शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

पूर्वीय दर्शन र यसको सारतत्त्व

आइतबार, ०३ वैशाख २०८०, १४ : २३
आइतबार, ०३ वैशाख २०८०

दर्शन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा छन्, ती सबैको उद्गमस्थल र समस्या समाधानको बाटो नै दर्शन हो । व्यक्तिले यस संसारमा जे जति क्रियाकलाप गर्छ र आफ्नो ज्ञानको सदुपयोग गरी स्थापित हुन खोज्छ, त्यो कुनै न कुनै दर्शनमा आधारित भएरै गरेको हुन्छ । अझ शिक्षा क्षेत्रमा दर्शन नै मुख्य मियो र शैक्षिक गतिविधि त्यसमा घुम्ने वस्तु हुन् भनेर बुझ्न सकिन्छ । 

दर्शन निकै बृहत् क्षेत्र ओगटेको विषयवस्तु र निकै पुरानो विधा हो । दर्शनमा टेकेर नै शैक्षिक उन्नति, प्रगति र विकास सम्भव भएको हो । दर्शनलाई मुख्य विभाजन गरी हेर्दा संसारमा पूर्वीय र पाश्चात्य दर्शन भनी २ प्रकारका दर्शनको प्रचलित अवधारणालाई मान्ने गरिन्छ । 

ती दुई मान्यतामा आधारित दर्शनका पनि अनेक स्वरूप छन् । त्यस कारण बुझी नसक्ने र बुझ्नैपर्ने विषयवस्तु दर्शन र त्योमध्ये पूर्वीय दर्शनका केही सारतत्वका सन्दर्भमा यस आलेखमा प्रष्ट पार्ने प्रयास गरिएको छः

दर्शन र पूर्वीय दर्शनको अवधारणा

दर्शनको शाब्दिक अर्थ हेर्नु, देख्नु, केलाउनु भन्ने बुझिन्छ । संस्कृतमा दर्शनलाई दृश्यते अनेन इति दर्शनम् भनिएको छ । यसको अर्थ देखिएको वस्तुको अर्थ निकाल्नु वा त्यस्तो हेराई, जसले सम्पूर्णताको अध्ययन गरी साकार परिणाम दिन्छ भने त्यो दर्शन हो भन्ने बुझिन्छ । 

दर्शन वास्तविक र सत्य ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो, जसले समग्र जीवन र जगतको व्याख्या गर्दछ । यसबाट के बुझिन्छ भने दर्शन अनुसन्धानहरूको पनि अनुसन्धान हो, जसले प्रमाण र सत्य तथ्यको मात्रै व्याख्या गर्दछ र मनमा उत्पन्न हुने विभिन्न जिज्ञासा र तर्कहरूको समाधान दिन्छ । 

त्यस कारण दर्शनले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने जस्ता कार्यहरू गर्दछ भन्न सकिन्छ । 

दर्शनका पनि विभिन्न क्षेत्रहरू हुन्छन् । जस्तै, सत्यको सिद्धान्तको व्याख्या गर्ने, ज्ञानका स्रोतको बारेमा व्याख्या गर्ने, मूल्यका सिद्धान्त र तर्कहरू पुष्टि गर्ने क्षेत्रहरू । जसलाई तत्त्व मिमांसा वा मेटाफिजिक्स, ज्ञान शास्त्र वा एपिस्टेमियोलोजी, मूल्यशास्त्र वा एक्जियोलोजी र तर्कशास्त्र वा लजिक पनि भनिन्छ । 

यी क्षेत्रका पनि अनेक उपक्षेत्र पनि छन्, जसले सृष्टि विज्ञान, धर्मशास्त्र, मानिसको स्वरूप, वास्तविकता र पहिलो पदार्थका बारेमा अनेक व्याख्या गरेको छ । त्यस्तै, मानिसको ज्ञान ईश्वरीय वाणीबाट र धर्मग्रन्थबाट, आधिकारिक विज्ञबाट, अन्तरमनले देखेर, तर्क र अनुभव जस्ता माध्यमले प्राप्त हुन्छ भनी दर्शनशास्त्रले व्याख्या गर्दछ ।

दर्शनलाई सरसर्ती अध्ययन गर्दा पूर्वीय र पाश्चात्य दर्शन भनी वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ । पाश्चात्य दर्शन युरोप तथा पश्चिमी क्षेत्रबाट प्रतिपादित दर्शन हो भने एसिया तथा महाभारत क्षेत्र (भारतवर्ष वा पाकिस्तान, नेपाल, बंगलादेश र भारत) बाट प्रतिपादित र विकसित गरिएको दर्शन पूर्वीय दर्शन हो भनेर मानिएको छ । 

यी दुईमध्ये सबैभन्दा पुरानो दर्शन पूर्वीय दर्शन हो, जसको जगबाट पाश्चात्य दर्शन जन्मिएको हो समेत भन्ने गरिन्छ । पूर्वीय क्षेत्रमा विकसित भएको पूर्वीय दर्शनको मुख्य आधार अध्यात्मलाई नै मानिएको छ भने पाश्चात्य दर्शनमा अध्यात्म र वैज्ञानिक खोजीसमेत भएर पुष्टि भएको छ । 

यहाँ पूर्वीय दर्शनको सामान्य परिचय र दर्शनको सारतत्वका बारेमा मात्र छोटकरीमा प्रष्ट पार्ने प्रयास गरिएको छ ।

पूर्वीय दर्शनमा के छ ?

भारत वर्षमा विकसित भएको वा भारतीय दर्शनलाई नै पूर्वीय दर्शन भनिन्छ । पूर्वीय दर्शन अन्तर्गतको मुख्य दर्शन नै हिन्दू दर्शन हो । यो बाहेक पूर्वीय दर्शनमा चार्बाक÷लोकायत दर्शन, बौद्ध दर्शन, चिनियाँ दर्शन र जैन दर्शन गरी मुख्य पाँचवटा दर्शन पर्दछन् । 

हिन्दू दर्शनको सन्दर्भलाई एकछिन थाँती राखेर अन्य दर्शनको सारतत्व खोजी गर्ने हो भने चार्बाक दर्शनले भौतिकवादअनुसार कल्पनाका कुराहरू गरेर हुँदैन । अहिले आँखाले जे देखिएको छ, त्यो मात्र सत्य हो र अरु असत्य हो । 

मानिसको अर्को जन्म हुन्छ भन्ने कुरा पनि व्यर्थ हो । यस संसारमा जन्मिएपछि मानिसले आफ्ना गतिविधि आफ्ना इच्छाअनुसार गर्नुपर्छ । बाँचुञ्जेल ऋण गरेर भएपनि घिउ खानुपर्छ, मरेपछि सबै नष्ट हुन्छ भनेर भनेको छ । 

यस गरी, बौद्ध दर्शनले संसारमा मानिसले किन दुःख पाएको छ भने मानिसले राखेका विभिन्न महत्वाकांक्षालाई पूरा गर्न र तृष्णा उत्पन्न भएका कारण अनावश्यक झन्झटमा पर्दा दुःख पाएको हो । त्यसको निवारण गर्न आठ मार्गहरूको अनुशरण गर्नुपर्छ र सकारात्मक सोच राख्नुपर्छ भन्ने गरेको सार पाइन्छ । 

उता चिनियाँ दर्शनले मानवले सद्गुण र सत्चरित्र अपनाउनुपर्छ र मानिसमा असल चरित्रको विकास भएमा राम्रो हुने विचार व्यक्त गर्दछ । त्यस्तै, जैन दर्शनले ईश्वर भन्ने कुरा दुनियाँमा हुँदैन । भौतिक संसारमा बाँच्न र विकास गर्न मानिसमा पाँच गुण (अहिंसा, सत्य, अस्तय, ब्रह्मचर्य र अपरिग्रह) विद्यमान हुनुपर्छ भनी व्याख्या गर्दछ । 

यसरी समष्टिगत रुपमा पूर्वीय दर्शनका माथि उल्लिखित चारवटा दर्शनले आस्तिक वा नास्तिक दुवै पक्षको वकालत गर्ने र अध्यात्म तथा भौतिकतामा जोड दिएको पाइन्छ । 

यी चारवटा दर्शनबाहेक सबैभन्दा महत्त्वपूर्ण दर्शन हिन्दू दर्शन हो र यहाँ पूर्वीय दर्शनअन्तर्गत हिन्दू दर्शनको सारतत्वका बारेमा वर्णन गरिएको छ ।

हिन्दू दर्शन र यसको अन्तर्य

यो संसारको सबैभन्दा जेठो दर्शन हो, जसलाई धार्मिक दर्शन, सनातन वा आर्य दर्शन भनेर आधुनिक व्यक्तिहरूले भन्ने गरेतापनि यो निकै वैज्ञानिक दर्शन पनि हो । 

प्राचीन ऋषिमुनिहरूको गहनतम चिन्तनबाट प्रार्दुभाव भएको, यसको विकास श्रुति स्मृतिबाट हुँदै आएको र करीब २०००–१५०० ईपूमा अस्तित्वमा आएको निकै पुरानो दर्शन हो । हिन्दू दर्शनको आदिम ग्रन्थ वा संसारको सबैभन्दा पुरानो ग्रन्थ नै वेद हो । 

सुरुमा एउटा मात्र वेद भएको र पछि ४ वटा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदहरू अस्तित्वमा आएका हुन् । यिनै वेदहरूको आधारमा हिन्दूदर्शन अन्तर्गत ६ किसिमका हिन्दू दर्शनहरू रहेका छन्, जसलाई षट्दर्शन पनि भनिन्छ । 

हिन्दू दर्शनअन्तर्गत पर्ने ६ वटा दर्शनको सामान्य परिचयलाई मात्र यहाँ समेटिएको छ । 

१. सांख्य दर्शन  

  कपिल मुनिले प्रतिपादन गरेको यो दर्शन नास्तिक दर्शनको रुपमा परिचित छ । किनकि यो दर्शनका अनुसार संसारमा ईश्वर छैन र शाश्वत सत्य २ वटा छन् । एउटा पुरुष (आत्मा÷चेतना) हो भने अर्को प्रकृति (शरीर÷पदार्थ) हो र यही नै सत्य हो, यो बाहेक अन्य कुराहरू वाहियात हुन् भन्दछ । 

  संसारको विकासका लागि यी २ वटा तत्वबीच योग हुनुपर्छ भनेर यो दर्शनले व्याख्या गर्दछ । यसका साथै २५ वटा तत्वहरू (प्रकृति १, विकृति १६, प्रकृति विकृति ७ र न प्रकृति न विकृति १) को ज्ञान नभएमा दुःखको कारण बन्दछ र यसबाट छुटकारा पाउन २५ तत्वको ज्ञान हुनुपर्ने भनी यो दर्शनले व्याख्या गर्दछ ।

२. योग दर्शन  

  विश्वव्यापी लोकप्रिय र वैज्ञानिक किसिमको यो दर्शनका प्रणेता महर्षि पतञ्जलि हुन् । यस दर्शनमा शरीर मिथ्या होइन र साधनाका लागि स्वस्थ शरीर र मन चाहिन्छ भनेर व्याख्या गरेको पाइन्छ । 

  शरीर र मनलाई जोड्नु वा आत्मालाई परमात्मासँग जोड्नु योग हो भन्ने यस दर्शनमा मूलभाव पाइन्छ । यस्तो अवस्था भेटाउन अष्टाङ योग मार्गका ८ वटा विधि 

(यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान र समाधि) अनुशरण गर्नुपर्छ भन्ने यो दर्शनको निचोड पाइन्छ ।

३. न्याय दर्शन  

   गौतम ऋषिद्वारा प्रतिपादित यो दर्शनले प्रमाण र तर्कलाई मुख्य आधार मान्दछ । यस दर्शनले ज्ञानलाई २ भागमा (यथार्थ र अयथार्थ) बाँडेर यथार्थ ज्ञानमात्र प्रभा वा मुख्य ज्ञान हो, जसलाई विभिन्न परीक्षणबाट प्रमाणित गर्न सकिन्छ  । तर अयथार्थ ज्ञान वास्तविकता नभएको ज्ञान भएकाले यसको कुनै महत्व हुँदैन भनेर व्याख्या गर्दछ । 

  ज्ञानका प्रमाणहरू चार किसिमका (प्रत्यक्ष, अनुमान, उपमा र शब्द) हुने र यसबाट प्राप्त भएको ज्ञान प्रमाणिक हुने मुख्य निचोड यस दर्शनमा पाइन्छ ।

  ४. वैशेषिक दर्शन  

  महर्षि कणादद्वारा प्रतिपादन भएको यो दर्शन अनिश्वरवादी दर्शन हुँदाहुँदै पनि यसले वेदलाई नकार्न नसक्ने भएकाले पूर्ण रुपमा नास्तिक दर्शन होइन । यसले पनि न्यायदर्शनले जस्तै प्रमाण खोजी गर्छ र मात्र पुष्टि गर्दछ । 

  यस दर्शनले परमाणुलाई जीवन र जगतको मुख्य आधार मान्ने भएकाले यसलाई परमाणुवादी विचारसमेत भनिन्छ । परमाणु अविभाजित सूक्ष्म अणु हो, जसलाई देख्न सकिंदैन तर यसमा रहेको विशिष्ट गुणका कारण विशेष पदार्थ जन्मन्छ भनेर अन्नको बीउमा भएको गुणले त्यही अन्न उत्पादन हुनु उक्त बीउको विशिष्ट गुण हो भनेर यो दर्शनले प्रमाणिक कुराहरू गर्ने काम गर्छ । 

  पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु र आकाश) विभाजन गर्न नसकिने अणु हो भने प्रत्यक्ष र अनुमान प्रमाण हो भनेर वैज्ञानिक तरिकाको व्याख्या यस दर्शनमा पाइन्छ । साथै, जीवात्मा र परमात्मा नामक् २ द्रव्य नै ज्ञानको स्रोत हो भनेरसमेत यस दर्शनले पुष्टि गरेको छ ।

  ५. मीमांसा दर्शन  

  जैमिनीद्वारा प्रतिपादित यो दर्शन वेदमा उल्लेख भएका विषयवस्तु व्याख्या गर्न र वेदको अस्तित्वमाथि आएको संकट समाधान गर्न आएको दर्शन हो । मीमांसा भन्नाले अनुभव र तर्कबाट कुनै विषयवस्तुको मूलतत्व पत्ता लगाउनु भन्ने हुन्छ । 

   यो दर्शन आउनु अघि पूजापाठ, यज्ञ, हवन आदिबाट मानिसहरू दिक्क भएको अवस्थामा वेदमा रहेको ज्ञान वा मूलतत्वलाई अर्कैतिर बंग्याउन थालिएपछि बौद्धिक खालको कर्मकाण्ड गराउने उद्देश्यले मीमांसा दर्शन जन्मिएको हो । 

   यो दर्शनले कर्म गर्नुपर्ने र कर्मद्वारा नै मानिस बन्धनबाट मुक्त हुने भएकाले मुख्य ५ वटा कर्महरू (नित्यकर्म, नैमित्तिक कर्म, काम्य कर्म, निषिद्ध कर्म र प्रायश्चित्त कर्म) को बारेमा यस दर्शनमा उल्लेख गरी वेदलाई ज्ञानको मूलस्रोत हो भनी ईश्वरको सट्टा वेदलाई प्रमुख प्राथमिकता दिएको पाइन्छ । 

६. वेदान्त दर्शन 

   सम्पूर्ण वेदको अन्तिम भाग वा निष्कर्ष (१०८ वटा उपनिषद्) नै वेदान्त हो । यी उपनिषद्लाई समेटेर एउटै ग्रन्थ (ब्रह्मसूत्र) बनाउने काम महर्षि वादनारायणले गरेका र पछि शंकराचार्यले वेदान्तको भाष्य तयार गरेका हुन् । वेदान्त दर्शनको मुख्य ग्रन्थ नै ब्रह्मसूत्र हो । 

  यस दर्शनमा ब्रह्मज्ञान (ईश्वरीय ज्ञान ः आत्मज्ञान र बुद्धिजान) नै वास्तविक ज्ञान हो र ब्रह्म 

(परमतत्व) नै वास्तविक सत्य हो भनी व्याख्या गरेको पाइन्छ । 

  यस दर्शनले ४ वटा आत्माका अवस्था (जागृत, स्वप्न, प्रज्ञा र तुर्य) हुन्छन् र मानिसमा रहेका पञ्चकोष (अन्नमय, प्राणमय, मनमय, विज्ञानमय र आनन्दमय) को सक्रियताअनुसार सत्यको अनुभूति हुने गर्छ भनी व्याख्या गर्दछ । 

  यस दर्शनको मुख्य लक्ष्य मोक्ष प्राप्ति गर्नु हो र मोक्ष पनि २ किसिमले प्राप्त हुन्छ भनेर मान्दछ । एउटा मोक्ष तादात्मको अवस्था हो, जहाँ आत्मा र ईश्वरको सम्बन्ध स्थापना भएको हुन्छ । र, अर्को मोक्ष समीप्यको अवस्था हो, जहाँ व्यक्ति जन्म मृत्युको बन्धनबाट मुक्त भई देवलोक प्राप्त गर्न सक्षम हुन्छ । 

यसरी वेदलाई मान्ने हिन्दू दर्शन अन्तर्गतका षट्दर्शनहरू आस्तिक वा नास्तिक जे जस्ता प्रकारका देखिएता पनि पूर्ण रुपले नास्तिक वा आस्तिक मात्र नभई निकै वैज्ञानिक पनि छन् । र, आजसम्म प्रत्यक्ष वा अप्रत्क्ष तरिकाले मानिसले अपनाएकै छन् भन्ने कुरा प्रमाणित गर्न सकिन्छ । 

लेखक मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोतीमा प्राध्यापनरत छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप