शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देश, सङ्कीर्णता र विकासको पोयो

सोमबार, २१ फागुन २०७४, १२ : २६
सोमबार, २१ फागुन २०७४

विगत र आज
प्रतीक्षाको लामो घडीपछि जनताले संविधान पाए । आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थालाई जनमुखी धारमा राखेर संविधान बनेको छ । यो पनि सत्य हो, जनताको चाहना जे हो त्योभन्दा फरक त कुनै पार्टीका नेताहरूको अवश्य पनि छैन । सन् १९४८ बाट नेपालमा लिखित संविधानको इतिहासको बिजाङ्कुरण भयो । वि.सं.२००४ देखि आजसम्म नेपालमा २०७२ समेत गर्दा हालसम्म ७ वटा संविधानहरू जारी भैसकेका छन् । सङ्घीय लोकतान्त्रिक, समावेशी तथा समानुपातिक लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नु वर्तमान संविधानको मूल विशेषता हो । इतिहासलाई खोतल्दा नेपाल आमाका सन्तानले कति सङ्घर्ष गरे त कति पीडा भोगे र भोगिरहेकै छन् । कति आशाका खोपिल्टाहरू पुरिए कति आशामा तुहिए होलान् ।  

१०४ वर्षे राणाहरूको तानाशाही शासन व्यवस्था पश्चात लागू भएको अन्तरिम संविधान २००७ ले शासनसत्ताको सम्पूर्ण अधिकार राजामा निहित गराएको थियो । यस्तै गरेर नेपाल अधिराज्यको संविधान, २०१५ ले बहुदलीय संसदीय व्यवस्थालाई अफापसिद्ध भएको भनी संसद विघटन गर्यो । राजा महेन्द्रले शासनाधिकार आफ्नो हातमा लिएपछि नेपाल विशेष ऐन जारी भयो । यसको परिणाममा नेपालको संविधान, २०१९ को पञ्चायती व्यवस्था लागू भयो । यो पनि २०२३, २०३२ र २०३७ गरी तीन पटक संशोधित भएको इतिहास छ । यस पश्चात राजनीतिक उथलपुथल र विविध घटनाले चर्को रूप लिने क्रममा २०६३ मङ्सिर ७ गते सात दलीय गठबन्धन र सशस्त्र युद्धमा रहेको नेकपा (माओवादी) बीच १२ बुँदे सम्झौता भयो । १९ दिनको लामो जनआन्दोलनको परिणाम स्वरूप प्रतिनिधि सभाबाट राजालाई पुनस्र्थापना गरियो । सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित हुने गरी सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित हुने व्यवस्था भयो । वस्तुत ः नेपाली जनताद्वारा संविधान सभाबाट नेपालको संविधान, २०७२ जारी भयो । आज वाम एकतालाई जनताले स्वागत गरेर जिम्मेवारी पस्किएको छ । विकासे महायज्ञमा बल्ल देश लम्कँदै छ । जनतामा आशा छन् । विकासका महान् अपेक्षा छन् । 

शासक जनताबाट चुनिन्छ । शासन जनतालाई गरिन्छ । शासकले जनताको अहित हुने कुरा त गरेकै हुँदैन । जनता पनि देशकै हित हुनुपर्छ भन्छन् नै । जनताले सुन्दर, विकसित र समृद्ध शान्तिपूर्ण समाजको विकासको नियम कोर्ने प्रयास गरेको करीब ७० वर्ष भएछ । समस्या नआउने समय अवश्य पनि हुँदैन । हिजोका नीति र कानुन आज असान्दर्भिक हुनु पनि नौलो विषय होइन । विधि र नियम समयसँग परिवर्तित हुन्छ नै । यद्यपि देशमा आज पनि फेरि राष्ट्रियताको नाममा महत्वाकांक्षाको खोल ओढिएको तीतो यथार्थ छँदै छ । आखिर सर्वसाधारण जनताले लोकतन्त्र, गणतन्त्र आउँदा के पाए त ? हिजो तिनै जनता यसैको विषयमा मैदानमा उत्रिएकै हुन् । 

जनतामा अड्केको सङ्कुचन
देशमा स्वतन्त्रताका नाममा विखण्डनको स्वर जाग्नु अवस्य राम्रो होइन । जातिगत, धार्मिक मनमुटावको स्वार्थी भावनाले राष्ट्रियतामाथि आँच पुग्छ । नेपालीले नेवार, मधिसे, पहाडे, कामी, बाहुन, क्षत्री भन्दै आफ्नो जातिगत फरकपना छुट्याइरहेको देख्दा कति सङ्कीर्णताभित्र पस्दै छौँ– अचम्म लाग्छ । के हाम्रो जातिगत आफ्नोपनको भाषा, भेष, संस्कृति हाम्रो गौरव होइन र ! हामीले देखेको विभिन्नता त आ–आफ्नो पहिचानको स्रोत हो यद्यपि अनावश्यक किचलोमा अल्झिएर फाटो मौलाएको देख्दा दुःख लाग्छ । नेपालमा अनेकताभित्रको एकता छ, बहुजातिगत वैशिष्ठ्य छ । प्रेमभित्र रमाएको समावेशी समाजले एकताको आफ्नोपनलाई दबाएर हैन सजाएर मौलाउन दिनुपर्छ । विकास त प्रेममा हुन्छ, युद्धमा होइन किनकि जहाँ प्रेम हुन्छ त्यहाँ असमानता, असमावेशी हुने प्रश्नै उठ्दैन । तपाई हामी आपैmँलाई पनि त थाहै छ हामी मानिस हौँ कसले विभेद गर्न सक्छ ।

“म नेपाली हुँ ” कहाँ रह्यो यो भावना ? समाजका अन्धविश्वास तोड्न सक्नुपर्छ भने त्यो प्रेमबाट जति सजिलो छ त्यति दबाबबाट गाह्रो नै हुन्छ । आज जातिपातिका नाराहरूसमाज विकासभन्दा विखण्डनमुखी र स्वार्थ उन्मुख बन्दै गइरहेको देखिन्छ । तर नेपालको अबको परिवेशलाई मजबुत बनाउँदै लैजान मजदुर, सर्वधारण र गरिबी उत्थानजस्ता कार्यक्रमहरू ल्याउन सक्नुपर्छ । हिजोका मेलापात र सुख–दुःखमासँगै मुकाबिला गरिरहेका समाजका विकृत पक्ष सुधार्न आन्दोलनका नारा होइन चेतना र अवसर दिइनुपर्छ । 

पौराणिक इतिहासलाई नियाल्दा धृतराष्ट्रको उच्च महŒवाकांक्षाको परिणाम स्वरूप राज्याधिकार र सन्तान सुख मात्रै खोसिएन इतिहासमा कलङ्कित समेत भइरहनुपरेको छ । आज विदुर त्यै राज्यमा सो घटनाका पात्र हुन् तर सम्मानित किन छन्– युगौँसम्म ? राम राज्यको उपमा किन आजसम्म अमर बनेको छ ? तसर्थ सत्य नै अमर बनेका इतिहास छन् । सत्य राजनीतिभित्र सेवा, सुशासन र बलिदान हुँदो रहेछ । त्यहाँ स्वार्थ र सत्ता लिप्साको महŒवाकांक्षाको नामै रहन्न । हिजोका बीपी, मदन भण्डारीजस्ता व्यक्तिहरू पनि दूधले धोएका नहोलान् तर उनीहरूको त्यागको मूल्यलाई हामीले सलोट त गर्नै पर्छ । यो बाध्यता होइन, स्वेच्छाचारी भावना हो । 

आज देशमा जनतालाई विविध समस्या उत्तिकै छन् जति विगतका व्यवस्थामा पनि नभएका होइनन् । सत्तामा कसरी पुग्ने र टिक्ने यही खेलबाडमा पार्टीको स्वार्थ आज उस्तै छ, यो पुरानै ढाँचा हो । भष्ट्राचार, व्यक्तिगत स्वार्थको पोको, अवसरहरूमा क्षमताभन्दा पार्टीले काखी च्यापेर माथि लैजाने प्रवृत्ति हाबी नै छ । जनता स्वतन्त्र त छन् यद्यपि जति व्यवस्था परिवर्तन भए पनि शासन शैलीमा नैतिक विचलन कम छैन । देश विकास र समृद्धिभन्दा सरकार बनाउने र गिराउने खेलमा नेपाली नेतृत्व धेरै सक्रिय देखिन्छ । 

विकासको पोयो र जटिलता
नेपालमा विकासका अनेकौँ अवसरहरू छन् । अबको यो सरकारलाई अवसरै अवसर छन् । तर समस्या र सङ्कुचनका चाङ पनि उत्तिकै छन् । उद्योग, कलकारखना खोल्ने, जलस्रोत विकास, पर्यटन प्रवर्धन र विकासका कुरा हुन् या खेतीयोग्य जमिनको उपयोगमा श्रमजीवी जनतालाई लगाउने प्रेरणा त कहाँ हो कहाँ जनतालाई अनावश्यक विखण्डनको भूमरीमा पारेर मिलेर बसेका जनतालाई मैदानमा उतारिएको तीता यथार्थ छन् । यद्यपि नेपाली माटोले कसैलाई मधेसी र पहाडी या यो ऊ भनेर चिनाउँदैन । केवल नेपालीको नाममा चिनाउँछ । अर्कातिर प्राकृतिक प्रकोपले देशलाई सङ्कट कालमा पार्यो ।

नाकाबन्दीले असर पार्यो नै तर मधेसी आन्दोलन त घरकै कुरा हो फेरि पनि देशमा अशान्तिमाथि अशान्ति छ । आज देशमा महँगी बढ्दो छ । गरिब वर्गले पीडा बेहोरिरहनुपरेकै छ । जनताको सोचमा पनि खोट र जरो गाडेर बसेका कुविचार छन् । धेरै नेतृत्वमा सेवाको नामबाट दुनु सोझ्याउने भित्री इच्छा नरहेको भन्ने पनि छैनभन्दा अन्यथा नहोला । हरेक रोजगारीमा सीप, दक्षताभन्दा पार्टीगत भागबण्डा छ । जनताकै नाम लिएर सत्ता टिकाउन सहमति, वार्ता र प्रतिपक्षलाई रिझाउने पद्धति लगभग सबैमा छ । प्रजातन्त्र आएपछि जनताले स्वतन्त्रता, मानव अधिकार, शिक्षा र चेतना पायो तर जन एकता ह्रास भएको थिएन ।  लोकतन्त्र र गणतन्त्र आयो कतिलाई यो कुन चराको नाम थाहा थिएन, चुनावी माहोलले आभास दिँदै छ । भ्रष्टाचार र भागबण्डाको सत्तालिप्साले देश जर्जर बनेको हो । नेपाल विश्वमा १२२औँ भ्रष्टाचारी मुलुक बन्नु अनि गतवर्षको तुलनामा अब यो कालोधनका लालची घट्नुको साटो बढ्नुमा भय छ । अबका स–साना नेतादेखि ठूलैसम्मले भ्रष्ट्राचारी लिप्साको अभ्यास त गर्दैनन् ! 

जय पृथ्वीबहादुर जस्ता त्यागी, बलभद्र कालुपाँडेजस्ता समर्पित देशभक्तलाई आजको जस्तो स्वार्थ लिप्सा भएको हुँदो हो त सायद त्यतिखेर जनता कति सङ्कटमा पर्थे होलान्  । आज जनता नै यो सत्ता स्वार्थको खेलको अचानो बनेका छन् । अब त समाज विकास, घरेलु सरसामान खपत, क्षमताका आधारमा श्रम अवसर तथा सम्मान अनि जातिगत विखण्डनबाट आक्रान्त भएको समाज हैन अर्मापर्मा गरेर हातेमालो गर्ने समाजको आवश्यकता छ । आज विकासका लागि छुट्टिएका रकमका कति प्रतिशत सम्बन्धित योजनामा खर्चिन्छ र ? दादागिरी चल्छ, पार्टीगत भागबण्डा शिक्षा, विकास निर्माणमा सबै क्षेत्रमा व्याप्त छ । आज दक्षता पोख्न युवाले श्रमको मूल्य नपाएर समुद्रपारी उड्नु परेको छ । पार्टीगत पहुँच हुनेले पाउँछन्– रोजगार । यहाँ मुखको बोली र गरिने व्यवहारको तालमेलमा विकास हुने वा हुनदिने दुवै अप्ठ्यारा विषय बन्छन् । ज्ञान, सीप र बौद्धिकतालाई पार्टीगत सिद्धान्तको तुलोमा जोखेका विडम्बना आज कम छैनन् । बलिको बोकोभैmँ बनेर सङ्कीर्ण भावको खिचातानीमा जनता सडकमा उत्रिनु दुःखद् मामला हो । नेपालको शान्ति अवस्था दिनानुदिन खस्किरहेको पीडा छ । हिजो द्वन्द्व कालमा सिन्दूर पुछिने, काख रित्तिने पीडितहरूले बिसाएको विलौनालाई खोइ त सुनिएको ? 

असमानताको जर्जरता
सडकमा बेसहारेको रमिता हेर्दै चिल्लो कारमा सुइँइँय हिँड्न सक्नु कस्तो समानता हो र ! यो देशलाई यस्तै विडम्बना भइरहँदा बुद्धको शान्ति सन्देशको उपहास भए भैmँ लाग्छ । यो पनि सत्य हो, हिजोको द्वन्द्वले परिणाममा शान्ति अमन चैन पनि त दिन सकेको छैन । अर्कोतिर यो कुरा सत्य हो – आन्दोलन र असमानता समस्या समाधानका बाटा होइनन् । आज आन्दोलन नगरे कुरै नसुन्ने परिपार्टीले तिललाई पहाड बनाएर समस्या देखा पर्छन् । सबैलाई थाहा छ बिना मेलमिलाप, बिना सम्झौतामा देशले परिवर्तनको सुगन्ध लिन सक्दैन । यसर्थ किचलोमा अल्झिनु भनेको जनताको समय र देशको शक्तिलाई दुरूपयोग गर्नु मात्रै हो । सबैलाई थाहा छ अन्तमा जति पौँठा जोरी खेले पनि मिल्नै पर्छ – माओवादी शान्ति सम्झौता, संविधान निर्माण सबै सहमतिका परिणाम हुन । आज बाम एकताले पाइरहेको विजय एकताकै परिणाम हो ।  

सत्ता नै भागबण्डामा चल्छ । क्षमतावान् पाखा लागिरहन्छन् । सहमतिको चलखेलमा क्षमतावान्को उपहास हुन्छ । आश्वासनको घोचो तेस्र्याएर सत्ताको कार्यअवधि बढाउने र सत्तामा नहुनेहरूलाई त्यहाँ पुग्ने रणनीति अवस्य हुन्छ तर विकासका योजनाका कुरालाई सरकारमा नभएको खण्डमा कुनै पार्टीले रणनीति बनाएर अपनाउन सक्दैन । चाहे प्रतिपक्षी होस् या त सत्तासीन स्पष्ट रूपमा विकासका एजेन्डा लिएर हिँड्दैन भने अबको युगको समाजले पाखा लगाउँछ । यदि त्यसरी हिँडेमा त्यो पार्टीले चुनावमा भोट माग्ने आवश्यकता छैन । यो कुरालाई त जनताले मूल्याङ्कन गरिरहेकै हुन्छन् नि । अब जनतालाई सिद्धान्त हैन विकास र अवसर चाहिएको छ । अब जनता नेताका आश्वासनमा अड्केर बस्न चाहँदैनन् । जय पृथ्वीबहादुर सिंहले भैmँ छिमेकी दुवै मुलुकमा कूटनीतिक वैदेशिक सम्बन्ध राख्दै साँच्चै राष्ट्रिय स्वार्थमा लाग्ने हो भने सबै खाले विकास सम्भव देखिन्छ । हिजो सार्क शिखर सम्मेलनमा भएको बानेश्वर मार्गको विकास निर्माणमा भैmँ विकास अघि बढेमा के सम्भव छैन र ? द्वन्द्व, झगडा, अत्याचार वास्तवमा कसैको हितमा रहँदैन । जनता आपैmँ आन्दोलन, चक्काजाम, बन्द हड्तालबाट हैरान छन् । यसबाट हुने क्षतिको रकमलाई विकास निर्माणमा मात्रै लगाएको भए जनताले चाहेका कति इच्छा धेरै पहिला नै पूरा भइसक्थे सायद । 

क्षमता र बौद्धिकतामा प्रहार
अब तल्लो वर्ग वा दलित, पिछडिएका कमजोर वर्गलाई उकास्ने नाममा माथि उक्सिएकालाई दबाउने खालका सङ्कुचनबाट माथि उठ्न सक्नुपर्छ । तल्लो वर्गलाई उकास्ने नाममा बौद्धिकतालाई कुण्ठित गर्दै जाने हो भने भोलिका भविष्य निर्माता कस्ता जन्मेलान् ? बाहुनवाद, पहाडिया भनिन्छ भने त्यो केवल स्वार्थको राजनीति हो तर बौद्धिकता, सीप र दक्षता खुला रूपमा पोखिनुपर्ने विषय हो– यसलाई राजनीतिक खोल ओढाउनु आपैmँमा राष्ट्रिय न्याय सङ्गत हुँदैन । यो देशको हरेक नागरिकलाई सबै खाले हकमा बराबरी अधिकार नभए त्यो कसरी समानताको हक भयो भन्ने मेरो विचार हो । अर्को पक्ष हामीले जातको आधारबाट नेपालीलाई उकास्ने एजेन्डा बोकेर होइन गरिबी निवारण र सचेतनाबाट यी विकृत सोचलाई बदल्न छिटो हुन्छ । दलितले बाहुनलाई गाली गरेका आवाज सुन्दा मलाई एकताको साङ्लो काट्न चाहेको जस्तो लाग्छ । दुःख लाग्छ मेरो अनन्य मित्र आज मलाई बाहुन, काठा भनेर गाली गर्छन् अनि प्रश्न गर्न मन लाग्छ मैले तिमीलाई कुन ठाउँमा बिराएँ । मलाई त्रि.वि.ले बाहुन भएकैले सर्टिफिकेट घरमा ल्याइदिएको भए, मलाई सरकारले लोकसेवामा नपढी जागिर सुम्पेको भए म अँ त्यो कुरामा विभेद छ भन्थेँ, के म गलत छु । के अब त म पिल्सिएको वेदना बोल्न सक्दिन । म समानता देख्छु, मानव हौँ भन्दै छु तर यहाँ विखण्डित सोचले भाइचारा मारिन्छ भने त्यो कसरी एकता हुन सक्ला त । कोटाका आधारमा बौद्धिकता जोख्नु समानता पनि त हैन । क्षमताका आधारमा निष्पक्ष रूपमा लड्ने अवसर दिनु राज्यका लागि आवश्यक छ । समाजको रुढीवादी र सामन्ती संस्कारलाई हटाउन जाति र वर्गलाई होइन गरिबीको रेखाभित्र राखेर अवसर दिइनु उपयोगी हुन्छ । वास्तवमा एक पुस्ताबाट अर्को पुस्तासम्म आइपुग्दा कतिपय कुराहरूसमयसँगै परिवर्तित भइरहेकै हुन्छन् । आधुनिक समाजले चेतना बढाउँदै लगिरहेको हुन्छ । यहाँ त हजुरबुबाको गल्तिको सजाय नातिले भोगेको अवैज्ञानिकता भैmँ पनि लाग्छ । इन्जिनियर, पाइलट या डाक्टर, शिक्षक वा अन्य कर्मचारी नै किन नहुन सबै सिप र दक्षताका आधारमा मात्र तोल्न सकिने कुरा हुन्  किनकि यो त बौद्धिक विषय हो ।

हिजो घोडालाई कोर्रा लगाउने युरोप आज औद्योगिक क्रान्तिमा होमिरहँदा हामी जातिपातिका मतभेदमा यहाँ लडिरहेका छौँ । बुद्धले रगतको खेल नखेल भन्दै गर्दा हामी भने हिटलरको नीतिमा रगतभित्र मुछिन खोजिरहेका छौँ । अब लोपोन्मुख, सीमान्तकृत क्षेत्रतिर विकासका पक्षहरूलम्किनु जरुरी छ । हिजोको सामन्त समाज, दास दासी बन्नु परेको समाजबाट माथि उठ्दै गर्दा यहाँ मरुभूमिमा बगाइरहेका नेपालीका रक्त पसिनाले भिजेको रेमिट्यान्समा आज पनि मालिकजी ठूलो होटलमा उत्तिकै मजा लुटिरहेका छन् । भोगवादी समाज आज पनि कम छैन यद्यपि दासले मैदानमा आउन सिके, मैदान पाएनन्, मैदानमै लडिरहेका छन् । बाजे निधारभरि चन्दनको लेपन लगाएर राम नाम भज्दै गर्दा नाति गिटारको सुरमा र्याप गानामा मस्त हुन्छ, त्यहाँ छ असमानता । बाजे बालुन र बज्यै मारुनी नाच्दै गर्दा छोरो रिमिक्स रक, पपको डान्समा मस्त हुन्छ । कतै चाहेर असमानता छन् त कतै बाध्यतामा । जागरण र औद्योगिक क्रान्तिको युगमा थोत्रो बन्दुक तेस्र्याएर बोल्नै नदिने बुख्याँचाहरूले तर्साइरहेका छन् ।

हामीले मङ्गल ग्रह ताक्न सिकेनौँ बरु शरीरै नढाक्ने कपडा लगाउन सिक्यौँ । अब हामी वर्तमानको स्वर्ण युगमा छौँ तै पनि यही ढाँचाबाटै चलिरहने हो भने भावी सन्ततिको युगले यो युगलाई देखेर भ्रष्टाचारी सत्तालिप्साको युगको उपनामले सम्बोधन गर्नेछन् । अर्थात् मौखिक आश्वासन युगको नामले सम्बोधन गर्लान् । तसर्थ अब सचेत समावेशी समाज विकासका निम्ति, राष्ट्रिय समस्याहरूको निकासका निम्ति सचेत समावेशीकरणको खाँचो छ । राष्ट्रिय समर्पण शक्तिको आवश्यकता छ । यो सबै नेपालीको आवश्यकताको विषय हो । 
[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश भट्टराई ‘सहृदयी’
रमेश भट्टराई ‘सहृदयी’
लेखकबाट थप