बालकथा: प्रगतिको द्वार
संसारमा प्रायः के देखिन्छ भने बढी अरूको कुरा काट्ने नै हुन्छन् । उनीहरू यो यस्तो र ऊ त्यस्तो, यसले यसो गर्यो र उसले त्यसो गर्यो वा भन्यो भन्न रुचाउँछन् । यस्तामा बढी त्यस्तै मानिस हुन्छन्, जसले आफूले केही गर्न सकेका हुँदैनन् । त्यसैले यस्ता भनाइको पछि लाग्नुभन्दा आफ्नो काममा लागिरहनु नै बुद्धिमानी मानिन्छ । होइन भने त गरिखाने अवसर पाउनै पनि मुस्किल पर्न सक्छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ यस्तै एउटा कथा प्रस्तुत गरिएको छ ।
धेरै पहिलेको कुरा हो । एउटा गाउँमा मुल्ला नसरुद्धिन नामका विद्वान् बस्थे । उनी गाउँका जाने माने विद्वान्मा पर्थे । दर्शनशास्त्रका त ठुलै विद्वान्मा गनिन्थे तर उनको व्यवहार भने प्रायः उटपट्याङ नै हुन्थ्यो । यसैका कारण यदाकदा गाउँलेहरूले ठुलै हैरानी व्योहोर्नुपर्ने पनि हुन्थ्यो ।
एक दिनको कुरा हो उनी कुनै कामका लागि कतै जाँदै थिए । सानो छोरोसमेत पछि लागेकोले छाड्न सकेनन् र साथै लिएर हिँडे । त्यतिबेला अहिलेको जस्तो मोटर गाडी वा अन्य यस्तै यातायातको साधन हुँदैनथ्यो । कतै जानुपर्दा कि गोडा, ऊँट, वा गधा प्रयोग गर्नुपर्थ्यो कि पैदल नै हिँड्नुपर्ने हुन्थ्यो । हुने खानेहरू साधन प्रयोग गर्थे हुँदा खानेहरू पैदलै हिँडेर यात्रा तय गर्थे । नसरुद्दिन हुने खानेमै पर्ने भएकाले घोडा लिएर निस्केका थिए ।
तर समस्या के पर्यो भने घोडा एउटा थियो उनीहरू दुई जना । जाडोको मौसममा छोटो सिरक दुई जनाले तानेर ओढ्न खोजे जस्तो एउटा चढ्यो अर्कोले नपाउने अर्को चढ्यो दोस्रोले नपाउने । के गर्ने के गर्ने । यत्तिकैमा उनीहरूले दुई जना एकैसाथ चढ्ने निकाले । यसले तत्काल समाधान त दियो तर स्थायी समाधान भने भएन ।
केही पर पुगेका थिए स्थानीय गाउँलेहरू नाक खुम्च्याउँदै भन्न लागे–
‘हेर यी बाबु छोरा कस्ता अपराधी ! यस्तो पनि हुन्छ ? एउटा घोडामा दुई जना चढेर हिँडेका छन् । नपाउनेले के पायो बोक्रैसमेत खायो भनेको यही हो ।’
नसरुद्दिनलाई उनीहरूको भनाइ मन परेन र आफू ओर्लेर घोडा डोर्याउन लागे । छोरो घोडामा थिए बाबु डोर्याउँथे । अब त कसैले केही भन्दै नहोला भनेको त किन हुन्थ्यो र । केही पर पुगेका थिए त्यतैका मानिसहरू जम्मा भई भन्न लागे–
‘हरे शिव ! कस्तो पापी छोरो ! आफू घोडामाथि चढेर दाह्री जुँगा फुलेका बुढा बाबुलाई डोर्याउन लगाएको छ । यस्ता निर्दयी सन्तान जन्मनुभन्दा त कोखै बाँजो हुनु वेश ।’
नसरुद्दिनले आफ्ना प्रिय छोरालाई अरूले त्यस्तो तुच्छ वचन बोलेको सहन सकेनन् र आफू घोडामा चढेर छोरालाई डोर्याउन लगाए तर गाँठो भने अहिले पनि फुस्केन । अलि पर के पुगेका थिए त्यहीँका मानिसहरू जम्मा भएर भन्न लागे–
‘हरे ! कस्ता अधर्मी बाबु । आफू घोडामा चढेर सानो छोरालाई डोर्याउन लगाएको छ । यस्ता पनि बाबु हुन्छन् । यी त बाबु होइनन् बाबुको नाममा कलङ्क हुन् ।’
अब नसरुद्दिनलाई ठुलै आपत पर्यो । के गर्ने, गर्ने । घोडा छाडेर हिँड्न सकिने अवस्था पनि थिएन । घरमा पुर्याएर आउँ भने पनि सम्भव थिएन । त्यसैले बीचको बाटो निकाल्दै घोडालाई डोर्याएर दुवै जना पैदल हिँड्न लागे । तथापि समस्या भने अहिले पनि समाधान भएन । केही पर पुग्नासाथ मानिसहरू जम्मा भएर भन्न लागे–
‘हेर त यी दुई बाबु छोरा कति बढी अहङ्कारी । एउटा घोडा के पालेका थिए केकेन गरे जस्तो गरी देखाउँदै हिँडिरहेका छन् ।’
त्यसपछि नसरुद्दिनलाई लाग्यो संसार भनेकै कुरा काट्नका लागि रहेछ । यसो गर्दा पनि नहुने उसो गर्दा पनि नहुने । यिनीहरूको कुरा सुन्नुभन्दा त घोडा छाडेर हिँड्नु नै वेश । यस्तैयस्तै सोचेर घोडा छोडेर हिँडे । त्यसपछि भने कसैले पनि कुरा काटेनन् ।
भनाइको मतलब कुरा काट्ने भनेकै केही गर्ने मानिसको हो । कि नसरुद्दिनले जस्तै सबै छाडेर हिँड्नुपर्ने हुन्छ होइन भने कसले के भन्छ त्यसको वास्ता नगरी आफ्नो काममा लागिरहनुपर्छ । भनाइ नै छ नि कसैले आएर कागले कान लग्यो भन्न थाल्यो भने कागको पछि लाग्नुभन्दा कान छाम्नु नै बुद्धिमानी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुम्बराहीमा माओवादी केन्द्रीय समिति बैठकको चहलपहल (तस्बिरहरू)
-
पत्रिकाले बेजोस र ट्रम्पको कार्टुन छाप्न नमानेपछि वाशिङटन पोष्टकी कार्टुनिष्टले दिइन् राजीनामा
-
सिमरा बाहेक तराईका सबै विमानस्थल खुला
-
गाजामा इजरायलले गरेको हवाई हमलामा फेरि २१ जनाको मृत्यु
-
एक हप्ताअघि घरबाट भागेका केटाकेटी मृत फेला
-
संविधान परिमार्जनमा सुझाव दिन परियारको नेतृत्वमा रास्वपाले बनायो कार्यदल