निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह, ‘व्यापारमा भन्दा उत्पादनमूलक उद्योगमा लगानी केन्द्रित गर्नुस्’
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभई उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको जिकिर गरे । उनले भने, ‘सरकारका पनि कमी कमजोरीहरू रहेका छन् । सरकारले समयमा नै खर्च गर्न सकेको छैन । त्यो स्वीकार गर्नुपर्छ । समग्र सरकार र निजी क्षेत्र सबैतिर समस्या रहेको छ । राजनीतिक,निजी क्षेत्र र कर्मचारी तन्त्रमा समेत समस्या छ । त्यसैले सरकारको प्रभावकारिता बढ्न जरुरी छ । पारदर्शिता बढाउन जरुरी छ । निजी क्षेत्रको पनि व्यापारमा मात्रै केन्द्रित भइरहेको अवस्था छ । अब लगानीतर्फ केन्द्रित गर्न जरुरी छ । सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालिन उपायहरू गर्छौँ ।’
अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशत भन्दा माथि हुने बताए । उनले अन्तर्राष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुन सके नेपालको आर्थिक विकास, रूपान्तरण, पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास व्यक्त गरे ।
उनले तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधारण खर्चलाई कम गर्नेमा रहेको बताए । उनले सरकारले सामाजिक सुरक्षा,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा गर्ने साधारण खर्च कम गर्न नसक्ने जिकिर गरे ।
उनले सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाई आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘निजी क्षेत्रको लगानीबाट नै अर्थतन्त्र चलायमान हुने हो । सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने हो । कानुनी कठिनाईहरुलाई सहज बनाउने हो । प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्ने हो । वैदेशिक लगानीको प्रवर्द्धन गर्ने हो ।’
अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताए । उनले कोभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको बताए । उनले मौद्रिक नीतिमार्फत आयात रोकेका कारण राजश्वमा दबाब तथा बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताए । सबै समस्याको समाधान गर्न राष्ट्र बैंकको मौद्रिक नीतिमा समिक्षा,निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर परिवर्तनका लागि राष्ट्र बैंकसँग आन्तरिक छलफलमा रहेको उनको भनाई छ । अर्थमन्त्री महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि छलफल भइरहेको उल्लेख गरे । उनले घरजग्गाको कित्ताकाट सहज बजाउँदा मात्रै पनि बजार सहज हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?
-
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई कति ?
-
सुदूरपश्चिममा व्यावसायिक माछा पालन, आयात प्रतिस्थापन गर्दै निर्यातको उद्देश्य
-
सरकार बनेको चार महिनामै बेलायतमा उठिरहेको छ चुनावको माग
-
एमाले जग्गा विवाद : सोमबार पनि तोकियो पेसी तर सुनुवाइ हुने सम्भावना न्यून
-
त्रिवि सेवा आयोगद्वारा २०७३ सालमा लिएका विभिन्न पदको लिखित परीक्षाको नतिजा रद्द