महिलाले हाँकेको हरवाचरवा अधिकार यात्रा !
सारीको घुम्टो ओढेका महिलाहरू ताँती बनेर सडकमा निस्कन्थे र कोणसभा सुन्नका लागि जत्थामा परिणत हुन्थे । यही नै हरवाचरवा अधिकार यात्राको एक प्रकारको सौन्दर्य लाग्थ्यो । यद्यपि, घुम्टो प्रथाको कथाक्रमभित्र अनेक व्यथा पनि छन् ।
महिलाहरूले हातमा अलग–अलग पर्चा बोकेका थिए– हरवाचरवालाई जीविकाका लागि कम्तीमा १० कट्ठा जमिन प्रदान गरियोस्, मुक्त हरवाचरवाको रोजगारी सुनिश्चित गरियोस्, राष्ट्रिय भूमि आयोगको कार्यविधिमा हरवाचरवाको अलग पहिचान गरियोस् आदि ।
सरकारले २०७९ साउन २ गते हरवाचरवालाई मुक्त गरे पनि ठोस कार्यक्रम ल्याएको छैन । सरकारलाई झकझकाउनका लागि शनिबार (चैत २५)देखि राजविराजको नेताचोक र पर्साको वीरगन्जबाट दुईवटा टोली भएर हरवाचरवा अधिकार यात्रा– २०७९ अगाडि बढेको थियो । मधेस प्रदेशका विभिन्न स्थान (जहाँ हरवाचरवा बढी छन्) मा नारा–जुलुस र कोणसभा गर्दै दुवै टोली जनकपुरमा भेटिने कार्यक्रम थियो ।
नेता चोक ! जहाँ महिला आन्दोलनकारीको उपस्थिति चर्को ! नेताचोकमै उल्लेख्य महिलाको उपस्थिति देखेपछि हामीलाई लाग्यो– हरवाचरवा पुरुष कहाँ गए ? (महिलालाई नेता भन्ने कि नेतृ ! पछिल्लो समय हामीकहाँ यो विषयक बहस चल्दै आइरहेकै छ, अद्यापि अधिकांशले हामीकहाँ नेता शब्दबाट पुरुषलाई सम्झन्छन् ।)
सप्तरीको राजविराजस्थित नेताचोकमा गीतादेवी सदा नेताकै शैलीमा उभिएकी थिइन् । एक हातमा कालो रङको अफिस ब्याग झुन्ड्याएकी, अर्को हातमा पर्चा ठड्याएकी, ‘हरवाचरवा अधिकार यात्रा २०७९’ लेखिएको ज्याकेट र टोपी लगाएकी गीतादेवी अभियन्ताजस्ती पनि देखिन्थिन् । यद्यपि, उनको मुहारमा उच्च र मध्यम वर्गीय सुकिलामुकिला नेताको जस्तो चमक थिएन ।
उनले बोकेको पर्चामा लेखिएको थियो– ‘नेपालको संविधानको धारा ५१ ञ (६)को कानुनी प्रावधान कार्यान्वयन गरियोस् ।’ हामीले उनलाई सोध्यौँ– यहाँ महिलाहरू बढी आएका छन्, (मुक्त) हरवाचरवा पुरुषहरू कहाँ गए ?
‘पुरुषहरू काम गएका छन्– कोही गिरहत (मालिक)को खेतमा, कोही विदेश (खाडी मुलुक)मा, कोही नेपाल र भारतका विभिन्न सहर–बजारमा । त्यसैले महिलाहरू बढी आएका हुन्,’ गीतादेवीले भनिन् ।
लहान नगरपालिका– १३ मा एक कट्ठा ऐलानी जग्गामा बस्दै आएकी ३९ वर्षीया गीतादेवी हरवाचरवा मञ्चको केन्द्रीय सदस्य समेत हुन् । उनका जेठा छोरा पछिल्लो ६ वर्षदेखि मलेसियामा छन् । छोरालाई पठाउन गीतादेवीले सयकडा पाँच रुपैयाँ ब्याजदरमा अढाइ लाख रुपैयाँ ऋण काढेकी थिइन् । कोरोनाका कारण उनका छोराले गएको दुई वर्ष कम्पनीमा काम पाएनन् र आफू गएको ऋण पनि तिरिसकेका छैनन् ।
घरमै बसेका उनका श्रीमान् र दुई छोराले बेलाबखत ज्याला–मजदुरीको काम गर्छन् । ज्याला मजदुरीको काम पनि सधैँ कहाँ पाइन्छ र ?
पहिले श्रीमानले गिरहतको हलो जोत्दा (हरवा रहँदा) गीतादेवीले गिरहतको घरमा अन्न भित्र्याउने, चामल केलाउने, बाल्नका लागि गोबरलाई गुइँठा पारिदिने आदि काम गर्थिन् । दिनभरि हरवा गरेबापत उनका श्रीमानले चार किलो धान पाउँथे, दिनभरि गिरहतको घरखेतमा खटिएबापत गीतालाई दुई किलोजति अन्न दिइन्थ्यो । अहिले आठ घन्टा काम गरेबापत पाँच सय रुपैयाँसम्म दिइन्छ ।
दिनभरि काम र दुई–चार किलो अनाज — अन्य हरवाचरवा जस्तै गीतादेवीको परिवारले पनि बिहान र साँझ चुलो बाल्ने चिन्ता गरेरै अरुतिर सोच्न सकेन । गीतादेवीका पाला गाउँमा स्कुल नभएको होइन, हरवाचरवा परिवारमा जन्मेकी उनले पढ्न पाइनन् र पछि आफ्ना तीन छोराहरुलाई पनि पढाउन सकिनन् ।
२०७४ सालको स्थानीय चुनावमा उनी एमालेबाट दलित महिला कोटाबाट वडा सदस्य भएकी थिइन् । उनका श्रीमान बिजुली सदालाई मानिसहरूले सुनाए– तिम्री बुढी नेता भई, यस्ती भई, उस्ती भई... । ‘यस्ता कुरा सहन नसकेर मेरा श्रीमानले विष सेवन गरे,’ गीतादेवी भन्छिन्, ‘एक महिनासम्म नरसिंह होम, विराटनगरमा राखेर उपचार गर्दा ६ लाख खर्च भयो । एक बोतल नै विष पिएका थिए । धन्न बचाउन सकियो ।’
श्रीमानको उपचारका लागि उनले सयकडा पाँच रुपैयाँका दरले ६ लाख रुपैयाँ ऋण लिएकी थिइन् । यो ऋण कसरी तिर्ने उनैलाई थाहा छैन । ‘अहिलेसम्म दुई हजार, पाँच हजार भए पनि तिर्दै आएकी छु,’ उनी भन्छिन् ।
यसपालि (२०७९) को स्थानीय चुनावमा पनि उनी वडासदस्यमा लडिन् । ‘अहिले त हारिगएँ, जम्मा तीन सय ७५ भोट आएको थियो । यसपालि चुनाव लड्दा ८० हजार रुपैयाँ खर्च भयो । अघिल्लो चुनावमा १० हजार मात्रै खर्च भएको थियो,’ उनी भन्छिन्, ‘चुनाव लड्दा हिँडडुल गर्नुपर्छ, चाय–पानी खुवाउनुपर्छ ।’
दलाल पुँजीपतिहरूले महँगो बनाएको चुनावले गरिबलाई कसरी मार्छ भन्ने यो एक उदाहरण हो ।
चैत २५ गते, सप्तरीको सुरुंगा–४ कनकपुरमा हरवाचरवा अधिकार यात्राको जुलुस र कोणसभा थियो । त्यहाँ पनि महिलाकै उपस्थिति बढी देखियो । यहाँ कोणसभा सुन्न आएकी ६१ वर्षीया मानवीदेवी सदायलाई हामीले सोध्यौँ– महिलाहरू बढी छन्, पुरुषहरू कहाँ गए ? मानवीदेवी भन्छिन्, ‘श्रीमान गिरहतको खेतमा काम गर्न गएका छन् । छोराहरू ज्याला–मजदुरी गर्न कोही पन्जाब त कोही काठमाडौं पुगेका छन् । त्यसैले म यहाँको कार्यक्रममा आएकी हुँ । अरुको अवस्था पनि यस्तै हो ।’
मानवीदेवीका ससुरा र श्रीमान् हरवाचरवा थिए । गिरहतकहाँ काम गर्दै आएका मानवीदेवीका श्रीमानले मोहियानी हकबाट अढाइ कट्ठा जमिन पाए । यति जग्गाले खान नपुग्ने भएपछि उनीहरु गिरहतकहाँ हरवाचरवा गर्न बाध्य हुनैपर्यो । ‘यो जमिन अहिले हाम्रा चार छोरालाई भाग लगाउँदा एउटाको भागमा कति नै पर्छ र ?’ मानवीदेवी भन्छिन्, ‘जीवनभर हरवाचरवा भइयो, अहिले पनि गिरहतकै खेतको आशा गर्नुपर्छ । सरकारले हामीलाई मुक्त गरेपछि केही त दिनुपर्यो ।’
चैत २७ गते, हरवाचरवा अधिकार यात्रा सिरहाको बरियारपट्टीमा पुग्दा ‘हरवाचरवा अधिकार मञ्च बरियारपट्टी’ले गाउँपालिका कार्यालयनजिकै कोणसभा गरी केहीबेर अधिकारका नारासहित गाउँ परिक्रमा गरेको थियो, यहाँ पनि महिलाकै उपस्थिति बाक्लो थियो ।
यस यात्रामा सहभागी जिबछीदेवी सदाय, जसलाई आफ्नो उमेर थाहा थिएन, पछिल्लो सात महिनादेखि उनको टाउकोमा एक लाख रुपैयाँ ऋण छ । ब्लड प्रेसर र मधुमेहका रोगी श्रीमानको उपचारका लागि उनले कर्जा लिएकी थिइन् तर श्रीमानलाई बचाउन सकिनन् । उनका छोरा भारतको हरियाणामा ज्याला–मजदुरी गर्न गएका छन् । जिबछीदेवी पनि काम पाउँदा जमिनदारको खेतमा खट्न पुग्छिन् ।
बरियारपट्टीको कार्यक्रममा लहान–७ की आशा कुमारी विश्वकर्मा सहभागी थिइन् । दलित जनकल्याण युवा क्लब, लहानमा सामाजिक परिचालिका रहेकी आशा भन्छिन्, ‘हरवाचरवा पुरुषहरू रोजगारीका लागि खाडी मुलुक, पन्जाब, हरियाणातिर जान्छन् । हरवाचरवा महिलाहरूलाई विभिन्न गैरसरकारी संघ–संस्थाले विभिन्न समूहमा आबद्ध गरेका छन् ।’
चैत २८ गते, धनुषाको गणेशमान चारनाथ नगरपालिका– ९ बरमझियामा भएको कोणसभामा पनि महिला नै बढी थिए । सभामा आएकी शकुन्तीदेवी यादवलाई हामीले सोध्यौँ– यहाँ महिला किन बढी छन्, पुरुषहरू कार्यक्रममा किन आएनन् ?
उनले भनिन्, ‘सबै घरका पुरुष बाहिर कमाउन गएका छन् । गिरहतको खेतमा गएका छन् ।’
पहिलेदेखि नै हरवाचरवा रहेको शकुन्तीदेवीको परिवार अहिले तीन कट्ठा ऐलानी जमिनमा बस्छ । आफ्नो नामको जमिन, रोजगारी, छोराछोरीलाई शिक्षा र निःशुल्क स्वास्थ्योपचारका लागि आफू आन्दोलनमा आएको उनले बताइन् । हामीले राजविराजबाट सुरु भएको टोलीलाई पछ्याउँदा सबै ठाउँमा महिलाकै उपस्थिति बढी देखियो । चैत २८ मा जनकपुर पुग्दा पनि महिलाकै उपस्थिति बढी थियो ।
संयोग यस्तो भयो, समापन समारोहमा प्रमुख अतिथि पनि महिला नै परिन्– सामाजिक विकासमन्त्री सुरिता कुमारी साह । उनले सम्बोधनमा भनिन्, ‘हाम्रो लडाइँ त्यहाँदेखि सुरु भयो, जहाँदेखि मधेस आन्दोलन भयो र विभिन्न अधिकारका लागि आन्दोलन भइरहेका छन् । मधेस प्रदेशको समृद्धिको सपना तपाईंहरूबिना पूरा हुन सक्दैन । म यो प्रतिबद्धता गर्छु, अगाडि जति पनि आर्थिक नीतिका कार्यक्रम आउनेछन् । तपाईंहरूलाई स्थापित गर्नका लागि कोसिस गर्नेछु । तपाईंहरूसँग कदममा कदम मिलाएर तपाईंहरूको अधिकारको रक्षाका लागि अगाडि रहनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
-
कोशी प्रदेशले निर्माण गर्ने ३८५ सडकको सूची सार्वजनिक
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
काठमाडौँ महानगरपालिकाद्वारा इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति