‘टुवरा’ एक निमुखा किसानको कथा
टुवरा (२०७९) मनोज थारू अज्ञातद्वारा लिखित उपन्यास हो । पश्चिम चितवनको रमणीय गाउँ शुक्रनगरका स्थायी बासिन्दा मनोज पेशाले शिक्षक हुन् । साथै कुशल चित्रकार एवं पत्रकार समेत हुन् । उनको २०७५ मा प्रकाशित पहिलो उपन्यास टुकीले पाठकहरूको गज्जब प्रतिक्रिया बटुलेको थियो ।
झोरी उनको चर्चित कथा हो । आफ्नो समुदायको भाषा, कला, संस्कृति र इतिहासका विषयवस्तुहरू माथि गहिरो अध्ययन गरेर सिर्जनामा रमाउँछन् मनोज । टुवरा थारू भाषाबाट लिइएको शब्द हो, जसको शाब्दिक अर्थ टुहुरो भन्ने जनाउँछ । यो एक निमुखा किसानको कथा हो अर्थात् भूँइमान्छेको कथा । यसभित्र समेटिएका केही पक्षहरुमाथि पंक्तिकारबाट सामान्य दृष्टिगोचर गर्ने प्रयास भएको छ ।
गरिबी
गरिबी नै भूँइमान्छेहरु माथि उठ्न नसक्नुको प्रमुख कारण हो । गरिबीले शिक्षा, स्वास्थ्य, गाँसबास, कपासलगायत मानव जीवनका लागि अपरिहार्य आधारभूत तत्त्वहरूमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
गरिबीकै कारण पतिया काका, उसकी जनी अनि छोरी केल्हिया मात्रै होइनन्, टुवरा र माइलाहरु पनि हरोहिया, खेतहरिया (हली, खेताला) बस्न बाध्य हुन्छन् । गरिबीकै कारण जेलनेल, शारीरिक मानसिक यातना भोग्नु परेको चित्रण उपन्यासमा पाइन्छ ।
षड्यन्त्र
हामीले पुराणमा पढ्दै आएका सत्य, त्रेता, द्वापर युगका कथाहरूमा मात्रै होइन, वर्तमान अवस्थामा पनि सत्ता, सम्पत्ति र आफ्नो वैभव, वर्चश्वका लागि छलकपट, षड्यन्त्र, हत्या हिंसा हुँदै आएको पाइन्छ ।
बाल्यावस्थादेखि नै हसुली गाउँस्थित मालिककोमा हरोहियाको रूपमा काम गरिरहेको टुवरालाई उसले गरेको मेहनत र संघर्ष देखेर खुसी भई अलिकति जग्गा दिने साथै बिहे गराइ दिएर घरगृहस्थी बसाइ दिने कुरा गर्छन् टुवराका मालिक ।
सोही अवसरमा मालिक, टुवरा, माइला र पतियाकाका मचानमा बसेर मोद (रक्सी) पिउँदै रमाइलो नाचगान गर्छन् । नाचगानपश्चात राती घर फर्कने क्रममा खेतमै टुवराको मालिकको रहस्यमय मृत्यु हुन्छ ।
घटना अझ बढी शङ्कास्पद लाग्छ, जब सोही रात मालिकका छोरा सहरबाट हसुली गाउँ सुटुक्क आएका हुन्छन् । आफूहरू निर्दोष हुँदाहुँदै पनि मालिक मारेको अभियोगमा पतिया काका, माइला र टुवरालाई प्रहरीले जेलमा कोचेर यातना दिन्छन् ।
उपन्यासको उत्तराद्र्धतिर चुरिया गाउँमा घरमुखिया आफ्नी श्रीमतीसहित कोठामा झुण्डिएको अवस्थामा भेटिनु पनि मुखियाको षड्यन्त्र हुन सक्छ । यस उपन्यासमा यसखाले रहस्यहरु प्रशस्तै छन्, जसले पाठकलाई जिज्ञासको भुमरीमा घेरेर राख्छ ।
यति मात्रै होइन, नेपालका वनजङ्गलमा विश्वकै अति दुर्लभ पशुपंक्षी, वन्यजन्तुहरु पाइन्छन् । खागको लागि गैंडा, छालाका लागि बाघभालु, दाह्रा (दाँत), हाडका लागि हात्ती र मासुका लागि मृग, हरिणजस्ता जनावरहरुको चोरी सिकारी हुने गर्छ ।
अपराधी, तस्करहरु अन्य परिवेशका भएपनि निकुञ्ज र खोलाछेउ बस्ने थारू, बोटे, कुमाल, मुसहरजस्ता सिमान्तकृतहरु बिनाकसुर प्रहरी प्रशासनको निशानामा पर्छन् । यतिमात्र होइन, शारीरिक र मानसिक यातना पाउँछन् र जेलनेल भोग्न बाध्य हुन्छन् ।
टुवरा पनि यस्तै षड्यन्त्रको शिकार बन्छन्, क्रुर दुःख पाउँछन् । टुवराले यतिसम्म यातना पाउँछन् कि शारीरिक रूपमा अशक्त हुन पुग्छन् । साथै, मानसिक सन्तुलनसमेत गुमाउने मोडमा धकेलिन्छन् । पटक पटकको मृत्युतुल्य जिन्दगीबाट छुटकारा पाउन आफूलाई एकैपटक मारिदिन आग्रह गर्छन् ।
भाषाले निम्त्याएको समस्या
जातीय एवं भौगोलिक परिवेशका आधारमा कला, धर्म, संस्कृति साथसाथै भाषामा पनि विविधता पाइन्छ । कतिपय शब्दहरूको भिन्न भिन्न भाषाहरूमा फरक फरक अर्थ लाग्ने हुन सक्छन् । यसको उदाहरण समेटिएको छ, टुवरा, माइला र केल्हिया पात्रमा ।
गोठालोमा टुवरा र केल्हिया साँझपख घुँगी खोजेर माछा मारिवरी बौराहा खोलाछेउ प्रेमालापमा मग्न भई बसेका हुन्छन् । त्यसैबेला केल्हिया र टुवरालाई गैंडाले लखेट्छ । भाग्ने क्रममा उनीहरुको सुरक्षाकर्मीसँग जम्काभेट हुन्छ ।
सुरक्षाकर्मीका नजरमा टुवराले सुगा धपाउन लिएको गुदेली र जाल बुन्ने सुइरो, गैँडा मार्ने हतियार बनिदिन्छ ।
कता गएर आएका हौ भन्ने सुरक्षाकर्मीको प्रश्नमा टुवराले, ‘उँ हामीले गैंडा मार्न आएथियो’ भन्छ । जबकि गैंडाले उनीहरुलाई मार्न लखेटिरहेको थियो ।
यसरी टुवराको थारू लवजको जवाफलाई अनर्थ लगाइन्छ । माइला र टुवरा निर्घात कुटिन्छन्, केल्हिया बलात्कृत हुन्छे । यस घटनापछि केल्हियालाई उसका बाप महतारी (आमा बाबा) ले स्वीकार्दैनन् । ऊ टुवरासँगै गाउँ छोड्छे, अनि पुग्छन् चुरिया गाउँ ।
कथाको मध्यान्तरपछि उपन्यासको मोड रहस्यमय ढंगले बदलिन्छ । पाठकमा कौतुहलता बढाउँछ, जब माइलाले आफ्नो हक अधिकार प्राप्तिका लागि, पुरानो राज्य व्यवस्था बदल्नका लागि सशस्त्र युद्धमा होमिएको देखिन्छ ।
टुवराहरु जस्ताले बोल्ने लवज, भाषाकै कारण कतिपय अवस्थामा जन्मदर्ता, नागरिकता र जग्गाधनी पूर्जामा नामथर, वतन फरक पर्ने, लोग्नेभन्दा स्वास्नी जेठी देखिने, बाबुआमाको भन्दा छोराछोरीको उमेर बढी देखिने समस्या आएको भेटिन्छ ।
मित्रता
मध्य तराईको थारू समुदायमा जन्मेको टुवरा र पहाडबाट झरेको तामाङको छोरा माइला मालिकको घरमा हली बसिरहेका हुन्छन् । यी दुबै सँगसँगै काम गर्ने, रक्सी पिउने, माछा, मुसा पोलेर खाने, सुखदुःखका बात गर्ने, सुन्दर भविष्यका सपनाहरु बुन्ने गर्छन् ।
बौराहा खोलामा बल्छी खेल्दै गर्दा टुवरासँग लफडामा परेका सालकाठे भुसतिघ्रेहरु पनि पछि गएर टुवराका असल मित्रका रूपमा प्रस्तुत हुन्छन् । गाउँघरतिर बीउबिजन बेच्दै हिँड्ने कोइरीले टुवराको गरिबी हटाउन, आर्थिक स्तर उकास्न दिएको सल्लाह र उसले गरेको सहयोगले असल मित्रताको परिचय दिएका छन् ।
संघर्ष
टुवरा मूलतः भूइँमान्छेले, निमुखा किसानले बाँच्नका लागि गरेका संघर्षहरुको कथा हो । पतिया काका, टुवरा, माइला र केल्हियाले गाँसबासकै लागि हसुली गाउँमा गरेका संघर्षहरु वर्णनिय छन् । टुवरा र केल्हिया हसुली गाउँबाट बिस्थापित भएपछि चुरिया गाउँ पुगी घरमुखियाको जग्गा अधिया कमाउँछन् ।
आफू बस्ने झुपडी बनाउन, खेत कमाउन, खोलाले पुरेको सिउँडी घारी, उबडखाबड बलौटे जमिन खेतीयोग्य बनाउन दिनरात गरिएका संघर्षहरु साँच्चिकै प्रेरणादायी छन् ।
वास्तवमा टुवराको दैन्दिनी नै संघर्षपूर्ण छ, जसबाट पाठकहरुलाई फरक धारको आभाषसहित मेहनतका लागि उत्प्रेरणा मिल्छ ।
पहुँच
टुवराको छोरा भगरमवा पढाइमा अब्बल देखिन्छन् । पटक पटक प्रशासनिक कार्यालयहरुमा अन्तरवार्ता दिएपनि जागिरको लागि नाम निकाल्न सक्दैनन् । र, सेनामा भर्ती हुन जान्छन् । त्यहाँ लिखित र शारीरिक जाँचमा अब्बल भएपनि आफ्नो मान्छे उच्च ओहदामा नहुँदा मौखिकमा अयोग्य ठहरिन्छन् ।
यतिमात्रै होइन, हरेक ठाउँमा अपहेलित हुन पुग्छन् । यसखाले कष्टलाई पनि टुवरा उपन्यासमा गहन ढंगले उठान गरिएको छ ।
छिमेकी
चुरिया गाउँमा टुवराको छिमेकी बन्न आएका बाजे र बजैले टुवराको जग्गा हत्याउन कहिले खेतको साँध मिचेर, कहिले खेतीमा गाईवस्तु छाडिदिएर, कहिले पाकेको अन्न आफूले लगी थन्क्याएर, कहिले भूत बनी तर्साएर, कहिले सरकारी कर्मचारी ल्याई धम्काएर दिनुसम्म दुःख दिन्छन् ।
बर्खामासको निरन्तरको झरीले एकरात राकश खोलामा बाढी आउँछ । घर र घर भित्रका सबै सरसामानसमेत बगाएर लैजान्छ । त्यहीबेला टुवराले पिठ्युमा बोकेरै बाजे र बजैलाई खोलापारी सुरक्षित स्थानमा लैजान सफल हुन्छ ।
यस घटनाले बाजे र बजैको मनमा रहेका दुर्भावना पखालेर लैजान्छ । जमिनको सीमा विवाद हट्छ । त्यसयता दुःखसुख, अैचोपैचो, अर्मपर्ममा दुबै परिवार एकापसमा सामेल हुन्छन् ।
राजनीतिक द्वन्द्व
मुखियाले टुवराको जमिन कब्जा गरेपछि यो खबर हावासरि फैलिन्छ र तत्कालीन भूमिगत समूहसम्म पुग्छ । त्यतिबेला भूमिगत समूह आफूले वर्ग संघर्षका लागि, सामन्ती राज्य व्यवस्था परिवर्तनका लागि हतियार उठाएका हुन्छन् ।
शोषकले उत्पीडित वर्गका लागि गरिरहेको ज्यादतीका लागि जनकारवाही सञ्चालन गरिरहेका हुन्छन् । केही भूमिगत कार्यकर्ताहरु एकरात टुवराको कटेरोमा पुग्छन् । टुवरा, केल्हिया र भगरमवासँग भूमिगत कार्यकर्ताको रूपमा आएका गोला तामाङ बनेर माइला, सालकाँठे भुसतिघ्रेहरु भेट हुन्छन् ।
उनीहरु आफ्ना विगत आगतका बारेमा खुलेरै कुरा गर्छन् । साथै, मुखियाले कब्जा गरेको टुवराको जमिनमा रातो झण्डा गाडिदिन्छन् । मुखियाका मान्छेहरुले भोलिपल्ट झण्डा उखेल्छन् । पुनः टुवराले ती झण्डाहरु आफ्नो बारीका सिमानामा लहरै गाड्छ ।
यसै क्रममा टुवराले दुबै समूहको केरकार, घोचपेच व्यापक सहन्छ । गरिबीबाट उम्किन निरन्तर खेती किसानी गरिरहन्छ । तर, अन्नबाली उत्पादनबाट गतिलो भाउ पाउँदैन ।
उता सिमापारीबाट अन्नबाली, तरकारी, फलफुल आदि खाद्यान्नहरु अबैध एवं निर्बाध रूपमा भित्रिएको हुन्छ । टुवराजस्ता किसानले पुरपुरोमा हात लगाउनु सिवाय केही उपाय हुँदैन । तैपनि निमुखा किसानले खेतका डल्ला–डल्लामा पसिना बगाउन छाड्दैनन् । यी र यस्तै अनेकन संघर्षहरु टुवराको दैन्दिनीमा छ, जो एक भूँइमान्छे, निमुखा, सर्वहाराले भोगिरहेका छन् ।
भाषा, शैली
टुवरा उपन्यासको शीर्षक जसरी अर्ग्यानिक देखिन्छ, त्यस्तै ठ्याक्कै यस उपन्यासका संवादमा लवज, भाषा, शैलीको प्रयोग अर्ग्यानिक देखिन्छ । पात्रहरूको नामकरण, कथाको परिवेश, चित्रणले उपन्यास पढ्दै गर्दा आँखामा दृश्यहरू चलायमान भइरहन्छन् । यस मानेमा पनि लेखक सफल देखिन्छन् । साहित्य बजारमा यस किताबले दर्बिलो पाइला टेकिरहेको छ ।
टुवरा उपन्यासमा आख्यानकार मनोजले आफ्नै थारू समुदायको कथा लेखेको हुँदा खस नेपालीभाषी एवं अन्य समुदायका पाठकहरुले यो किताब बुझ्न कठिन जस्तो भए पनि भावार्थ दिएर सहज बनाउन प्रयास गरिएको छ ।
उपन्यासमा प्रयोग गरिएकाः हाली, डगर, सस्सुकही, ह्वाला, गृहतघर, यङना, खोक, कर्ने, बेजुवान, हँसी, मुफ्त, दिक्कत, मरम्मत, मन्से, जनियावा, सङ्हतिया, जस्ता शब्द मात्र होइन, थारू भाषामा गरिएका संवादलाई पनि कोष्ठकमा खस नेपाली भाषामा अनुवाद गरिएको छ ।
जस्तैः तोर हसमुख मोहडा, हरिनक नहिया याँखी, सिमरक भुवा नहिया होठ, याबे कथि कहोँ ! जिउडाल हरिनक नहिया चाल, बयारक झोका नहिया बाल, जम्मेक जम्मे मन परसउ । (तिम्रो हँसिलो मुहार, हरिणको झैँ आँखा, सिमलको भुवा झैँ नरम ओठ, अब के भनुँ ! जिउडाल, हँसिनीको झैँ चाल, हावाको झोक्काझैँ बाल सबका सब मनपर्छ ।)
अन्त्यमा, कुनैपनि स्रस्टा, लेखकबाट आफ्नो समुदायको कथा लेखिनु ठुलो योगदान हो । र, यसमा सम्बन्धित पक्षबाट बहस हुन जरुरी देखिन्छ । पछिल्लो समय आफ्नै समुदायको कला, संस्कृति, भाषा, भेषभुषा, परम्परा र इतिहासबारे लेखिएका कृतिहरू प्रकाशित हुने क्रम बढ्दो पनि छ ।
विदेशी साहित्य र इतिहास पढेर हुर्किएका, हुर्किँदै गरेका आम पाठकका लागि ‘टुवरा’का उपन्यासका पात्रहरूले पस्किएका एक चिम्टी नुमैचा र आलुको कुचाझैँ अलग र अर्ग्यानिक स्वाद बन्न सक्छ ।
मनोज थारू अज्ञातले टुवरामार्फत् सामान्य दिनचर्यामा रमाउन खोज्ने, झिनामसिना सपना बोकेका भूँइमान्छे एक निमुखा किसानको कथा लेखेर आफूलाई फेरि पनि एकपटक उत्कृष्ट आख्यानकारको रूपमा प्रमाणित गर्न सफल भएका छन् ।
कलाकुञ्ज, चितवन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख
-
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय
-
लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
-
एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
-
धरहरामा मानिसहरूको भीड, तस्बिरमा हेर्नुहोस्