मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, ०३ वैशाख २०८०, २० : ५२
आइतबार, ०३ वैशाख २०८०

आज २०८० वैशाख ३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा मन्त्रिपरिषद विस्तार; पूर्णता अझै पाएन, पहिलो विदेश भ्रमणमा राष्ट्रपति बेलायत र प्रधानमन्त्री भारत जाने, काठमाडौं बन्यो विश्वकै प्रदूषित सहर, प्रचण्ड र देउवा बालकोट नजाँदा तीन दलको बैठक स्थगित, हर्क साम्पाङले दिए सांसदलाई ‘प्रवेश निषेध’ को चेतावनी, नेउवा महासंघका अध्यक्षको पद बहाली; पाँच काम गर्ने प्रतिवद्धता, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार; ९ जनाविरुद्ध मुद्दा दायर लगायत छन् ।

१. मन्त्रिपरिषद विस्तार; पूर्णता अझै पाएन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मौजुदा मन्त्रिपरिषद आठौं पटक विस्तार गरिएको छ । आइतबार परराष्ट्र मन्त्रीमा नेपाली कांग्रेसका एनपी साउद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईलाई नियुक्त गरिएको हो । यद्यपि मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन । 

२. पहिलो विदेश भ्रमणमा राष्ट्रपति बेलायत र प्रधानमन्त्री भारत जाने
राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो पहिलो विदेश भ्रमण अन्तर्गत बेलायत जाने भएका छन् । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन उनी वैशाख २१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने पहिलो विदेश भ्रमण अन्तर्गत भारत जाने तयारी भइरहेको छ । यही वैशाखभित्र उनी भारत जाने तयारी भएको हो । 

३. काठमाडौं बन्यो विश्वकै प्रदूषित सहर 
काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित सहर बनेको छ । देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण आइतबार काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा सूचीकृत भएको हो ।

४. प्रचण्ड र देउवा बालकोट नजाँदा तीन दलको बैठक स्थगित
सत्य निरुपण तथा मेलमिलाप आयोग लगायत संसदमा विचाराधीन विधेयकबारे छलफल गर्न आइतबार बस्ने भनिएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोटस्थित केपी शर्मा ओलीको निवासमा नगएपछि बैठक स्थगित भएको हो । कांग्रेस, माओवादी केन्द्र र एमाले शीर्ष नेताको बैठक ओलीको निवास बालकोटमा बस्ने तयारी थियो । 

५. हर्क साम्पाङले दिए सांसदलाई ‘प्रवेश निषेध’ को चेतावनी
धराने जनतालाई खानेपानी पर्याप्त दिने एजेण्डा लिएर निर्वाचन जितेका धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले संघ सरकारलाई खानेपानीको लागि योजना पार्न दबाब दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कोशीको पानी ल्याउने योजना संघ सरकारले नपारे सांसदहरुलाई धरानमा निषेध गर्ने उल्लेख गरेका छन् ।

६. नेउवा महासंघका अध्यक्षको पद बहाली; पाँच काम गर्ने प्रतिवद्धता
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गरेका छन् । आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा उनले अध्यक्ष पदको पदबहाली ग्रहण गरेका हुन् । उनले पद बहाली गर्दै विभिन्न पाँच वटा प्रमुख काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

७. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार; ९ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड ८ लाख बिगो मागवादी लिएको अख्तियारका प्रवक्ता सह–सचिव भोला दाहालले रातोपाटीलाई बताए ।

८. भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलिम पदार्थको मूल्य भारतबाट बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आइतबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीमा पेट्रोल र डिजेलको मूल्य बढेर आएको हो ।

९. सत्तारुढ तीन दलको मोर्चा बन्ने
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले १५ दिनभित्र माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले १५ दिन भित्र सत्ता गठबन्धनमा रहेका यी तीन दलको मोर्चा बन्ने बताएका हुन् ।

१०. कर्णालीमा एउटै मन्त्रालय दुईतिर
कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको प्रशासनिक भवन दुईतिर हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । दुई मन्त्रालय गाभिएर एउटै मन्त्रालय बनाइए पनि दुईतिर प्रशासनिक भवन छन् । साविकका दुई मन्त्रालयको भवनमध्ये एउटामा मन्त्री र एउटामा राज्यमन्त्रीको कार्यालय छ । जसले गर्दा मन्त्रालय एउटै भए पनि दुई अलग संरचनामा सञ्चालित भएजस्तो अनुभूति कर्मचारी र सेवाग्राहीले गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप