बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

श्रीमान र वकिलबाट ठगिएकी एउटी वृद्धाको कहालीलाग्दो कहानी

सोमबार, २१ फागुन २०७४, १३ : ०१
सोमबार, २१ फागुन २०७४

बुबा सानै छँदा बित्नुभयो ।

यसरी नाबालक अवस्थादेखि नै मेरो सङ्घर्षको कथा सुरु हुन्छ ।

१९ वर्षको उमेरमा आफूभन्दा २२ वर्ष जेठो मान्छेसँग बिहे भयो । ५ वर्षपछि थाहा भयो, मेरो श्रीमानकी जेठी श्रीमती पनि रहिछन् । अनि ५ भाइ छोरा पनि ।

त्यसको केही वर्षपछि थाहा भयो, उहाँले त स्थायी बन्धाकरण पनि गरिसक्नुभएको रहेछ । तैपनि मैले उहाँलाई साथ दिइ नै रहेँ र अहिले मेरो श्रीमान कान्छी श्रीमतीसँग बस्नुहुन्छ ।

सबैको जीवनरेखा सरल नहुने रहेछ । कसैको घुमाउरो, कसैको उकालै उकालो ।  कसैको भिरालै भिरालो । कसैले जीवनका हरक्षण आँधी हुरीको सामना गरिहनुपर्ने । मेरो जीवन पनि यस्तै आँधी हुरीको भुमरीमा परिरह्यो ।

अभावको बाल्यकाल
मेरो नाम रामादेवी श्रेष्ठ । माइती हुमागाईं । काभ्रेको टुनीबासमा म २०११ सालमा जन्मिएँ । अहिले ६३ वर्षकी भएकी छु ।

स्कुल जान पाइनँ । नेपाली साधारण लेख–पढ गर्न सक्छु । पढ्न ठूलो रहर थियो । पहिले पहिले बाह्रखरी पढ्ने चलन थियो । बाह्रखरीको किताब लिएर जान्ने मान्छेसँग सोध्दै पढ्न जानेँ । कुनै स्कुलमा भर्ना हुन पाइन ।

माइतमा दुई भाइ र ४ जना दिदीबहिनी थियौँ । म सानै हुँदा बुबा बित्नुभयो । बुबा खस्दा म अन्जान थिएँ । मेरो कान्छो भाइ बुवा बित्नुभएको ६ महिनापछि जन्मिएको हो ।

मेरा दुई जना भाइ छन् । जेठो भाइले पनि पढ्न पाएन । मैले पनि पढ्न पाइनँ । दिदीले पढ्ने कुरै भएन ।

कान्छो भाइले अलिअलि पढ्यो । आर्मीमा जागिर खाएर अहिले रिटायर भएर बसेको छ ।

२०५४ सालमा आमा बित्नुभयो । आमा बितेको पनि २० वर्ष पुग्यो ।

अहिले म माइली दिदीसँग बस्छु । उहाँको छोरा मैले नै हुर्काएँ ।

बाल्यकाल निकै दुःखमै बित्यो । घाँस दाउरा, वस्तुपालन, मेलापातमा किशोर बेला बित्यो ।

टुनीबासबाट मेरो माइती बनेपामा बसाइँ सर्यो ।

२२ वर्ष जेठोसँग बिहे : जब म छाँगाबाट खसेँ

२०२८ सालमा काठमाडौं आइपुगेँ । १७ वर्षमा हिँडिरहेको थिएँ ।

चिनेजानेको मान्छेबाट आर्युवेद अस्पतालमा साधारण काम गर्न थालेँ । त्यतिबेला कक्षा ८ पास गरेको सर्टिफिकेट पेस गरेपछि जागिर खान पाइन्थ्यो । एउटा स्कुलबाट सर्टिफिकेट निकालेर त्यहाँ जागिर खान थालेँ । त्यतिबेला काठमाडौंबाट बनेपा बस आउने जाने गर्न थालेको थियो । बनेपाबाट काठमाडौँ आउँथेँ ।

बनेपामा मामाघर भएको श्रेष्ठ थरको आर्युवेद डाक्टर हुनुहुँदो रैछ । आर्युवेदिक डाक्टर कविराज । उहाँ पनि त्यही अस्पतालमा काम गर्नुहुन्थ्यो । हामी सँगै घर आँउनेजाने गथ्र्यौं । उहाँसँग मेरो बिहे भयो ।
उहाँ भक्तपुरको खानदानी वैद्य । नाम वैद्य इन्द्रप्रसाद श्रेष्ठ । 

उहाँसँग बिहे भएको पाँच वर्षपछि म छाँगाबाट खसेजस्तो भएँ ।

मेरो श्रीमानले बिहे हुनुअघिदेखि नै ढाँट्नु भएछ । घरभरी छोराछोरी रहेछन् । पाँच भाइ छोरा एक भाइ छोरी । उहाले केही भन्नु भएन । उहाँको घरमा श्रीमती छोराछोरी रहेको पाँच वर्षपछि थाहा पाएँ ।

श्रीमानको घर कहाँ हो भन्ने पनि राम्रोसँग थाहा थिएन । उहाँले आफ्नो घरको बारेमा कहिले पनि मसँग कुरा गर्नु भएन । उहाँको घर भक्तपुरको सुकुलढोका वडा नं. ४ मा रहेछ ।  घरमा जेठी श्रीमती रहिछन् । सधैँ बाहिर बाहिर बस्ने । उहाँ घरमा कहिले पनि जानु हुँदो रहेनछ ।

तैपनि मैले दुःखीको कर्म यस्तै रहेछ भनेर चित्त बुझाएँ । उहाँको साथ छोडिन ।

१० वर्ष जागिर खाएपछि उहाँले मलाई जागिरबाट पनि छुटाउनुभयो ।

तपाईंलाई किन ढाँट्नु छ र ? उहाँले त्यतिबेला नेपालमा नभएर गोरखपुर गएर परिवार नियोजन गर्नुभएको रहेछ । मलाई बिहे गर्नुभन्दा अगाडि नै । २०२२ सालमै परिवार नियोजन गर्नुभएको रहेछ । मलाई झुक्काएर २८ सालमा बिहे गर्नुभयो । यो कुरा धेरैपछि मात्र थाहा भयो । 

त्यसपछि दिदीका छोराहरूसँग बसेँ । हामी बाहुनको कर्म भन्ने सोचेँ । म धार्मिक भावनाको मान्छे, अन्त गइनँ । त्यतिक्कै जीवन वित्यो ।

१४ वर्ष अगाडि, २०६० सालतिर उहाँले मलाई पनि लत्याएर कान्छी ल्याउनुभयो । ऊ श्रीमान छोडेकी र एक सन्तानकी आमासमेत हो । कान्छीको नाममा घरजग्गा किनेर थानकोटमा बस्नुभएको छ ।

अहिले पक्षघात भएर बस्नुभएको छ । कान्छीको नाममा जग्गा किनेर घर बनाई बस्नुभएको छ । पेन्सन खाइरहनुभएको छ । बिरामी जाँच्न एकदम सिपालु हो । सकुञ्जेल धेरै पैसा कमाउनुभयो ।

१४ वर्ष भयो म श्रीमानसँग छुट्टिएको । त्यसअघि भोटाहिटीमा आर्युवेदिक क्लिनिक चलाएका थियौँ । जागिर सिंहदरबार वैद्यखाना र नरदेवी हस्पिटलमा थियो । पसल चलाउने भनेर १० वर्ष काम गरेपछि उपदान लिएर जागिरबाट छुटाउनुभयो ।

मलाई हिन्दू धर्मको माया ममता धेरै भएकाले उहाले गरेका अन्यायहरू सहेँ, तर उहाँले मलाई ठूलो धोका दिनुभयो । एकजनासँग बिहे गरेपछि अर्कोसँग बिहे गर्नु हाम्रो धर्मले दिँदैन । नेवार भए पनि उहाँ जाँडरक्सी चुरोट केही नखाने हुनुहुन्थ्यो । थर श्रेष्ठ लेखे पनि उहाँ भक्तपुरको जोशी परिवारको । यस्तै भनेर मन बुझाएँ ।

छुट्टिने बेलामा उहाँले तँ दिदीको छोराहरूसँग नबस् । म दुइटैलाई पाल्छु भन्नुभयो । तर मैले बाटोमा जथाभावी हिँड्ने बदमास केटीसँग बस्दिनँ भनेँ र श्रीमानलाई छोडेर दिदीसँग बस्न थालेँ ।

उहाँका पाँच भाइ छोरा र छोरी छन् तर उहाँलाई घरमै टेक्न दिँदैनन् । किनभने उहाँले छोराछोरीमाथि पनि अत्याचार गर्नुभएको रहेछ ।

जेठीलाई छोडेर बालबच्चाको पालनपोषण केही गर्नुभएनछ । छोराहरूलाई माया ममता नदिएको भएर अहिले छोराहरू आउनेजाने केही गर्दैनन् ।

उनको जेठो छोरो भक्तपुरमा पशु चिकित्सक छन् । भोटाहिटीमा हाम्रो पसल हुँदा दुई चार पटक आएका थिए ।

मैले कतैबाट उनको नम्बर पाएर फोन गरेँ । तर उनले तपाईलाई मैले किन भेट्नु र ? भने । त्यसपछि भेट्ने कुरै भएन ।

पछि फेरि कान्छी ल्याउनुभयो । आफ्नो श्रीमानतर्फ छोरा भएर पनि श्रीमान छोडेकी, बदमास भएर हिँड्ने मान्छेलाई श्रीमानले ल्याउनुभयो ।

अनि एउटा मिर्गौला फालियो

१५ वर्षअघि मिर्गौलामा समस्या भयो । अप्रेसन गरेर एउटा मिर्गौला फालियो । अहिले दाइने पट्टि एउटा मात्र मिर्गौला छ । टिचिङमा अप्रेसन गरेर फालेको । त्यो बेला मेरो श्रीमान कान्छी राखेर बस्नुभयो, मलाई हेर्न पनि आउनुभएन ।

भोक नलाग्ने, नपोल्ने, नदुख्ने हुन्थ्यो । म झोलिलो खानेकुरा भातको माड, फलफूलको रस, ग्लुकोजहरू खाएर काम गर्न हिँड्थेँ ।

एक जना साथीले यस्तो समस्या भए पनि टिचिङ हस्पिटल लगिन् । डाक्टरले मेडिकल टेस्ट भनेर लेखिदिए । मेडिकल टेस्ट गर्दा १८ हजार सिद्धियो । मिर्गौला अप्रेसन गरेर फाल्दा ७ हजार लाग्यो ।

किड्नीको नसामा ट्युमर पलाएर किड्नी बराबरको ट्युमरको डल्लो भएको रहेछ, अप्रेसन सकेर मलाई होस् आएपछि देखाएका थिए ।

जीवनको अर्को दुःख २२ वर्ष जग्गा मुद्दा
श्रीमानले कान्छी ल्याए पनि जग्गाको मुद्दामामिला गर्न भने साथ दिनुभयो । उहाँ र मैले कमाएको पैसाबाट ४२ सालतिर बानेश्वरमा ४ आना जग्गा किनेका थियौँ । ४४ सालमा डेढ लाखमा ४ आना जग्गा बिक्री गरेर यता कुसुन्तीमा २ लाख ४० हजारमा फेरि चार आना जग्गा किन्यौँ ।

शिक्षा कार्यालयमा ठूलो पोस्टमा पुग्नुभएको जनार्दन नेपाल, नेत्र न्यौपाने उहाहरू सहित कित्ता काट गरेर जग्गा किनेका थियौँ । त्यहाँ जग्गामा ढलको समस्या हुने भयो भनेर त्यो जग्गा बेच्यौँ ।

कुसुन्तीमा कृष्णप्रसाद भन्ने लिलानाथ गजुरेलको जग्गा किन्यौँ तर जग्गा धनी पूर्जामा रवी खत्रीको मोहियानी हक लागेको रहेछ ।

२००६ सालमा उक्त जग्गा लिलानाथले बन्दकी पनि राखेका रहेछन् । दुर्गामान खत्रीले बन्दकीमा लिलानाथलाई खर्च दिएका रहेछन् ।

त्यो नाताले उनीहरूले कृष्णप्रसादलाई जालसाँझी गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दिए । दोहोरो लिखत कीर्ते गरेको भन्दै जिल्ला अदालतमा मुद्दा पर्यो ।

उनले मालपोत कार्यालयमा गएर म्याद नपुग्दै धरौटी राखेर पैसा तिरे ।

पैसा तिरेपछि ३ महिनामा तिम्रो मोही छुट्छ भनेका थिए तर छुटेन । हुँदाहुँदा जग्गा बेच्ने बुढा बितेकै १७ वर्ष भयो ।

मैले आफ्नो अरू घरजग्गा केही नभएकाले घरबासका लागि पुर्जामा भएको मोही झिकाइपाऊँ भनेर नगरपालिकामा निवेदन दिएँ ।

दुर्गामानसिंह खत्रीका भाइ नेत्रमान सिंह खत्री न्यायाधीश थिए । उनका छोरा सुरेश केसी अख्तियारमा थिए । बाउ न्यायाधीश भनेर सुरेशले धम्क्याउँथ्यो । दुर्गामान खत्री बितेपछि उनकी श्रीमती ठूली खत्रीनीको तर्फबाट पनि उनीहरूले मुद्दा हाले । तर जिल्लादेखि सर्वोच्चसम्म मुद्दा हराइयो ।

सबै अदालतमा उनीहरूको मान्छे छन्, सबैतिर पहुँच भएकाले मैले मुद्दा हार्नुपर्यो । सुरेश खत्रीको फुपाजु पनि सर्वोच्चमा न्यायाधीश छन् रे । मैले नाम चाहिँ टिपिन । पुनरावेदनमा पनि एकजना खत्री न्यायाधिस छन् रे ।

सारा दुःख गरेर अलिअलि कमाएको पैसा पनि २२ वर्ष मुद्दा गरेरै सकियो । अब मेरो श्रीमानको नामबाट मुद्दा हाल्ने विचारमा छु, तर उनीहरूको मान्छे ठाउँठाउँमा छ, जित्ने सम्भावना त कम छ । अदालत जाने यही बाटो देखेको छु ।

३ लाख ३५ हजार ठगी

यसरी मुद्दा हारेपछि आफूले चिनेजानेको वकिलले नै मलाई ठगी गर्यो । त्यो वकिलको नाम पुण्यप्रसाद गौतम हो । कुसुन्तीको मुद्दा परेका मेरोे जग्गामा ७ कोठाको टहरो बनाएको थिएँ । १० वर्ष ऊ मैले बनाएको टहराको कोठामा बस्यो । ९ वर्ष अगाडि सुरेश केसीले त्यसलाई भत्काइदियो ।
 
पैसा लगाएर, पाँच छवटा पुलिसको भ्यान ल्याएर भत्काइदियो । त्यो भत्काउने उसले पहिले नै थाहा पाइसकेको रहेछ । त्यो थाहा पाएपछि उसले कोठा सार्छु भन्यो । मैले नै फ्ल्याट खोजेर उसलाई राखिदिएको थिएँ । 

उसलाई मैले भाइ पूजा पनि गर्थें । मैले ऊसँग कहिले कोठाभाडा पनि लिइनँ । उसका बच्चाहरूलाई पनि हेरेँ मैले । उनकी श्रीमती पनि सहयोगी भावना भएकी थिइन् । लगातार मुद्दा हारेपछि उसले भिनाजुको नामबाट सर्वोच्चमा पुनरावेदन दिऊँ भन्यो ।

 मेरो श्रीमानले अरू कुरामा सहयोग नगरे पनि जग्गा बचाउन भने सहयोग गर्ने । श्रीमानको नामबाट हालेको मुद्दा पनि खोरेज भयो ।

मेरो पैसा ठगी गर्ने वकिलले फेरी सर्वोच्चबाट पुनरावलोकन गराँउछु भनेर ३ लाख ३५ हजार खाएको हो । त्यो वकिल चाँही गतिलो वकिल हैन । सबैतिर भागेर हिँड्छ रे । धेरैलाई ठगेको छ रे ।

उसलाई मैले सहकारीबाट ऋण गरेर पैसा दिएको थिएँ ।

३ लाख ३५ हजारमा २ लाख एउटा सहकारीबाट ऋण लिएँ । अर्को २ लाख एकजना साथीबाट लिएँ ।  त्यसरी ऋण गरेर लिएको पैसा मैले त्यही पुण्य गौतम वकिललाई दिएँ । महिना महिनामा मैले ती सहकारी संस्थामा १२ प्रतिशतका दरले ब्याज दिनुपर्छ । ब्याज तिर्न कठिन भएर ठूलो सङ्कटमा परेको छु ।

पुण्य गौतमले २ पटक गरेर  ३ लाख ३५ हजार पैसा लियो । एक पटक २ लाख लियो । अर्को पटक १ लाख ३५ हजार लिएको थियो ।

मैले कुनै कागज गरेर पैसा दिनुपर्ने थियो । अहिले ऊ पैसा फिर्ता गर्न मान्दैन, एउटी दुःखी मान्छेको घाउमा उसले अर्को चोट लगाइदिएको छ ।  

अब श्रीमानको आश छैन

मेरो श्रीमानको भक्तपुरमा पनि प्रशस्त जग्गाजमिन छ ।

छोराहरूलाई पनि बाँढिदिने, मलाई पनि केही राहत दिने भन्नेमा उहाँको ध्यान नै छैन् । छोराहरूले घरमा टेक्नै दिँदैनन् उहाँलाई । उहाँले पहिल्यै गल्ती गर्नुभयो । श्रीमानबाट केही पाउँछु भन्ने आस त छैन ।

श्रीमानले कान्छीलाई जग्गा किनिदिनुभएको छ । मैले पनि त्यसबाट केही पाउनुपर्छ । मलाई पनि बाँचुञ्जेल खान, दबाईपानी गर्न त पैसा चाहियो नि । त्यसै त उहाँलाई पनि छोड्नु भएन । कान्छी ल्याएर उहाँले अत्याचार त गर्नुभएकै हो ।  उहाँको पहिला पनि तलब प्रशस्त नै थियो । अहिले केही नभए पनि बाइस चौबीस हजार त पेन्सन नै खानुहुन्छ ।

भक्तपुरमा उहाँको प्रशस्त जग्गा जमिन भए पनि मैले केही मतलव गरिनँ । मैले खोजी निन्दा केही गरिनँ ।

किन गरिनँ भने जेठी हुँदा झुक्याएर मलाई बिहे गर्नुभयो ।

जेठीलाई टेन्सन दिन, उसको सम्पत्ति हडप्न म कहिले पनि गइनँ । जान पनि चाहिनँ । हाम्रो हातमा शक्ति छ भने अरूलाई पीडा नदिई गरी खनु नै धर्म हो । त्यो सोचेर म बसेँ ।

अहिले मेरो श्रीमान कान्छीले राम्रोसँग खाना दिन्न, रमालाई भेट्न म थियो भन्छन रे । रुन्छन रे । मलाई हिजो त्यसरी अन्याय गरे । म भन्छु, अहिले रोएर के गर्नु त ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप