सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

चितवन–२ ‘ग्राउण्ड जिरो’: चिन्तैचिन्तामा छन् चेपाङ समुदाय

‘चुनावका बेला नेता आउँछन्, त्यसपछि कोही फर्केर आउँदैनन्’
सोमबार, २७ चैत २०७९, १२ : ४३
सोमबार, २७ चैत २०७९

चितवन (कालिका) । चितवनबाट उत्तर–पूर्वमा अवस्थित कालिका नगरपालिका वडा नं ८, अजिंगरेकी डुम्रीमाया चेपाङ खेतबारीमा लगाएको पिँडालु केलाउन व्यस्त थिइन् ।

रातोपाटी टीम डुम्रीमायाको दैलोमा पुग्दा उनले सोधिन्, ‘तपाईंहरु को हो ? किन आएको ? के दिनुहुन्छ ?’

हामीले उनलाई आफ्नो परिचय दियौँ । र भन्यौँ, ‘हामी बाँड्न र दिन आएका होइनौँ, तपाईंको समस्या लेख्न आएका हौँ ।’

dumri maya chepang

७० वर्षीय उनलाई नाति अल्पायुमै मर्नुको पीडा त छँदै थियो । अब साना पनातिहरू कसरी हुर्काउने भन्ने जिम्मेवारी पनि उनको काँधमा छ । भर्खरै मात्र उनले वृद्धभत्ता लिएकी छन् । भन्छिन्, ‘यो वृद्धभत्ताले कति दिन धान्छ र बाबु ? नातिहरूलाई स्कुलको लुगा सिलाउन पनि पुग्दैन ।’

चुनावको पूर्व सन्ध्यामा नेता तथा कार्यकर्ता कालिकाका केही वडामा पुगेर मत मागिरहेको दृश्य पनि देखियो । तर, अजिंगरेमा अहिलेसम्म कोही नेता नपुगेको डुम्रीमाया बताउँछिन् ।

‘यहाँ को नेता आउनु, सहरमै बस्छन् । हाम्रो दुःख कसले देख्छ ?’ डुम्रीमाया भन्छिन्, ‘बाटोको हालत यस्तो छ, खेत पानी नभएर बाँझै छन्, वर्षामा जिनतिन बाली लगाइन्छ, त्यसपछि बाँझै ।’

उनको गुनासो त्यतिमै सीमित रहेन । उनले बच्चा पढाउन डेढ घण्टाभन्दा बढी पैदल जानुपर्ने बाध्यताका बारेमा धेरै समय खर्च गरिन् । भनिन्, ‘स्कुल पठाएको नातिहरू कुन बेला फर्कन्छन् भन्ने चिन्ता हुन्छ । बाटो गतिलो छैन, सधैँ पु¥याउन र ल्याउन भ्याइँदैन ।’

अजिंगरेकै अष्टलाल प्रजा सामुदायिक वन समितिले चिरान गरेको काठ बोक्न व्यस्त भेटिए । हामीलाई देखेपछि उनी रोकिए । र भने, ‘कसलाई खोज्नुभयो ?’

asta lal praja

परिचय सकिएपछि अष्टलालले दुःखेसो पोख्न थाले । ‘गाउँमा भोट माग्ने बेलामात्रै नेता आउँछन् । यस पटक त अहिलेसम्म कोही आएका छैनन्,’ उनले भने ।

सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएकोबारे थाहा रहेनछ अष्टलाललाई । त्यो कार्यक्रमबारे सुनाएपछि उनले आफ्नो गाउँमा त्यस्ता कुनै कार्यक्रम नआएको बताए । भने, ‘अहिलेका प्रधानमन्त्री पनि चितवनकै हुनुहुन्छ, उहाँले उत्पीडित जाति, लिङ्ग र गरिब दीनदुःखीलाई हेर्छु भन्नुहुन्थ्यो तर, हामी विगत ४० वर्षदेखि गरिबीको पीडा भोग्दै आएका छौँ । उहाँले कहिले देख्नुहुन्छ ?’

अष्टलालले अरू केही नगरे पनि नेताहरू जसले जिते पनि बाटो, स्वास्थ्य र शिक्षासँगै रोजगारीको अवसर दिए आफूहरूको जिन्दगी सहजै चल्ने बताए ।

करिब डेढ सय घरधुरी रहेको अजिंगरेमा खानेपानीको समस्या बल्ल टरेको छ । बाँकी बाटो कच्ची छ (वर्षातमा चल्दैन), सिँचाइको कुनै योजना छैन, माध्यमिक तहको एउटा पनि विद्यालय छैन । बोर्डिङमा पढाउने हैसियत कसैले राख्दैनन् । वर्षातको धान र पछि मकैसँगै कोदो लगाएपछि त्यही बालीबाट उनीहरूको जीवन गुजारा हुँदै आएको छ ।

भरतपुरबाट करिब २० किलोमिटरको दुरीमा अवस्थित अजिंगरेमा चुनावी रौनक कत्ति पनि देखिएन । परिवार कसरी धान्ने भन्नमै स्थानीयवासी चिन्तित देखिन्थे ।

driver dada

अजिंगरेबाट एक किलोमिटरको दुरीमा चेपाङहरूकै अर्को बस्ती छ– डाइभर डाँडा ।

त्यहाँ पनि चुनावी रौनक देखिएन । बारीमा भेटिए, राम बहादुर प्रजा र अमिर सुनुवार । उनीहरूले व्यङ्ग्यात्मक शैलीले एकै स्वरमा भने, ‘चुनाव जितेपछि भइहाल्यो नि, किन आउनुपर्‍यो नेता गाउँ ? हामी कसरी बाँचेका छौँ, हाम्रो पीडा कसले सुनिदिने ? गाडी चढेर आउँछन्, एकछिन भाषण गरेर जान्छन्, त्यसपछि नेता भेटिँदैनन् ।’

ram bahadur praja

रामबहादुरको घरमा १० जना छन् भने अमिरको सात जनाको परिवार । आम्दानीको स्रोत खेतीबाहेक केही छैन । बागमती प्रदेशसभाका तत्कालीन सदस्य घनश्याम दाहाल (माओवादी केन्द्र)को पहलमा बनाएको कच्चीबाटोबाटै उनीहरूको भरतपुर आउजाउ हुन्छ । डाइभरडाँडामा करिब २ सय घर चेपाङका छन् । अमिर र रामबहादुरलगायत अधिकांश चेपाङका आयस्रोत केही छैन । बारीमा लगाएको मकै र कोदो बेचेर नुन, तेल किन्दै आएको बताउँछन् अमिर ।

‘अरू त अरू, यहाँ कोही बिरामीमात्रै पर्‍यो भने पनि भरतपुर दौडाउनुपर्छ, भनेको समयमा एम्बुलेन्स पनि आउँदैन, सार्वजनिक गाडी चल्दैनन् । फाट्टफुट्ट टेम्पो चल्छन्, त्यत्रो भाडा कसरी तिर्नु ?’ अमिरले रातोपाटीसँग भने, ‘आफ्नै जीवन धान्न सकिन्न, चुनावमा नेताका पछाडि दौडेर केही पार लाग्दैन ।’

amir sunuwar

डाइभर बस्तीमा हरेक घर परिवारसँग लालपुर्जा छैन । केहीसँग त नागरिकता पनि छैन । केही दिन अघि मात्रै नापी कार्यालयबाट जग्गा नापजाँच गरेर गएको पाइयो । रामबहादुर भन्छन्, ‘हामी यो देशको नागरिक हौँ भन्न पनि लाज लाग्छ हजुर, यो भूमिमा बस्छौँ तर लालपुर्जा छैन, सबै ऐलानी जग्गा हो । नापेर गएका छन्, न उठ भन्ने हो, थाहा छैन ।’

धारापानीमा वर्षौँपछि कालोपत्रे

भरतपुरबाट करिब १५ किलोमिटर उत्तर–पूर्वमा पर्छ धारापानी । मुख्य रूपमा कृषि कर्ममा आश्रित सो टोलका बासिन्दाहरू गुणस्तरीय शिक्षा र स्वास्थ्यको उपभोगबाट वञ्चित छन् । टोल नजिकै सरकारी विद्यालय छ । तर, पढाइको स्तर भएको धरमपानीका शालिकराम अधिकारीले गुनासो गरे ।

टोलसँगै हरियो फाँट छ । उक्त फाँटमा कतै मकै बाली लगाइएको छ भने कतै मौसमी तरकारी उब्जनी गरिएको छ । ती फाँट पनि सुरक्षित नरहेको उनको भनाइ छ । खेत मुनिबाट बगेको कयर खोलाले कतिबेला खेत कटान गर्ने हो भन्ने चिन्ता छ । उनी भन्छन्, ‘खेती गर्न लालपुर्जा सहितको खेत छ । सानोतिनो परिवारलाई वर्षभरि पुग्ने अन्न र तरकारी उब्जनी हुन्छ । त्यसैबाट घरसँगै बच्चाहरूको पढाइलेखाइ पनि चलेको छ । तर, खेत कतिबेला खोलाले लाने हो, अत्तोपत्तो छैन ।’

अजिंगरेमा पानीको कुलो नहुँदा खेती बाँझै

धारापानीमा पर्ने कयर खोला ढुंगागिट्टी तस्करीका कारण तहसनहस भएको छ । वनको काठ तस्करी पनि उत्तिकै छ । पहिला खुल्लमखुला तस्करी थियो । अहिले लुकिछिपी ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेले कडाइ गरेपछि रोकिएको ढुंगागिट्टी तस्करीलाई अहिले कालिका नगरपालिकाले व्यवस्थित गर्ने प्रयास गरे पनि सफल नभएको स्थानीयवासी बताउँछन् ।

विकासको नाममा कालोपत्रे सडकबाहेक धारापानीमा अरू केही देखिएन । सरकारी विद्यालय छ, तर गुणस्तरीय शिक्षा नभएपछि स्थानीयवासीले निजी विद्यालयमा बालबच्चा भर्ना गरेका छन् । क्याम्पस पढाउन भरतपुर वा टाँडी नै पठाउनुपर्ने बाध्यता धारापानीमा देखियो ।

शालिकरामका बाबु देवीप्रसाद अधिकारीले किसानी जेथाबाटै परिवारको खुट्टा टेकाएको बताए । उनले भने, ‘सानामा पढ्न सकिएन, बाबुबाजेले जोडेकै खेतीमा अन्नपात लगाउँदै परिवारको गर्जो टारेँ । अब परिवार पनि बढ्यो, खर्च बढ्यो तर आम्दानीको स्रोत कमजोर हुँदै गयो । सरकारले स्वरोजगार कार्यक्रमलाई व्यवस्थित गर्नसके हुन्थ्यो ।’

न्यूरेनीमा पानीको सिँचाइ पुगेको ठाँमा पारि हरियाली वारी सिँचाइ नभएर सुख्खा खेत

धारापानीको न्यूरेनीमा मात्रै करिब १५ सय मतदाता छन् । तर, उम्मेदवारले चुनावका बेलामा मात्रै धारापानीलाई सम्झने गरेको देवीप्रसाद बताउँछन् । दुई पटक जितेका पुराना सांसद एमालेका कृष्णभक्त पोखरेल धारापानीमा चुनावका बेला बाहेक टेक्न पुगेका छैनन् । खानेपानीको समस्या पनि बागमती प्रदेशका पूर्व सांसद माओवादीका घनश्याम दाहालकै पहलमा समाधान भएको देवीप्रसाद बताउँछन् । उनले भने, ‘पहिला जितेका कहाँ छन्, हामीलाई थाहा छैन, तर घनश्यामको पहल नभएको भए अहिले पनि हामी काकाकुलमै बाँच्नुपर्ने रहेछ ।’

भूगोललाई समेटेर अघि बढ्ने उम्मेदवारको बाचा

चितवन–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठ घरदैलो कार्यक्रम गर्दै गरेको अवस्थामा कालिका–५ मा भेटिए । उनलाई हामीले सोध्यौं, ‘तपाईंहरू सुगममा मात्रै पुगेर घरदैलो गर्दै आश्वासन बाँड्नुभएको छ, गाउँको समस्या थाहा छ ? त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?’

jit narayan shretha

उनले भने, ‘पहिलाका नेताहरुले के गरे, म त्यता फर्किन चाहन्नँ, म अहिलेसम्म पार्टीको राजनीतिबाहेक अरू सार्वजनिक पदमा बसेको छैन । म चेपाङ गाउँमै जन्मिएकाले अब उनीहरूको जीवनस्तर कसरी उकास्ने भनेर चिन्तित छु ।’

उनले कालिका नगरपालिका शक्तिखोर, अजिंगरे, डाइभरडाँडा लगायतमा ३३ प्रतिशत र सिद्धिमा मात्रै ९९ प्रतिशत बस्ती चेपाङ रहेकाले उनीहरूको अवस्थाका बारेमा आफूलाई राम्रो जानकारी रहेको दाबी गरे । आफूले जितेपछि सहरमा मात्रै केन्द्रित नहुने उनको भनाइ छ ।

शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच नपुगेका बस्तीमा आफूले भ्याएसम्मको सहयोग गर्ने उनले प्रस्ट पारे ।

ram prasad neupane

एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने चितवन महानगरपालिका–११ मा भेटिए । उनले विगतमा नेताहरू सहर केन्द्रित हुँदा भूगोलको समस्या समाधान गर्न नसकेको बताए । उनले आफू जितेर आएपछि बस्ती स्थानान्तरण गरेर भए पनि दुर्गम भेगका मानिसहरूको सुविधामा पहुँच पुर्‍याउने बताए । भने, ‘कति ठाउँमा पानी छ, कृषि गर्न सकेका छैनन्, कति ठाउँमा सिँचाइ छैन, कृषि गर्न सकेका छैनन्, त्यस्ता समस्यालाई समाधान गर्ने नीति तथा कार्यक्रम नै बनाएर म काम गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप
सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप