आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
निबन्ध

आफ्नो कथा भन्नुको मजा

शनिबार, ०२ वैशाख २०८०, १३ : ५६
शनिबार, ०२ वैशाख २०८०

अहो ! आफ्नै कथा सुनाउन मान्छेलाई कति ठूलो आतुरी हुन्छ । 

टेम्पुमा चढेर टुसुक्क बस्न पाएको छुइनँ । छेउमा बसेकी एक युवती धारावाहिक रुपमा आफ्नै कथा भन्न थालिन्–“मेरो घर पल्लो जोगी दहको खोरिया टोल हो । मामा ससुराको नातिनीको बर्थडे थ्यो  बगाहामा । निम्तो मानेर आकी ।’

उनी धाराप्रवाह बोल्दै गइन्, ‘म त नानीहरु बोडिङ पढाउन खोटाङबाट झरेको दुई वर्ष भो । मेरा श्रीमान् दुबईमा हुनुहुन्छ । यसपालि गाईघाटमा घडेरी किन्यौँ । खोटाङको मूलघरमा सासु–ससुरा हुनुहुन्छ । मैले त्रिसठ्ठी सालमै एसएलसी गरेकी हुँ ।  के गर्नु जागिर खान सकिएन...।” 

उनको लम्बेतान कथा नसकिँदै अटोबाट मेरो ओर्लिने ठाउँ आयो । म वल्लो मोथियाहीमा ओर्लेर आफ्नो बाटो लागेँ । चिन्नु जान्नु केही छैन, नौलो मान्छे जो देख्यो, त्यहीसित फरर आफ्नो कथा भन्ने यी बहिनीलाई म के भनूँ ? निकै सारो अलमलमा परेको छु ।

एकदिन स्कुलको बरण्डामा बसेर लिजर घण्टी गुजारिरहेको थिएँ । खोई ! कतातिरबाट हो, एउटा अधबैँसे मानिस गेटभित्र छि¥यो । 

मेरा सामु हात पसार्दै याचना गर्न थाल्यो–“हजुर ! म दैलेखको रोकाया क्षत्री हुँ । मेघालयबाट घर हिँडेको गाडी अल्टर परेर काँकडभित्ता आइपुगेछु । झोलापनि हरायो । भएको पैसापनि लुटियो । घर पुग्नलाई  केही खर्चबर्च पो उठाइहिँड्दैछु हजुर ! छोरो मेरो आर्मीमा छ । छोरी होटल गर्छे । बारी पाँच हलको मेलो छ...।” 

उसको कता कता संगति नमिलेका कथाले मलाई दिग्दार बनाइ सकेकोथ्यो । गोजीबाट सयको नोट निकालेर बाटो लाएँ । 

खर्च उठाएर किन घर जान्थ्यो त्यो मनुवा ! चोकको प्रतिक्षालयमा एक हप्ता बास बस्यो । आफ्नो अण्टसण्ट कथा सुनाएर मान्छेको मन पगाल्यो । आनासुकी दाम बटुल्यो । अनि भट्टीमा पस्यो ।  

एक हप्तापछि त्यो मानिस त्यहाँ देखिन छोड्यो । सायद अब यस ठाउँमा आफ्नो कथा बिक्री हुन छोड्यो, यो कुरा बुझेर अर्काे बजारको खोजीमा लागेको अनुमान गरेँ ।

यसरी बाटोघाटोमा, यात्रा पथमा, सवारी साधनमा, बस बिसौनीहरुमा, होटल चियापसलमा बेरोकटोक आफ्नो कथा कहने थुप्रै मानिससित जम्काभेट भएको छ । उनीहरुका कथालाई मिहीन ढंगले सुनेको छु । 

सच्चाइँ के हो ? त्यो थाहा छैन तर शाब्दिक साक्षात्कार मजाले नै गरेको छु । तिनका लवज, भावभङ्गिमालाई केलाउने र अवलोकन गर्ने यथेष्ट अवसर पाएको छु ।

हैट ! आफ्नो कथा सुनाउनुको मज्जा कति चर्काे छ । थरिथरिका कथावाचक हुन्छन् । वाचनका अनेकन प्रयोगशील शैली हुन्छन् । कथा सुनाउँदै जाँदा कतिपय अवस्थामा कथावाचक हर्षातिरेकले आनन्दको चरम शिखर छुन्छ । त्यो कुरा उसका आँखा र मुहाराकृतिबाट अन्दाजा लाउन सकिन्छ । 

कथा सुनाउनुको मज्जामा ऊ घरी घरी विभोरताको भावले उकुसमुकुस बन्छ । कतिपय मनुवा भने आफ्नो वेदनामयी कथा सुनाउँदा सुनाउँदै ग्वाँ ग्वाँ डाँको छोडेर रोएको दृश्य पनि देखेको छु ।

मान्छेलाई आफ्नै कथा सुनाउन उत्कट चाहना किन जाग्छ होला ? मनोवेत्ताहरुले अवश्य नै यसको पहेली खुट्याएका होलान् । मानिस या त आत्म–प्रकाशनको भोकले आफ्नो कथा सुनाउँदो हो या त सहानुभूति र सहयोग हाता पार्ने हिसाबले कथा सुनाउन मजबूर बन्दो हो । 

कतिपय व्यक्तिको सन्दर्भमा यो एक किसिमको उपचार नहुने मनोरोग पो हो कि त भन्ने मेरो अड्कल रहेको छ ।

हुन पनि हो, मान्छेका अनेकौँ रहरमध्ये आफ्नै कथा भन्ने रहर गज्जबकै रहर हो । 

म एक पाठशालाका पुराना गुरुजीलाई सम्झिन्छु । जीवनको लामो कालखण्ड पाठशालामा पठनपाठन गरी  अहिले उनी देहमुक्त भैसकेका छन् । उनी खासमा भूगोल र इतिहासका शिक्षक थिए । विश्व मानचित्रको भूगोल पढाउँदा पढाउँदै उनी कता कता बहकिएर आफ्नै खेतको गरामा पाठ्य विषयवस्तुलाई टुङ्ग्याइ दिन्थे । 

आफूलाई उनका कक्षा लिन सुयोग नमिले पनि अग्रजहरुका अनुभूति सुनेको हुँ  । भूगोलको पाठ पढाउने क्रममा उनी आफ्नो मुहाने गराको कथा यसरी मिसाउँथे अरे । 

“नानीहरु हो ! विश्व मानचित्रमा सबैभन्दा असल उत्कृष्ट महादेश एसिया महादेश हो ।  एसियामा पनि सबैभन्दा असल ठाउँ दक्षिण एसिया हो । दक्षिण एसियामा पनि उत्कृष्ट र असल देश नेपाल हो । नेपालमा पनि सबैभन्दा उत्कृष्ट अञ्चल सगरमाथा अञ्चल हो । 

सगरमाथा अञ्चलमा पनि सबैभन्दा राम्रो जिल्ला उदयपुर हो । उदयपुर जिल्लाको पनि सबैभन्दा उत्कृष्ट स्थान नेपालटार हो । नेपालटारमा पनि सबैभन्दा मलिलो र ऊर्वर खेत मेरो हो । त्यसमा पनि अव्वल खेत मेरै मुहाने गरो हो ।” 

आफ्नो कथा कहने कति काइदाको कला । कवि भूपी शेरचनले एउटा कवितामा सिंगो देशलाई एउटा सानो चोक र साँगुरो गल्लीमा सीमित पारिदिएको रोचक सन्दर्भ छ । कविको कल्पना बिम्वमा बोल्दछ । प्रतीकमा अर्थका अभिव्यञ्जनाहरु खुल्दछन् । 

उनै भूपीले विशाल ब्रह्माण्डकी नेपाली नारीलाई एउटा आलमारी र त्यसभित्र थुनिएका दुई थान सारीमा सीमित पारिदिएका छन् । भूगोलका गुरुले पनि भूपीकै समतुल्यतामा उभिएर पृथ्वीलाई एउटा मुहाने गरोमा कैद गरिदिएका छन् । गुरुको आफ्नो कथा भन्ने कलालाई क्याबात ! भन्नैपर्छ । स्रोताले पत्याउन् नपत्याउन् त्यो आफ्नो ठाउँमा छ । तर, बाहिरी जगत्को विषय–विन्यासमा अनयास आफ्नै आख्यान घुसाउन सक्नु सानो चातुर्य होइन ।

जुनसुकै विषय, घटना–सन्दर्भ र पात्रका बारेमा पढाउँदा पढाउँदै आफ्नै जीवनका घटना र सन्दर्भसित कथालाई जोड्न सक्ने विछट्टको कला थियो उनीसित । किताबको क्लियोपेट्रा र राजेन्द्रलक्ष्मीको पाठ पढाउँदा पढाउँदै बहकिएर आफ्नै घरवाली कमला र छोरी रमिलाको कथा हाल्न सुरु गर्थे अरे । उनी आफ्नी पत्नीको रुप–सौन्दर्यको बखान गाएर थाक्दैनथे । आफ्नै छोराछोरीका आत्मप्रंशसामा डुबेर घण्टी बितेको पत्तो पाउँदैनथे ।

यस्तै, अर्का एक भाषा–साहित्य पढाउने अध्यापकको सम्झना आउँछ । उनी किताबको कथा पढाउन कोठाभित्र छिर्थे । कथाका अनुच्छेद सुरु गरेको केही मिनेटमै आफ्नै कथाको सन्दुलीभित्र छिरिसक्थे । अनि उनी पूरै घण्टी आफ्नै कथा सुनाउन निमग्न रहन्थे । 

पाठको सन्दर्भमा जोडिएर आउने कुराहरु शिष्य सामु पस्किनु सर्वथा अनुचित पनि होइन । पाठसित गाँसिएका र पाठको सन्दर्भसित मिल्ने बाहिरी कुराहरुको ज्ञान गराउनु सिकारुको निम्ति फलदायी नै हुन्छ । तर, विषयसित आनको तान कतै नजोडिने, सन्दर्भ र संगति नमिल्ने आफ्ना वैयक्तिक जीवनका उपकथाहरु जोडेर अनाहकमा शिष्यहरुको समय चिल्नु एक किसिमको ज्यादति ठानेको छु मैले । 

किताबको कथाका व्याख्यान पढ्न र बुझ्न बसेका शिष्यहरु दिनदिनै गुरुकै आत्मप्रशंसाका किस्साहरु सुन्दा सुन्दा दिग्दार बनिसकेको हुन्थे । केटाहरुले आङ तानेर, हाई काढेर, ढुसुढुसु उङेर गुरुजीलाई अरुचिको प्रतीत गराउन खोज्थे । तर, उनलाई चेलाहरुमा वितृष्णाबोध भएको कुराको कुनै भेउ नै थिएन । 

सायद एकोहोरो रुपमा आफ्नै कथा भन्न पल्केका मनुवाहरुले अरुको मनोभाव पढिराख्ने लेठो पनि बेसाउदैनन् क्यारे । विषय–व्याख्यानको दायरा कतिसम्म फिँजार्ने हो ? त्यसको मेसो पनि पाउदैनन् क्यारे ।

उनीहरुलाई त आफ्नै कथा भन्नुमा अपार मज्जा छ । श्रावकले रुचि र रस लिएको छ कि छैन, त्यससित उसको खासै सरोकार रहँदैन । ऊ त कथा भन्नुको रसमा एकोहोरो डुबिरहेको हुन्छ । आफ्नै कथा भन्ने यस्तो तन्मयता कहाँबाट आउँछ ? बेला बेलामा म यी दृश्यलाई विष्मयचकित भइ नियार्छु ।

अक्सर यस्ता कथावाचक आफ्नै यशोगानमा रम्न रमाउन औधि माहिर हुन्छन् । यसबाट एक किसिमको गहन मनोवैज्ञानिक परितोष मिल्छ क्यार ! यो पनि वास्तवमा आफैँमा आनन्दित हुने कला हो । यस कलामा जसले महारथ हासिल गर्छ, निश्चय नै ऊ कथावाचनपछि पुलकित आनन्दको उपल्लो शिखर चढ्दछ ।

अरुको कथा भन्न जति गारो छ, आफ्नो कथा भन्न त्यति नै सजिलो छ । किनभने मानिस आफ्नो विषयको आफैँ ज्ञाता हो । फेरि कथा भन्न चाहिने सरसामग्री आपैmँसित हुन्छन् । अन्त खोजतलास गरिरहनु पर्दैन । बाहिरको पात्रपनि ल्याउनु परेन, अर्काको परिवेश पनि च्याउनु परेन । कथाको नायकपनि खोज्नु परेन, गौण या सहायक पात्रपनि समेट्नु परेन । 

फेरि आफ्नो कथा भन्ने मानिस कथावाचनमा यत्ति आत्मकेन्द्रीत भएर बग्दछ; स्रोतागणलाई कथाको तालमा बगाओस्, नबगाओस् आफू भने बगिरहन्छ । उसले म भन्दा बाहिरपनि दुनियाँ छ भन्ने कुरा भुल्दछ । यस्ता थाङ्ने कथा मेरामात्र छैनन्, प्रत्येक व्यक्तिका जीवनमा अनन्त रुपमा छिपी बसेका हुन्छन् भन्ने कुरा बिर्सिन्छ । 

उसलाई आफ्नै कहानीमात्र विराट लाग्छ । आफूलाई मात्र नायक देख्छ । जीवनको भोक्ता र वक्ता आफैँमात्र हुँ भन्ठान्छ र मूलपात्रको कुर्सीमा आफैँले आफैँलाई आशिन गराउँछ । अरुका कथा आफ्ना सामु तुच्छ लाग्छ उसलाई । त्यसैले, अरुको अ उच्चारण गर्न पनि पछि सर्दछ ।

जनसाधारण निरक्षरी जनलाई त आफ्नो कथा सुनाउन कति ठूलो हुटहुटी हुन्छ भने पढालेखा सुशिक्षित जनलाई  झन् आफ्नो कथा सुनाउने रहर नहुने कुरै भएन । 

त्यसैले त अहिले केही सुशिक्षित जन जो पद–प्रतिष्ठा र पैसाको मामिलामा समृद्धिको शिखर टेकेपछि गर्न बाँकी काम अरु केही नपाएर आफ्नो कथा भन्न थालेका छन् । कथा–वाचनको बजारमा आत्मकथा सुनाउनेहरुको लर्काे लागेको छ । 

आफूलाई आफ्नो जमानाको, आफ्नो क्षेत्रको स्निग्ध नायक देखाउन सेनाको हाकिम आत्मकथा लेख्छ । पुलिसको हाकिम आत्मकथा लेख्छ । प्रशासनको हाकिमले आत्मकथा लेख्छ । पत्रकार र साहित्यिक सर्जकहरु त लेखनजीवी भैहाले, उनीहरुले नलेख्ने भन्ने कुरै भएन । नेताहरु भटाभट आत्मकथा लेखिरहेछन्, कलाकारहरु पनि आत्मकथा लेखिरहेछन् । 

   मानौँ रुसो र रविन्द्रनाथका आत्मकथा पढेर, नेहरु र वीपीका आत्मकथा हेरेर उनीहरुकै उचाइ छुने होडमा लेखनको लहर आएको छ । लेखकीय ल्याकत नभएका जनपनि पैसाको बलमा खेतालो लेखकबाट आफ्नो कथा लेखाइरहेछन् । 

लेखनदास पत्रकारमार्फत् आफ्नो कथा लेखाउनुका पछि कीर्ति–पिपासा चर्काे लालसा बोलेको हुनु पर्दछ । प्रायोजित या नियोजित तवरले आत्मकथा लेख्नु, लेखाउनु र सुनाउनुका पछि आफूबाट भए गरेका दूषित कर्महरुको ढाकछोपको लिल्ला पो हो कि त । आत्मकथाको बजारमा यस्ता नियोजित तवरका फूलजडी इत्तिवृत्तहरुमा सत्यापनको अंश कति प्रतिशत होला ? पाठकले सजिलै अनुमान लाउन सक्तैन ।

     आफू अनुकूलका नितान्त प्रायोजित रङहरु पोतेर आफ्नो आख्यान बुन्ने र आफूले आफैँलाई सातौँ आशमान चढाउने काम काफी रुपमा हुँदै आएको छ । 

सुनेको हुँ, आफ्नो निख्खर दुराचारी व्यक्तित्वलाई जगत् सामु परम् सदाचारी देखाउन पनि आत्मकथा लेखिएका छन् रे । कालो र अँध्यारो अतितलाई सफेद बर्कोले ढाक्नका निम्ति पनि कथित आत्मकथाका आलम्बहरु उभ्याइएका छन् रे । 

हिजोको घोर सामिष रातारात निरामिष देखिन आत्मकथा कहँदैछ आज । हिजोको वेइमान भ्रष्ट आज इमानी र असल देखिन परिकल्पित कथा रचेर लोकमा आँखामा छारो हाल्दैछ । आफैँ उपर निर्मम घन ठोक्न नसक्नेले के आत्मकथा लेखनको ढोँग रच्नु ? आफ्नो आन्द्राभुँडी जस्ताको तस्तै उल्ट्याएर देखाउन नसक्नेले के आत्मकथाको आडम्बर देखाउनु ? 

कथावाचकले जीवनमा के प्राप्ति गरेन र ? सबै सबै कुराहरु भ्याइसक्यो, पाइसक्यो । लोभलाग्दो पद पायो । अकुत पैसा कमायो । ऐश्वर्यको शिखर छोयो र पनि उसको चित्त भरिएन । भित्री हृदय खालीको खाली रह्यो । अन्तरमा आफूलाई रित्ताको रित्तै देख्यो । 

अब उसलाई आखिरी घडीमा नाम कमाउने बासनाले फेरि डस्न थाल्यो । ख्यातिको लालचाले चित्तलाई खग्रास पार्छ र कथ्न थाल्छ, आफ्नै आत्मकथा । 

आफैँसित इमानी हुनु भन्दा कठिन कार्य अरु के होला र ? सक्छन् वीपी जस्तो इमानी भएर आत्मकथा कोर्न, पारिजात जस्तो इमानी भएर आफ्नो कथा भन्न ? नामको औडाहा र भोकले आत्मकथा लेख्नुपनि आफ्नै कथा सुनाउने तरिका हो । यो त आत्मप्रंशसाको जलपमा  ओकलिएको एक आलाप हो, विलाप हो, स्वलाप हो । यस्तो स्वलापलाई सबैको समर्थन मिल्छ भन्ने कुनै ग्यारेन्टी छैन । 

हामीलाई यतिखेर अरुको कथा हाल्ने मान्छे चाहिएको हो । अरुको हृदयमा विराजमान प्रज्ञा–ज्योति उमार्ने मान्छे चाहिएको हो । अरुकै वीरत्व र धीरत्वका गाथा उधिन्ने मान्छे चाहिएको हो । इतिहासको अज्ञात कुनामा छोपिएर, छायाँमा परेर सिर्जना र सुकर्मका सरगम रचिरहेका गुमनाम प्रतिभाहरुका कथा भन्ने मान्छे चाहिएको हो । 

तर, मान्छेलाई आफ्नै डम्फू र डम्मरु बजाउनुको हतारो छ । आफ्नै गीत सुनाउनुको चटारो छ । आफ्नै झ्याली, मुजुरा पिट्नुको सक्सक् छ । 

हुन त आफ्नो कथा सुनाउने तृष्णा सबैमा हुन्छ नै । अझ लेखनवृत्तका अक्षरकर्मी स्रष्टामा त्यो भोक झन् बढी हुँदो हो । आफ्नै हात जगन्नाथ भनेझैँ आफ्नै साथमा छ कलम; जसरी जुन शैलीमा लेखेपनि भयो आफ्नो कथा । 

खाली कुनबेला, कसरी, कुन दृष्टिविन्दु अप्नाएर कथा भन्ने कुरा न हो । आफ्नो कथा प्रथम दृष्टिविन्दुमा लेख्ने हो कि तृतीय दृष्टिविन्दुमा भन्ने हो ? त्यसको आआफ्नो शैली हुन्छ ।

आफ्नो कथा भन्नलाई सायद आफैँ भित्रको हिनताबोधी ग्रन्थीको परितापले मान्छेलाई उद्दिप्त गर्दाे हो या त उच्चताभासी ग्रन्थीले उकुस मुकुस पार्दाे हो । कुनको सबभन्दा ठूलो हात छ ? त्यो कुरा आजसम्म मैले बुझ्न सकेको छैन । 

मानव इतिहासको मिर्मिरे उषाकालबाटै मान्छेले आफ्नो कथा भन्ने चलन कायम राखेको देखिन्छ । बोली र भाषाको विकास नहुँदाको बखतमा चित्र र संकेतबाट मूक अभिनय र हाउभाउ क्रियाकलापबाट आफ्नो कथा सुनायो होला । 

तर, जब भाषाको विकास ग¥यो, तब मूर्त वाणीमा आफ्नो कथा कहन सजिलो भयो । आदिमकालदेखि नै कथा सुनाउने रसले आसक्त छ मानिस । यस रसबाट कसरी चँगेज खाँ अछुतो रहन गयो ? आश्चर्यको विषय छ । 

मानव इतिहासको रङ्गमञ्चमा जति पनि राजामहाराजा र शासकहरु आए । उनीहरुले आफ्नो समयमा आफ्नो नाम अजर अमर राख्न इतिहासका पानामा आफ्नो कथा लेखाए । आफ्नो विरोचित गुणको बखान गाएर विरुदावली रचाए । 

आफ्नै कीर्ति फैल्याउन शालिक स्थापना गर्ने, शिलालेख राख्ने, ताम्रपत्र कुदँने, हुँदाहुँदा भोजपत्र ताडपत्रसमेतमा अक्षरहरु छपाए । शालिक शिलालेख पनि त्यो बेलाका शासकहरुको आफ्नो कथा भन्ने शैली थियो । अथवा आफ्नो कथालाई दिग्दिगन्त अमर राख्ने एक कला हो । तर, यो आत्मप्रकाशनको भोकबाट चँगेज खाँ सय हात पर रहेको देखिन्छ ।

चँगेज बाह्राँै शताब्दीमा विश्वमै चकचकी मच्याउने मंगोलियाको एक सम्राट थियो । भनिन्छ, उसले पृथ्वीको झण्डै वाइस प्रतिशत भूभाग कब्जा गरेर चक्रवर्ती सम्राट बनिसकेको थियो । इतिहासका बहादुर या क्रुर शासकको नामावलीमा उसको नाम सायद एक नम्बरमै आउला । उसले लडाइमा कायम गरेका अनेकन कीर्तिमानहरु थिए । तर, थियो ऊ नामको अनाशक्त मानिस । 

देश देशावरका राजामहाराजाहरु आफ्नो देशको मुद्रामा आफ्नो नाम र फोटो अंकित गर्थे । राजाको फोटो नभएको पैसै छापिदैनथ्यो । तर, चँगेजले सिक्कामा फोटो पनि छापेन । नाम पनि छापे । पृथ्वीको त्यत्रो भूभाग जितेको मानिस काहीँकतै आफ्नो शालिक, स्मारक, मूर्ति केही कुँद्न दिएन । 

मृत्युपछि पनि आफ्नो कुनै निशानी बाँकी नरहोस् भन्ने कुरामा चँगेज सचेत थियो अरे । मुद्रामा समेत आफ्नो चित्र अंकित गर्न नदिएको कुरा यसको एक सबुद हो ।

मरेपछि पनि उसको चिहान कहाँ खनियो ? कसैलाई थाहा भएन अरे । धर्तीमा त्यत्रो हल्ली चल्ली मच्चाएर आखिरमा चुपचाप गयो । गुमनाम मृत्यु म¥यो । सायद चिहान समेत गोप्य राख्न कडा निर्देश थियो होला । चिहान थाहा भयो भने आफ्ना अनुयायी भक्तहरुले त्यो थलोलाई पूजा थलो बनाउँछन् भन्ने कुरामा ऊ सचेत थियो । 

सबै राजा महाराजाहरु जीवनकालमा त नामको भोकले, आत्मप्रकाशनको क्षुधाले पीडित हुन्छन् हुन्छन् । शेषपछि पनि अमर रहन अनेकौँ कृतिगाथाका उपक्रमहरु रच्छन् । 

तर, चँगेज थियो अति पृथक । त्यो नामको भोकबाट आशक्तरहित थियो । आफ्नो कथालाई आफ्नो जीवनकालमै पूर्णविराम दिन चाहन्थ्यो । भावी पुस्तालाई कथाको भूतले नडसोस् भन्ने कुरामा सचेत थियो ।

आआफ्नो ठाउँमा सबैका कथा बराबरी महत्वका हुन्छन् । कद–काँटीका हिसाबले कोही होचो होला, कोही अग्लो होला । पद–मर्यादाका हिसाबले कोही ठूलो ओहदोमा होला । कोही सानो ओहोदा होला । कोही ओहोदाविहीन होला तर मान्छे एउटै हो । 

त्यसैले, ठूलाको कथा सानालाई मिच्ने गरी भनिनु हुँदैन । अग्लाको कथा होचालाई थिच्ने गरी रचिनु हुँदैन । फेरि आफ्नो लागि आफैँ जानिफकार भैसकेपछि अर्कालाई आफ्नो कथा सुनाइ राख्नुको कुनै औचित्य पनि छैन । आफ्नो कथा जोर जबरजस्ती अर्काेलाई सुनाउनु एक किसिमको ज्यादति हो । यो जघन्य ज्यादतिलाई अवज्ञा गर्ने आँट गरौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप