सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
शिक्षा

‘एसइईपछि बालबालिकालाई ब्रिज कोर्स होइन, काउन्सिलिङ चाहिन्छ’

खाली समयमा व्यवहारिक शिक्षामा जोडौँ
आइतबार, २६ चैत २०७९, १२ : ०९
आइतबार, २६ चैत २०७९

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको छ । देशभरका ४ लाख ८४ हजार विद्यार्थीले परीक्षा दिइरहेका छन् । विगतमा यसलाई आइरन गेट अर्थात फलामे ढोका भनिन्थ्यो । अहिले भने यसलाई सामान्य रूपमा लिने गरिन्छ । त्यति गर्दा पनि यसलाई उच्च शिक्षा अध्ययन गर्ने ढोकाको रूपमा लिइन्छ । आफ्नो भविष्यलाई कुन दिशामा लैजाने भन्ने निर्धारण यहीबाट गर्ने गरिन्छ । 

उच्च शिक्षा अध्ययन गर्न खोज्ने विद्यार्थीहरूले एसईई दिएपछि के गर्ने भन्ने अन्योल हुन्छ । कतिपय विद्यार्थीहरू आफ्नो पढाई स्तर र चाहना अनुसारको विषय छनौट गर्न सकिरहेका हुँदैनन् । जसले गर्दा उनीहरूको भविष्यमा नै असर परिरहेको हुन्छ । 

परीक्षा दिएर नतिजा आउँदाबीच केही महिनाको समय विद्यार्थीहरू खाली हुन्छन् । त्यो खाली समयमा छोराछोरीलाई ब्रिज कोर्स पढाउने गरिन्छ । विद्यार्थीहरू आफैँ पनि साथीले ब्रिज कोर्स पढिरहेको म पनि त्यही पढ्छु भन्न थाल्छन् । तर, यस्तो गर्नुको साटो विद्यार्थीहरूलाई खाली समय अन्य व्यवहारिक ज्ञान सिकाउन सकिन्छ । 

बुढानीलकण्ठ स्कुलका प्रिन्सिपल होमनाथ आचार्य एसइईपछि धेरै अप्सनहरू खुला हुने बत्ताउँछन् । उच्च शिक्षाको ढोका खुल्ने भएकाले उनीहरूको क्षमता र चाहनालाई विचार गरेर कुन क्षेत्रमा जाँदा राम्रो हुन्छ भनेर सुझाव दिनुपर्ने आचार्यले बताए । 

उनीहरूलाई खाली समयमा ब्रिज कोर्स भन्दा पनि काउन्सिलिङ गरेर भविष्यको बाटो निर्धारण गराउन सकिने उनको भनाइ छ । ‘हाम्रा बालबालिकाहरू ब्रिज कोर्सको पछि दौडिरहेको देखिन्छन् । ब्रिज कोर्स भन्दा कुन विषय पढ्दा राम्रो हुन्छ ? यसको स्कोप कस्तो छ ? आफ्नो क्षमता अनुसार विषय छनौट गर्नतिर बालबालिकालाई केन्द्रित गराउनुपर्छ ।’ उनले भने । 

देखासिकीको भरमा पर्दा विद्यार्थीहरू ठुलो जोखिममा पर्ने गरेको उनको भनाइ छ । ‘देखासिकीको भरमा पढ्न खोज्ने निकै ठुलो समस्या छ । यसमा हामीले गाइड गर्नुपर्ने देखिन्छ । यो स्कुलको पनि जिम्मेवारी हो,’ उनले भने, ‘अभिभावकको जिम्मेवारी पनि हो । विना गाइडेन्सको भरमा विद्यार्थीले पढ्न खोज्दा  भोलि गएर समस्या हुन सक्छ ।’ 

कुनै विषयमा कमजोर भएको विद्यार्थीले साथीभाइको सङ्गतले त्यही विषय पढ्न खोज्दा थप समस्या हुने गरेको उनको भनाइ छ ।  ‘म्याथमा कमजोर र रुचि नै नभएका विद्यार्थीलाई जबरजस्ती वा साथीभाइको सङ्गतमा लागेर साइन्स पढ्न लगायो भने समस्या हुन्छ । जुन कुरामा उनीहरूको क्षमता छैन, त्यो विषय उनीहरूले नपढ्नु नै राम्रो हुन्छ ।’ उनले भने ।

अभिभावकहरूमा आफ्ना छोराछोरीले डाक्टर, इन्जिनियरिङ नै पढुन् भन्ने चाहना हुने गर्दछ ।  आधुनिक समयमा उसको रुचि अनुसार त्यसको क्षमता पहिचान गरेर उच्च शिक्षा अध्ययनका लागि प्रेरित गर्न आचार्यले अभिभावकहरूलाई सुझाव दिए । 

विद्यार्थीकै क्षमताको आधारमा विषय छनौट गरियो भने राम्रो हुने उनको भनाइ छ । अहिले उच्च शिक्षामा पनि विगतको जसरी एउटै विषय मात्र पढ्नुपर्छ भन्ने नभएको भन्दै त्यसका लागि एउटै कार्यक्रमभित्र पनि थुप्रै विषय पढ्न सकिने उनको भनाइ छ । 

‘कुन विषय पढ्दा राम्रो हुन्छ ? उसको क्षमता कस्तो छ ? भनेर चेक गरेर पढ्न सुझाउनुपर्छ । कतिपय विद्यालयहरूमा त उसको क्षमता र रुचिको आधारमा एबिलिटी टेस्ट पनि गर्ने गरिएको छ,’ प्रिन्सिपल आचार्यले भने, ‘उ केमा राम्रो छ त्यही पढ्न रेकेम्बडेसन गर्ने हो । त्यति मात्र नभएर कन्भिन्स पनि गर्ने हो । कहिलेकाहीँ साथीको लहलहमा लागेर यो पढे भन्ने भयो भने त्यसले समस्या निम्त्याउने गरेको छ ।’ 

पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले माथिल्लो तहमा इन्ट्रान्स हुने भएकाले विद्यार्थीहरू त्यसैमा बढी फोकस हुने गरेको बताए । ‘यो फुर्सदको समयमा एक्ट्रा एक्टिभिटी गराउन पाए राम्रो हुन्थ्यो । तर, त्यसमा अभिभावकको त्यति धेरै रुचि देखिन्न । अभिभावकहरू परीक्षा सकियो, ब्रिज कोर्स पढाऊँ कि के गरौँ भनेर सोध्नुहुन्छ । त्यसलाई कसरी बाहिर निकाल्ने भन्ने गाह्रो छ ।’ उनले भने । 

यस्तो अवस्थामा विद्यार्थीहरूलाई घरमा बोलाएर खेतीपातीका कुरा सिकाउने, व्यवहारिक कुरा सिकाउने गर्न सकियो भने राम्रो हुने उनको भनाइ छ । फुर्सदको समयमा किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञान दिन उनको सुझाव छ । 

एउटा विषयको ब्रिज कोर्स पढ्ने तर, इन्ट्रान्स पास गर्न नसकेर अर्को विषय पढ्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।  ‘साइन्सको लागि ब्रिज कोर्स पढिरहेका हुन्छन् । अनि इन्ट्रान्स पास गर्न नसकेर अर्को विषय पढ्छन् । त्यो बीचमा पढेको समय त खेर गयो नि । सिकाई खेर त नजाने हो । तर, जुन उद्देश्यले सिकाई गर्न खोजिएको थियो । त्यो त खेर गयो नि ।’ उनले भने । 

ब्रिज कोर्स भन्दा पनि विद्यार्थीहरूलाई रुचिको विषय अनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।  ‘अलि जान्ने विद्यार्थी ब्रिज कोर्स गर्छु, यो विषय पढ्छु, विदेश जान्छु भन्ने हुन्छ । तर, बीचको विद्यार्थी त्यसै अलमलिएका हुन्छन् । त्यस्तो विद्यार्थीलाई हामी के गर्दा राम्रो हुन्छ भनेर सुझाव दिने गर्छौ ।’ उनले भने । 

कानुन विषय पढ्न खोज्ने विद्यार्थीलाई लेखनदासका कुरा सिक्न लगाउने, प्राविधिक विषय पढ्न खोज्नेले त्यही आधारका कुराहरू सिकाउँदा राम्रो हुने उनको भनाइ छ ।  साथीहरूको लहलहैमा लाग्नु भन्दा पनि आफ्नो क्षमता अनुसार विषय छनौट गरेर अगाडि बढ्न सकियो भने राम्रो गर्न सकिने उनको सुझाव छ । 

‘अहिले साथीसंगीको लहर छ । साथीले के गरिरहेको छ म पनि त्यही पढ्छु भन्ने खालको लहर नै लागेको देखिन्छ । बालबालिकाले न अभिभावकको गाइडेन्स मान्छ न त शिक्षकको । उसले साथी के गर्दैछ त्यही आधारमा अगाडि बढ्न खोज्छ । साथीभाइको प्रभाव बढी पर्ने गरेको छ ।’ उनले भने । 

विषयवस्तुको छनौटमा ध्यान दिन नसक्दा विद्यार्थीहरू बिदेसिने गरेको बुढानीलकण्ठका प्रिन्सिपल आचार्यको भनाई छ । अहिले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूको बढिरहेको भन्दै त्यसलाई रोक्नको लागि समेत सही विषयवस्तु छनौट गर्नुपर्ने उनको भनाई छ । अहिले कलेजहरू विद्यार्थी नपाएर खाली हुने गरेको भन्दै यो अवस्थाको अन्त्य गर्न एसईई पढिरहेकै विद्यार्थीबाट सुधार गराउनुपर्ने उनले बताए ।

नेपालका कलेज तथा विश्वविद्यालयहरूले नयाँ नयाँ कार्यक्रम ल्याए पनि विद्यार्थीहरूको त्यसप्रति आकर्षण कम देखिने गरेको उनको भनाइ छ । ‘नेपालमा नयाँ नयाँ विषय त आएका छन् । तर, आकर्षण भएन । हाम्रा युनिभर्सिटीहरूले समयमै परीक्षा नगर्ने, नतिजा समयमै प्रकाशन नगर्ने जस्ता समस्या छन् । जसले गर्दा विद्यार्थीहरूमा आकर्षण घट्दो क्रममा छ ।’ उनले भने ।

यो समस्या समाधानका लागि एसईई दिएका विद्यार्थीहरूलाई सही समयमा सही विषय छनौट गराउनुपर्ने उनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप