प्रेरक प्रसङ्ग : बुवाको अर्ती
धेरै समयअघि कुनै समयमा एउटा सहरमा नामुद धनाढ्य बस्थे । उनले कति सम्पत्ति कमाएका थिए भने त्यसको हिसाब किताब राख्नै हम्मे पथ्र्यो । तीन चारवटा महल थिए । दस बीसवटा उद्योग । तीस चालीस वटा त गाडी नै थिए । कतै जानुपर्दा निजी हेलिकोप्टर प्रयोग गर्थे । त्यस्तै परे निजी जहाजै प्रयोग गर्न पनि भ्याइरहेका हुन्थे । आशामुखीहरू र अगाडि र पछाडि ज्यू हजुर गर्दै हिँड्नेहरू त कति थिए कति । समग्रमा भन्नुपर्दा कुनै चिजको कमी थिएन । चुट्कीका भरमा चाहिएको चिज उपस्थित हुन पुग्थ्यो । साथमा दाम थियो सहरमा नाम । ठुल्ठूला राजा–महाराजाहरूसमेत सम्मानको दृष्टिले हेर्थे, सम्मानपूर्वक नाम लिने गर्थे ।
बिस्तारै बूढो हुँदै गए । समयले कसलाई पर्खन्थ्यो र उनलाई पर्खियोस् । जति नै धनी भए पनि समय भनेको समय नै हो । सबैले उसको नियमलाई पछ्याउनैपर्छ । जब बुढ्यौलीले ग्रस्त पार्दैै ल्यायो तब उनले छोरालाई बोलाएर भने–
‘छोरा ! मेरो अन्त्यकाल नजिक आइसकेको छ । डाँडामाथिको घाम हुँ, कति बेला अस्ताउनुपर्ने हो पत्तो छैन । लाग्दैछ चाँडै नै त्यो समय आउँदैछ । जे भए पनि संसारको रीत हो, आएपछि जानैपर्छ । चिन्ता नलिनू, रोईकराई नगर्नू । बाँकी इच्छा खासै छैन । जेजति गर्नु थियो गरिसकेँ, जेजति भोग्नु थियो भोगिसकेँ । मात्र मरेपछि दाहसंस्कार गर्न लाँदा पुरानो मोजा लगाएर लगिदिऊन् भन्ने इच्छ बाँकी छ । आशा छ, त्यो पनि पूरा गरिदिनेछौ ।’
बुवाले के भन्न खोजेका हुन् र किन त्यसो भनेका हुन्, उनले बुझेनन् । किन र ? भनेर सोध्ने अवस्था पनि थिएन । किनकि यसरी सोद्धा किन चाहियो भन्ने रेडिमेड उत्तर आउँछ भन्ने पहिले नै थाहा थियो । त्यसैले स्वीकृति सूचक टाउको हल्लाए । यसबाहेक अर्को विकल्प थिएन ।
नभन्दै एक दुई दिनपछि नै बाबुको मृत्यु भयो । घरपरिवारका सदस्यहरू दाहसंस्कारमा लाने प्रबन्ध गर्न लागे । उनले बाबुको इच्छा सम्झेर र पुरानो फाटेको मोजा लगाएर लाने व्यवस्था गर्न लागे तर मान्ने कोही भएनन् । उनले बाबुले दिएका इच्छापत्र देखाए, पढेर सुनाए पनि तर कसैले पनि सुन्ने कान लगाएनन् ।
गुरुपुरोहित गुहारे । उनीहरूले त झन् मरेपछि यस्ता चिज लगाउन होइन, छुन पनि हुँदैन । अन्यथा मृतकले सद्गति पाउन सक्दैन भनिदिए । उनी बाबुको इच्छा हो, गर्नुपर्छ भन्थे अरू हुँदैन भन्थे । विवाद चर्किंदै गयो । यत्तिकै बाबुको विश्वास प्राप्त एक जना वकिल आइपुगे । उनले सोधे कारण के हो ? सबैले आआफ्नो भनाइ राखे । त्यसपछि उनले छोराको हातमा बाबुको हस्तलिखित एउटा पत्र थमाउँदै भने–
‘यसमा तिम्रा बुवाले केही लेखेर छाडेका छन् यसलाई राम्ररी पढेपछि मात्र निर्णय गर्नू ।’ त्यसपछि उनी पत्र पढ्न लागे, त्यसमा लेखिएको थियो–
‘बाबु छोरा ! देख्दैछौ यति धेरै धन सम्पत्तिको मालिक भएर पनि मरेपछि फाटेको मोजासम्म साथमा लान पाइरहेको छैन । एक दिन तिम्रो पनि अवस्था यस्तै हुनेछ । तिमीलाई पनि यस्तै सेतो कपडामा बेरेर लाने छन्, जसमा सानो खल्तीसम्म पनि हुँदैन । त्यसैले धन सम्पत्ति कमाउँदा कसैलाई पनि दुःख नदिनू । अर्काको श्रम खानुभन्दा ठूलो पाप अर्को हुँदैन भन्ने कुरालाई मूल मन्त्र ठान्नू । गलत काम पनि नगर्नू र गलत तरिकाले सम्पत्ति कमाउने विचार पनि नगर्नू । किनकि मरेपछि यी केही पनि साथमा जाँदैनन् । साथमा जाने भनेको आफूले गरेको राम्रो र नराम्रो काम मात्र हो ।’
उनले बल्ल बुझे बाबुले किन मरेपछि फाटेको मोजा लगाइदिनु भनेका रहेछन् भन्ने कुरा ।
धेरै पहिलेदेखि पढिँदै र सुनिँदै आएको यस प्रसङ्गमा केकति सत्यता छ त्यो त थाहा छैन तर मरेपछि पाप र पुन्यबाहेक साथमा केही जाँदैनन् भन्ने कुरा भने सत्य हो । धन सम्पत्ति कोठामै रहन्छन् । गाईभैँसी गोठमै रहन्छन् । वन्धु, बान्धव घाटसम्म पुग्छन् भने शरीरले चितासम्म साथ दिन्छ । त्यसभन्दा पर कोही जाँदैनन्, जानै सक्दैनन् । साथमा जाने भनेको आफूले गरेको राम्रो र नराम्रो कर्मको संस्कार मात्र हो । राम्रो काम गरेको भए मरेपछि पनि गुणगान गर्ने गर्छन् । नराम्रो काम गरेको भए त्यस्तै व्यवहार गर्नेछन्, जसलाई दुनियाँले स्वर्ग र नरकको संज्ञा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत
-
मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह