काठमाडौँ । नेपाल स्तनपान गराउने आमाको दर घट्दो क्रममा छ । बालरोग विशेषज्ञहरूका अनुसार स्तनपानबारे महत्त्व नबुझ्दा, दूध चुसाउने आसन नजान्दा पनि स्तनपान गराउनेहरू घटिरहेका छन् ।
सन् २०२२ मात्र जम्मा ५६ प्रतिशतले मात्रै स्तनपान गरेको पाइएको छ । शिशुलाई किन नियमित रूपमा स्तनपान गराउन जरुरी छ ? ६ महिना नपुगेका शिशुलाई अन्य खानेकुरा खुवाउन हुन्छ कि हुँदैन ? आमाको पहिलो बिगौती खुवाउन आवश्यक छ कि छैन ? लगायत विषयबस्तुबारे प्रस्तुत छ, थापाथलीस्थित परोपकार प्रसूति गृहका प्रमुख बालरोग विषेशज्ञ, नवजात शिशु विभागका प्रमुख डा कल्पना उपाध्याय सुवेदीसँग रातोपाटी प्रतिनिधिबाट गरिएको कुराकानी:
पूर्ण स्तनपान भनेको के हो ?
पूर्ण स्तनपान भनेको शिशु जन्मिने बित्तिकै एक घण्टा भित्र दूध ख्वाउने र त्यसपछि लगातार ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुलाई पूर्ण स्तनपान भनिन्छ । यस अवधिमा अपवादमा कुनै शिशु बिरामी भएमा चिकित्सकको सल्लाहमा औषधि दिइन्छ । जस्तै जीवनजल आदि । त्यो बाहेक पानी समेत नदिई स्तनपान गराउनुलाई पूर्ण स्तनपान भनिन्छ ।
पूर्ण स्तनपानको महत्त्व कत्तिको छ ?
आमाको दूध शिशुको लागि पूर्ण आहार हो । पूर्ण स्तनपान भनेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु हो । पूर्ण स्तनपानले शिशुको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि जति पनि चाहिने तत्त्वहरू पाइन्छ ।
आमाको दूधले वृद्धि र विकासमा एकदम राम्रो गर्छ । आमाको दूधमा प्रतिरोधात्मक क्षमता बढाउने तत्त्व हुन्छ, जुन बट्टाको दूधमा हुँदैन । यसले बच्चालाई रोगसँग लड्न सहयोग गर्दछ ।
रोग नलागेपछि बच्चा स्वच्छ हुनुका साथै कुपोषण, झाडापखाला लाग्दैन । आमाको दूधले सबै रोगबाट शिशुलाई बचाउन सकिन्छ । कुपोषणले गर्दा हुने बाल मृत्यु दरलाई समेत घटाउन सकिन्छ ।
स्तनपान गराउँदा शिशुलाई त फाइदा हुने नै भयो । साथै, आमालाई समेत फाइदा हुन्छ । जस्तै, पूर्ण स्तनपान गराउँदा स्तनको क्यान्सर कम हुन्छ । पाठेघरको डिम्बासयको क्यान्सर, मानसिक समस्या कम हुन्छ । पूर्ण स्तनपान ६ महिनासम्म लगातार गराएमा महिलालाई प्राकृतिक परिवार नियोजनको पनि काम गर्छ ।
धार्मिक तथा सामाजिक मान्यताका कारण आमाको पहिलो बिगौती दूध कतै फाल्ने, कतै देउतालाई चढाउने चलन छ । यो पहिलो दूध कत्तिको महत्त्वपूर्ण हुन्छ ?
बिगौती दूध कम आउँछ । नेपाली समाजमा बिगौती दूधलाई फाल्ने चलन छ । जबकि बिगौती दूध बच्चाका लागि पहिलो खोप हो । पहिलो दूधमा प्रशस्त मात्रा रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्त्व हुन्छ । जसले बच्चालाई रोगबाट लड्ने रोग प्रतिरोधात्मक बढाएर रोगबाट बचाउँछ ।
आमाको पहिलो दूध ढाडिएको हुन्छ, देउतालाई चढाउनुपर्छ भन्ने चलन पहिले थियो । विद्यमान अध्ययनहरूले आमाको पहिलो दूध निकै महत्त्वपूर्ण भएकाले नफालिकन जति आउँछ, त्यो बच्चालाई ख्वाउनुपर्छ भन्छ ।
केही अभिभावकले बच्चा ६ महिना नपुग्दै पानी, झोलिलो स्वादयुक्त फलफूल खुवाउने गरेको पाइन्छ । यसरी खुवाउन हुन्छ त ?
आमाको दूध बच्चालाई खुवाउने समय दिनको १०/१२ पटक हो । शिशुले चाहेअनुसार दूध खुवाउनुपर्छ । जस्तै कुनै शिशुलाई दुई घण्टामा भोक लाग्छ भने कुनै शिशुलाई तीन घण्टामा भोक लाग्छ । कुनै शिशु मस्तले चार घण्टासम्म पनि सुत्ने गर्छन् ।
त्यसरी सुतिराखेको शिशुलाई उठाएर ख्वाउन पर्दैन । तर, दुईदेखि चार घण्टाको बीचमा दूध ख्वाउनुपर्छ । २४ घण्टामा एकदमै कम पटक खुवाएमा ६ पटक, छिटो छिटो दूध खुवाएमा १२ पटक खुवाउनुपर्छ ।
यसरी खुवाउँदा आमाको दूधमा ८० प्रतिशत पानी हुने भएकाले अलग्गै पानी तथा अन्य खानेकुराहरू खुवाउनु पर्दैन । कहिलेकाहीँ बच्चाको मुख सुकेको जस्तो लागेमा आमाहरूले स्तनपान नै गराउनुपर्छ ।
कामकाजी आमाले पूर्ण स्तनपान गराउन त समस्या हुन्छ नि ?
कामकाजी आमाले बच्चालाई पूर्ण स्तनपान गराउन चाहेमा सक्छन् । सुत्केरी बिदापछि कार्यक्षेत्रमा फर्किदा आमाहरूले बिहान घरबाट निस्कँदा आफ्नो दूध निचोरेर सफा गरी बट्टामा कोठाकै तापक्रममै पनि ४ देखि ६ घण्टासम्म राख्न सक्छन् ।
चिसो मौसममा ६ घण्टा, गर्मी मौसममा ४ घण्टा निचोरेको दूध राख्न सकिन्छ । त्योभन्दा बढी समय राख्दा फ्रिजमा राख्न सकिन्छ ।
कार्यक्षेत्रमा जाँदा पनि दूध गानिएर आइरहेको अवस्थामा पनि सफा तरिकाले निचोरेर राख्न सकिन्छ । त्यही दूधलाई पछि खुवाउन सकिन्छ ।
सर्जरी गरी बच्चा जन्माएका धेरै आमाहरूले राम्रोसँग दूध नआएको गुनासो गरेको पाइन्छ । सत्य के हो ?
अप्रेसन गरेको आधा घण्टापछि शिशुलाई दूध खुवाउन मिल्छ । अप्रेसन गर्दा आमालाई अलिकति गाह्रो हुन्छ तर दूध खुवाउन मिल्छ । आमालाई अप्रेसन थियटरबाट जति चाँडो निकालिन्छ, त्यति चाँडो शिशुलाई दूध ख्वाउनुपर्छ ।
आमालाई जस्तै बच्चालाई पनि जन्मिदा थकान हुन्छ । एक घण्टाभित्र शिशुको थकान कम हुने भएकाले सुरुवाती समयमा दूध तान्न दिनुपर्छ, मज्जाले तान्छन् ।
जन्मिएको एक घण्टा भित्र दूध चुसाएनन् भने पछि शिशु थाक्ने भएकाले निदाउँछ । जन्मनेबित्तिकै निदाएर फेरि उठाएर ख्वाउँदा शिशुले सुरु अवस्थामा जस्तो तान्न सक्दैन । आमाको दूध जति तानियो, त्यति आउँछ । दूध तानेर खुवाइसकेपछि फेरि नयाँ बन्छ ।
आमाको दूध आउनुमा साइकोलोजीले कति असर गर्छ ?
स्तनपान गराउने आमाको सोचले पनि धेरै दूध आउने नआउने कुरामा प्रभाव पार्छ । यदि कुनै कारण आमाको दूध तान्न नसकेको अवस्थामा पनि दूध निचोर्ने वेलामा बच्चालाई आँखा अगाडि राख्दा आमाको दूध बन्ने क्रम बढ्छ । कुनै आमाले पूर्ण स्तनपान गराउँछु भनेर सोच्नु भयो भने दूध आउँछ ।
बच्चालाई दूध ख्वाउने कुनै विशेष आसन पनि हुन्छ र ?
कहिलेकाहीँ आमाहरूले दूध आएन भन्छन् । तर, राम्रोसँग दूध खुवाउन नजान्दा पनि आएको हुँदैन । बच्चाको पुरै शरीरलाई आमाका हातले सपोर्ट गर्नुपर्छ । मुख र पेट आमातिर फर्केको हुनुपर्छ । बच्चाको पेट आमासँग टाँसिएको अवस्थालाई आमाको दूध खुवाउने आसन भनिन्छ ।
यस्तै, बच्चाको मुख आमाको स्तनसँग जोडिएको हुनुपर्छ । दूध खुवाउने क्रममा बच्चाको पुरै मुख खोलेको हुनुपर्छ ।
त्यसबेला बच्चाको नाकले आमाको स्तन छोएको हुनुपर्छ । आमाको निप्पलको वरिपरिको कालो तलको भाग बच्चाको मुखभित्र हुनुपर्छ । बच्चाको तल्लो ओठ बाहिर फर्किएको हुनुपर्छ । त्यो भनेको बच्चाको मुखभित्र आमाको दूध गएको छ भनेर बुझ्नुपर्छ ।
स्तनको मुन्टोमा मात्रै बच्चाको मुखमा भएमा राम्रोसँग दूध आउँदैन । किनकि दूध कालो भागमा हुन्छ । बच्चाले स्तनको मुन्टो मात्रै चुस्दा दूध नआई झिजिएर रुने गर्छन् । उता धेरै तान्दा आमालाई पनि दुख्छ ।
प्रतिक्रिया