बालेन विद्रोहको सङ्केत
काठमाडौँ महानगरका पिता बालेन्द्र शाह पछिल्लो समय नपत्याउँदो तरिकाले बालचरित्र प्रदर्शन गरिरहेका छन् । बेलाबेला उनले फेसबुक स्टाटसमार्फत असन्तुष्टि र बेचैनी प्रकट गरिरहन्छन् । सामान्य नागरिकले राज्यसँग गुनासो खबदारी र धम्की दिएजसरी आफ्नो पदीय, मर्यादा र गरिमाविपरीत गतिविधि गरिरहेका पाइन्छन् ।
केही गर्छु भन्ने हुटहुटी लिएर आएका बालेन्द्रले काठमाडौँमा केही सुधारका सङ्केत देखिने काम गरेकै छन्, कति गर्दै छन् । यससँग बाल हठझैँ आफ्नो मर्यादाबाहिर गएको आरोप पनि उनलाई छ । सरकारसँग टकरावमा जाने सङ्केत आइतबारदेखि सिंहदरबार, बालुवाटार र शीतलनिवासबाट फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएको कुरा सार्वजनिक भएका छन् ।
अहिले बालेन शाहले निर्वाह गरेको भूमिकाको प्रशंसा जति छ, त्यति नै नागरिक तहबाट खबरदारी आवश्यक छ । किनभने उनी दलविहीन व्यक्ति भएकाले उनलाई भोलिको घाटाबारे खासै मतलब हुँदैन । दलीय व्यवस्थामा व्यक्ति गौण र दल प्रधान विषय रहन्छ । तसर्थ बालेनलाई नागरिक खबरदारी जरुरी रहेको हो । उनी व्यक्ति भएको हुनाले दल रिझाउनुपर्ने अवस्था छैन । तर एक्लो व्यक्तिले कार्यकारी अधिकार प्राप्त नै भए पनि बहुदलीय व्यवस्थामा दल रिझाएर काम कार्यान्वयन गराउनुपर्छ । पालिकाभित्र कुनै पनि निर्णय कार्यान्वयन गराउन बहुमतको सहारा लिनुपर्ने वैधानिक बाध्यता हुन्छ ।
नगरपालिकाको निर्णय नगरसभाबाट पारित गराउनुपर्छ । त्यसो गर्न निर्दलीय नेता बालेनसँग अन्य पार्टीको सहमति र सदाशयता चाहिन्छ । सदाशयता खोज्दा अर्काे दल र प्रतिनिधिसँग प्रत्यक्ष–परोक्ष नाजायज सम्झौता अर्थात् सम्बन्धित दलका नेता र तिनको स्वार्थ मिलाउनुपर्ने अवस्था सिर्जना हुन्छ । महानगरको कार्यकारी व्यक्ति भए पनि स्थानीय र सङ्घीय सरकारसँगको समन्वयबिना कुनै पनि कार्य गर्न असहज हुन्छ ।
बालेन महानगर पिता भए पनि स्थानीय सरकारसँग प्रदेश सरकार र सङ्गीय सरकारको सम्बन्ध नागबेली बनेर जेलिएको हुन्छ । अतः सरकारको यथेष्ट सहयोग बेगर महानगरपालिका एक्लैले उलेख्य काम गर्न सक्दैन । स्वायत्त र स्वतन्त्र भनिए पनि तीन तहको सरकार सञ्चालनका अल्झनहरू छन् । नीतिगत अस्पष्टताहरू छन् । अदालतले गर्ने हस्तक्षेपहरू पनि बाधक रहेको छ । यही कारण प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलन नै गरेर प्रदेशलाई भनेजति अधिकार नभएको गुनासो गरेका छन् । अधिकार प्रत्यायोजन सम्बन्धमा हरेकजसो मुख्यमन्त्रीको सङ्घसँग गुनासो छ । स्थानीय निकायको हकमा पनि कार्यकारी भएर पनि कुनै निर्णय आफैँले एक्लै कार्यान्यवन गराउने अवस्था छैन । यही चपेटाका कारण बालेन्द्र शाह आफ्ना असन्तुष्टि र छटपटी सार्वजनिक गरिरहन्छन् । आक्रोश पोखिरहन्छन् । गत भदौमा पनि उनले ‘मैले अवैध संरचनामा डोजर लगाएर के बिगारेँ ?’ भनेर स्टाटस लेखे ।
अहिले बालेन शाहले निर्वाह गरेको भूमिकाको प्रशंसा जति छ, त्यति नै नागरिक तहबाट खबरदारी आवश्यक छ । किनभने उनी दलविहीन व्यक्ति भएकाले उनलाई भोलिको घाटाबारे खासै मतलब हुँदैन । दलीय व्यवस्थामा व्यक्ति गौण र दल प्रधान विषय रहन्छ ।
उनले अघिल्लो शनिबार क्रुद्ध भएर स्टाटसको शृङ्खला चलाए । उनको असन्तोष र आपत्तिमा सरकारकै बेइज्जती गरिएको छ । ‘सरकारलाई म इज्जत गर्दिनँ भन्नेदेखि नेताहरूलाई सिसडोलको डम्पिङ साइडमा डम्प गर्नु पर्ने’ जस्ता अभिव्यक्ति दिएका छन् । सिंहदरबारको फोहोर अब उठ्दैन भनेर आफूलाई सिंहदरबारले असहयोग गरेको जानकारी गराएका हुन् । त्यति मात्र होइन, भारत र चीनले बनाएको सरकार भनेर ललकारेका छन् । देशको स्वाधीनता र सार्वभौमिकसत्ता बारे मुख खोलेका छन् । उनको समस्या उनलाई सिंहदरबारले नगरेको सहयोगको विश्लेषण हुन्छ । कुनै पनि सरकारी निर्णय कार्यान्वयन गराउने निकाय नेपाल प्रहरीले असहयोग गरेको र आफूले सार्वजनिक सम्पत्ति हडपेर निर्माण गरेको घर भत्काउन नदिएको कुराको पनि विरोध गरिन्छ । असहमति प्रकट गरिन्छ तर उनले जसरी आफूलाई प्रस्तुत गरेका छन् त्यसले काठमाडौँ महानगरपिताको गरिमाको मान मर्दन पो भयो कि ? आलाकाँचोपन प्रदर्शन भनेर एकातिर विश्लेषण गरिएको छ भने अर्काेतर्फ सरकार र नेताविरुद्ध विष बमन पनि सञ्चार माध्यमबाट पोखिएका छन् । समर्थन र विरोधको अतिवादबाट निस्केर वस्तुनिष्ठ विश्लेषण र व्यावहारिक निष्कर्ष निकाल्नुपर्छ ।
वाक् मर्यादा पनि वाक् स्वतन्त्रताकै अभिन्न पक्ष हो । वाक् स्वतन्त्रताको प्रयोगमा वाक् मर्यादाले वाक् स्वच्छन्दतालाई नियोजित गर्दछ । कतै बालेन स्वच्छन्द पो बने कि ? बालेन अकारण आक्रोशित भएका पक्कै होइनन्, उनी समय समयमा निराश पनि हुन्छन् । यसभित्रमा पनि कारणहरू छन् । कति आन्तरिक कारण हुन्छन् कति बाह्य कारण । आन्तरिक कारणमा व्यक्तिको स्वभाव, अनुभवहीनता, राजनीति र समस्यालाई बुझ्ने तरिका, सल्लाहकारको उचित अनुचित परामर्श आदि ।
नेतृत्व भनेको ऊर्जा, अठोट, उद्देश्य, अनुभव र योग्यताको संयोजनबाट तयार हुन्छ । कसैमा जोश हुन्छ, जोशलाई बाटो देखाउने र सही गलत छुट्याउन सहयोग गर्ने अनुभवी सल्लाहकार र विज्ञ टिमको आवश्यकता हुन्छ । बालेनको किचन क्याबिनेटमा यी पक्ष खासै पाइन्न । काम गर्ने हुटहुटी हुनु एउटा कुरा तर काम गर्दा आइपर्ने हरेक समस्यासँग जुध्ने ल्याकत फरक कुरा हो ।
व्यक्तिको जोशलाई कार्यमा परिणत गर्न टिमको खाँचो हुन्छ । टिम फगत टिम निर्माणकै लागि नभएर काम सम्पन्न गर्नका लागि हो । काम गर्ने टिममा सबै क्षेत्र पक्ष र सरोकार सम्बोधन गर्ने जनशक्ति चाहिन्छ । त्यो जनशक्ति छनोटमा पार्टीहरू पनि बारम्बार चुकेको कारण अपेक्षित लाभ देशले लिन सकिरहेको छैन । विज्ञको ज्ञान र क्षमताको उपयोग गर्ने हो । आफ्नो कमजोरी छेक्ने, ढाल बनाउने होइन । कमजोरी छोप्ने हतियार बन्ने बुद्धिजीवी, विज्ञ र सल्लाहकारलाई हतियार बनाउने नेता हाम्रा अभिशाप हुन् ।
विषयविज्ञ, सल्लाहकार र सहयोगीको टिममा आफ्ना हनुमानको भर्ती केन्द्र बनाएका कारण व्यक्तिको असफलता निम्तिएर प्रणालीकै असफलता सिर्जना भएको पाइन्छ । सल्लहाकार र विज्ञले कार्यकारीले गर्ने गलत निर्णयको विरोध गर्ने ल्याकत प्रदर्शन गर्नुपर्छ । हाम्रोमा नियुक्ति दिने मान्छेले जे गरे पनि त्यसलाई पुष्टि गर्न कुतर्क गरेर आफ्नो पद जोगाउने, सेवा र सुविधाको थप्ने नियत पाइन्छ । यस्तो कार्य राष्ट्रका लागि घातक छ । विज्ञ सल्लहाकार जुनसुकै बेला निकालिन सक्ने गरी खराब काम र गलत निर्णयको खिलाफमा बोल्न सक्ने पाइनदार हुनुपर्छ । तर हाम्रो देशमा दुर्लभ हुँदै गएको छ । त्यही परिस्थितिको सिकार बालेन बनेका हुन् भनेर विश्लेषण गर्न सकिन्छ ।
आलोचना सुन्न सक्नु नेतृत्वको विशेष गुण र क्षमता हो । आलोचनाबाट डराउने र भाग्ने प्रवृत्ति पनि हानिकारक छन् । सामान्य मान्छले जे पनि भन्न र बोल्न सक्छन् तर विद्वान्, बौद्धिक र विज्ञले गरेको आलोचनामा गाली मात्रै हुँदैन समस्याको पहिचान, निक्र्याेल र निर्देश पनि रहन्छ । त्यसैले आलोचना सुन्ने बानी अति आवश्यक छ । स्वच्छ आलोचना मर्यादित विमति श्राप होइन, वरदान हो ।
आक्रोश र असन्तुष्टिको दोस्रो कारण बाह्य पनि हो । बालेनका सन्दर्भमा सरकारले सहयोग नगरेको कुरा यदाकदा देखिएको छ । विशेषगरी काठमाडौँभित्र अव्यस्थित बसोबास गरेका सुकुम्बासीहरूलाई हटाउने क्रममा उनले सहयोग नपाएको देखिन्छ । यसमा कतै मानवीय संवेदनशील पक्षले काम गरेको छ कि ? समन्वय र सल्लाहको अभाव पो खड्कियो कि ? परम्परागत रूपमा राजनीति गर्दै आएकाको भोट बङ्ैकमा असर गर्याे कि ?
बालेनले काम गर्न सकेनन् भने बालेनजस्तै गरी आउन चाहने पुस्तालाई समाजले अविश्वास गर्छ । आफूजस्तै अर्काे पुस्ताको भविष्यका लागि पनि बालेनलाई भाग्ने र छलिने छुट छैन । भिड्ने छुट सदैव रहन्छ ।
समस्यालाई हेर्ने दृष्टिकोण र समाधान गर्ने तरिकामा अन्तर पर्याे कि ? यसतर्फ गम्भीर विचार गरेर बालेन्द्रले बोल्नु उचित हुन्छ । केही हप्ताअघि पनि मलाई राजीनामा दिन लगाइँदै छ भनेर स्टाटस राखे । तर पाँच वर्ष उनले नचाहेमा राजीनामा गराउने ठाउँ र निकाय हुन्न । यस्तो वेला उनलाई राजीनामाको दबाब र तनाव दिने को हो ? तथ्यहरू विषयनिष्ठ भएर आउनुपर्छ । उनको स्टाटसको बौद्धिक भ्यालु हुनुपर्छ । बालापन झल्कने अभिव्यक्तिले उनको आफ्नै व्यक्तित्वमा ह्रास ल्याउँछ ।
स्टाटस लेख्नुअघि उनले गर्न खोजेको के हो, अवरोध कसले र कसरी गर्यो भन्नेबारे आम पाठकलाई जानकारी दिइनु पथ्र्यो । उनले गरेका के कति प्रयास गरे, कुन कुन निकाय गुहारे ? बौद्धिक र विज्ञ अनि भूतपूर्व महानगरका प्रमुख उपप्रमुखसँग कति जानकारी लिए दिए ? यावत् विषय प्रसङ्गसहित आफ्ना योजना र लागू गर्न खोजेको निर्णयको फेहरिस्त दिनुपर्छ तब बौद्धिक वर्गले उनको पक्षमा र उनलाई सहयोग नगेरेको विषयमा बोल्छ । जनता पनि मेयरले गर्न खोजेको काम गर्न नपाएकोमा असहयोग गर्नेको विपक्षमा उठ्छन् ।
प्रक्रियामा बोलीदेखि कामसमेत रहनुपर्छ । मेयरलाई अत्याउन सक्छन्, आत्तिनु हुँदैन । मेयर राजनीतिको घामपानीबाट लामो यात्रा तय नगरी आएको कारण छिट्टै हतास र निराश बन्न सक्छन् । आवेग र उत्तेजनामा आउन सक्छन्, अराजक देखिन सक्छन् । कतिपय उमेरजन्य कारण पनि हुन्छन् । यी सबै कुराबाट बचाउन उनीसँग काम गर्ने टिम हुन्छ । त्यो टिम पनि आफूजस्तै भयो भने त्यसले सही दिशा निर्देश गर्न सक्दैन र कमजोरी छताछुल्ल हुन्छ । आफ्ना सहयोगी विज्ञ र सल्लाहकारको टिम फेर्ने स्वतन्त्रता छ । बालेनले काम गर्न सकेनन् भने बालेनजस्तै गरी आउन चाहने पुस्तालाई समाजले अविश्वास गर्छ । आफूजस्तै अर्काे पुस्ताको भविष्यका लागि पनि बालेनलाई भाग्ने र छलिने छुट छैन । भिड्ने छुट सदैव रहन्छ ।
विगत केही समयदेखि बालेनलाई सुरक्षा थ्रेट भएको बुझिन आएको छ । यसलाई सरकारले संवेदनशील भएर लिनुपर्छ र उनको जिउज्यानको सुरक्षा गर्नुपर्छ । मेयर एउटा व्यवस्थापकीय जिम्मेवारी हो । व्यवस्थापन चुनाव जित्नुभन्दा दुरुह काम हो । यसलाई हेक्का राखेर बालेनले आफूलाई सक्रिय बनाउनुपर्छ । अहिले बालेनमा आक्रोश कम, संयम ज्यादा आवश्यक छ ।
लेखक कार्की त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अनुसन्धानरत छन् ।