फर्मिन्होको गोलमा बराबरीमा रोकियो आर्सनल
सोमबार, २७ चैत २०७९, ०६ : १०

एनफिल्ड । खेलको अन्त्यतिर रोबर्टो फर्मिन्होले नाटकीय गोल गरेपछि आर्सनल लिभरपुलसँग बराबरीमा रोकिएको छ । बराबरीसँगै शीर्ष स्थानमा आर्सनलको अग्रता ६ अङ्कमा सीमित बनेको छ ।
एनफिल्डमा आर्सनलले धमाकेदार सुरुवात गर्दै २८ मिनेटभित्र नै दुई गोलको अग्रता बनाएको थियो । आठौँ मिनेटमा ग्याब्रियल मार्टिनेलीले आर्सनललाई अग्रता दिलाए भने ग्याब्रियल जिसुसले आर्सनलको अग्रता दोब्बर बनाए । तर, पहिलो हाफ सकिन लाग्दा मोहमद शालाहले लिभरपुलका लागि एक गोल फर्काएका थिए ।
दोस्रो हाफमा लिभरपुलले पेनाल्टीमार्फत बराबरी गोल फर्काउने अवसर पायो । तर, शालाह त्यसमा चुके । जीततर्फ बढिरहेको आर्सनललाई फर्मिन्होले खेलको ८७ औँ मिनेटमा झट्का दिए । खेल २–२ को बराबरीमा सकियो । ३० खेलपछि आर्सनलको ७३ अङ्क रहेको छ । लिभरपुल भने २९ खेलबाट ४४ अङ्कसहित लिगको आठौँ स्थानमा सीमित छ ।