शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा : नैराश्य मेरो जिन्दगी

बुधबार, २९ चैत २०७९, १६ : २९
बुधबार, २९ चैत २०७९

वरिपरि हरियाली डाँडा । समथल समथल स्थलका थुम्काथुम्कीमा बस्ती । लगभग नामअनुसारको रमणीय मेरो गाउँ । गाउँको माझतिर पर्ने मेरो घर । एक दाइ र एक दिदीपछि जन्मिएकी म । मपछि जन्मेका एक एक भाइ र बहिनी । 

लहैलहैमा एसएलसी पास गरेकी मभन्दा मेरा भाइबहिनीले निकै पढे । सायद उनीहरूले डिग्री नै सिध्याए । भाइ त अहिले कुन्नि के नामको सरकारी अफिसमा अफिसर भएको छ । बुवाको खासै कमाइ नभए पनि जसोतसो घर चलाउनु भएकै हो । बरु केहीपछि बुवाले घरनजिकै एउटा चिया पसल खोल्नुभयो । गाउँका मान्छे चिया खान जम्मा हुन्थे । राम्रा नराम्रा खबर सुन्न पाइन्थ्यो । रमाइलै हुन्थ्यो । बिहान बेलुका म बुवालाई पसलमा सघाउँथे । 

समय बितेको पत्तै भएन । दाइ, दिदी, भाइ र बहिनीको समेत बिहे सकियो । म सधैँ घर, गोठ पसलमै रमाएँ । घरपरिवारलाई खुसी पार्नमै मेरो ध्याउन्न रह्यो । 

हेर्दाहेर्दै सँगै पढेका दौँतरीहरू बच्चा अघि–पछि लाउँदै, पिठ्युँमा बोक्दै हिँडेको पसलबाटै देख्थेँ । हाम्रो पसलको बाटो भएर कैयौँ नवविवाहित जोडीहरू छिल्लिँदै, जिस्किँदै ठट्टा गर्दै हिँड्थे । उनीहरूको उच्छृङ्खल व्यवहार देखेर आफैँ लज्जित भएकी छु । सर्माएकी छु । तिनीहरूको प्रेमको खेलबाड देखेर धेरै पटक टोलाएकी पनि छु । 

समयको चक्रसँगै भाइको बिहे भएको पनि अढाइ वर्ष बितिसकेछ । सुरु सुरुमा भाइबुहारी र म खुब मिल्थ्यौँ । कैयौँ पटक हामीले डोरी खेलेका छौँ । लुकामारी खेल्थ्यौँ । सँगै वन, मेलापर्म जान्थ्यौँ । वनमा कहिले ऊ स्याउला, घाँस काट्थी म भारी हाल्थेँ । आलोपालो गरी बोक्थ्यौँ । बिहान बेलुका पसलमा समेत उसले पालो दिन्थी । सघाउँथी । कति रमाइलोसँग बित्थ्यो । तर समयले नेटो काटिसकेछ । अहिले त म चालीसको हाराहारीमा पुगिसकेँछु तापनि मेरो उही बालापन, उही दैनिकी अनि उही सधैँको हस्याङफस्याङ । 

आजकल खोइ किन हो मप्रति बुवाआमाको व्यवहार फरक देख्न थालेकी छु । बुवा त्यतिकै झडङ्ग रिसाउनुहुन्छ । धेरै बोल्नु पनि हुन्न । बुहारी पनि ठसक्क पर्छे । जतिखेर पनि सानो छोरा समातेको देख्छु । आजकल वन, पाखा पनि म एक्लै जान थालेकी छु । बिहान–बेलुका चिया पसलमा चिया खाने बटुवाबाहेक कोहीसँग पनि राम्रो बोल्न पाएकी छैन । सघाइ पुर्याई पनि कसैले गर्दैनन् आजकल । लाग्छ कतै म अब यो घरको घाँडो त हुँदै आइनँ ? आफैँलाई प्रश्न गर्छु अनि आफैँबाट अनुत्तरित हुन्छु । 

रमिला मेरी पुरानो दौँतरी हो । उसको घर हाम्रो घरभन्दा केही माथि थियो । करिब वर्ष चारैले जेठी भए पनि मसँग खुबै मिल्थी । स्वभावले ऊ चञ्चले र चिरबिरे थिई । जति मुख चल्थ्यो उति नै उसका हातगोडा चल्थे । बिहे पनि निकै चाँडो गरी । अहिले उसको दुवै छोरा बिहे गर्न लायकका भइसके । उसले मैलेभन्दा निकै बढी पढी । ऊ जागिरे पनि थिई । खोई सहरतिर कता हो काम गर्छे भन्थे । धेरै पो भयो त ऊसँग मेरो भेट नभएको ।

आजकल खोइ किन हो मप्रति बुवाआमाको व्यवहार फरक देख्न थालेकी छु । बुवा त्यतिकै झडङ्ग रिसाउनुहुन्छ । धेरै बोल्नु पनि हुन्न । बुहारी पनि ठसक्क पर्छे । जतिखेर पनि सानो छोरा समातेको देख्छु ।

पोहोर कोरोनाले रमिला निकै थला परी भन्थे । एक पटक भेट्न जाउँलाभन्दा भन्दै गएको साउनमा निस्लोट ज्वरो आएछ । सासै फेर्न गाह्रो भएर हस्पिटल लगेछन्, बाटैमा बितिछ । सुन्ने बित्तिकै निकै खल्लो लाग्यो । 

अस्ति बेलुकातिर रमिलाको बुवा पसलमा आएर ‘बुवा कहाँ छन्’ भनेर सोध्नुभयो । ‘ऊ क्या त घरपछाडि, काँक्रोको थाँक्रो मिलाउँदै हुनुहुन्छ’ भने । बुवासँग खोइ के कुरा गरेर उत्ति नै खेर हिँडिहाल्नुभयो । दुई दिन पछि पो पसलमा चिया खान आउँनेहरूले भन्दै थिए, ‘ए तेरो बिहे गर्दिने रे हो ? त्यही रमिलाको बुढासँग ? त्यो त अलि बुढो भएन र भन्या ? कोही नपाएजस्तो त्यही बुढासँग’ । 

मेरो मन नै खल्लोे भयो । ओठमुख नै सुक्यो । मनमा तुफानले आधी हुरी चल्न थाल्यो । सम्हालिन खोजेँ । आखिर केही जोर चलेन । आँखाबाट पानी बर्सिहाल्यो । हत्त न पत्त कुर्थाको सलले पुछेँ । धन्य कसैले याद गर्न पाएनन् । 

आजभोलि बुवाआमा भाइ गुपचुप गुपचुप सल्लाह गरिरहेको देखेकी छु । खित्खित् हाँसेको पनि सुनेकी छु । रमिलाको बुवा गएदेखि घरका सबैको अनुहार बेग्लै भएको महसुस गरेको छु । 

साँझपख ‘आज चिया पसल चाँडै बन्द गरेर आउनू’ भनेर बुवा पसलबाट फरक्क फर्किनुभयो । ‘हुन्छ’ भनेँ । घरभित्र छिरेँ । बुवा, आमा, भाइ र बुहारी अगेना वरिपरि बसेर मन्थन गरिरहेका थिए । बुवाले भन्नुभयो, ‘रमिलाको बुढा निकै अप्ठ्यारोमा परेका रहेछन् । पोहोरदेखिको साढे दुईतले घरको ढलानबाहेक प्लास्टर, रङ, रोगन त्यतिकै छ रे । दुवै छोराहरू घरमा एकछिन पनि बस्दैनन् रे । सधैँ लाखापाखा लागिरहन्छन् रे । घर सम्हाल्ने मान्छे नै भएन रे । तिम्रो छोरी र मेरो छोरी पहिले पनि दौँतरी नै हो क्यार । के त नि आँट्ने हो भने कुरा चलाउँछु भन्दै रमिलाका बा गएका छन् । केटो नहुने छैन । आर्मीको जागिरबाट दुई पल्ट लेबनान गएर आएका रहेछन् । जागिर सकेर फेरि सेक्युरिटी अफिसतिर जान थालेका छन् रे । खर्चबर्च केही गर्नुपर्दैन रे । केही दिनअघि मात्र हाम्रो पसलमा चिया खाएर तँलाई हेरेर गएका रहेछन् । औधी मन पराएछन् । हामीले त पर्सी १५ गते अन्माएर पठाउँने निधो गर्यौं । अहिले भए कोरोनाको डर निख्र्रेको छैन । भोजभतेर पनि केही गर्नुपरेन । उसको पनि बुढी मरेको वर्ष बाजागाजा नगरी टाकटुक गर्ने सोच रहेछ । केटो उमेरले पाको भए पनि सम्पत्तिमा हामीभन्दा उम्दो नै छ क्यार । हामीले त आँट गर्यौंं । तँ पनि त छिप्पिसकिस् । तँलाई पनि जीवन सहारा ।’              

भित्रभित्रै मुर्मुरिएँ । भक्कानिएँ । टाउको भारी भएर आयो । मनमा नाना कुरा खेले । ‘धत् के रहेछ र हामी नारीहरूको जीवन’ जस्तो लाग्यो । 

अब म जाने भनेको घरमा छोराहरू त्यत्रा लाठे भइसकेका छन् । त्यहाँ सन्तानको आवश्यकता नै छैन । उसलाई त केवल शारीरिक सुख भोगका लागि मेरो भौतिक शरीर भए पुग्यो । आखिर म त उसको खेलौना जस्तो पो हुने भएँं । मात्र उसको खेलौना । थाहा छैन यो समाजमा नारीहरूले आफ्नो रहर र इच्छालाई तुहाएर अरूको सुखको निमित्त हाँसेको नाटक गरेर रोई रोई कहिलेसम्म नाच्ने ।’  

हे भगवान् म कस्तो बिलखबन्दमा परेँ । बुढो लोग्ने, बुढा छोराछोरी । के अब म उसको त्यो घर हेरेर मात्र बस्ने ?  धत् पशु त हामी होइनौँ तर पशु र हामीमा के फरक रहेछ र । जसरी पशुलाई बाँधेर डोर्याउँदै जता लग्यो उतै जान बाध्य हुन्छ । म त्यही स्थितिमा पुगेँ । 

हाम्रो धान खेत थोरै थियो । धानको उब्जनी पनि निकै कम हुन्थ्यो । चामल किन्नै पथ्र्यो तापनि घरै नजिक ठूला ठूला पाटा भएको बारी थियो । दुःखै भए पनि वर्षभरिलाई पुग्ने गरी गहुँमकै फल्थ्यो । कुनै वर्ष खाएर बढी नै पनि हुन्थ्यो । त्यही बेचेर कति पटक चामल किनेका छौँ ।

सधैँ रोटी, ढिँडो खाँदा खाँदा दिक्क लागेर होला खाना खाँदै गर्दा एक दिन भाइले भनेको सम्झन्छु, ‘आमा आज म रोटी खान्न है, भातैभात मात्र खान्छु ।’ उसले भात मात्र खाएमा अड्कलेर पकाएको भात सबैलाई पुग्दैनथ्यो । त्यसैले मैले खान मन लागी लागी पनि आमालाई भनेँ, ‘आमा मलाई आज खै के भएर हो पेट डम्म भइरहेको छ । म आज भात खाँदिनँ, मलाई नराख्नुस् । रोटी मात्र खान्छु । भाइले रहर गरेको छ, मेरो भागको भात पनि उसैलाई दिनू । 

त्यस्तो धेरै पटक भएको छ हाम्रो घरमा । तर आज त्यही भाइ मेरो सामुन्ने पर्दैन । उसलाई उबेलामा सधैँ ढुक्कसँग पढ्ने, लेख्ने वातावरण बनाएँ । घरको कुनै चिन्ता लिनुपर्दैन बरु पढ मात्र भनेँ । सधैँ खाजा खानु भनी लुकिछिपी पकेट खर्च दिँदै गएँ । तर उसले सधैँ आफ्नो बारेमा मात्र सोच्यो । मेरो बारेमा कहिल्यै सोचेन । त्यति मात्र होइन राम्रो मुखले दिदी भनेर कहिल्यै बोलेन । दसैँको टीकाको दिन र तिहारको भाइ टीकाको दिनबाहेक । 

हे भगवान् म कस्तो बिलखबन्दमा परेँ । बुढो लोग्ने, बुढा छोराछोरी । के अब म उसको त्यो घर हेरेर मात्र बस्ने ?  धत् पशु त हामी होइनौँ तर पशु र हामीमा के फरक रहेछ र । जसरी पशुलाई बाँधेर डोर्याउँदै जता लग्यो उतै जान बाध्य हुन्छ । म त्यही स्थितिमा पुगेँ । 

मैले सधैँ घरपरिवार, नाताकुटुम्ब र समाजको ख्याल गरेँ । इज्जतमा दाग लाग्यो भने जति धोई पखाली गरे पनि जाँदैन भनेर कुलको मर्यादामा बसेँ । बसिरहेँ । कुनै बेला मलाई मन पराउनेहरूका ताँती थिए । हेर्न र बोल्नका लागि ठिटाहरू कहाँ कहाँबाट आउँथे दोहोर्याइ तेहेर्याइ चिया पिएर जान्थे । त्यतिबेला तीमध्ये कुनै एकसँग जीवन व्यतीत गरेकी हुन्थेँ भने मेरा पनि छोराछोरी हुन्थे होलान् । तिनलाई स्कुलमा भर्ना गरिदिन्थे होला । उनीहरू सधैँ स्कुल जान्थे होलान् । तिनीहरूलाई स्कुल पठाउन मलाई सधैँ चटारो पथ्र्यो होला । कहिलेकाहीँ पुलपुलिँदै भोलि त म स्कुल जान्न है ममी भन्दै घुक्र्याउँथे होलान् । म फकाउँदै ‘हुन्न त्यसो नभन बाबा’ भन्दै खोकिलामा राख्थेँ होला । ल त्यसो भए तपाईंको अक्षर कस्तो छ ? मेरो कापीमा लेखेर देखाउनुस् त भनेर लाडिँदै जिस्क्याउँथे होलान् । म पनि फुर्ती निकालेर ले कापी ल कसको अक्षर राम्रो भन्दै लेख्न तम्सिन्थेँ होला । ती मेरा सबै कल्पना कल्पनामै सीमित रह्यो । 

स्तब्ध मेरा मलिन आँखाले भाइलाई हेरेँ । भाइ बुहारीतिर फर्किरहेको थियो । बुवाको घुस्स परेको अनुहारलाई पढेँ  ‘हामीले खोजेको नभए आफैँ खोजेर जा’ । एक मनले त जुरुक्क उठेर कतै नहेरी चुइँ चुइँ हिँडौँ कि क्या हो, जहाँ पुगिन्छ पुगियोस् भन्ने लाग्यो । फेरि यो घरपरिवार, समाज मानसपटलमा घुमिरह्यो । आमातिर पुलुक्क हेरेँ । आमा मतिरै एकोहोरो टोलाएर हेरिरहनुभएको रहेछ । आमा भन्दै भक्कानीएर हजार पटक अँगालो हाल्दै रुन मन लाग्यो । तर सकिनँ । नसकी नसकी मन बाँधेँ । विछिप्त मेरो मन आखिर मरेतुल्य भयो । उहाँहरूको रोजाइलाई कसरी हुन्छ भनौँ भनिनँ । हुन्न पनि भन्न सकिनँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जीवन पौडेल
जीवन पौडेल
लेखकबाट थप