जनता आवासले बनाएका घर : कतै अपुरो, कतै रातो चिह्न, कतै दलितसँग मागिन्छ ३० हजार
सिरहा । ‘सरकारले बनाइदिएको घर हो यो,’ ३२ वर्षीय हिरालाल सदायले आफू बस्ने घर देखाउँदै भने, ‘यो रातो चिह्न सरकारका मान्छेले नै लगाएका हुन् ।’
दुईवटा कोठा निकालेर, इँटाको गारो उठाइएको छ, तर छानो ह्वाङ्ग छ । एउटा कोठाभित्रको केही भाग टिनले छाएर बस्ने जोहो गरिएको छ । पानी परेका बेला १० जनाको परिवार यही टिनको छानोभित्र कोचिन्छ । पानी नपरेका बेला कोही अर्को छानोबिनाको कोठामा, कोही मझेरीतिर पल्टन्छन् ।
सिरहाको औरही–३ जमुवास्थित सडकछेउ रहेको सदाय (मुसहर) बस्तीमा केही घर सरकार (जनता आवास कार्यक्रम)ले बनाइदिएको छ । सडक विस्तार गर्न भन्दै यहाँका कतिपय घरमा भत्काउनका लागि रातो चिह्न लगाइएको छ ।
०७७ को माघतिर, हिरालालको पुरानो फुसको घर भत्काएर नयाँ बनाउन थालिएको थियो । बनाउँदा बनाउँदै रातो चिह्न लगाइयो र काम रोकियो । सोमबार (२७ चैतमा) हामी जमुवा पुग्दा हिरालालका बुवा र आमा गिरहतको खेतमा काम गर्न गएका थिए । यही घरले ओगटेको बाहेक उनीहरूसँग अरू जमिन छैन । त्यसैले पुस्तौँदेखि उनीहरू गिरहतकहाँ हरवाचरवा गर्दै आए, यसमाथि सदियौँदेखिको छुवाछुत छँदै छ । ‘यो घर पनि ऐलानी जग्गामा बनेको हो,’ हिरालाल भन्छन्, ‘सरकारले लालपुर्जा बनाइदिएको छ भन्ने सुनेका छौँ, तर हातमा परेको छैन ।’
दुईकोठे यो घर सम्पन्न भए पनि १० जना (बाबुआमा, दुई भाइका दम्पती र दुवैका दुई–दुई सन्तान) बस्न सहज छैन । पहिलेको फुसकै घरमा यो परिवार केही सुबिस्ताले बसेको थियो, सरकारले उल्टै सकस थपिदिएको छ ।
हिरालालको घरदेखि पल्लोपट्टि सडकछेउमा बिना सदायको घर छ । जनता आवासले बनाइदिएको इँटाको गाह्रो र टिन तेर्साइएको यस घरको बीच भागमा रातो चिह्न लगाइएको थियो, जहाँ अहिले माटो पोतिएको छ । ‘यो माटो लगाएको ठाउँमा रातो लगाइएको थियो । केटाकेटीले माटो लगाएछन्,’ बिना भन्छिन्, ‘चिह्न लगाउनुअघि कसैले हामीलाई सोधेन । हाम्रो जग्गा–जमिन छैन, यही एउटा घर बीचबाट भत्काइदिएपछि कहाँ जाने ?’
बिनाको परिवार तीन पुस्तादेखि यही जग्गामा बस्दै र गिरहतको हरवाचरवा गर्दै आएको छ । हामी उनको घरमा पुगेका बेला उनका श्रीमान कामका लागि गिरहतको खेतमा गएका थिए । सरकारले हरवाचरवालाई मुक्त घोषणा गरे पनि बिनाको परिवारको दैनिकी बदलिएको छैन, ज्यालामा केही फरक मात्रै परेको छ ।
बिनाका एक छोरा र दुई छोरी छन् । छोराछोरी स्कुल जान्छन् ? हाम्रो प्रश्नमा उनले प्रतिप्रश्न गरिन्, ‘अरुको खेतमा काम गरेर छोराछोरीलाई कसरी पढाउने ? पढाउन खर्च लाग्दैन ?’
यहाँ सडक छेउमा लहरै सदायहरूको बस्ती छ, त्यसभन्दा पछाडि जमिनदारको जमिन र एक ठाउँमा सदायहरूको साँधमा केही भाग पोखरी पनि परेको छ ।
यहाँ जनता आवासले बनाएका घरमै रातो चिह्न लगाइएको सम्बन्धमा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई हामीले सोध्यौँ । अध्यक्ष यादवले भने, ‘पहिले सडकको मापदण्ड कम थियो, अहिले सडक विस्तार गर्ने भएपछि रातो चिह्न लगाइएको हो । तर अहिले हामीले भत्काउनदेखि रोकेका छौँ । त्यहाँका सदायहरूको जमिन जमिनदारले हडपेको अवस्था पनि देखिन्छ । अर्कोतिर जमिनदारले सदायहरूलाई हटाएर आफ्नो जमिनलाई सडकसँग जोड्न चाहिरहेका छन् ।’
अध्यक्ष यादवले यहाँका दलितहरूले पहिले बाबुबाजेको पालामा भोगचलन गरेको जग्गा छ भने खोजीनिती गर्ने र सडक विस्तार गर्दा विस्थापित हुन पुग्ने परिवारको व्यवस्थापन गर्ने बताए । ‘विस्थापित हुन पुग्नेको बसोबासका लागि मैले २०८० सालको आम्दानीबाट खर्च गर्छु,’ उनले भने । उनका अनुसार, जनता आवासले पहिले ऐलानी जग्गामा पनि घर बनाउने गरेको थियो ।
३० हजार मागे
सोमबार (२७ चैतमा) ‘हरवाचरवा अधिकार यात्रा’ले औरही गाउँपालिकाको कार्यालय नजिकै कोणसभा गरेको थियो । सभामा आएकी औरही– ४, इँटाटारकी बेचनीदेवी सदाले भनिन्, ‘जनता आवासले दुई वर्षदेखि घर बनाइरहेको छ तर ३० हजार रुपैयाँ हामीसँग मागिरहेका छन् । घर पूरा बनिसकेको छैन ।’ उनले यसो भनेपछि इँटाटारका अन्य महिलाले पनि उही कुरा एकै स्वरमा दोहोर्याए ।
औरहीका स्थानीयसँग कुराकानी गर्न हामीलाई औरही– ४, इँटाटारका २४ वर्षीय कमलेस कुमार सदायले सघाएका थिए । एसइईसम्म पढेका कमलेसले ज्याला–मजदुरीको काम गर्दै आएका छन् ।
गरुडामा पनि अपुरा र साँघुरा घर
रौतहटको गरुडा नगरपालिका–६ मुसहर टोलमा जनता आवासले ३८ वटा घर बनाइदिएको छ । यहाँका नन्द माझीको घर भने आठवटा पिल्लर उठाएर अलपत्र अवस्थामा छ । पिल्लरको घेराभित्रै एकछेउमा नन्दले सानो झुप्रो बनाएका छन्, जहाँ उनीहरूको दम्पती बस्दै आएको छ । उनीहरूका चार छोराछोरी नजिकै काकाहरूको घरमा सुत्न जान्छन् । नन्दका दुईजना भाइहरू पनि जनता आवास कार्यक्रमद्वारा बनेको एउटा घरमा बस्छन् ।
नन्दको घरमा जनता आवासले पिल्लर ठड्याएर अलपत्र किन छाड्यो ? यो टोलमा घर बनाउँदा नन्दकी श्रीमती बिना माझी उपभोक्ता समितिकी अध्यक्ष थिइन् । हामी त्यहाँ पुग्दा (२६ चैतमा) बिना घरमा थिइनन्, बिरामी भएकाले उपचारका लागि गएकी रहिछन् । स्थानीय सच्चिदानन्द रामका अनुसार, घर बनाउने बेला गाउँका अधिकारप्राप्त व्यक्तिले ठूलो घर बनाइदिने भनेका थिए । तर, पछि पिल्लर मात्रै उठाएर छाडे ।
यही टोलका ४१ वर्षीय सुखल माझीलाई पनि सरकारले दुईकोठे घर बनाइदिएको छ । यो घरमा सात जनाको परिवार अटाउन हम्मे हुन्छ । सुखलका दुई छोरामध्ये जेठा घरमै छन्, कान्छा छोराले सयकडा पाँच रुपैयाँका दरले तीन लाख ऋण काढेर रोजगारीका लागि बहराइन गएका थिए । ‘छोरा यही हप्ता फर्कंदै छ,’ सुखलकी श्रीमती सोहरीदेवी भन्छिन्, ‘गएको कर्जा मात्रै तिरियो, केही कमाउन सकेन ।’
सुखलको नाममा यही एउटा घरबाहेक कुनै सम्पत्ति छैन । हरवाचरवा गर्दागर्दै उनको जवानी ढलेको छ । आइतबार (२६ चैतमा) हामी पुग्दा उनी भर्खर गिरहतको गहुँ काटेर आएका थिए । हामीले उनलाई सोध्यौँ– तपाईंले वृद्धाभत्ता पाउनुहुन्न ? उनकी श्रीमती सोहरीदेवी अगाडि सरेर बोलिन्– उमेर नै पुगेको छैन । हामीले उनको नागरिकता हेर्यौँ, जन्म २०३८ साल लेखिएको छ । तर झट्ट हेर्दा उनी वृद्ध नै देखिन्छिन् । कामले र घामले खाएर उनी वृद्ध भएका हुन् या नागरिकतामा उनको उमेर घटाइएको हो ! उनीहरूलाई नै थाहा छैन ।
गरुडाका स्थानीयसँग कुरा गर्न स्थानीय सच्चिदानन्द रामले हामीलाई दोभासेको रूपमा सघाएका थिए, स्नातक गरेका उनले अनाथ आश्रममा पढाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड