रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार
आज २०७९ चैत २९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–
ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता तथा सांसद पद खारेज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले उनको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए ।
१४० भन्दा बढी स्थानमा डढेलो
बारा, पर्सा, चितवन लगायत देशभर १४० भन्दा बढी स्थानमा लागेको डढेलो र प्रदूषणका स्थानीय स्रोतका कारण काठमाडौँ उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ ।
कारण देखाउ आदेश
विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्नु भन्ने सर्वोच्च अदालतको परमादेशको कार्यन्वयन नगरेको भन्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश कुमार चुडालको एकल इजलासले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगर्नुको कारण पेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो ।
कोभिडबाट लगातार दोस्रो दिन मृत्यु
कोभिड–१९ को सङ्क्रमणबाट नेपालमा लगातार दोस्रो दिन मृत्यु भएको छ । योसँगै देशमा कोभिडबाट मृत्यु हुने कूल सङ्ख्या १२ हजार २२ पुगेको छ ।
बढुवा सिफारिस
नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
एमालेलाई सत्ता नफापेको वर्ष
२०७९ साल नेकपा एमालेका लागि सत्ता नफापेको वर्षका रूपमा रह्यो । यद्यपि सो पार्टीले यो वर्षलाई एजेन्डा स्थापित गर्न सफल वर्षका रूपमा अर्थ्याएको छ ।
नयाँ शैक्षिक सत्र
नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । वैशाख १ गतेदेखि सुरु हुन लागेको २०८० को शैक्षिक सत्रका लागि जिल्ला सदरमुकाममा पाठ्यपुस्तकको ढुवानी भइसकेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ को विरोध हुन थालेको छ । शिक्षा मन्त्रालय मन्त्रीविहीन बनेकै समयमा निर्देशिका ल्याइएपछि विरोध भएको हो । प्रधानमन्त्री प्रचण्डले सातौँ पटक गत चैत १७ गते मन्त्रिपरिषद् विस्तार गर्दा शिक्षा मन्त्रालयमा जसपाका नेता अशोक राई मन्त्री बनेर आएका थिए । रास्वपाका शिशिर खनालले राजीनामा दिएसँगै मन्त्रालय मन्त्रीविहीन बनेको अवस्थामा विवादास्पद निर्देशिका ल्याइएको हो ।
बजेट निर्माणको कार्यतालिका
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा अर्थ मन्त्रालयले तीव्रता दिएको छ । बजेटको नीति, सिद्धान्त तथा बजेट वक्तव्यको मस्यौदा लेखन समिति समेत गठन भइसकेको अवस्थामा उक्त समितिले बजेट निर्माणको कामलाई तीव्रता दिएको हो ।
उपनिर्वाचन विशेष