कवाडी सामान ‘गायब’ पार्ने नेपाल बैंकका शाखा प्रबन्धकको दाउ असफल
विराटनगर । नेपाल बैंक विराटनगरको नाममा रहेको दुहबी नगरपालिका सुनसरीस्थित नारायण भेजिटेबल प्रा.लि.को गैरबैंकिङ सम्पत्ति बैंककै शाखा प्रबन्धकले हिनामिनाको प्रयास गरेको खुलेको छ ।
बैंकका शाखा प्रबन्धक दम्बर बहादुर भण्डारीले उक्त भेजिटेबल प्रा.लि. परिसरमा रहेको १२ लाख रुपैयाँ भन्दा बढीको मालसामान रातारात गायब पार्न खोजेका हुन् । ‘कुनै समन्वय तथा जानकारी बिना आफूखुसी सो भेजिटेबल परिसरको सम्पत्ति चोरी गर्ने प्रयास भएको छ,’ नेपाल कारखाना श्रमिक संघ कोशी प्रदेशका अध्यक्ष रमेश थापाले भने, ‘दुईवटा गाडीमा सामान लगिसकेपछि मजदुरले थाहा पाएर रोकेको रहेछ ।’
शाखा प्रबन्धक भण्डारी चैत २६ गते साँझ एक जना सेक्युरिटी गार्ड लिएर त्यस ठाउँमा पुगेका थिए । त्यस प्रा.लि.मा रहेका १७५ जना कामदारले १५–१६ वर्षदेखि अझै पारिश्रमिक पाएका छैनन् । पारिश्रमिक पनि नदिने र उद्योगका भएका कवाडी सामान पनि लिएर जान लागेपछि उनीहरुले गाडी रोकेका थिए ।
‘भएको मालवस्तु त्यहाँको मेनेजरले बोलपत्र आह्वान नै नगरी, सूचना पनि जारी नगरी बिना अनुमति उठाएर लान खोजेपछि हाम्रो मान्छेले रोकेको हो,’ थापाले भने ।
पीडित कामदारले सामान लैजान नपाउने भन्दै लोड गरेको सवारी साधनलाई रोकेपछि विवाद भएको थियो । विवादपछि उक्त सामान दुहबीस्थित प्रहरी कार्यालयमा २६ गते राति राखिएको र २७ गते आवश्यक समन्वयमा नेपाल बैंक विराटनगर शाखाको गोदाममा ल्याइको छ । स्रोतका अनुसार कवाडी चोर्ने सेटिङमा शाखा प्रबन्धक दम्बर बहादुर भण्डारीले माथिल्लो निकायसँग मिलेमतो गरेका हुन् ।
नारायण भेजिटेबल्स प्रालि नेपाल बैंकको ऋणी थियो । २०६३ सालमा बैंकको सबै सम्पत्ति आइसकेको नेपाल बैंकले जनाएको छ । हाल बैंकलाई उक्त भेजिटेबल्स र अन्नपूर्ण सोपले मात्रै ७७ करोड रुपैयाँ कर्जा चुक्ता गर्नुपर्नेछ ।
आफ्नो नाममा सम्पत्ति आइसकेपछि बैंकले सुरुवातमा चार जना सेक्युरिटी गार्ड राखेको थियो । पछि धेरै खर्च भयो भनेर २ जनामा झारेको छ । १–२ वर्ष अगाडिदेखि भने कुनै पनि सेक्युरिटी गार्ड राखिएको छैन । विराटनगर शाखाका प्रबन्धक दम्बर बहादुर भण्डारीले भने बैंकको नाममा रहेको सम्पत्ति चोरी हुन थालेपछि आफूले सामान उठाएर ल्याउन खोजेको बताए ।
‘फटाहाहरुले सामान काटेर थुपारेछन् । त्यसपछि मलाई फोन आयो । सामानलाई अफिसमा लगेर राखौं भनेर लोड गरिएको हो । त्यसपछि त्यहाँका मजदुर नेताहरुसँग विवाद भयो । दिउँसो एक–डेढ बजे गएको हो । चोरले लानुभन्दा अफिसको गोदाममा लगेर राख्न खोजेको मात्रै हो,’ उनले भने, ‘२ वटा सानो गाडीमा र २ वटा ठूलो गाडीमा सामान ल्याएका छौं ।’
पूर्व कर्मचारी माधवकुमार चौधरीका अनुसार त्यहाँ दुईवटा कारखाना नारायण भेजिटेबल र अन्नपूर्ण सोप छ । जसको नाममा साढे ७ बिगाहा जग्गा छ । त्यहाँ अझै १७५ जना कामदार कार्यरत छन् । अहिलेसम्म कुनै पनि निकायले रकम दिलाउने पहल नगरेको चौधरी बताउँछन् । ‘काम गरेको १६–१७ वर्ष भइसक्यो । कर्मचारीले पाउनु पर्ने रकम पौने ६ करोड रुपैयाँभन्दा बढी छ,’ उनले भने ।
२६ गते १० देखि १५ जना लेबर लगाएर सामान लोड गर्दै गरेको देखेपछि कर्मचारीले रोकेको उनले बताए । त्यस क्रममा बैंकका मेनेजरलाई नै आक्रमणको प्रयास भएको थियो ।
उद्योगको मालिक अग्रवाल समूहमा सुरेश अग्रवाल, सुवोध अग्रवाल र कृष्ण अग्रवाल हुन् । सुवोध र कृष्ण अग्रवाल भने भारततिर छन् । सुरेश अग्रवाल भने हाल नेपालमै छन् ।
बैंकिङ ठगी कसुरमा दोषी ठहर भएपछि उनीहरु तीनै जना २०६३ सालमा तीन वर्ष जेल परेका थिए । जेलबाट छुटेपछि दुईजना भारत लागेका हुन् । हाल नेपाल बैंकले कृष्णकुमार अग्रवालको नाममा दर्ता भएको जग्गा साविक दुहबी गाविस–४ (हाल दुहबी नगरपालिका) कित्ता नम्बर १५६ को डेढ कठ्ठा, कि.नं. १६० को २ बिगाहा १५ कठ्ठा, कि. नं. १५८ को ३ कठ्ठा ८ धुर, साविक सोनापुर गाविस वडा नम्बर २ को कि.नं. १०३ को ७ कठ्ठा ८ धुर, कि.नं. १५१ को ३ कठ्ठा १२ धुर, कि.नं. १५३ को ८ कट्टा ६ धुर जग्गाका लिलामको सूचना निकालेको छ ।
यो सूचना निकालेपछि मजदुरहरुले श्रम कार्यालयमा निवेदन हालेर मालपोत कार्यालय सुनसरीबाट जग्गा बिक्री रोक्का गरेका छन् ।
नेपाल बैंक विराटनगर शाखाका मेनेजर भण्डारीले गलत मनशायले सामान उठाउन खोजेको मजदुरहरुको भनाइ छ । त्यहाँ भित्रको कवाडी सम्पत्ति विगत एक वर्षदेखि हराउन थालेको छ । झण्डै ५० लाखको सामान हराएको उनीहरुको दाबी छ । उनै भण्डारी शाखा प्रमुख भएर आएपछि सामान चोरी भइरहेको मजदुरहरु बताउँछन् ।
स्रोतले दिएको जानकारी अनुसार पछिल्लो पटक १२ लाखमा मेसिनको सामान विक्री गर्ने योजना भण्डारीले बनाएका थिए । ‘प्रक्रियाबाट जानुपर्नेमा चोरी गर्ने नियतका साथ सामान लिन गए । सामान काटेर टुक्राटुक्रा पारिएको भेटियो । माल चोरी भयो भनेर गायब पार्न खोजेको देखियो,’ स्रोतको दाबी छ, ‘अहिलेसम्ममा ५० लाखभन्दा बढी मूल्यको कवाडी सामानहरु चोरी भइसकेको छ ।’
उद्योगमा महँगो महँगो प्लान्ट छ । त्यहाँ लाखौंको सामान अहिले पनि रहेको मजदुरहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ‘टुरिजम कन्केल्भ’ हुँदै
-
लघुवित्तको वित्तीय विवरण अब एनएफआरएस प्रणालीबाट
-
अखिल भारत नेपाली एकता मञ्चको राष्ट्रिय सम्मेलनको मिति तय, प्रचण्डलाई निम्ता
-
मुख्य सेयरधनीलाई लघुवित्त संस्थाको सीईओ र कर्मचारी बन्न कडाइ
-
मुस्ताङको रूपान्तरणलाई झल्काउने पानारोमा फोटो प्रदर्शनी (तस्बिरहरु)
-
८० अर्बको निक्षेप उपकरण आज बोलकबोल