मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

मङ्गलबार, २८ चैत २०७९, २१ : ३७
मङ्गलबार, २८ चैत २०७९

आज २०७९ चैत २८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

मन्त्रिपरिषद् बैठक

सरकारले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाएको सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन शाहसँग आवश्यक छलफल गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर बालेन शाहले सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने भनेर गरेको घोषणालाई गम्भीर रूपमा लिँदै आवश्यक कुराकानी र छलफल गर्ने निर्णय गरेको हो ।

सरकारले विदेशबाट आयात गर्ने तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आयात हुने तरकारी खाद्यान्न मापदण्ड पुरा भएका मात्रै आयात गर्ने भएको हो । 

टीआरसी विधेयक

प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । बालुवाटारस्थित सभामुख निवासमा बसेको छलफलमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन दलहरूबीच सहमति भएको छ । यसका लागि विषय र प्रक्रियामा पुनः छलफल गर्न दलहरु तयार भएका छन् । 

ढाकाकुमारसँग बयान

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको छ । रास्वपा अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको हो ।

शिक्षा मन्त्रालयको चेतावनी

शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका विद्यालयहरूले आफूखुसी जथाभाबी ढंगले शुल्क उठाएको भन्दै सचेत गराएका हुन् ।

चितवनको ‘कर्णाली’ इच्छाकामना

 संसद्मा नेताहरूले कर्णालीको विकासका बारेमा चर्को बोल्छन् । कर्णालीवासी नेपाली हुन् कि होइनन् भनेर सभामुखसँग प्रश्न गर्छन् । कर्णाली विकट छ । कर्णालीको विकासका लागि राज्यले पहल गर्नुपर्छ । यसमा प्रायः सबै सांसद एवं दलका नेताहरू एकमत नै छन् । तर दिनहुँ सयौँको सङ्ख्यामा सवारी आहोरदोहोर गर्ने महेन्द्र राजमार्गमा अवस्थित मुग्लिन सडक खण्डबाट डेढ किलोमिटरमाथि रहेको पहाडी बस्तीमा अवस्थित स्याक्ल्याङको पीडा कसैले बोल्दैन । 

स्वर्णिमलाई दिनभर पछ्याउँदा

 सोमबार बिहान ठिक साढे ७ बजे दमौलीमा रहेको एक होटलबाट स्वर्णिम वाग्ले र उनका सहयोगीको गाडी तनहुँको बैरेनीतिर लाग्यो । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत व्यास नगरपालिकाका विभिन्न वडाहरूमा पुगेर भोट माग्ने कार्यक्रम अन्तर्गत उनी निकै हतारोमा हिँडिरहेका थिए ।

माओवादी केन्द्रका विभाग 

नेकपा माओवादी केन्द्रका ३४ विभागमध्ये अधिकांश विभाग निष्क्रिय देखिएका छन् । यद्यपि संगठन विभाग, स्कुल विभाग र जलस्रोत तथा ऊर्जा विभाग गरी तीन विभाग अत्यन्तै सक्रिय छन् । अरू सात विभाग पनि तुलनात्मक रूपमा सक्रिय नै देखिएका छन् ।

‘फर्मुला मिल्क’ को आयात बढ्दो

शिशु जन्मिएको दुई वर्षसम्म आमाले स्तनपान गराएमा बच्चाको शारीरिक तथा मानसिक विकासमा अति महत्त्वपूर्ण साबित हुने चिकित्सकहरू बताउँछन् । बालरोग विशेषज्ञहरूका अनुसार बच्चा जन्मेको ६ महिनासम्म आमाको दूधमात्रै खुवाउनु पर्छ ।

युवती बनेर युवकले ठगे ६० लाख

करिब एक वर्ष अगाडि लाजिम्पाटका एक व्यापारीको फेसबुकको ‘पिपल यु मे नो’ क्याटेगोरीमा एउटा नाम र तस्बिर देखापर्छ । सृष्टि पौडेलको नाममा एक सुन्दर युवतीको तस्बिर भएको प्रोफाइल देखेपछि ती व्यापारीले युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाए ।

दलितको मन किन चिर्छ सरकार ?

टाटी र टिनको छानो भएको झुपडीले दुई धुरजति जग्गा ओगटेको होला । ऐलानी जग्गामा बनेको आफ्नो घरले कति जमिन ओगटेको छ भन्ने झुपडीधनी ४५ वर्षीया कबुतरी सदायलाई थाहा छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप