भोजपुरलाई चियाको क्षेत्र बनाउने अभियानमा रञ्जित
नेपालमा विसं १९२० देखि इलाम र झापामा चिया खेती सुरु भएको इतिहास छ । त्यही बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो ।
२०३९ सालमा झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाई चियाक्षेत्र घोषणा गरिएको थियो । हाल चिया खेती विस्तार गर्ने जिल्लामा भोजपुर पनि पर्दछ । अहिले भोजपुरलाई चिया क्षेत्र बनाउनु पर्ने मागसहित सरकारको ढोका चहारीरहेका छन् अगुवा किसान रञ्जित गिरी ।
अहिले नेपालमा ६२ वटा जिल्ला चिया खेती हुने सम्भावित जिल्लाको सूचीमा छ । त्यसमा १८ वटा जिल्लामा मनग्ये चिया उत्पादन भइरहेको छ । जसमध्ये १८ लाख ४ हजार ८२१ हेक्टर क्षेत्रफलमा चिया खेती हुन सक्ने तथ्याङ्क छ ।
चिया विकास बोर्डको तथ्याङ्कअनुसार भोजपुरमा कृषियोग्य जमिन ३७ हजार ४४६ हेक्टर छ । बाँझो जमिन, झाडी र घाँसे मैदानमा पनि चिया खेती हुने भएकाले यहाँको ४१ हजार २८२ हेक्टर जमिन चिया खेतीका लागि योग्य भएको बताइएको छ ।
भोजपुरमा चिया उद्योग रहेको रेकर्ड अहिलेसम्म चिया विकास बोर्डसँग पनि छैन । तर, यहाँ उनै रञ्जितले गरस चिया उद्योग स्थापना गरेका छन् ।
पैतृक सम्पत्ति बेचेर दशकौं अगाडि झापा झरेका गिरी परिवारले १२ वर्ष अगाडि ०६७ सालमा चिया खेती गर्ने भनेरै जग्गा किन्यो । त्यतिबेला टेम्केमा बाटो बनिसकेको थिएन । हाल पूर्वपश्चिम मध्य पहाडी लोकमार्ग सुचारु छ ।
बुवाको पदचिन्ह पच्छ्याउँदै
रञ्जितका बुवा सहरमान गिरीले सुरु गरेको चिया खेतीको अभियानमा उनी अहिले जिल्लालाई नै चिया क्षेत्र घोषणा गराउने अभियानमा छन् ।
‘झापामा रहँदा हाम्रो गिरीबन्धु टिस्टेटसँग नजिकको चिनजान भएर होला बुबालाई चियातिरै एक प्रकारको चासो बढ्यो । बुबाले सुरु गरेको चिया खेतीको निरन्तरतास्वरुप हामीले पुख्र्यौली थलोमा आएर चिया खेती गर्न थालेका हौं,’ उनले सुनाए ।
१ सय रोपनी आफ्नैजग्गा र ५० रोपनी जग्गा लिजमा चिया खेती गरेका उनले त्यहाँ उद्योग पनि खोलेका छन् । उनको हौसलाले त्यहाँका साना किसानले पनि चियामा भविष्य देख्न थालेका छन् ।
पहिलो पटक दमकका डा सहदेव थुलुङले २० वर्ष अगाडि त्यस ठाउँमा चिया खेती सुरु गरेका थिए । विडम्वना दुर्घटनामा उनको मृत्यु भयो । त्यसपछि गिरी परिवारनै त्यहाँका मुख्य चिया खेती किसान हुन् ।
भोजपुरमा ३४ वटा चिया उद्योग दर्ता गरेको रेकर्डमा छ । तर, दर्ता भएका उद्योगसञ्चालनमा छैनन् । चियाको प्रतिस्पर्धामा भोजपुरबाट उनी मात्रै छन् भन्दा हुन्छ ।
भोजपुरमा काम नगर्नेहरुले करोडौं रुपैयाँ स्थानीय निकाय, प्रदेश सरकार र चिया विकास बोर्डसँग पनि अनुदान सहयोग लिएका छन् । तर, चियाको उत्पादन सोचेजस्तो नभएकोमा गिरीको तिक्तता छ ।
उता इलाममा भने एउटै पालिकामा ९७ वटासम्म उद्योग छन् । ‘नयाँ ठाउँमा नयाँ तरिकाले उद्योग सेटल गर्दा धेरै समस्या थियो । विद्युत्को लाइन नै भर्खरै प्राधिकरण प्रमुख कुलमान घिसिङसँग कुरा गरेर जोडियो,’उनी भन्छन् ।
गरस टि उद्योगको मासिक आम्दानी हाल २ लाखसम्मको छ । प्रिमियर अर्थोडक्स ब्ल्याक टि, प्रिमियर ग्रिन टि र प्रिमियर सिल्भर टि (मिडल) गरी यहाँ तीन प्रकारको चिया बनाउने गरेको गिरी बताउँछन् ।
प्रिमियर सिल्भर टि प्रतिकिलो २० देखि २२ हजार रुपैयाँसम्ममा उद्योगबाटै विक्री हुन्छ भने विचौलियाले उद्योगबाट लगेर ८० हजारसम्ममा विक्री गर्छन् ।
चिया उद्योगमै रञ्जितले २ करोडजति लगानी गरिसकेका छन् । चियाको व्यापारमा धेरै अप्ठ्यारो नभएपनि सहयोग भने सरकारी निकायबाट खासै नभएकोमा उनी कहिलेकाहीँ खिन्न हुन्छन् । भोजपुरका सबै पालिकाले जिल्लामै उत्पादन भएको चिया उपभोग गरौं है भन्दिएमा पनि आफूलाई धेरै सहयोग हुने उनको भनाई छ ।
इलामे चियाभन्दा कम छैन
त्यसो त झापामा हिमालय टि गार्डेन, गिरिबन्धु टि स्टेट, काँकडभिट्टाको टोकला सिटिसी चिया छ । तर गिरी भन्छन्, ‘हाम्रो प्रतिस्पर्धा धनकुटा र इलामसँग मात्रै हो, झापासँग होइन ।’
भोजपुरको चियालाई ढुवानीको मुख्य समस्या हो । एउटा गाडीमा तराई ढुवानी गर्दा ७० देखि ८० हजार रुपैयाँ खर्च हुन्छ । लोकल बसमा पठाउँदा चिया सुरक्षित ढंगले गन्तव्यसम्म नपुग्न सक्छ । त्यसैले उनले पिकअप भ्यान अनुदान पाउने आशामा सरकारी निकायमा निवेदन पनि दिए । तर, अहिलेसम्म नपाएको उनको गुनासो छ ।
चियामा लगानी गर्ने भनेपछि सरकारको ध्यान इलाममा मात्रै जान्छ । तर, भोजपुरमा पनि चिया हुन्छ भन्ने कुरा सरकारलाई थाहै छैन । ‘मैले भोजपुर जिल्लालाई चिया उत्पादन क्षेत्रमा राखिदिनु भनेर प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राई र राजेन्द्र राईसँग पनि भेटघाट गरे,’ उनी सुनाउँछन्, ‘हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पनि यो विषयमा भेटघाट गरेर भनेको छु । संघीय सरकारका मन्त्रीहरुलाई पनि भनेको छु । तर, अहिलेसम्म भोजपुर जिल्लालाई चिया उत्पादनको क्षेत्रभनाउन सकिएको छैन ।’
सुरुमा आफूले भोजपुरको चिया भनेर बिक्री गर्दा इलामको चिया ल्याएर ब्राण्डिङ गरेको हो भन्नेसमेत आरोप उनलाई लाग्यो । भोजपुरमा वातावरणीय र माटोको गुणस्तर चेकजाँच गर्दा इलामको भन्दा गुणस्तरीय चिया उत्पादन हुने देखिएको चिया विकास बोर्डका निर्देशक दिपक खनाल बताउँछन् ।
अर्को प्रसंगमा खनालले भने, ‘तत्कालीन राजा वीरेन्द्रले ५ जिल्लालाई चिया क्षेत्र घोषणा गरेका हुन्, अहिले भोजपुरलाई त्यसरी घोषणा गर्न मापदण्ड पुग्दैन ।’ उनले चिया क्षेत्र घोषणा गर्नका लागि इलाम, झापा, धनकुटामा जस्तै धेरै हेक्टर जमिनमा चिया खेती हुनुपर्ने र किसानको जीविकोपार्जनको मुख्यस्रोत पनि चिया बन्नुपर्ने बताए ।
१ हजार मिटरदेखि २ हजार ५ सय मिटर अग्लो पहाडमा चिया खेती हुन्छ । भोजपुरमा यस्तो क्षेत्रफल धेरै छ ।
गिरीको उद्योगमा ५ जना नियमित र सिजनमा दैनिक ३५ जनासम्म मजदुर कार्यरतहुन्छन् । उनले आगामी दिनमा २ हजार रोपनीमा चिया खेती लगाउने योजना सुनाए ।
उनका अनुसार पहाडमा सम्भावना धेरै छ । यहाँको जग्गा जोगाएर राख्नेहरु फर्केर आए धेरै ठूलो अवसर हुन सक्छ । तर, सरकारले थोरैमात्र ब्राण्डिङमा सरकारले सहयोग गर्नुपर्छ । यहाँको किबी र एभोकाडो विक्री भइरहेको छैन । यसलाई सरकारले सहयोग गर्ने हो भने पैसा बोरामा बोकेर हिँड्न सकिन्छ । हरेक नेपालीसँग ल्याण्डक्रुजर हुन सक्ने उनी आशारत छन् ।
पहिले सुरक्षा गार्ड, अहिले चिया खेती
झापा कन्काई नगरपालिका–२का स्थायी बासिन्दा हुन् रन्जित गिरी ।उनका हजुरबा भोजपुरको टेम्के मैंयु गाउँपालिकाबाट आफ्ना सन्तानको शिक्षा दीक्षाको लागि झापा झरेका थिए ।
ब्रिटिस आर्मीको रुपमा दोस्रो विश्वयुद्धमा सहभागी पनि भएका थिएउनका हजुरबा। रञ्जितका बुबा सहरमान बेलायतमै जन्मिएका हुन् । उनी ६ वर्षको हुँदा नेपाल आए ।
सहरमानले यातायात व्यवसायमा लगानी गरे । विर्तामोडदेखि ओलाङ्चुङगोलासम्म चामल पुर्याउने व्यवासाय पनि उनले सञ्चालन गरेका थिए । त्यो भन्दा अगाडि उनले विर्तामोडको अन्नपूर्ण टाकिजमा क्यान्टिन पनि चलाएका थिए ।
रञ्जित भने सन् २००६ मा अमेरिकाको बेस क्याम्पस सुरक्षा गार्डको रुपमा काम गर्न इराक पुगे । त्यहाँ उनले १० वर्ष काम गरे । बेसक्याम्प उठेपछि उनी नेपाल आए ।
इराक र अमेरिका युद्ध हुँदाका खतरनाक दृश्य उनले देखेका छन् । ‘त्यहाँ काममा लागेकै दिन रकेट लन्चर झरेको थियो । फर्किन्छु भनेर रिक्वेस्ट गर्दा पठाउने कन्ट्याक्टरले मेरो पठाउने काम हो फिर्ता ल्याउने काम होइन भन्यो । त्यसपछि मरेपनि काम गर्छु भनेर काम गरेँ । त्यहाँबाट फर्केपछि २ वर्ष कतारमा पनि काम गरे,’ रञ्जितले विगतको कथा सुनाए ।
अहिले उनी बुबा सहरमानले सुरु गरेको चिया बगानको नेतृत्वमा आएका छन् । अहिले उनी भोजपुरको ट्याम्केमा चियासँगै रमाइरहेका छन् । विपना मात्रै होइन, सपना पनि चियाकै देखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख