शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘जनता एक पटक भ्रमित भए, अब चितवनको अवस्था बदलिसक्यो’

सोमबार, २७ चैत २०७९, १४ : ०८
सोमबार, २७ चैत २०७९

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा नेकपा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार बनेका छन् । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अत्यधिक मतका साथ निर्वाचित भएका थिए । तर नागरिकता प्रकरणमा उनको सांसद पद निलम्बित भएसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो । यस पटक पनि रवि लामिछाने सोही क्षेत्रमा उम्मेदवार बनेका छन् ।

मंसिरमा सम्पन्न निर्वाचनमा अत्यधिक मतसहित लामिछाने निर्वाचित भएको क्षेत्रमा एमालेले न्यौपानेलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचनका एजेण्डा तथा चुनाव प्रचारप्रसारका विषयमा केन्द्रित रहेर रातोपाटीले एमाले उम्मेदवार न्यौपानेसँग संक्षिप्त कुराकानी गरेको छ । 

प्रस्तुत छ, चितवन–२ मा नेकपा एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश–

चुनाव अभियान अन्तर्गत कस्ता कार्यक्रम अघि सार्नुभएको छ ?

विशेष गरेर हामी घरदैलोमै केन्द्रित छौँ । हाम्रो पार्टीको सबै संगठनको वडास्तरमा कमिटीहरू छन् । त्यहाँ आफ्ना ढंगबाट विभिन्न कार्यक्रम पनि भइरहेको छ । निर्वाचन परिचालन कमिटी पनि निर्माण भएको छ । उक्त कमिटीले विशेष गरी घरदैलो अभियान लगायत नागरिकका का विषयगत समस्याहरूको बारेमा छलफल गर्ने कार्यक्रम तय गरेको छ । हामी जनताको बिचमै रहन्छौँ । जनताका समस्याहरूलाई छलफलबाटै हल गर्ने पनि गरेका छौँ । जनताका समस्याहरूलाई हामीले बुझिरहेका छौँ । घरदैलोका क्रममा जनताका गुनासोहरू पनि आएका छन् । ती गुनासोलाई भोलिका दिनमा सम्बोधन गर्दै जाने हाम्रो प्रतिबद्धता पनि छ ।

एमाले जनताको बिचमै रहेको पार्टी हो । हामीले जनताका समस्याहरूसँग सदैव एकाकार गरिरहेका छौँ । अहिलेको मुख्य अभियान भनेकै प्रचार अभियान हो ।

तपाईं घरदैलोमा जाँदै गर्दा जनताका अपेक्षाचाहिँ के पाउनु भयो त ? 

नागरिकको समस्यामा जनप्रतिनिधिहरू गम्भीर बुनुन् भन्ने उहाँहरूको अपेक्षा छ । समस्याहरूलाई समाधान गर्न पहल कदमी लिइदियोस् र जानकारी दिइयोस् भन्ने अपेक्षा मैले नागरिकहरूबाट पाएँ । यस अघिका जनप्रतिनिधिहरूले कतिपय राम्रा काम गर्नुभएको थियो । राम्रा काम गर्दागर्दै पनि उहाँहरूले त्यसलाई प्रचारको अभियानमा लान सक्नु भएन । यसअघि चितवन–२ बाट जो निर्वाचित हुनुभयो, उहाँ त आफ्नै समस्यामै अल्झिनु भयो । जनताको समस्यामा उहाँको ध्यान नै गएन । कहिले नागरिकता, कहिले पासपोर्टको विवादमा उहाँ केन्द्रित हुनुभयो । उहाँले जनताका समस्यालाई हेर्न टाइम दिन पनि सक्नु भएन । अर्को पाटो, उहाँ चितवनको स्थानीय पनि होइन । चितवनभन्दा बाहिरबाट आउनु भयो । चितवनका जनतालाई भ्रम पार्न सकिन्छ भन्ने बुझाई रह्यो । त्यसमा उहाँ सफल पनि हुनुभयो । जनता पनि एक पटक भ्रमित भए, परिणामस्वरुप अघिल्लो पटक उहाँले चुनाव जित्नुभयो । 

तर, यो पटक अवस्था त्यस्तो छैन । यो पटक उहाँ आफैले आफ्ना भ्रमहरू चिर्दै जानुभयो । उहाँका करप्सनका कुराहरु छरपस्ट भइसकेका छन् । मन्त्री बनाउन गरेका बार्गेनिङहरू आउन थालेका छन् । उहाँले नैतिक रूपमा कुनै पुष्टि नै गर्न सक्नुभएन । 

यसो भन्दैगर्दा एमालेलाई चुनौती रास्वपाका उम्मेदवारमात्र हो त ?

होइन । एउटा सांसदको नाताले त्यो प्रसङ्ग आएको हो । अरू पार्टीको विषयमा मैले कुरै गर्नु परेन । यो देशमा शासनसत्ता लिएका अरू पार्टीहरूले एमालेले जस्तो काम गरेको भए सायद यो देश निकै फरक हुन्थ्यो । त्यसकारण अरू दलका एजेण्डाहरु जनताले बुझिसके नि ! एमालेको विकास र समृद्धिको एजेण्डालाई जनताले फरक ढंगबाट बुझ्नु भएको छ । 

विकासका लागि रास्वपाको कुनै खाका नै छैन । उहाँहरूसँग विकासको कुनै कन्सेप्ट नै छैन । न मुलुकको राजनीतिक इतिहासमा उहाँहरूको योगदान छ । राजनीतिक इतिहासमा योगदान नरहेको पार्टीले समाज विज्ञान र समाज विकासमा कुनै काम गर्न सक्दैन भन्ने प्रस्ट भइसकेको छ । 

यो प्रतिस्पर्धामा लोकन्तत्र स्थापना, संविधान निर्माणमा भूमिका खेलेका साथीहरू पनि हुनुहुन्छ । तर, उहाँहरूले जनताको मनोविज्ञानलाई बुझ्न सक्नु भएन । 

चितवन–२ को भूगोललाई कसरी लिनु भएको छ ? चितवन–२ को विकासको खाका कसरी निर्माण गर्नुभएको छ ?

चितवन–२ खण्ड खण्डमा छ । चितवन–२ मा रहेको भरतपुरका १० मध्ये ९ वटा वडा विकसित छ । एउटा अझै विकट छ । विकसित क्षेत्रमा अध्ययनशील, शिक्षित र चेतनाको स्तर बढी भएका व्यक्तिहरुको बसोबास छ । भरतपुरको २९ नम्बर वडासहित कालिका नगरपालिका चितवन–२ मै पर्छ । कालिका पनि २ खण्डमा छ । एउटा माथिल्लो खण्ड, अर्को तल्लो खण्ड । भूगोलजस्तै चेतना, शिक्षा, स्वास्थ्यको पहुँचको अवस्था फरक छ । यहाँका भूगोल जस्तै नागरिकको समस्या र आवश्यकता पनि भिन्नभिन्न छ । त्यसको डेभलपमेन्टको मोडल हामीले तयार गरेका छौँ । 

पहाडी बेल्टमा हामीले पर्यटनसँग जोडेर विकास गर्न सक्छौँ भने तल्लो बेल्टमा कृषि व्यवसायसँगै विकास गर्न सक्छौँ । माथिल्लो बेल्टमा राज्यले बन्देज गरेको केही खेतीहरू हुन्छ । सरकारको नीतिमा हामीले परिमार्जन गरेर ती खेतीहरूलाई वैध गर्न सक्यौँ भने चितवनको आर्थिक विकासमा कायापलट हुन्छ । त्यसका लागि संसदमा मेरो मुख्य भूमिका रहन्छ । कृषिलाई आर्थिक विकाससँग जोडेर अघि बढ्न सकिन्छ । मुख्य बजार क्षेत्रलाई शिक्षा र स्वास्थ्यको हवको रूपमा विकास गर्न सकिन्छ । चितवनमा सञ्चालन हुने परियोजनामा ५० प्रतिशत जनशक्ति स्थानीय हुनुपर्छ भन्ने मेरो नारा रहन्छ । त्यसको लबिङमा मेरो भूमिका रहन्छ । रोजगारी लगायतका अन्य विकासका काममा मेरो संलग्नता महत्त्वपूर्ण रहन्छ ।

आम नागरिकको अपेक्षा एकातर्फ छ । चितवन–२ मा एमालेले २ पटक नेतृत्व लिइसकेको छ । तर, पनि आम नागरिकहरु बिच असन्तुष्टि किन ? के निर्वाचित प्रतिनिधिहरुले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेका हुन् ?

हाम्रा राजनीतिक पार्टीहरूले व्यवस्था परिवर्तन त गरे तर, राज्यको प्रणाली परिवर्तनको कुरामा ध्यान दिइएन । विशेष गरी राज्यको सेवा प्रवाहको क्षेत्रमा ढिलासुस्ती, पञ्चायतकालीन प्रशासनमा भनसुनमा काम हुने गर्थ्यो । त्यसमा परिवर्तन हुन सकेन । केही परिवर्तन त भयो, ठिक विधिहरु त बने तर, पूर्ण रूपमा परिवर्तन भएन । जनताको अपेक्षा छिटोछरितो र तुरुन्त चाहिने छ । चितवनका नागरिकहरुले देश–विदेश देख्नु भएको छ । त्यहाँको सिस्टम देख्नु भएको छ । त्यो सिस्टम परिकल्पना गरेर यहाँ त्यस्तै भइदियोस् भन्ने अपेक्षा गर्नुहुन्छ । त्यो अपेक्षा जायज पनि छ । 

तर, हाम्रो स्रोत साधनले एकै पटक त्यो अपेक्षा पुरा गर्न सक्दैन । त्यसलाई हामीले क्रमशः व्यवस्थापन गर्दै अघि बढ्नुपर्छ । हामीले सरकारी सेवा प्रवाहमा हुने गरेको ढिलासुस्तीचाहिँ हटाउन सक्नु पर्छ । त्यसका लागि हामीले सेवा प्रवाह प्रणाली कन्ट्रोल गर्नुपर्‍यो नि ! त्यसमा सबै राजनीतिक पार्टीको ध्यान जानुपर्‍यो । सेवा प्रवाहमा हुने ढिलासुस्ती अन्त्य मेरो प्राथमिकतामा छ । म नागरिक निगरानी समूहहरू बनाएर त्यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्छु । नागरिकको सपोर्टमा हामीले राज्य व्यवस्था त परिवर्तन गर्‍यौँ भने सेवा प्रवाह प्रणालीको सुधार ठुलो कुरा होइन । 

शिक्षा, स्वास्थ्य, रोजगारीको कुरा गर्दै गर्दा चितवन–२ मा रहेको चेपाङबस्तीको अवस्था निकै कष्टकर छ । दुरीको हिसाबले त्यो भूगोल भरतपुरबाट नजिक छ । तर, सेवा, सुविधा र पहुँचको हिसाबले दूर छ । यसलाई तपाईंले कसरी सम्बोधन गर्नुहुन्छ ?

त्यो परिवेश छ । यो हाम्रो यथार्थ हो । एउटा कुराचाहिँ के हो भने हामी हाइपोथेटिकल भएर भावनात्मक रूपमा जानु हुँदैन । नागरिकलाई कसरी बढी सुविधा प्रवाह गर्न सकिन्छ, कसरी कम खर्चमा राज्यको सेवा नागरिकसम्म पुर्‍याउन सकिन्छ भन्ने निर्क्योल पहिला गर्नुपर्छ । 

त्यहाँका नागरिकलाई भरतपुरमा शिक्षाको सेवा सहजै पुर्‍याउन सकिन्छ भने उनीहरुलाई छात्रबासको सुविधासहित सेवा दिन सक्नुपर्छ । होइन भने यहाँबाट जनशक्ति सहित त्यो सुविधा त्यहीँ पुर्‍याउनु पर्छ । त्यहीँ राम्रा कलेजहरु स्थापना गरेर व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्छ । त्यसमा मेरो भूमिका त्यस क्षेत्रका नागरिकको सुविधाको लागि पनि हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप
सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप