शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘घरजग्गाको कारोबार ठप्प हुँदा सहकारी डुबे’

बिहीबार, ३० चैत २०७९, ०९ : १८
बिहीबार, ३० चैत २०७९

अहिले सहकारी डुब्ने अवस्थामा छन् । सहकारी सञ्चालकहरूले डुब्ने अवस्थाको डुंगा कसरी किनारमा ल्याउने सोच्न सकिरहेका छैनन् । सरकारी पक्ष पनि यसबारे नाजवाफ छ । 

दीपकप्रसाद घिमिरे सहकारी अभियन्ता हुन् । उनी हाल नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघको केन्द्रीय सदस्य रहेका छन् । यसका साथै आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पनि हुन् उनी । प्रस्तुत छ, सहकारीको अवस्थाबारे उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः 

तपाईं २० वर्षदेखि सहकारी क्षेत्रमा कार्यरत हुनुहुन्छ । अहिले सहकारीका लाखौँ सदस्यको निक्षेप डुबेको, पीडितहरूको रुवाबासी भएको अवस्था छ । यस्तो अवस्था कसरी आयो ?

यसमा सबैभन्दा बढी बचत तथा ऋण सहकारीहरू नै दोषी छन् । फेरि  सहकारी भनेपछि नेपालमा बचत तथा ऋण सहकारी नै भन्ने बुझिन्छ । 

 नेपालमा विषयगत सहकारी भने पनि गर्न त ९९ प्रतिशतले बचत ऋणकै काम गरिरहेका छन् । त्यसकारण नाममात्रै फरक हो । प्रायः सबै वित्तीय सहकारीहरू नै छन् नेपालमा । 

खास गरी सहकारीहरू मुद्धतिकर्ताहरुलाई बढी ब्याज दिनुपर्छ भनेर डुबेका हुन् । शेयर सदस्यहरू ऋणीले ऋण नतिर्ने भएपछि डुबे । 

अर्को कुरा यसभित्र विभिन्न खालका सञ्चालक, मुख्य व्यक्तिहरूले आफ्नै सम्पत्ति जसरी सहकारीको पैसा हालीमुहाली गरे । व्यक्तिगत प्रयोजनका लागि अन्यत्र जस्तो कि घरजग्गा, हाइड्रो, शेयर बजारमा लगानी गरेपछि त्यो पैसा डुब्ने सम्भावना आएको हो । किन भन्दा हाइड्रो पनि सञ्चालनमा आउन सकेको छैन, घरजग्गाको कारोबार ठप्प छ आज । यथार्थमा भन्ने हो भने घरजग्गाको कारोबार ठप्प हुँदा आज सहकारी डुबेका हुन् । 

कुनै व्यक्तिले सहकारीबाट ऋण लिँदो धितो नराखी ऋण पाउँदैनन् । अनि सहकारी डुब्ने अवस्थामा कसरी पुग्यो ?

यस्तो हो, पहिला जतिको दरले दिइएको थियो ऋण, अहिले घरजग्गाको मूल्य घटेर मूल्याङ्कन गरिएको भन्दा निकै कम भएको अवस्था पनि छ । जस्तो १५ लाखको मूल्याङ्कनमा लगानी गरेको जग्गा अहिले १२ लाखको दरले पनि विक्री हुन छाडेको छ । भनेपछि त्यहाँ त उसको ब्याज बढेर १८ लाख पर्न गइसक्यो नि । तर यता जग्गाको भाउ घटेर १२ लाखमा आइसक्यो । अनि त डुब्ने नै भए । 

सदस्यका घरजग्गाहरू व्यापक लिलाम भइरहेका छन् । मुद्दतीकर्ताहरूको पैसा डुब्ने अवस्था आएको छ । यो सहकारीले त्यत्रो महँगो ब्याज कहाँबाट दिन सक्छ भन्ने कुरा यादै नगरी पचासौं करोड रकम सहकारीमा मुद्धतिमा राखियो । त्यसले गर्दा मुद्दतीकर्तालाई बढी ब्याज दिएर पैसा तान्ने, पैसा जम्मा भइसकेपछि त्यसलाई अन्यत्र प्रयोगमा लैजाने, आफ्नो मनखुशी गर्ने काम भयो । यसरी सहकारीमा धमिरा लाग्यो ।

यसमा सरकारको तर्फबाट पनि चुक भयो कि ?

हो, सरकारले सुरुदेखि नै अलिकति संयन्त्र बनाउन नसक्दा आज यो अवस्था निम्तियो । 

राज्यले यति धेरै सहकारीहरू खोल्नलाई अनुमति दिइसकेपछि नियमन गर्न सकेन । त्यो उसको कमजोरी हो । अब आम नागरिकलाई मार्ने काम गर्नु हुन्न । यसलाई एउटा विधि बनाएर ऋणमोचनतिर सकिएन भने धेरै मान्छे घरबारविहीन हुन्छन् ।

त्यसो त सहकारीका अभियन्ता छन् संगठनहरु छन्, विभिन्न खाले संगठन छन् । त्यस्ता संगठनका नेतृत्वहरुबाट पनि सन्तोषजनक काम हुन सकेन । उनीहरूले सहकारीहरूलाई उचित मार्ग निर्देशन गर्न सकेनन् । 

सहकारी क्षेत्र नहुँदा आम पब्लिक, गरिब, किसानलाई अत्यन्त धेरै मर्का पर्छ । सहकारी भएको कारणले मान्छेले दुई पैसा देख्न पाएका हुन् । 

हिजोका साहु, आजका मिटरब्याजीकहाँ गएर ऋण माग्नुपर्ने, गुलाम गर्नुपर्ने अवस्था थियो । आज सहकारीले पनि सदस्यलाई दुःखको बेला उल्टै पीडा दिए । उल्टै सदस्यलाई दपेटेर पैसा उठाउने धुनमा छन् । 

खराब नियतका सहकारीहरू त समस्यामा हुने नै भए तर राम्रा भनिएका सहकारीहरू कसरी समस्यामा परे ? 

राम्रा सहकारीहरू डुब्ने कारण के हो भने वरपर डढेलो लागिसकेपछि त्यो एउटा बीचको घर बच्छ भन्ने हुँदैन । खराब सहकारीका कारण मुद्धति फिर्ता लिन जाने क्रम अरु सहकारीमा पनि बढेसँगै सबैको मुद्धति फिर्ता गर्नुपर्ने हुन्छ । त्यसरी फिर्ता माग्न जाने हो भने त राष्ट्र बैंकले पनि सक्दैन । यसरी त्यसको चपेटमा राम्रा सहकारीहरू पनि परेका छन् आज । 

अहिले सहकारीको पैसा घरजग्गामा गएर थन्किएको अवस्था छ । म त भन्छु अहिले यसरी बटारेर सहकारी क्षेत्रको समस्या हल हुँदैन । बैंकर्सहरुले सहकारी क्षेत्र बढी माथि गयो, वित्तीय हिसावले सबैभन्दा बढी तरलता सहकारीमा रह्यो । बैंकहरुमा तरलता आउन नसकेर त्यो ग्राण्ड डिजाइनमा सहकारी क्षेत्रलाई फन्दामा पारिएको पनि हुन सक्छ । 

जसले जे भने पनि सहकारीको पैसा घरजग्गाको कारोबारमा थुप्रिएको छ । त्यो भनेको एउटा सञ्चालकले ठुल्ठुलो व्यवसायिक पल्टिङ गर्ने त एउटा पाटो भयो । त्यसमा ऋण मिसयुज भएर बिग्रेको अवस्था हो । अरबौंको भोलुममा त्यसरी पल्टिङ भए सहकारी क्षेत्रबाट । 

अर्को सानो तिनो जायजेथा भएको सदस्यले सानोतिनो घडेरीको लागि ४ आना, ८ आना घडेरी पनि ऋणपानमै किनिरहेका हुन्छन् । त्यो जग्गा मन्दीले गर्दा किनेको भन्दा कम मूल्य हुन थालिसक्यो । बेचेर पनि उसको कभर हुनेवाला छैन । 

आज एउटा साधारण खुद्रा पसलेको पनि ब्यापार छैन । पैसा बजारमा छैन । कहीँ पनि देखिदैन पैसा । सहकारी खोलिएको सदस्यलाई, दुःख सुखमा काम लाग्ला भनेर हो । आज त्यसको ठीक विपरीत भएको छ । सदस्यहरू दपेटिएका छन् । 

यसको समाधान के त ?

पैसा ब्याजमा लगाएर खान खोज्नेहरुलाई निरुत्साहित नगरी उत्पादनमुलक क्षेत्रमा पैसा जाँदैन । त्यो त ५ प्रतिशतमै झार्नुपर्छ भन्छु म । त्यो भयो भने उद्यमी व्यवसायीले ऋण तिर्न पनि सक्छन् । उद्यम व्यवसाय पनि बढ्छ । उत्पादन लागत पनि घट्छ । सहकारीहरू पनि डुब्दैनन् । 

त्यसकारण ब्याजदरलाई ५ प्रतिशत भन्दा कममा झार्ने हो भने अहिले देखिएका सबै समस्या हल हुन्छन् । 

त्यस्तै, एकफेरा घरजग्गा कारोबार मौलाउने खालको अवसर सरकारी तवरबाट दिने हो भने सबै पैसाहरु रिटर्न हुन्छ । विस्तारै त्यसलाई कस्ने नीति सरकारले लेओस् । तर यत्तिकै अठ्याएर लाने हो भने त पैसा त डुब्यो, डुब्यो । 

त्यसैले, समग्रमा एउटा खालको नीति, कानुन बनाएर यस क्षेत्रलाई बलियो बनाउन जरुरी छ । त्यसो गरिएन भने सहकारी क्षेत्र नै नरहने अवस्था आउन सक्छ । 

विषयगत सहकारीहरुको अवस्था कस्तो छ अहिले ?

धेरै मान्छेहरुले विषयगत सहकारी भनेकै पनि बुझेका छैनन् । कृषि सहकारी गरेपनि बचत ऋण, उपभोक्ता सहकारी गरेपनि बचत ऋण भएका छन् । विषगतमै पूर्ण रुपमा आश्रित हुनेहरु करिव १ प्रतिशत मात्रै छन् । तिनीहरु छायाँमा छन् । 

हिजो त्यही विषयगत सहकारी इग्नोर गर्दा आज यो अवस्था आएको हो । सहकारी क्षेत्र धराशाहीमा पुर्नको प्रमुख कारण पनि वित्तीय सहकारीलाई मात्रै हेरियो, पैसालाई मात्रै हेरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिसव गौतम
रिसव गौतम
लेखकबाट थप