शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : सांसद श्रेष्ठले दुई करोड मागेको विषयमा संसदमा उठ्यो प्रश्न

अभिभावकको ढाड सेक्दै निजी विद्यालयहरु
सोमबार, २७ चैत २०७९, २० : ४७
सोमबार, २७ चैत २०७९

आज २०७९ चैत २७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा रास्वपाका सांसद श्रेष्ठले दुई करोड मागेको विषयमा संसदमा उठ्यो प्रश्न, अभिभावकको ढाड सेक्दै निजी विद्यालयहरु, वर्ष २०७९ मा स्वास्थ्य मन्त्रालय कहाँ चुक्यो ?, नेपालले भारतलाई बिजुली बेच्दा कति फाइदा ? सिंहदरबारको फोहोर नउठाउनुको १४ कारण देखाए बालेनले, वर्ष २०७९ : मधेसमा उपेन्द्र यादवको साम्राज्य तोडियो, चोरी निकासीका कारण राजस्व घटेको अर्थमन्त्रीको आशंका, कर्णाली प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लियो एमालेले लगायत छन् ।

१. रास्वपाका सांसद श्रेष्ठले दुई करोड मागेको विषयमा संसदमा उठ्यो प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवादका विषयमा संघीय संसदको दुवै सदनको बैठकमा अधिकांश सांसदहरुले प्रश्न उठाएका छन् । सोमबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा सांसद श्रेष्ठको टेलिफोन संवादको विषयमा सांसदहरुले छानबिन गर्न माग राखेका हुन् ।

२. अभिभावकको ढाड सेक्दै निजी विद्यालयहरु 
नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ । विद्यालयहरूले परीक्षा सकाएर नतिजा प्रकाशन गरेसँगै नयाँ वर्षका लागि भर्ना प्रक्रिया सुरु गर्न थालिसकेका छन् । निजी विद्यालयहरूले विद्यार्थी भर्नालाई वर्षभरिका लागि आम्दानी हुने सिजनको रूपमा लिने गरेका छन् । अहिले विद्यालयहरूले विद्यार्थी भर्ना गर्न आउने अभिभावकको ढाड सेक्ने काम गरिरहेका छन् । यतिसम्म कि पाठ्यपुस्तक पनि उनीहरूले भनेकै पुस्तक पसलबाट किन्नुपर्ने छ । त्यो मात्र नभएर स्कुल ड्रेस पनि उनीहरूले भनेकै पसलबाट सिलाउनुपर्ने हुन्छ ।

३. वर्ष २०७९ मा स्वास्थ्य मन्त्रालय कहाँ चुक्यो ?
२०७९ साल स्वास्थ्य मन्त्रालयको नेतृत्वका हिसाबले अस्थिर रह्यो । यो वर्षमात्रै स्वास्थ्य मन्त्रालयमा मन्त्री र राज्यमन्त्री गरी ६ जनाले नेतृत्व गरे । यद्यपि पछिल्लो समय स्वास्थ्य मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन छ ।

४. नेपालले भारतलाई बिजुली बेच्दा कति फाइदा ?
यतिबेला नेपालमा उत्पादित बिजुली भारत बेच्नुहुन्न भन्ने विषय जोडदारका साथ उठिरहेको छ । नेपालमा उत्पादित सम्पूर्ण बिजुली नेपालमै खपत गर्नुपर्छ भन्ने माग उठ्नु अस्वाभाविक पनि होइन । किनकि, उत्पादित बिजुली नेपालमै खपत गर्दा स्वदेशी अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ । करिब २ दशक अघि नेक्सान्ट भन्ने संस्थाले गरेको अध्ययनले एक युनिट बिजुली खपत गर्दा कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करिब ८४ रुपैयाँसम्मको प्रभाव पार्छ भन्ने तथ्य बाहिरिएको थियो । 

५. सिंहदरबारको फोहोर नउठाउनुको १४ कारण देखाए बालेनले
काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा अनायासै नगरेको स्पष्ट पारेका छन् ।  बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीले गर्दा बाध्यात्मक कदम उठाउनु परेको भन्दै मेयर शाहले यसका १४ कारण रहेको प्रस्ट्याएका छन् ।

६. वर्ष २०७९ : मधेसमा उपेन्द्र यादवको साम्राज्य तोडियो 
विसं. २०७९ मधेसका सन्दर्भमा मिश्रित रह्यो । यो वर्ष केही सन्दर्भमा मधेसका लागि सुखद रह्यो भने केही सन्दर्भमा दुखद । मधेसी पृष्ठभूमिका बालेन शाह काठमाडौँ महानगर प्रमुखमा विजयी हुनु, मधेसी समुदायबाटै रामसहायप्रसाद यादव उपराष्ट्रपति बन्नु मधेसका लागि खुसीको विषय बन्दा मधेसवादी दलहरु विभिन्न गठबन्धनमा विभाजित हुनु र मधेसका मुद्दा ओझेलमा पर्नु यो वर्ष मधेसका लागि दुखद विषय बने । जततउकस्ररधधध।

७. चोरी निकासीका कारण राजस्व घटेको अर्थमन्त्रीको आशंका
अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारमा चोरी निकाशीका कारण राजस्व घटेको आशंका गरेका छन् । सोमबार विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्सारका महानिर्देशक, कर्मचारीहरुलाई इमानदार भएर काम गर्न निर्देशन दिए ।

८. कर्णाली प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लियो एमालेले
नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । सरकारबाट बाहिरिएसँगै सोमबार पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

९. गठे संस्कृतिले विकृति ल्यायो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठे संस्कृतिले देशलाई ओरालो लगाएको बताएका छन् । सोमबार नेपालगञ्जमा पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृतिले विकृति ल्याएको बताएका हुन् ।

१०. नेपाल एयरलाइन्सलाई मन्त्री किरातीका पाँच प्रश्न
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले लापरबाही गरेको भन्दै आगामी दिनमा त्यस्तो हुन नदिने कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । मन्त्री किरातीले चार्टर फ्लाइट, हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको लगायतका विषयमा पाँच प्रश्न तेर्स्याउँदै सुधारको खाका प्रस्तुत गर्न भनेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप