बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासंघको चुनाव

वरिष्ठ उपाध्यक्षको दोस्रो चरणको मतदान प्रभावित पार्ने ‘तीन फ्याक्टर’

अन्जान र उमेश संघईको मत तान्ने प्रयासमा, चन्द्र र गोल्छा–मुरारका समूह निर्णायक
बिहीबार, ३० चैत २०७९, १४ : ०४
बिहीबार, ३० चैत २०७९

काठमाडौँ ।  उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा गएको छ । महासंघको ५७ वर्षे इतिहासमा पहिलोपटक वरिष्ठ उपाध्यक्षको मतदान दोस्रो चरणमा पुगेको हो ।

वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको चुनावमा यो पदमा बढी आकर्षण हुने गरेको छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि प्यानलसहित ३ जना उम्मेदवार बनेका थिए। तीन उम्मेदवारमध्ये कसैले पनि पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसक्दा निर्वाचन दोस्रो चरणमा पुगेको हो ।

दोस्रो चरणको मतदान दिउँसो हुने महासंघको निर्वाचन समितिले जानकारी दिइसकेको छ ।

‘यसअघि जारी गरिएको सूचनामा दिउँसो ११ बजेदेखि निर्वाचन हुने भनिएको थियो,’ प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले भने, ‘तर, आवश्यक तयारी, मतपत्र छपाई लगायत कामका लागि समय लाग्छ ।’

खासगरी, वरिष्ठ उपाध्यक्षको मतगणना ढिलागरी सम्पन्न हुँदा यसअघि तोकिएकोभन्दा ढिलागरी दोस्रो चरणको मतदान हुने भएको हो ।

वरिष्ठ उपाध्यक्षका तीन उम्मेदवारमध्ये रामचन्द्र संघई बाहिरिँदा अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच दोस्रो चरणको भिडन्त हुनेछ । पहिलो चरणको मतदानबाट अन्जानले ३७.९९ प्रशिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्रले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।

दोस्रो चरणको मतदानमा खसेको कूल मतको ५१ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुनेछन् ।

दोस्रो पटकको मतदानमा मुख्यतः ‘तीन फ्याक्टर’ले काम गर्नेछ ।
 
रामचन्द्र फ्याक्टर

प्यानलसहित चुनावी मैदानमा होमिएका वरिष्ठका तीन उम्मेदवार उपाध्यक्षमा संघई प्यानलबाट २ जना उपाध्यक्ष विजयी भएका छन् । संघईको प्यानलबाट चुनाव उठेका शुरजकृष्ण वैद्य जिल्लानगरबाट र ज्योत्सना श्रेष्ठ एसोसिएटतर्फबाट चुनिएकी हुन् ।

स्वयम् रामचन्द्र संघईले पनि एसोसिएटतर्फ सबैभन्दा धेरै मतभार प्राप्त गरेका थिए । उनले कूल ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट ६१३ भोट पाएका छन् । उनले जिल्लानगरतर्फ ३९ भोट र वस्तुगततर्फ १२ भोट पाएका थिए ।

संघई वस्तुगतमा केही कमजोर देखिए पनि एसोसिएट र जिल्लानगरतर्फ उनको राम्रो प्रभाव देखिएको छ । यसको अर्थ, अब हुने दोस्रो चरणको मतदानमा संघईको राम्रो प्रभाव पर्छ ।

‘चुनावमा संघई पक्षले जुन टिमलाई सहयोग गर्छ, त्यो टिमको जित करिब निश्चित हुन्छ,’ एक मतदाता भने, ‘यहि कारण, दोस्रो चरणको निर्वाचनमा संघई फ्याक्टर बलियो बन्ने छ ।’

संघईसँग देशभरका माडबरी व्यवसायीको समेत राम्रो साथ रहेकाले समेत उनी दोस्रोचरणमा प्रभावशाली पक्ष बनेर उदाएका हुन् । तर, दोस्रो चरणमा गएका उम्मेदवारलाई संघईले खाली हात भने सहयोग गर्ने स्थिति नरहने बताइन्छ ।

चन्द्र ढकाल फ्याक्टर

चन्द्र ढकाल महासंघका भावी अध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्षको चुनावी नतिजा आएसँगै ढकालले आगामी ३ वर्षका लागि महांघको बागडोर सम्हाल्नेछन् । यस्तै, उनी महासंघमा प्रभावशाली व्यवसायी समेत हुन् ।

दोस्रो चरणको मतदानमा ढकालको सहयोग पाउनेले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्ने चुनावी माहोललाई नजिकबाट नियालिरहेका व्यवसायीहरु बताउँछन् । ‘ढकाल भावी अध्यक्ष र प्रभावशाली व्यवसायी हुन्,’ उनले भने, ‘ढकालसँग एसोसिएटतर्फको राम्रो भोट छ । यस्तै, उनले वस्तुगत र जिल्लानगरतर्फ समेत राम्रो पकड राख्छन् ।’

गोल्छा–मुरारका फ्याक्टर

वर्तमान अध्यक्ष शेखर गोल्छा तथा पूर्व अध्यक्ष पशुपति मुरारका महासंघका प्रभावशाली समूह हो । गोल्छा–मुरारका समूहमा मारवाडी समुदायको मत मात्रै नभई पहाडी समुदायको समेत राम्रो भोट छ । यसकारण पनि महांघको राजनीतिमा यो समूह निकै प्रभावशाली मानिन्छ ।

यस्तै, शेखर गोल्छा पूर्वका उद्योगी समेत भएकाले थप बलियो मानिन्छन् । महासंघमा पूर्वका उद्योगीको छुट्टै प्रभाव रहेको मानिन्छ ।

यस्तै, मुरारका महासंघका वर्तमान विशिष्ठ सदस्यसमेत हुन् । यो पदमा करिब एक दशकसम्म बसेर चण्डीराज ढकाल महासंघको ‘सुपर प्रसिडेन्ट’ बनेका थिए ।

त्यसैले वरिष्ठ उपाध्यक्षको दोस्रो चरणको मतदानमा गोल्छा–मुरारका समूहले कसलाई समर्थन गर्छ भन्ने विषयले पनि मत परिणाममा ठूलो अर्थ राख्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप