विकास नदेखेको चितवनको ‘कर्णाली’ इच्छाकामना
काडमाडौँ । संसद्मा नेताहरूले कर्णालीको विकासका बारेमा चर्को बोल्छन् । कर्णालीवासी नेपाली हुन् कि होइनन् भनेर सभामुखसँग प्रश्न गर्छन् ।
कर्णाली विकट छ । कर्णालीको विकासका लागि राज्यले पहल गर्नुपर्छ । यसमा प्रायः सबै सांसद एवं दलका नेताहरू एकमत नै छन् । तर दिनहुँ सयौँको सङ्ख्यामा सवारी आहोरदोहोर गर्ने महेन्द्र राजमार्गमा अवस्थित मुग्लिन सडक खण्डबाट डेढ किलोमिटरमाथि रहेको पहाडी बस्तीमा अवस्थित स्याक्ल्याङको पीडा कसैले बोल्दैन ।
चितवनस्थित इच्छाकामना गाउँपालिका वार्ड नं. ४ मा अवस्थित स्याक्ल्याङमा चुनाव जितेपछि अहिलेसम्म कोही सांसद पुगेका रहेछन् । गएको संविधान सभाको निर्वाचनमा चितवनबाट जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत स्याक्ल्याङमा अहिलेसम्म पाइला टेकेका छैनन् । चुनावमा सहर र सुगमकेन्द्रित नेताहरूको घरदैलो हुन्छ । तर विकट पहाडी भेगमा नेता टेक्ने त परैजाओस्, गाउँपालिकाका अध्यक्षसमेत पुग्दैनन् ।
चितवनबाट २०६४ मा माओवादीका नारायण दाहाल, २०७० मा एमालेका कृष्णभक्त पोखरेल, २०७४ मा पनि पोखरेलले जिते । २०७९ मा लामिछानेले जिते । तर स्याक्ल्याङमा यीमध्ये कुनै नेता पुगेका छैनन् । नेता सबै ठाउँमा पुग्न सक्दैनन् तर नेता नपुगे पनि विकास पुर्याउनुपर्ने जिम्मेवारीबाट पन्छिनु वा सुगम क्षेत्रलाई नै अझ बढी विकास गर्ने भन्ने नेताहरूको कार्यशैलीले बताउँछ ।
मुग्लिनबाट डेढ किलोमिटर उकालो कच्चीबाटो (दुई सय मिटर मात्रै ढलाने बाटो)मा सामान्य सवारीसाधन पुग्न सक्दैनन् । ‘फोर ह्विलर’ सवारी मात्रै पुग्छन् । स्याक्ल्याङ हुँदै अझ विकट गाउँहरू गैरीगाउँ, कमलावारी, तीनघरे, डाँडागाउँ, कुरिनभित्ता, डाँडावारी, केरावारी, साराथोक पुग्ने बाटो पनि एउटै छ । २०६४ मा बाटोको ट्र्याक खनिएको रहेछ । यो वर्ष मात्रै जम्मा दुई सय मिटर बाटो ढलान गरिएको छ ।
मगरहरूको बाहुल्यता रहेको स्याक्ल्याङमा रातोपाटी टिम पुग्दा ३९ वर्षीय दुर्गा थापामगर चर्को घाम छेक्न दैलो नजिकै सुतिरहेका भेटिए । उनलाई कुनै चुनावी चटारो छैन । घरका परिवार र पालिएका सुँगुर, बाख्रा र कुखुराको हेरचाहमै दुर्गाको दैनिक चलेको छ ।
स्याक्ल्याङमा प्रायः घरघरै कुखुरापालन व्यवसाय गर्नेहरू भेटिए । त्यसमध्ये दुर्गा पनि पर्छन् । कसैको पनि खेत छैन । घर नजिकको बारीको पाटा लगाइएको गहत, मकै र कोदो उब्जाउ गरेर उनीहरूले जीवन व्यथित गर्दै आएको बताउँछन् दुर्गा । उमेर जिम्मेवारी लिने नभए पनि सानैमा बाबुआमाको मृत्यु भएपछि उनको काँधमा आफू, श्रीमती र तीन छोरालाई कसरी दुःखरहित ढङ्गले बाँच्ने भन्ने नै छ । भन्छन्, ‘यहाँ नेता आउँदैनन्, तल तल मुग्लिन, कुरिनटार र केवलकारमा पुग्छन्, भाषण गर्छन्, आश्वासन बाँडेर फर्किन्छन् । हामी नेता चिन्छौँ तर नेताले हामी र हाम्रो दुःखलाई कहिल्यै चिनेनन् ।’
अचम्मको कुरा त दुर्गाका तीन छोरा तीनतिर पढ्दैछन् । जेठो समिरले भर्खरै कुरिनटारबाट एसईई दिए, माइलो अमिर आधारभूत माविमा पढ्छन् र कान्छो चक्रदेवी आधारभूत विद्यालयमा पढ्छन् । किन छोराहरू फरक फरक विद्यालयमा पढाएको भन्ने प्रश्नमा दुर्गाले भने, ‘यहाँ विद्यालय नै त्यस्तै छ, कतै पनि १० सम्म पढाउने माध्यमिक स्तरको विद्यालय छैन, अनि जता सजिलो उतै पढाउने त हो नि ।’ दुर्गाको जेठो छोरा क्याम्पस पढ्न कुरिनटार पुग्नुपर्छ । जबकि घरदेखि कुरिनटारसम्म पुग्न एकदेखि डेढ घण्टा पैदल जानुपर्छ ।
इच्छाकामना–४ मा सातवटा विद्यालय छन् । सबै विद्यालयमा गरी तीन सय विद्यार्थी पढ्छन् । शिक्षकको दरबन्दी भने प्रत्येक विद्यालयमा ६ देखि सात जनासम्म छन् । राम्रो पठनपाठनको माध्यमिक स्तरको विद्यालय नहुँदा स्थानीयले खेपेको सास्ती सोचिनसक्नुको भेटियो । सरकारले विद्यालयको भौतिक संरचनासँगै प्रशासनिक खर्चमा समेत ध्यान नदिएको प्रष्ट देखिन्छ । एउटै विद्यालय पहिरो जोखिममा जाने भएपछि पर्खाल लगाउन ३२ लाख रुपैयाँ खर्च हुँदैछ ।
सरकारले सबैलाई साक्षर बनाउने अभियान सुरु गरे पनि विद्यालयको विविधताले गर्दा स्याक्ल्याङमा बालबालिकाले कष्टकर रूपमा पढ्दै आएका छन् । तीमध्ये दुर्गाका तीन बच्चा उदाहरणीय पात्र मात्र हुन् ।
शिक्षाबाट पिछडिएको स्याक्ल्याङ स्वास्थ्य सेवाबाट पनि उत्तिकै पछि परेको छ । सामान्य बिरामी पर्दा कुरिनटार र गम्भीर बिरामी पर्दा भरतपुर नै लैजानुपर्ने बाध्यता स्याक्ल्याङवासीमा छ । ‘नेतालाई जिताएर पठाएपछि गाउँ फर्किंदैनन्, हामीलाई अरू केही नदिए पनि एउटा राम्रो माध्यमिक तहको विद्यालय र थोरै शय्याको भए पनि अस्पताल भए, धेरै राम्रो हुन्थ्यो, दुर्गाले रातोपाटीसँग मलिन स्वरमा भने, ‘खै अब फेरि लामिछाने उठेको छ क्यार, केही गर्ला कि । बोलेर मात्रै विकास हुने भए धेरै नेता बोलेर गइसके ।’
रविले स्याक्ल्याङमा खुट्टा नटेके पनि गृहमन्त्री हुँदा भारतबाट आयात हुने कुखुरा रोकेपछि उनीहरू हर्षित भएका रहेछन् । कारण त्यतिबेला ब्रोइलर कुखुराको भाउ अलि बढी पाएका रहेछन् स्याक्ल्याङवासीले । अहिले फेरि भारतको कुखुरा नेपाल भित्रिन थालेपछि भाउ घटेको भन्दै उनीहरू चिन्तित देखिन्थे ।
स्याक्ल्याङमा भखर्रै मात्र प्रावि तहमा शिक्षा सेवा आयोगबाट लिइएको परीक्षामा नाम निकालेर बसेका भम राना सानी छोरी खेलाइरहेको भेटिए । उनले ‘कहाँबाट आउनुभयो’ भन्दै सोधखोज गरे । सरकार र राजनीतिक अस्थिरताकै कारणले स्याक्ल्याङवासीले पीडा भोग्दै आएको बुझाइ रानामा देखियो । उनले भने, ‘नेताहरू धेरै देखिए, चुनावमा गरेका वाचाहरू पनि अहिले मानसपटलमा ताजै छ । हामीलाई अहिले तत्कालै बाटो र स्वास्थ्य जाँच गर्ने डाक्टरसहितको स्वास्थ्य चौकी भइदिए धेरै राम्रो हुन्थ्यो ।’ २०६७ तिर बिजुली पुगेको स्याक्ल्याङवासीले अहिले फोन गर्नुपर्यो भने डाँडामा चढ्नुपर्ने अवस्था छ । एनसेलले टावर बनाउने भनेर लामिडाँडामा जग्गा खरिद गरे पनि टावर नराखेको र नेपाल टेलिकमको टावरले काम नगरेको राना बताउँछन् ।
चितवनबाट कृष्णभक्त पोखरेलले दुई पटक सङ्घीय निर्वाचन जिते पनि स्याक्ल्याङवासीको जीवनस्तर उकास्न केही नगरेको बुझाइ रानाको छ । बरु प्रदेशका पूर्वसांसद घनश्याम दाहालको पहलमा बाटोको ढलान, पहिरो व्यवस्थापनलगायत काममा डेढ करोड रुपैयाँभन्दा बढी बजेट ल्याउन पहल गरेको उनी बताउँछन् । भने, ‘जितेर गएका सांसदले केही गरेनन्, उनीहरूले नै फेरि जिते । तर हारेर गएकाले अझै पनि विकासमा पहल गरिरहेका छन् ।’
सातवटा वडा कार्यालयहरू रहेको यो गाउँपालिकामा मुग्लिन, कुरिनटार र केवलकारबाहेक अधिकांश ठाउँहरू विकट छन् ।
स्याक्ल्याङ, गैरीगाउँ, कमलावारी, तीनघरे, डाँडागाउँ, कुरिनभित्ता, डाँडाबारी, केराबारी, सोराथोकजस्ता विकट पहाडी भूभाग रहेको यो गाउँपालिकाको विकासको मोडल अझै विकेन्द्रीकृत हुन सकेको छैन ।
सोराथोक र केराबोटका स्थानीयवासीहरू बजार र गाउँपालिकाको कामले जानुपर्दा कुरिनटार झर्छन् । तार्पिन र खर्पनका स्थानीहरू मुग्लिन झर्छन् । गैरीगाउँ, कमालाबारी, तीनघरे, डाँडागाउँ र साराथोकवासी कुरिनटार झर्छन् ।
बजेटको रकम खर्चमा अपारदर्शिता
इच्छाकामनाको यो आर्थिक वर्षको बजेट मात्रै झन्डै ७० करोड रुपैयाँ छ । गाउँपालिकाको आफ्नो स्रोतको बजेट भने २१ करोड ६२ लाख ७० हजार हो । गाउँपालिकाको स्रोतबाहेक प्रदेश र सङ्घीय सरकारको ससर्त तथा विशेष अनुदानबाट ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँको बजेट गाउँपालिमा जाँदै आएको छ । तर बजेटअनुसार गाउँपालिकाको विकास विकेन्द्रीकरण हुन सकेको देखिँदैन ।
गाउँपालिकाले आर्थिक विकास, पशु, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी, सामाजिक विकास, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवद्र्धन, युवा तथा खेलकुद, लैङ्गिक समानता, पूर्वाधार विकास, सहरी विकास तथा भवन, ऊर्जा तथा जलस्रोत सिँचाइ, सञ्चार, वातावरण संरक्षण र सुशासन शीर्षकमा बजेट छुट्याएको छ । बजेटमा उल्लेख गरिएको रकम हेर्दा धेरै भौतिक पूर्वाधार र सहरी विकासमा गाउँपालिकाको प्राथमिकता देखिन्छ । तर विकासको मोडेल भने कुरिनटारदेखि मुग्लिनसम्मको सुगम क्षेत्रमा मात्रै केन्द्रित छ । जनताको जीवनस्तर उकास्नेतर्फ गाउँपालिकाले खासै काम गरेको देखिँदैन । गाउँपालिकाले आर्थिक विकास तथा रोजगारी र कृषि क्षेत्रमा खासै बजेट विनियोजन गर्न सकेको देखिँदैन ।
अहिले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेकपा एमालेबाट निर्वाचित भएका हुन् । सङ्घमा चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, २ मा रवि लामिछाने र तीनमा राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका थिए । चितवन दुईमा भने पुनः निर्वाचनको तयारी चलिरहेको छ । प्रदेशमा चितवन १ को १ बाट एमालेका जगन्नाथ थपलिया, १ को २ बाट एकीकृत समाजवादी पार्टीका कृष्णप्रसाद शर्मा खनाल, २ को १ बाट एमालेका कृष्णप्रसाद सिलवाल, २ को २ बाट कांग्रेसका उत्तम जोशी, ३ को १ बाट राप्रपाका गिरबहादुर तामाङ र ३ को २ बाट माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित भएका थिए । सङ्घीय र प्रदेश सांसदहरूले पनि चितवनका यस्ता विकट क्षेत्रहरूलाई बेवास्ता गरेको स्थानीयवासी बताउँछन् । अन्य क्षेत्रका सांसदहरूले चितवन २ को १ अन्तर्गत पर्ने इच्छाकामनाजस्ता गाउँलाई प्राथमिकतामै राख्दैनन् । सोही क्षेत्रमा जितेका सांसदहरू आफ्नै स्वार्थमा लाग्दा त्यस क्षेत्रको विकास र जनताका जीवनस्तरका मुद्दाहरू उनीहरूको प्राथमिकतामा पर्दैनन् ।
चितवन २ अन्तर्गत भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छ । महानगरका १० वटा वडाहरू चितवन २ अन्तर्गत रहेका छन् । अन्य दुई पालिकाको सम्पूर्ण भूभाग यस क्षेत्रमा पर्छन् । भरतपुरका १ देखि ५, ७, १०, ११, १२ र २९ वडाहरू चितवन २ मा पर्छन् । यस क्षेत्रमा गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि ४८० नयाँ मतदाता थपिएका छन् । यस क्षेत्रमा कुल एक लाख २४ हजार ६ सय ९५ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन भरतपुरले जनाएको छ । चितवन २ को निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ४३ मतदानस्थलमा १३८ मतदान केन्द्र तोकेको छ ।
नेता नचिनेकी पानमाया
इच्छाकामना–५, कोयलघारीकी पानमाया गुरुङलाई चुनाव र नेताभन्दा पनि कसरी जीवन चलाउने भन्नेमै चटारो छ । श्रीमान् कामका लागि बिहानैदेखि निस्केर एकैपल्ट साँझ घर छिर्ने भएपछि तीन बच्चाको स्याहारसुसारमै पानमायाको दैनिकी बित्छ । पानमायाकी श्रीमान्लाई पनि चुनावमा हिँड्न भनेर नेताहरू आएका थिए । तर उनले रोकिन । ‘एक दुई दिन जीवन चलेर हुँदैन, नेता चुनावमा जितेपछि गाउँ छिर्दैनन् । हामीलाई यही गाउँमा काम गर्नुपर्छ,’ पानमाया भन्छिन्, ‘गरिबको दुःख बुझ्ने कोही नेता आएनन् । आफैँ कसरी धनी हुने भन्ने मात्रै सोच भएका आए । बोलेर जान्छन् तर काम गर्दैनन् ।’
अहिले चितवनबाट उठेका उम्मेदवारहरू कसैलाई पनि चिन्दिनन् पानमाया । भन्छिन्, ‘नेता चिनेर के हुन्छ र ? यो गर्छु र ऊ गर्छु भनेर जाने न हुन् । भोट मात्रै माग्न आउने नेतालाई नचिनेकै राम्रो ।’
बस्ती स्थानान्तरण गर्नुपर्छ : घनश्याम दाहाल
पूर्वमन्त्री, बागमती प्रदेश
इच्छाकामनाका विकट गाउँहरूको विकासका लागि प्याकेजमा नै योजनाहरू लैजानुपर्छ । जनताका जीवन स्तर सुधार गर्नका लागि आवश्यकतामा आधारित भएर भूगोल अनुकूल विकास गर्न सक्नुपर्छ । त्यहाँका मानिस आर्थिक रूपले विपन्न छन् । वर्षभरि काम गर्दा मुस्किलले काम गर्दा चार महिना पुग्दैन । उत्पादन पुर्याउन कृषिले केही योजना लैजानुपर्यो भन्ने हो । विकट पहाडी भूभाग भएकाले त्यहाँ विकास सजिलो छैन । दुर्गम छ । सिस्नो र गिट्ठा, भ्याकुर खाएर केहीले जीवन गुजारा चलाउँदै आएका छन् । सहरमा मिठो मसिनो खाएका र चिल्लो गाडीमा हिँडेका मान्छे भोट माग्ने बेला मुस्किलले मात्रै पुग्छन् । त्यहाँको दुःख देख्लान् भन्ने लाग्दैन । सदनमा पनि पहिला बोलेको थिएँ । चेपाङहरू अझै नाङ्गै छन् । ओडारमा बसिरेका छन् । यसतर्फ न केन्द्र सरकारको ध्यान पुगेको छ, न प्रदेश सरकारको नै ।
जनताको सहानुभूति हुँदाहुँदै पनि चुनाव जित्न सकिनँ । मैले हारे पनि अझै इच्छाकामनाको विकासका लागि निरन्तर लागिरहेको छु । समस्या के भयो भने मैले गएर विकासको बजेट ल्याउने, अनि त्यही जस त्यहाँको जनप्रतिनिधिले देखियो । दुःख एउटाले गर्ने, जस अर्कोले लिने । अफ्ठेरो पर्दा विकास निर्माणको फाइल ल्याउनुस् म पहल गर्छु भनेर अझै पनि भनेकै छु । प्रदेशमा कृष्ण सिलवाल नयाँ हो । पाँच वर्षमा कति गर्छन् त्यहाँका बासिन्दाले मूल्याङ्कन गर्लान् । रविको हावाले मलाई भेटेको हो । फेसबुकमा लेखेर जनताको वृत्तिविकास हुँदैन । युट्युबमा हालेर विकास हुँदैन । जनताको जीवनमै विकास ल्याउने गरी काम गर्न फिल्डमा गएर हेर्नुपर्छ ।
इच्छाकामनामा रहेको पहाडको बस्तीलाई एकीकृत बस्तीमा रूपान्तरण गर्नुपर्छ । त्यसपछि मात्रै सबैलाई बिजुलीबत्ती, खानेपानी सबै पुग्छ ।
बाटो बनाएर त्यहाँ भएका उत्पादनलाई कसरी बजारीकरण गर्न सकिन्छ, रोजगारी सिर्जना गर्न बाख्रा पालन, तरकारी खेती गर्न राज्यले प्रोत्साहित गर्नुपर्छ ।