नमुना विद्यालय अगाडि नै फोहोरको थुप्रो
कैलाली । सरकारले नमुना विद्यालय घोषणा गरेको कैलालीको एउटा विद्यालय अगाडि फोहोरको थुप्रो लागेको छ । अत्तरिया बजार नजिकै रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय अगाडि फोहोरको थुप्रो फालिएको हो । स्थानीयवासी एवम् व्यापारीले उक्त क्षेत्रलाई फोहर फाल्ने डम्पिङ साइड बनाउँदै आएका छन् । पहाडरोड बसपार्क नजिकै रहेको उक्त विद्यालयको आधारभूत तहको भवन अगाडि खाली रहेको क्षेत्रमा व्यापारी एवम् स्थानीयवासीले फोहर फाल्ने गरेकाले उक्त क्षेत्रमा फोहर थुप्रिएको हो ।
व्यापारी र स्थानीय बासिन्दाका साथै पहाडी जिल्लामा जाने सवारी साधनबाट आवतजावत गर्नेहरूले समेत सोही क्षेत्रमा फोहर फाल्ने गरेकाले विद्यार्थीलाई असर पर्न नदिन पटक–पटक आवाज उठाइए पनि सुनुवाइ हुन नसकेको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताए । उनले विद्यालय पछाडिका व्यापारी एवम् स्थानीयवासीले साँझको समयमा फोहर ल्याएर विद्यालय अगाडि फाल्ने गरेको जानकारी दिए ।
“त्यो गल्लीवालाले विद्यालयलाई दिएको उपहार हो” व्यङ्ग्य गर्दै उनले भने, “जानाजान साँझको समयमा पोलिथिनमा फोहर ल्याई त्यहाँ फालेर हिँड्छन्, भनेको सुन्दैनन् ।” फोहर नफाल्न सबैलाई चिठ्ठीसमेत लेखिए पनि कसैले मतलब नगरेकाले स्थानीयवासीका घरमै फाल्न अल्टिमेटम पनि दिइसकिएको प्रधानाध्यापक जोशीको भनाइ थियो ।
विद्यालय अगाडि नै फोहर थुप्रिएको एक हप्ताभन्दा बढी भइसक्दासमेत उठाइएको छैन । नगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि ठेक्का प्रक्रियामार्फत निजी संस्थालाई जिम्मेवारी दिएकामा उक्त संस्थाले केही रकम लिएर नगरको फोहोर उठाउँदै आएको तर विद्यालय अगाडिको फोहर उठाउन भने आनाकानी गरेको उनको गुनासो थियो । फोहोर उठाउने संस्थाका प्रतिनिधिसँग छलफल गरी आवश्यक रकम दिन्छौँ फोहर उठाउनुपर्यो भनेर अनुरोध गर्दा सरकारी विद्यालयबाट पैसा नलिने निर्णय भएको र नगरपालिकासित कडायत टोल जाने बाटोसम्म मात्रै सम्झौता भएको छ भन्दै फोहोर उठाउने काम गरेन ।
प्रधानाध्यापक जोशीले विद्यालयले प्रत्येक हप्तामा विद्यार्थीसँगै विद्यालय हातामा सरसफाइ गर्ने गरिएकामा केही समय परीक्षाका कारण ढिलाइ भएको थियो । उनले स्थानीय र व्यापारीले फालेको फोहाेर विद्यार्थीले उठाउनु परिरहेको छ भन्दै दुखेसो पोखे । प्रायजसो ठुला सहरमा कालो प्लास्टिक निषेध गरिएको छ । उक्त प्लास्टिक जलाउँदा हानिकारक ग्यास उत्पन्न हुने भएकाले कालो प्लास्टिक प्रायजसो ठाउँमा निषेध गरिए पनि यहाँ भने प्राय कालो प्लास्टिकमै फोहर फालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंले ‘भ्वाइस टेष्ट’ गराउन मानेनन्
-
सिंहको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
-
रास्वपाले स्वीकार गर्यो बालेन शाहलगायतसँग गरिएको संवाद
-
रवि लामिछाने पक्राउ पश्चात मात्र सरकार देखियो : रास्वपा
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गरे गोली प्रहार
-
बागमती प्रदेश लिग फुटबल : चितवन र मकवानपुर विजयी