मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

नयाँ वर्षको पहिलो दिन देशभर : यस्ता छन् ‘टप टेन’ समाचार

शुक्रबार, ०१ वैशाख २०८०, २२ : ३६
शुक्रबार, ०१ वैशाख २०८०

 काठमाडौँ । आज मिति २०८० साल वैशाख महिनाको १ गते शुक्रबार । आज नयाँ वर्षको पहिलो दिन देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. नयाँ वर्ष मनाइयो

शुक्रबार विक्रम संवत् दुई हजार असी साल वैशाख १ गते अर्थात नयाँ वर्षको पहिलो दिन  । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ नयाँ वर्ष मनाइएको छ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराईको भनाइ छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले शुभकामना दिएका छन् ।

२. रातोपाटीको प्रदेश पोर्टल थप परिस्कृत

डिस्कभरी न्यूज नेटवर्कद्वारा प्रकाशित ‘रातोपाटी डटकम’को प्रदेश संस्करणलाई थप परिष्कृत गरिएको छ । रातोपाटीले प्रदेशहरुको नामकरणअनुसार सबै प्रदेशको सव–डोमेन निर्माण गर्दै छुट्टाछुट्टै पेज तयार गरेको हो ।

रातोपाटीका संस्थापक ओम शर्माले सुरुदेखि नै आफूहरुले प्रदेशका समाचारलाई प्राथमिकता दिँदै आइरहेको उल्लेख गर्दै परिष्कृत संस्करणले सम्बन्धित प्रदेशवासी पाठकले सहजरुपमा आफ्नो क्षेत्रको समाचार पढ्न पाउने विश्वास गरे ।

३. माओवादीमा पार्टी कार्यालय जानुपर्ने नियम

नेकपा माओवादी केन्द्रले नयाँ वर्ष २०८० सालको पहिलो दिन प्रधानमन्त्रीसहित आफ्ना पार्टीका मन्त्रीहरु पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने बाचा गरेको छ । जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी केन्द्रका मन्त्रीहरु कार्यतालिका बमोजिम पार्टी कार्यालयमा पुगेर नेता कार्यकर्तासहित सर्वसाधारण जनतालाई भेट्ने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गर्ने अवसर पाउनु चुनौती र अवसर दुवै भएको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनौतीपूर्ण अवस्थामा समेत राम्रो भइरहेको बताए । अहिलेको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भए पनि सुधारको अवस्थामा जान थालेको प्रचण्डले बताए ।

४. बालेन भर्सेस सरकार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारमाथि निरन्तर प्रहार गर्दै आएका छन् ।

उनले सिंहदरबारबाट सहयोग नपाएकै कारण यसरी आक्रोश पोख्ने गरेका छन् । विभिन्न समस्या समाधानका लागि सिंहदरबारमा पटकपटक मन्त्रीहरुलाई भेटे पनि कुनै समस्या समाधान नभएको उनको भनाइ छ ।

५. सीकेको च्याप्टर क्लोज

डा सीके राउत नेतृत्वको जनमत पार्टीका लागि सत्ता सहकार्य र गठबन्धन यात्राको ‘च्याप्टर क्लोज’ भएको छ । जनमत पार्टीले संघीय सरकारमा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको थियो । तर मन्त्रालयमा चित्त नबुझेका कारण सो पार्टीका मन्त्रीले राजीनामा दिएका थिए ।

तर प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमै फर्काउन प्रयास गरिरहेका थिए । स्रोतका अनुसार जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालय अब कांग्रेसले लिने भएपछि जनमतका लागि सत्ता यात्रा र गठबन्धनको यात्रा बन्द भएको छ ।

६. कांग्रेसको विवाद साम्य

नेपाली कांग्रेसमा मन्त्री भागबण्डाले निम्त्याएको विवाद साम्य भएको छ । पार्टीभित्र मन्त्री भागबण्डामा शेखर कोइराला–गगन थापा पक्षले ३३ प्रतिशत हिस्सा पाएपछि विवाद किनारा लागेको हो ।

फर्केर हेर्दा २०७९–

७. शिक्षा क्षेत्रमा बढ्दै बेथिति

शिक्षा क्षेत्रमा देखिएका विभिन्नखाले विकृति भने दिन प्रतिदिन मौलाउँदै गएका छन् । विशेषगरी संस्थागत विद्यालयमा यस्तो समस्या व्याप्त छ । अहिले शुल्क बढाउने विषय, पाठ्यपुस्तक तथा ड्रेस लगायतका विषयमा नीजि विद्यालयहरूको मनपरी बढ्दो छ । उनीहरूमाथि नियमन तथा अनुगमन गर्ने कोही पनि छैन ।

८. आर्थिक क्षेत्रमा बेथिति

संघीय सरकार, मातहतका मन्त्रालय, सरकारी निकाय, संस्थान, प्रदेश सरकार र स्थानीय निकाय सबै गरी यस वर्ष महालेखापरीक्षकको कार्यालयले कुल ६ हजार ५४६ संस्थाबाट ७१ खर्ब ३८ अर्ब १७ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको छ । महालेखापरीक्षकको प्रतिवेदन हेर्दा केन्द्र सरकारदेखि स्थानीय निकायसम्म आर्थिक अनियमितता तथा भ्रष्टाचार व्याप्त देखिन्छ ।

९. सभामुखले बोलाएको बैठक स्थगित

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरु सहितको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

१०. यो पनि

नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो ।

काठमाडौँको टुँडिखेलमा नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । शुक्रबार बिहान ९ देखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको हो ।

थप सामग्री

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप