कानुनलाई चुनौती दिँदै स्कुलले भन्याे–पाठ्यपुस्तक र ड्रेस न्यू स्टुडेण्ट स्टोर्स पुस्तक पसलबाट मात्र किन्नु
काठमाडौँ । कीर्तिपुर बाहिरीगाउँमा रहेको पुष्पसदन आवासीय माध्यमिक विद्यालयले कानुनको बर्खिलाप गएको पाइएको छ । अन्तिम परीक्षाको नतिजा र नयाँ शैक्षिक सत्रबारे सूचना जारी गरेको विद्यालयले कानुनलाई नै चुनौती दिने काम गरेको पाइएको हो ।
विद्यालयले विभिन्न १० वटा बुँदा अभिभावकहरूका लागि जारी गरेको छ । जसमा ९ र १० बुँदामा कानुनलाई नै चुनौती दिने खालको समेटिएका छन् ।
आगामी सत्रका लागि आवश्यक पर्ने पाठ्यपुस्तक न्यू स्टुडेन्ट स्पोर्स पुस्तक पसलबाट वितरण हुने हुँदा आफ्नो सुविधाअनुसार अभिभावकले पुस्तक खरिद गर्न भनेको छ । त्यसका लागि पसलका सञ्चालक राजु लामाको सम्पर्क नम्बर समेत राखिएको छ ।
त्यस्तै बुँदा नम्बर १० मा नर्सरीदेखि कक्षा ४ सम्मका छात्राहरूका लागि नयाँ विद्यालय पोसाक किन्न चाहनुभएमा पुरानो फ्रक वा पाइन्टको सट्टामा ट्युनिक किनिदिन अनुरोध गरिएको छ । विद्यार्थी पोसाक पनि सोही पुस्तक पसलबाट किन्न भनेको छ ।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ अनुसार त्यसरी किताब तथा ड्रेस तोकिएको पसलबाट किन्नु भन्न मिल्दैन । तर, विद्यालयले भने यसलाई नै चुनौती दिनेगरी सार्वजनिक रूपमा नै अभिभावकहरूलाई तोकिएकै पसलबाट किताब र ड्रेस किन्न भनेको हो ।
यतिमात्र नभएर बुँदा नम्बर ८ मा विद्यार्थी शुल्क बढाएको बताएको छ । नेपाल सरकारले २०७९ साउनदेखि वृद्धि गरेको तलब र भत्ता नियमानुसार कमसेकम २०८० वैशाखदेखि शिक्षक कर्मचारीलाई खुवाउनुपर्ने हुँदा अन्य विद्यालय लगायत यस विद्यालयमा पनि विद्यार्थी शुल्कमा केही वृद्धि गर्न विद्यालय बाध्य भएको ब्यहोरा जानकारी गराइन्छ ।
विद्यालयका प्रिन्सिपल राम धन (आरडी) राईले विद्यार्थी तथा अभिवाकहरूको सहजताका लागि सूचना जारी गरिएको बताए । रातोपाटीसँग कुरा गर्दै प्रिन्सिपल राईले कुनै पनि अभिभावकलाई अनिवार्य नगरिएको बताए ।
‘हामीले अनिवार्य त्यही पसलबाट किन्नुपर्छ भनेका छैनौं । अभिभावकहरूको सहजताका लागि अनुरोध गरेका हौं । अभिभावकहरूले अरू ठाउँबाट पनि किन्न सक्नुहुन्छ,’ उनले भने ।
शुल्कको विषयमा अहिले कुनै पनि निर्णय नगरिएको उनको भनाई छ । ‘शुल्क बढाउने विषयमा अहिले केही पनि निर्णय भएको छैन । त्यसका लागि नगरपालिकाबाट अनुगमन भएर निर्णय भएपछि मात्र गर्छौ । शुल्क वृद्धिका लागि अनुरोध चाही गरेका हौं,’ उनले भने ।
तर, विद्यालयले जारी गरेको सूचनामा भने शुल्क वृद्धि गरिएको उल्लेख गरेको छ । यसबाट अभिभावकलाई पर्ने असुविधाका लागि क्षमायाचना समेत मागेको छ ।
कीर्तिपुर नगरपालिकाले भने यो विषयमा अहिलेसम्म कुनै जानकारी नभएको जनाएको छ ।
नगरपालिका शिक्षा शाखाकी शाखा अधिकृत मन्दोदरी रिजालले अहिलेसम्म कुनै जानकारी नआएको बताइन् । ‘अहिलेसम्म कहीँ कतैबाट गुनासो तथा उजुरी आएको छैन । अहिले तपाईँले भनेपछि थाहा भयो । के रहेछ भन्ने विषयमा बुझ्छौं । गल्ती गरेको पाइए कारबाही हुन्छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास