आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
बसाइँसराइ

भोजपुरका गाउँबेँसी रित्तिँदै :अरुण गाउँपालिकाको ओदाने बस्तीमा एउटा घरमात्र बाँकी

बिहीबार, ३० चैत २०७९, ०६ : ४३
बिहीबार, ३० चैत २०७९

विराटनगर । भोजपुरको ओदाने गाउँको बीचबाट पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) कालोपत्रे भएको छ । दिनहुँ सवारी साधनहरु ओहोरदोहोर गर्छन् । तर, ओदाने गाउँ सुनसान छ । पहाडको बसाइँसराइ रोक्न तथा गाउँबस्तीको उत्पादित सामान बजारसम्म पुर्याउन (समृद्धि भित्र्याउन) निर्माण गरिएको सडकले पनि ओदाने गाउँलाई छोएको छैन ।

त्यहाँका अधिकांश मानिस घर छोडेर हिँडेका छन् । केही दशक अगाडिसम्म लटरम्मै बालीले लोभलाग्दो देखिने खेत तथा बारी अहिले जङ्गलमा परिणत भएका छन् भने बस्तीका घरहरु भूतबङ्गला जस्तो बनेका छन् ।

उक्त बस्तीमा केही वर्ष अगाडिसम्म २८ घरपरिवार थियो । अधिकांश ढकाल परिवारको बसोबास रहेको यो बस्तीमा अहिले जम्मा मुक्ति ढकालको एउटा घरमात्रै बाँकी छ । बसाईसराईले बस्ती पूरै रित्तिन अब एक वर्ष बाँकी छ । किनकि मुक्ति ढकाल पनि ११ कक्षामा अध्ययनरत छोरीले १२ कक्षाको परीक्षा दिएसँगै मोरङ झर्ने तयारीमा छन् ।

यो बस्तीमा बारीबाहेक १८ मुरी धानको बिउ लाग्ने खेत अहिले बाँझै छ । मनग्ये धान खेती हुने, अलैंची, मकै, कोदो हुने यो बस्ती उठाउने प्रमुख कारण बाँदर पनि हो ।

ढकाल त्यहीँ जन्मेका हुन् । उनका हजुरबुबा त्यस ठाउँमा आएका थिए । तर, अहिले गाउँका अन्य घरपरिवार कोही अमेरिका, कोही काठमाडौं, कोही विराटनगर त कोही तराईका विभिन्न जिल्लामा छन् । ‘कान्छी छोरी प्लस टु गर्दैछिन् । उनैलाई कुरेर बसेको हुँ, म पनि मोरङ झर्ने हो अब,’ उनी भन्छन्, ‘साह्रोगाह्रोमा सारै समस्या भयो । छिमेकी बोलाउँदा पनि एक घण्टामा मात्रै आइपुग्छन् । खेत पनि बाँझो छ ।’

Basti Khali (3)

यो बस्तीमा बारीबाहेक १८ मुरी धानको बिउ लाग्ने खेत अहिले बाँझै छ । मनग्ये धान खेती हुने, अलैंची, मकै, कोदो हुने यो बस्ती उठाउने प्रमुख कारण बाँदर पनि हो । ‘बाँदरले गर्दा नै सबै हिँडेका । बारीमा मकै राम्रो फल्थ्यो, बाँदरले खाइहाल्छ । अदुवा र बेसार लगाउँदा बिक्री नै हुँदैन । अलैंचीको पनि टुसा खाएर बाँदरले हैरान ग¥यो । घरहरु डङ्डङ्ती खाली छन् । कतिपय त लडिसके,’ उनी भन्छन् ।

सहारा दिएर कोही बस्तीमा आएर बसे गाउँ छोड्न उनलाई पनि मन छैन । उनले भने, ‘कोही बस्ने मानिस १०-८ घर आए त म पनि छोड्दिन थिएँ नि । तर, केही सारो गाह्रो पर्यो भने छिमेकी बोलाउन याकु तरेर जानु पर्छ । आधा घण्टा पर फालिटारमा केही मानिसको बसोबास छ ।’

Basti Khali (4)

त्यही गाउँमा बस्न सकेको खण्डमा तराईमा भन्दा बढी कमाइ गाउँमै रहेको उनको तर्क छ । ‘कमाई त छ नि । तर, समाज छैन,’ उनी भन्छन् । उनले अहिले पनि ४२ वटा बाख्रा पालिरहेका छन् । वर्षको ३-४ लाख रुपैयाँ कमाइ बाख्राबाटै हुने उनी बताउँछन् । गाउँमा पानीको पनि समस्या छैन ।

अरुण गाउँपालिकामा मात्रै नभएर जिल्लाका अधिकांश गाउँ बेँसीहरु रित्तो हुन थालेको उक्त गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री बताउँछन् । ‘काम गर्न भारत जाने, विदेश जाने, अन्य रोजगारीको काम गर्ने भइरहेको छ । खोलाको बेँसीतिर तीन कमाई चार कमाई हुने खेत बाँझिएर बसेको छ,’ उनी भन्छन्, ‘भारतबाट हरेक कुरा सस्तोमा पहाडतिर आएको छ । भारतको गोलभेँडा, आलु पनि यतातिर आइपुग्छ । यहाँ उत्पादन गर्दा ६० रुपैयाँ, ८० रुपैयाँ प्रतिकिलो पर्ने गोलभेँडा, आलु भारतबाट ३० रुपैयाँ ४० रुपैयाँमै आइपुग्छ ।’

Basti Khali (5)

भारतको जस्तो राज्यले कृषकलाई दिने सहयोग यहाँ नभएको उनको भनाइ छ । ‘हाम्रोमा दुःख गरेर उत्पादन गरेको वस्तुको भाउ बढी हुन्छ । त्यसैले बिक्दैन,’ उनले भने, ‘त्यसले गर्दा किसानहरु मारमा छन् र खेती गर्न छोडेर हिँडेका हुन् ।’

उनले ठाउँ अनुसार र चाहना अनुसारको खेतीको विकास नगरेसम्म गाउँमा मानिसले खेतीपाती नगर्ने बताए । ‘अब १२ खालको पेसा गरेर केही हुँदैन । १२ खालको खेती गर्दा लाभभन्दा हानी छ । अलिअलि फल्छ, त्यो पनि बाँदरले खाइदिन्छ,’ उनले भने, ‘किसानको जग्गाको भूबनोट, हावापानी अनुसारको नयाँ स्किम लिएर दिँदामात्रै बसाईसराई रोक्ने सम्भावना छ ।’

खत्रीका अनुसार बस्ती नै निमिट्यान्न भएजस्तो समस्या सबैतिर भने छैन । तर, कृषि पेसा छाड्दै गएको भने यथार्थ रहेको उनी बताउँछन् । उनले भने, ‘बेँसीहरु पूरै बाँझो देखिन थालेको छ ।’

कृषिमा फाइदा नभएर पनि धेरै मानिस गरिब भएको उनको दाबी छ । ‘हामीले समयमै मलबिउ दिन सकेका छैनौं । औषधि उपचारको राम्रो व्यवस्था छैन । खेती गर्ने मान्छे छैन । अनि कसरी मान्छे खेती गरेर बस्छ ?,’ उनी प्रश्न गर्छन् ।

Basti Khali (6)

कुल १५ हजार ४३२ दशमलव ४२ हेक्टर क्षेत्रफलमा फैलिएको अरुण गाउँपालिकामा कृषि क्षेत्र ९ हजार ९१७ हेक्टर अर्थात् ६४.२६ प्रतिशत छ भने वन क्षेत्र ४ हजार ८९५ अर्थात् ३१.७२ प्रतिशत छ । आवासीय क्षेत्र भने १५७ हेक्टर छ । व्यावसायिक क्षेत्र शून्य दशमलव ६९ हेक्टर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप