्ना धारणा राखेका थिए । बैठकमा  सरकारमा जाने निर्णयसँगै २७ पुसमा नेकपा एमाले–माओवादी बीचको समीकरण अनुसार ८ मन्त्रालयलाई ७ मा झार्ने विषयबारे पनि छलफल भएको थियो । महत्त्वपूर्ण मानिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई कायम नै राख्नुपर्ने कुरामा कांग्रेस अडिग रहेको बैठकमा सहभागी सांसद घनश्याम भण्डारीले रातोपाटीलाई जानकारी दिए । ‘राजनीतिक रूपमा बाहिर चर्चा चलेको कुरा आयो तर, प्रशासनिक र राज्यमन्त्रीसहित मन्त्री ८ नै छन्,’ भण्डारीले भने,‘ राज्यमन्त्री हटाउने र मन्त्रालय कायम राख्नुपर्छ नै ।’ 

दलका नेता शाहीले यसअघि रातोपाटीसँगको कुराकानीमा पनि ८ सदस्यीय मन्त्रिपरिषद् नै कायम हुनुपर्ने बताएका थिए । भण्डारीले यदि त्यसो भएको खण्डमा सरकारको नेतृत्वसहित मन्त्रालय पनि आलोपालो गर्नुपर्ने कुरा बैठकमा उठेको बताए । बैठकमा दलका नेता शाहीले अहिले माओवादीले नेतृत्वसहित ३ मन्त्रालय लिनुपर्ने र कांग्रेसले चार मन्त्रालय पाउनुपर्ने कुरा  सुनाएका थिए । अढाई वर्षपछि पुनः कांग्रेसले नेतृत्व प्राप्त गरिसकेपनि ३ मन्त्रालय कांग्रेस र ४ मन्त्रालय माओवादीले पाउनुपर्ने गरी सहमति गर्नुपर्ने कुरा बैठकमा उठेको भण्डारीले बताए ।

यस्तै कांग्रेसबाट मन्त्रीको आकांक्षीका रूपमा धेरैजना देखिएका छन् । यद्यपि सरकारबारे निर्णय गर्ने सबै अधिकार दलका नेता शाहीलाई भएकाले मङ्गलवार बस्ने कार्य सम्पादन समितिको बैठकले टुङ्गो लगाइने आकलन भण्डारीले गरे ।  बैठकमा सभामुख हेरफेरको विषयबारे भने कुनै छलफल नभएको सांसद कृष्ण बिसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप