शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

नीतिकथा : सम्मान पाउने तरिका

सोमबार, ०४ वैशाख २०८०, ११ : १६
सोमबार, ०४ वैशाख २०८०

मानिस सामाजिक प्राणी हो । समाजमा प्रतिष्ठित हुन पाइयोस्, धनी, मानी र सम्मानित भएर बाँच्न पाइयोस्, अरूले प्रशंसा गरून्, सबैको उदाहरणीय बनेर बस्न पाइयोस् भन्ने चाहना सबैमा हुन्छ । तर, त्यस्तो अवस्था चाहेर मात्र प्राप्त हुँदैन । त्यस्तै किसिमको त्याग, तपस्या र समर्पण पनि हुनुपर्छ । जसले जस्तोसुकै अवस्थामा पनि धैर्य धारण गरी आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्न सकेको छ, उसले त्यस्तो अवस्था प्राप्त गर्न सक्छ जसले सकेको छैन उसको चाहना केवल चाहनामै सीमित हुन पुग्छ ।

धेरै पहिलेको कुरा हो । कुनै स्थानमा साधु सज्जनको ठुलो सभा चलिरहेको थियो । देश विदेशका ठूल–ठूला राजा महाराजा सन्तमहन्त, साहु महाजन जम्मा भएका थिए । गर्मीको मौसम थियो । प्रचण्ड धूपले सबैको शरीर तातिरहेको थियो । यत्तिकैमा कुनै एक सज्जनले माटाको घडामा चिसो पानी ल्याएर राखिदिए । त्यो पानी केवल पानी मात्र थिएन । गङ्गाको पवित्र जल थियो । गर्मीको मौसममा माटाको घडामा राखिएको पानीको मिठास नै अर्कै हुन्छ । त्यसमाथि त्यो पानी स्वच्छ पनि थियो र पवित्र पनि थियो । त्यसैले त्यसलाई सबैले मीठो मानेरमात्र खाएनन् घडाको प्रशंसा पनि गरे र पानी ल्याउने सज्जनलाई धन्यवाद दिए ।

सभाको बाहिर बस्ने एक जना सज्जन यी सब हेरिरहेका थिए । हेर्दाहेर्र्दै उनको मनमा  श्रद्धाको भाव भरिएर आयो र मनमनै सोच्न लागे–

‘ओ हो ! यो घडा कति भाग्यमानी रहेछ । यसले कुन जुनीमा कस्तो तपस्या गरेको रहेछ कुन्नि । जो आपूm स्वयं माटो भएर पनि यति ठुलो विद्वतसभाको बीचमा स्थान पाएको छ । सबैले छामेका छन्, मसारेका छन्, प्रशंसा गरेका छन् । माटो जस्तो सामान्य पदार्थले पनि यति ठुलो सेवा गर्ने अवसर पाउनु र प्रशंसाको भागिदार हुन पाउनु भनेको पक्कै चानचुने भाग्यले सम्भव हुने कुरा होइन । तर, मेरो जीवनमा त अभाग बाहेक केही लेखिएकै छैन । मानव चोला पाएर पनि अहिलेसम्म बेकार नै गएको छ । न त्यस्तो सेवाको असर पाएको छु न कसैले वास्ता नै गरेका छन् ।’

सज्जनको मनको भाव त्यस घडाले मनमनै थाहा पायो र मुसुक्क हाँस्दै भन्यो–

‘सज्जन भाइ दुःख नमान । यी सबै तपस्याका फल हुन् । मैले पनि यस्तो अवसर त्यत्तिकै पाएको होइन । यसभित्र लामो त्याग, तपस्या, धैर्य र समर्पण छिपेको छ । म आफैँमा माटो हुँ । अकिञ्चन माटो बनेर कुनै कुनामा मिल्किरहेको थिएँ । कहिले पनि सोचेको थिइन कि भगवान्ले एक दिन यति ठुलो दया गर्लान् भनेर तर तपस्याको फल खेर जाँदो रहेनछ । 

एक दिन एक जना कुमाले दाइ आएर खनजोत गरी बसेको स्थानबाट निकाले । म अबोध माटो के गर्न सक्थेँ र मात्र हेरिरहेँ । हेर्दाहेर्दै उनले गधाको पीठमा बोकाएर कारखानामा पु¥याए । मुङग्रोले ठोकठाक गरी धुलोपीठो पारे र पानी हालेर मुछमाछ गरी चक्कामा राखेर घुमाए । त्यतिसम्म त ठीकै थियो तर उनी त्यतिमा मात्र रोकिएनन् । चक्काबाट निकालेपछि पनि पुनः मुङ्ग्रोले फेरि ठोकठाक गरी आगोको भुङ्गोमा राखेर पकाए । सायद उनको ईच्छा त्यतिले मात्र पनि पूरा भएनछ क्यारे । त्यसपछि फेरि गधालाई बोकाएर बजारमा बेच्न लगे । 

त्यसपछि मेरो जीवनमा दुर्भाग्यको अर्को अध्याय सुरू भयो । ग्राहकहरूले आएर हातले पिटपाट गरी ठीक छकिछैन भनेर चेकजाँच गरे । पानी हालेर चुहिने नचुहिने हेरे । यति गरे पछि पनि मूल्य लगाए त कति थाहा छ ? यस्तै चालीस पचास रूपियाँ । यति ठुलो कष्ट सहेर पनि नाम मात्रको मूल्य देखेर मन रोयो । तैपनि धैर्य भने गुमाइन र मनमनै भगवानलाई भनेँ–

‘हे भगवान् ! तिमी कति निष्ठुरी । ममाथि मात्रै यति ठुलो अन्याय किन र केका लागि गर्दैछौ ? अरू कोही भेटेनौ र सबै निर्दयताका भारी मैमाथि बिसाउँदै छौ ? हरेक दिन एउटा न एउटा अन्याय खेपेको छु । के मेरो भाग्यमा अन्याय मात्र लेखिएको छ र यस्तो गर्दैछौ ?’ 

तर अहिले आएर लाग्दैछ भगवान्ले ममाथि अन्याय गर्न होइन न्याय गर्नका लागि यी सब गरेका रहेछन् । मलाई यति ठुलो पुन्यको अवसर दिनकै लागि परीक्षा लिएका रहेछन् । जस्तोसुकै विपत्तिमा पनि धैर्य धारण गरी स्वधर्मको परिपालन गरेको हुनाले नै यस्तो अवसर पाएको हुँ । 

यदि तिमीले पनि त्यस्तै ग¥यौ भने पक्कै यस्तो अवसर पाउनेछौ । म जस्तो तुच्छ माटोले त यस्तो अवसर पाएको छु भने तिमी मानिस । ज्ञान छ, बुद्धि छ विवेक छ ।’

यति भनेर घडा चुप लाग्यो । त्यसपछि सज्जनको आँखा खुल्यो । उनी घडालाई धन्यवाद दिँदै हिँडे र घडाले भने जस्तै गर्न लागे । नभन्दै उनले पनि एक दिन त्यस्तै अवसर प्राप्त गरी सदाका लागि सुखी र आनन्दित भए । 

यो एउटा दृष्टान्त हो । वास्तवमा तपस्याको फल कहिले पनि खेर जाँदैन । मात्र के हो भने तत्कालै भएन भनेर आत्तिन पनि हुँदैन र आफ्नो कर्तव्य निर्वाह गर्नबाट पछि हट्नु पनि हुँदैन । सुख, दुःख झरी बादल, आरोह अवरोह केही नभनी निरन्तर कर्तव्यपथमा लागिरहने हो भने सबैले एक दिन त्यस्तै किसिमको मान सम्मान र प्रशंसा प्राप्त गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप