आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद ढाकाकुमारको टेलिफोन संवादका विषयमा संसदमा चासो, कसले के भने ?

सोमबार, २७ चैत २०७९, १६ : ४८
सोमबार, २७ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवादका विषयमा संघीय संसदको दुवै सदनको बैठकमा अधिकांश सांसदहरुले प्रश्न उठाएका छन् । सोमवार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा सांसद श्रेष्ठको टेलिफोन संवादको विषयमा सांसदहरुले छानबिन गर्न माग राखेका हुन् । आइतवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएको विषयमा सोमवारको दुवै सदनको बैठकमा सांसदहरुले उक्त विषय उठान गरेका छन् ।

अधिकांश सांसदहरुले बैठकमा सांसद श्रेष्ठलाई कारबाही गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् । सांसदहरुले सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप पनि लगाएका छन् । सांसदहरुले मन्त्री बन्नको लागि घुस माग्ने सांसदलाई सरकारले त्यसै छोड्न नहुने भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद छानबिन गर्न संसदीय समिति गठनको माग गरे ।

उनले श्रेष्ठको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित रहेको भन्दै संसदले संसदीय समिति बनाएर निष्पक्ष छानबिन हुनुपर्ने दाबी गरे । फोन संवादमा साढे २ करोड रुपैयाँ कोर टिमलाई बुझाउनुपर्छ भनेको भन्दै कोर टिमको समेत छानबिन आवश्यक रहेको बताए । सांसद गुरुङले संसद सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद चुप लागेर बस्न नहुने भन्दै संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गरे ।

त्यस्तै, बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजेको बताए । उनले गठबन्धन सरकारकै सांसदले स्वास्थ्य मन्त्री हुन मेडिकल व्यवसायीसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजिएको बताए । उनले गठबन्धनका नेताहरुले घुस काण्डका विषयमा संसदमा जानकारी दिन माग समेत गरे ।

त्यस्तै, राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद दिलकुमारी थापा रावल (पार्वर्ती) ले दुई करोड घुस माग्ने सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन् । उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले सांसद श्रेष्ठले घुस माग गरे÷नगरेको सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने बताइन् । उनले त्यस्ता घटना सत्य  भए÷नभएको तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताइन् । सांसद रावलले सरकारलाई संविधान र कानूनअनुसार अघि बढ्न पनि ध्यानाकर्षण गराइन् । 

त्यस्तै, नेकपा एमालेका सांसद ऋषिकेश पाखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुगेछ भन्दै व्यङ्ग्य गरे । उनले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुग्दा अरु मालदार मन्त्रीहरुको कति होला ? भन्दै प्रश्न गरे । उनले भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करणमा पर्नसक्ने चेतावनी दिए । त्यस्तै, राष्ट्रियसभाका सांसद उदयबहादुर बोहोराले ८७५ जना नेपालीलाई भुटानी बनाउने राजनीतिक संलग्नता ५० लाख असुल गरिएको विषयहरु बाहिर आउन नपाउँदै सांसदले २ करोड घुस मागेको अडियो बाहिर आएको बताए । उनले स्वास्थ्यमन्त्री बन्ने सांसद श्रेष्ठले व्यवसायीलाई मन्त्री बनेर अस्पताललाई दिने लेटर अफ इन्टेन शिक्षा मन्त्रालयले दिन्छ भन्ने ज्ञान समेत नभएको देखिएको बताए । उनले अडियो झुटो हो भने पनि झुटो नभएको भन्दै झुटो भए छानबिन गरी दुर्गा प्रसार्इंलाई कारबाही गर्नुपर्ने बताए । उनले सांसदबाट नै हुने यस्ता भ्रष्टाचारजन्य गतिविधिहरु मौलाउँदै जाने हो भने मुलुक कस्तो हुन्छ ? भन्दै प्रश्न गरे ।

 राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागे । उनले अडियो सार्वजनिक घटनाले प्रतिनिधि सभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचना गरे । उनले संसदको गरिमा बढाउने रास्वपाको अभियानमा अक्षुण रहने भन्दै यो घटनाले विचलित हुने नहुने बताए । उनले राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्ने बताए ।

अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले बताए ।
उनले घुस माग्ने अडियो सार्वजनिक घटना पहिलो पटक नभएको भन्दै विगतमा पनि यस्ता घटना भएको र सबैको सत्यतथ्य छानबिन हुन आवश्यक रहेको बताए ।
 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप