‘फिजिकल हुने’ भन्दै युवती बनेर युवकले ठगे ६० लाख रुपैयाँ
काठमाडौँ । करिब एक वर्ष अगाडि लाजिम्पाटका एक व्यापारीको फेसबुकको ‘पिपल यु मे नो’ क्याटेगोरीमा एउटा नाम र तस्बिर देखापर्छ । सृष्टि पौडेलको नाममा एक सुन्दर युवतीको तस्बिर भएको प्रोफाइल देखेपछि ती व्यापारीले युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाए ।
गत वैशाख ती युवती फेसबुकमा जोडिन्छिन् । सुरुमा दुईबीच सामान्य कुराकानी हुन्छ । पछि दुई जनाबीच दैनिकजसो कुराकानी हुन थाल्छ । फेसबुकको म्यासेन्जरबाट सुरु भएको कुराकानी नम्बर आदानप्रदान भएर मोबाइल फोनमै समेत कुराकानी हुन थाल्छ ।
ती युवतीको सुमधुर आवाजबाट मन्त्रमुग्ध भएका ती व्यापारीले फोनमै माया प्रेमको कुरासमेत गर्न थाल्छन् । युवतीले आफू पोखरामा रहेको भन्दै युवकलाई पोखरा आउन भन्थिन् । तर, व्यापारी कामको व्यस्तताले पोखरा जान पाइरहेका थिएनन् ।
माया प्रेम झँगिदै गएपछि सृष्टिले ती व्यापारीसँग रकम माग गर्न थालिन् । कहिले आमा बिरामी हुनुहुन्छ त कहिले के भनेर उनले रकम माग गरिरहिन् । त्यसको बदलामा ‘फिजिकल हुने’ प्रलोभनसमेत दिने गर्थिन् ।
सुरु–सुरुमा केही रकम पठाएपछि ती व्यापारीले युवतीलाई काठमाडौँ आउन पनि भने तर युवतीले काठमाडौँ नभएर पोखरामै आउनु भन्दै कुरा टार्थिन् । युवक आफ्नै व्यापार व्यवसायमा व्यस्त भएको कारण हत्तपत्त पोखरा जान पाउँदैनथे । तर जब–जब युवक पोखरा आउने कुरा गर्थे सृष्टि कहिले कामले अन्त जानुपरेको त कहिले व्यापारकै सिलसिलामा अन्यत्र जानुपरेको भन्थिन् ।
युवतीले आफ्नो बुवाको मृत्यु भइसकेको, आमा पनि बिरामी भएको र आफूले पुर्खौली व्यापार सम्हालिरहेको बताएकी थिन् । यता व्यापारी पनि युवती साँच्चैको व्यस्त होलिन् भनेर त्यति धेरै दबाब दिन्नथे ।
‘भर्चुअल लभ’ कै आधारमा लाजिम्पाटका ती व्यापारीले सृष्टिलाई धेरै रकम पठाइसकेका थिए । आमा बिरामी भएको भनेको समयमा उपचारका लागि भन्दै ती व्यापारीले सबैभन्दा धेरै रकम पठाएका थिए । अधिकांश रकम ई–सेवामार्फत पठाउने गरेका ती व्यापारीले पटकपटक गरी कूल ६० लाख रकम सृष्टिलाई पठाइसकेका थिए ।
कहिलेकाहीँ सृष्टिले काठमाडौँ आइपुगेको भनेर सम्पर्क गर्थिन् । तर, भेट्ने आशमा बसेका ती व्यापारीलाई पछि फोन सम्पर्क नै गरेर इमरजेन्सी परेकाले फ्लाइटबाटै फर्किन लागेको वा फर्कन परेको बताउँथिन् । ती व्यापारी पनि होला त भनेर चुपचाप बस्थे ।
भेट भएर माया साटासाट गर्ने योजनामा रहेका व्यापारीलाई पछि सृष्टिबारे शंका लाग्न थाल्यो । उनले सृष्टिलाई तत्काल भेट्न दबाब दिन थाले । तर, युवतीले आनाकानी गरेपछि उनले तत्काल भेटघाट नगरे ठगीको कसुरमा प्रहरीको साइबर ब्यूरोमा उजुरी दिने चेतावनी नै दिन्छन् ।
धेरैपटक दबाब दिँदा पनि सृष्टिले भेट्न मानिनन् । नभेट्ने भए आफूले पठाएको रकम फिर्ता गर्न दबाब दिएपछि सृष्टिले आफूले लिएको रकम बिस्तारै तिर्ने तर 'फिजिकल' हुन नसक्ने र नभेट्ने बताइन् ।
अति भएपछि ती व्यापारी सुरुमा मौखिक उजुरी लिएर प्रहरीकोमा पुगे । प्रहरीले फोन सम्पर्क गरेर युवतीलाई आफू प्रहरी बोलेको र व्यापारीसँगको विवाद के भएको हो, छलफलका लागि प्रहरी कार्यालयमा आउनु भन्छ ।
त्यसपछि मात्रै सृष्टिले ती व्यापारीलाई आफूबाट गल्ती भएको र आफूसँग अहिले रकम पनि नभएको तर बिस्तारै कमाएर तिर्ने बताउँछिन् । साथै आफ्नो नाम सृष्टि नभएको र फेसबुकमा प्रयोग गरिएको तस्बिर पनि आफ्नो नभएको बताइन् । अनि आफू युवती नभएर युवक भएको बताउँछन् ।
त्यसपछि बल्ल व्यापारी छाँगाबाट खसे झैँ भए । करिब ११ महिनादेखि युवती भनेर ‘फिजिकल' हुन लाखौँ लगानी गरेको सृष्टि पौडेल युवती नभएर एक युवक भएको पत्ता लाग्यो ।
त्यसलगत्तै ती व्यापारीले आफूलाई भ्रममा पारेर ठगी गरेको र हालसम्म ६० लाख रुपैयाँ लिइसकेको भन्दै युवतीको नाम र फोटो प्रयोग गरी आफूलाई ठगी गर्ने युवकलाई पक्राउ गरी कारबाही गर्न र ठगी भएको रकम फिर्ता गराइदिन प्रहरीकोमा लिखित उजुरी दिए ।
ठगी गर्ने युवकको मोबाइल नम्बर ९८१३६४८२७५ समेत उल्लेख गरेर उजुरी दिएपछि भोटाहिटीस्थित साइबर ब्यूरोको प्रहरीले उक्त नम्बर तत्काल ट्रयाक गर्यो । उक्त नम्बर पोखरामा नभएर तत्कालीन समयमा पर्वत जिल्लाको देउपुरमा चलिरहेको थाहा भयो ।
लोकेशन ट्रयाक गरेर पुगेको प्रहरीले ती युवकलाई आफ्नो घरबाटै पक्राउ परे । पक्राउ पर्ने युवक थिए, २३ वर्षीय विश्व शर्मा ।
युवतीको जस्तै आवाज थियो विश्वको
साइबर ब्युरोको प्रहरीले पर्वत पुगेर युवकलाई पक्राउ गरेपछि थाहा भयो, युवकको आवाज युवकको जस्तो भन्दा पनि युवतीको जस्तो थियो । शारीरिक बनोट सबै युवकको भए पनि आवाज भने युवतीको जस्तै थियो ।
सुरुमा मोबाइलमा भ्वाइस चेञ्जर राखेको युवतीको आवाज निकालेको हो कि भन्ने अनुमान प्रहरीको थियो । तर जब विश्व पक्राउ परे, त्यसपछि थाहा भयो कि उनको आवाज सानैदेखि महिलाको जस्तो थियो । महिलाको नाममा फेसबुक, महिलाकै तस्बिर र महिलाकै आवाज निकाल्ने भएकाले मोबाइलमा कुराकानी गर्ने सबैजना झुकिन्थे । महिलाकै आवाज नै विश्वको ठगी गर्ने सहज बाटो थियो ।
आफ्नै सहपाठीको तस्बिर प्रयोग गर्थे विश्व
पर्वतका विश्व शर्मा नर्सरीदेखि कक्षा ७ सम्म बोर्डिङ स्कुलमा होस्टलमा बसेर अध्ययन गरेका थिए । पोखरामा रहेर अध्ययन गरेका विश्व कक्षा ८ देखि भने भविष्यमा छात्रवृत्तिमा पढ्न पाइने भन्दै सरकारी विद्यालयमा भर्ना भएका थिए ।
पोखराकै बाराही उच्च माविमा अध्ययन गर्ने विश्व शर्मा र सोही विद्यालयमा अध्ययन गर्ने सूचना शर्माबीच विवाद भयो । विश्वले आपत्तिजनक शब्द र हर्कत गरेको भन्दै सूचनाले उक्त कुरा विद्यालयका शिक्षक लगायतलाई कम्प्लेन गरिन् । कम्प्लेनलगत्तै विश्वले शिक्षकको हातबाट कुटाइ खाए ।
सूचनाकै कारण आफूले कुटाई खाएको भन्दै विश्वलाई सूचनामाथि रिस उठ्यो । त्यसपछि सूचनासँग बदला लिने सोच विश्वले बनाए, सृष्टि पौडेलको नामको फेसबुक प्रोफाइल बनाए र सूचनाकै तस्बिर राखे । अनि सृष्टिकै नामबाट फेसबुक चलाएर विभिन्न पुरुषहरूसँग ‘फिजिकल' हुने भन्दै रकम असुल गर्न थाले ।
आफ्नो तस्बिर दुरुपयोग गरेको भनेर सूचनाले प्रहरीमा उजुरीसमेत गरेकी थिइन् । आफ्नो नाम र तस्बिर दुरुपयोग गरी ठगी गरेको भनेर सूचनाले विश्वविरुद्ध उजुरी गरेपछि प्रहरीले करिब ४ वर्ष अगाडि नै विश्वलाई पक्राउ गरेको थियो ।
हाल प्रहरी हिरासतमा रहेका विश्वले सूचनाकै उजुरीका आधारमा करिब ४ वर्षअगाडि आफूलाई चितवन प्रहरीले पक्राउ गरी ठगीको मुद्दा चलाएको बताए । ६० हजार ठगी भएको भए पनि १ लाख ६० हजार तिर्नुपर्ने भएपछि रकम नभएर आफू ८ महिना कारागारमा बसेको बताए ।
आफ्नो तस्बिर प्रयोग भएकाबारे सूचना भन्छिन्, म ६ वर्षदेखि पीडित थिएँ’
साइबर ब्युरोको टोलीले विश्वलाई पक्राउ गरी सार्वजनिक गरे लगत्तै पीडित सूचना शर्माले अपराधीलाई हदैसम्मको कारबाही माग गरेकी छिन् । विश्वकै कारण आफू विगत ६ वर्षदेखि मानसिक समस्यामा परेको भन्दै अपराधी पक्राउ परेकामा खुसी व्यक्त गरेकी छिन् ।
आफूले प्रहरीमा पहिले नै खबर गरेको भए पनि प्रहरीले विश्वलाई पक्राउ नगरेको कारण आफूले बारम्बार समस्या भोगेको बताएकी छिन् ।
सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै आफूलाई विभिन्न व्यक्तिले सम्पर्क गरी पैसा फिर्ता माग्ने गरेको तर आफूले कहिल्यै उनीहरूसँग रकम नलिएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘यतिका समयसम्म म मानसिक समस्यामा परिरहे, बाहिर एक्लै हिँड्दा कहिल्यै ढुक्क मन बनाएर हिँड्न सकिन । धेरै मानिसले फेसबुकमा मलाई मेसेज गरेर पैसा फिर्ता देऊ भन्नुहुन्थ्यो, म कतिलाई सम्झाएर सकौँ, उक्त आइडी सञ्चालन गर्ने व्यक्ति म होइन भनेर ।’
विश्वले आफ्नो तस्बिरको दुरुपयोग गर्दै आफ्नो बारेमा नकारात्मक छाप छाडेको समेत सूचनाले बताएकी छिन् । आफ्नी जीवित आमाको मृत्यु भएको भनी रकम असुल गर्ने, ठगी गर्ने लगायतका काम गरेको भन्दै उनलाई हदैसम्मको कारबाही गर्नसमेत सूचनाले माग गरेकी छिन् ।
ठगीको रकमले सुविधा सम्पन्न रिसोर्टमा बस्थे विश्व
सृष्टि पौडेलको नाममा ठगी गर्ने विश्व शर्मा ठगीको रकमबाट विभिन्न सुविधा सम्पन्न होटल तथा रिसोर्टमा बस्ने गरेको पाइएको छ । साइबार ब्युरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार विश्वले ठगी गरेको रकममध्ये अधिकांश रकम सुन्दरीजलमा रहेको ‘काठमाडौँ ट्राउट एण्ड वाइल्ड भ्यू रिसोर्ट’मा गएर मोजमस्तीमा खर्च गर्ने गरेको पाइएको छ ।
डिलक्स तथा सुपर डिलक्स रुम, स्वीमीङ पुल, बार लगायतका धेरै सुविधा रहेको उक्त रिसोर्टमा लामो समय बसेर उनले ठगी गरेको रकम सकाउने गरेका थिए । रिसोर्टकै वेटर लगायतका केही कर्मचारीलाई मोबाइल लगायतका गिफ्टसमेत दिएको पाइएको प्रहरीले बताएको छ ।
लामो समयसम्म रिसोर्टमा बस्ने गरेका विश्वले एकैपटकमा ४ लाख रुपैयाँसम्म बुझाएको पाइएको इन्स्पेक्टर खड्गीले बताए । रिसोर्टसँग पनि त्यस सम्बन्धमा सोधपुछ भइरहेको इन्स्पेक्टर खड्गीले रातोपाटीलाई बताए ।
प्रहरी भन्छ ‘पीडितको सङ्ख्या धेरै हुनसक्छ’
युवतीको नामबाट ठगी गर्ने विश्व शर्माको सम्बन्धमा अनुसन्धान गरिरहेका साइबर ब्युरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार विश्वबाट ठगीमा परेका पीडितहरूको सङ्ख्या अझै बढ्न सक्ने बताउँछन् । खड्गी भन्छन्, ‘हालसम्म ४ जना व्यक्ति ठगीमा परिसकेको जानकारी आएको छ । यद्यपि अहिलेसम्म उजुरी भने एक जनाको मात्रै आएको हो । उजुरी आएका व्यक्तिबाहेक एक जनाबाट अर्को २ लाख ५० हजार, अर्को एक जनाबाट २४ हजार र अर्को एक जनाबाट १५ हजार रुपैयाँ ठगी गरेको भेटिएको छ । पहिले पनि ठगीकै कसुरमा चितवनमा पक्राउ परेको भन्ने सूचना आएको छ, त्यस सम्बन्धमा पनि हामी अनुसन्धान गरिरहेका छौँ ।’
नचिनेको व्यक्तिसँग कुराकानी नगर्न आग्रह गर्छौ : एसएसपी अर्याल
नेपाल प्रहरी अन्तरगत साइबार ब्युरोका प्रमुख एसएसपी नवीन्द अर्याल चिनजान नभएको व्यक्तिसँग कुराकानी र आर्थिक कारोबार नगर्न आग्रह गर्छन् । अनेक प्रकारका ‘फिसिङ’ गरेर मानिसलाई ठगी गर्ने गरेको पाइएको भन्दै नभेटेको नचिनेका व्यक्तिहरूलाई फेसबुकमा साथी नबनाउन र कुराकानी वा आर्थिक कारोबार नगर्न आग्रह गर्छन् ।
एसएसपी अर्याल भन्छन्, ‘कहिल्यै नचिनेको नभेटेको व्यक्तिलाई ६० लाखसम्म पठाउनु भनेको ठूलो मूर्खता हो । फोनमा महिलाको आवाज सुन्ने बित्तिकै त्यति धेरै रकम पठाउने व्यक्ति त मूर्ख नै भइहाले, यद्यपि ठगी गर्नेलाई कारबाही त हुन्छ नै ।’
एसएसपी अर्याल भन्छन्, ‘अहिले फेसबुक, भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने, ह्वाट्सएप लगायतबाट फिसिङ गरी सेक्स ट्रयापमा पार्ने लगायतका अपराधहरू भइरहेका छन् । त्यसको नियन्त्रण गर्ने भनेको प्रयोगकर्ता आफैँ सजग भएर हो । त्यसकारण नचिनेको व्यक्तिसँग कुराकानी गर्नु, आर्थिक कारोबार गर्नु भनेको त्यो ट्रयाप पनि हुनसक्छ भनेर बुझ्नुपर्यो । त्यसबाट सजग हुनुपर्यो । आफू ठगिइसकेपछि प्रहरीको उजुरी आउँदा आर्थिक, सामाजिक र मानसिकरुपमा बेहोरोको क्षतिको भर्पाई नहुन पनि सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भीम रावल निष्काशनले तरंग, रवि लामिछानेसँग ३ घण्टा बयान
-
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
-
प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री शाह
-
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन
-
हवाई फायर गरी गैंडाको खाग तस्कर पक्राउ
-
छाया सेन्टरलाई धक्का, भीएफएस ग्लोबल सर्ने तयारी