मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
नयाँ वर्ष

नयाँ वर्षको उमङ्ग : राष्ट्रपति–प्रधानमन्त्रीदेखि दलका नेतासम्मको शुभकामना

शुक्रबार, ०१ वैशाख २०८०, ०९ : १४
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौं । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते, अर्थात् नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदैछ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपतिदेखि प्रधानमन्त्री तथा दलका नेतासम्मले शुभकामना सन्देश जारी गरेका छन् । त्यसो त नेपालीहरुले पनि एक आपसमा सुभकामना साटासाट गरिरहेका छन् । 

नयाँ वर्षको अवसरमा सुभकामना सन्देश जारी गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन्। 

उनले भनेका छन्, “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ ।”

राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गरेका छन् । “तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन, त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ । पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन, यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ”, शुभकामना सन्देशमा भनिएको छ । 

आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उनको भनाइ छ । 

त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षमा उमङ्गका साथ समाजमा विद्यमान सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रेरित गरोस् भनी कामना गरे ।

उपराष्ट्रपति यादवले देशमा प्राकृतिक बरदानको रुपमा रहेको जल, जमिन, जङ्गल, जडीबुुटी र जनशक्ति जस्ता महत्वपूर्ण स्रोतसाधनको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्याउन लक्षित हुनुपर्नेमा जोड दिए । उनले दीगो विकासको लक्ष्य हासिल गर्न तथा सामाजिक न्यायसहितको समातामूलक समाज स्थापना गर्न आह्वान गरे । 

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । 

उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरे । सन्देशमा भनिएको छ, “बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ ।” उनले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरे । 

यता सभामुख देवराज घिमिरेले राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी रहेको बताएका छन् । 

नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभियानलाई तीव्रता दिनैपर्ने बेला भएको उल्लेख गरे । नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक सङ्केतहरू देखिन थालेको उनको भनाइ छ । 

“राज्यका तीन अङ्गमध्ये कानून निर्माण गर्ने मुख्य थलो संसद् हो, प्रतिनिधिसभाले विधेयकहरूमाथिको छलफल सुरु गरेको छ, संसद्लाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलसँग छलफल भइरहेको छ”, सन्देशमा भनिएको छ । 

नयाँ वर्ष २०८० का अवसरमा  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गरेकी छिन् । 


शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने बताइन्  । 

नयाँ दशकसमेतको प्रारम्भका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र प्रगतिको आकाङ्क्षालाई सम्बोधन गर्दै नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।  

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । गत वर्ष तीनै तहको निर्वाचन सम्पन्न भए पनि गठबन्धनको संस्कृति विकास भएकोले नेपाली जनताले परिवर्तनको महसुस गर्न नसकेको उनले स्मरण गरेका छन् ।

मुलुक आर्थिक सङ्कटमा परेको भन्दै उनले नयाँ वर्षासँग यो सङ्कट पार लगाउन दलहरूबिच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । 

त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिएका छन् । 


नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले दिगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहितको रोजगारी र आर्थिक समृद्धिका लागि नयाँ वर्ष २०८० उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।  मुलुकको राष्ट्रियता र जनहितको विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्नेमा उनले जोड दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप