मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

३६ जना नेपाली केयरगिभर इजरायल उड्न बाँकी

आइतबार, २६ चैत २०७९, २० : ३८
आइतबार, २६ चैत २०७९

काठमाडौँ । इजरायलका दीर्घकालिन स्याहार केन्द्रका लागि छनौटमा परेका ३६ जना नेपाली केयरगिभर उड्न बाँकी रहेका छन् । गत वर्षको माघ पहिलो साताबाट नेपाली श्रमिक इजरायल जान थालेका थिए । अब ३६ जना मात्रै इजरायल जान बाँकी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशन उमाकान्त आचार्यले उड्न बाँकी रहेका केयर गिभरहरू केही समयभित्रमा इजराज पुग्ने बताए । ‘भिसा प्रक्रियामा भइरहेको ढिलाई कारण सबै जना जान एक वर्षभन्दा बढी समय लाग्यो । अब अन्तिम चरणमा सबैलाई पठाउँछौं ।’ उनले भने ।  

भिसा आउन ढिलाई हुँदा अन्तिम छनौटमा परेका श्रमिकहरू दोहोरो मारमा पर्दै आएका छन् । उनीहरूले पटक पटक स्वास्थ्य परीक्षण गराउनु परेको छ । त्यस्तै लामो समय जान पाउने कि नपाउने भन्ने अन्यौलमा श्रमिकहरू बसेका थिए ।

केयरगिभरका लागि १ हजार १७५ जना अन्तिम छनोटमा परेका थिए । ती मध्ये अब ३६ जना मात्रै जान बाँकी छन् ।   विभागले १२ साउन २०७८ मा पहिलो पटक इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने कामदार छनौटका लागि आवेदन गरेको थियो । आवेदन आह्वान गरेपछि ६ हजार भन्दा बढीले आवेदन दिएका थिए । २८ भदौ २०७८ मा लिइएको लिखित परीक्षामा २ हजार ३९ जना पास भएका थिए ।  

पहिलो चरणमा ५ माघ २०७८ मा ९९ जना नेपाली केयर गिभर इजरायल प्रस्थान गरेका थिए । त्यसपछि माघ १५ र १८ गते गरेर जम्मा २९७ जना इजरायल गएका थिए । उनीहरू गएपछि भने लामो समयसम्म इजरायलले भिसा जारी गर्न बन्द गरेको थियो ।  

इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीको सेवा सुविधा बढाउनुपर्ने भन्दै थालेको आन्दोलनका कारण चार महिना भन्दा बढी समय प्रक्रिया बन्द भएको थियो । बन्द भएको भिसा जारी गर्ने प्रक्रिया गत साउनबाट पुनः सुचारु भएको थियो ।

दुई देशबीच १४ असोज २०७७ मा भएको श्रम सम्झौता अनुसार केयरगिभर इजरायल जान पाएका हुन् ।

अब ३६ जना इजरायल पुगेपछि थप कामदार लैजाने प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ । इजरायलले थप ५०० जना केयरगिभर र कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने प्रस्ताव गर्दै आएको छ । त्यसका लागि विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया भइरहेको महानिर्देशक आचार्यले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप